कला

भोकको शहीद

कविता

  तुलसा ‘स्वदेशी’राई

 

मेरो समाप्तिको दिन  

साँच्चै भयानक मृत्यु मरें

मेरा पिताले वंशदान गरेर

भोकको शहीद भए  

वंश धान्ने अभिभारा बोक्ने  

उत्तराधिकारीको मुख हेर्न नपाउँदै  

भोकको शहीद भए।

 

मेरी आमा माक्खो वंशको

गर्भ धारण गरेर पनि  

आमा बन्न सकिनन्

म न तुहिनसकें  

न मास पूरा भई जन्मन सकें

म मेरी आमाको गर्भभित्रै सुकें

मेरी आमासँगै म पनि भोकको शहीद भएँ

कति बीभत्स मृत्यु मर्यौं हामी ।

 

ए मनुष्य !

मेरो प्रजातिले तिम्रो  

खाना खोसेको थिएन

छाना खोसेको थिएन

नाना खोसेको थिएन

तिमीबाट परित्याग गरिएको  

तिम्रो आच्ची त खाएको थियो नि

किन लुकायौ हाम्रो खाना तिम्रो आच्ची ?

किन हर्यौ मेरो प्रजातिको बाँच्ने अधिकार ?

 

मेरी आमाले मलाई  

तुहाउन सकेकी भए  

मरेर पनि उनले मलाई  

पेटभित्रै सडाउनुपर्ने थिएन  

ए मनुष्य !

तिमीझैं खुरापाती भए मेरा प्रजाति

अधिकारको खोजीमा  

विध्वंसात्मक आन्दोलन गर्थे होला

तिम्रो लंका जलाई

मेरो वंश रक्षा गर्थे होला ।

 

अश्वमेघ यज्ञको अग्निकुण्डमा  

आत्मादाह गरेकी सतीदेवीको देह

काँधमा बोकेर  

त्रिलोक , चौध भुवन घुमिरहँदा  

महादेव पत्नी वियोगले

सम्पूर्ण कार्य गर्न छोड्दा

सृष्टि अनि ब्रह्माण्ड रोकिएको बेला

सृष्टिलाई निरन्तरता दिन

र ब्रह्माण्ड चलाउन  

ब्रह्मबाट उत्पन्न गरिएको  

म माखो प्रजाति

आज तिमीले विनाश गर्यौ मेरो ।

 

ए मनुष्य !

तिमी सत्य युगमै विलुप्त हुने थियौ  

तिम्रो सृष्टि त्यहीँ रोकिएको थियोे  

म त सञ्जीवनी जल हुँ

मरिसकेको सृष्टिलाई पुनः जगाएँ

सती देवीको शवलाई मुक्ति दिलाएँ

नत्र आजसम्म ब्रह्माण्ड धीर भई

रोकिरहने थियो  

प्रकृतिले सिङ्गो ब्रह्माण्डको  

श्राद्व गरिसकेको हुने थियो  

प्रकृतिले सृष्टिकै

पिण्डपानी खाइसकेको हुने थियो  

म त ब्रह्माण्ड मुक्तिदाता हुँ

तर, तिमीले भोकको शहीद बनायौ मलाई  

कति कञ्जुस छौ तिमी !

तिमीद्वारा त्याग्य  

तिम्रो आच्ची पनि दिन नसक्ने ।

 

मलाई हैजाको कारण देखेर भोकले मार्यौ

निरोगी बन्ने लालची अभियानमा लागेका तिमी  

आज क्यान्सर रोगद्वारा

महारोगी भएका छौ

तिम्रो आत्माझैं मेरो मृत आत्मा पनि  

भड्किरहेछ वरिपरि तिम्रै

नियालिरहेछु तिम्रो सम्पूर्ण गतिविधि  

म भोकको शहीद माखो हुँ ।

प्रकाशित: ६ वैशाख २०७८ ०७:४५ सोमबार

अक्षर