कला

मनभरि रहर

लघुकथा

छायादत्त न्यौपाने बगर

कस्तो यो अनुहार किताब ! नहेरूँ भन्यो झन् खुलदुली ! आउन पनि थरीथरी अनुहार लिएर आउँछ । कतै सूचनाका पाना कतै बेथितिका पोका ! ऊ हेर कसरी मुस्कुराको ! भद्र देखिन्छ मोरो ! हेरहेर कसरी नपोखिने गरी मुस्कुराउँदो रहेछ ।

कतै मजस्तै एकल भएर हो कि! छोराबुहारी, नातिनातिना कामतिर लागे होलान् । घर ट्वाल्ल एक्लै अनि त अनुहार किताबमा नदौडेर के गर्नु ? लौ हे र घ्वाप्पै अँगालोमा बेरूँलाझैँ गरेको ! कस्तो भन्या परिवार छ,समाज छ ! बार भत्काउन नसकिने ! रहर त मलाई पनि कम्ती छैन नि !

अझ बिदाको दिन एक्लै छाडेर आफू–आफू भएर रमाइलो गर्न गए होलान् ! पक्कै उसको पनि यस्तै मेरोजस्तै अवस्था होला !   

के गर्नु मनभरि रहर पाल्यो ,बस्यो ! ऊ कहाँ म कहाँ ? मात्रै टुलुटुलु अनुहार ! हातले भ्याउने गरी नजिक भा भए..!

प्रकाशित: ६ वैशाख २०७८ ०५:०३ सोमबार

अक्षर