सूर्यप्रसाद लाकोजू
बिहानको कलिलो घाम
पोखिएर देखिएको
अनुपम दृश्यजस्तै लाग्छ मलाई
तिम्रो उज्यालो मुहार
बादले सूर्यलाई ढाकेजस्तै
कहिल्यै ढाकिएन तिमीलाई
निराशाको बादलले।
जहाँ अभावको तुसारोले
झरिरहेका थिए
खुसीका पातहरू
तिमी भने
वसन्त पर्खेर
मुस्कान छरिरहेको पाएँ
म आउने बाटोभरि ।
कहिलेकाहीँ घरमा चुल्हो नबल्दा
पेटमा सारङ्गी रेटे होलान्
राम्रो लगाउने
इच्छाहरूले पनि त भेटे होलान्
तर पनि
गुनासाका कुनै पोका फुकाइनौ
दुःख मनभित्र राखेर
खुसी भने
कहिल्यै लुकाइनौ।
प्रकाशित: ६ वैशाख २०७८ ०८:३२ सोमबार