सुमन दाहाल
‘आमा केटाकेटी स्कूलबाट भोकाएर आउँछन्। खाजा बनाएर दिनु। बाख्रालाई यसो बारीका डिलको घाँस काटेर टाट्नामा राखिदिनु। भैंसीलाई खोलेपानी दिने बेलामा त छोरा आउनुहुन्छ होला। तपाईं सक्नुहुन्न। बिरामी अवस्था छ। बुढो शरीर छ। अँ अनि बिस्कुन सुकाइराखेको छु बाहिर। गड्याङ्गगुडुङ्ग हुनेबित्तिकै उठाउनुपर्छ। धेरैं हिँड्डुल नगर्नु है’ भन्दै बुहारी कल्पना लागिन् बेंसीखेततर्फ।
नब्बेको हाराहारी पुगेकी सासू आमा चन्द्रकलाको दिनचर्या नै हो यो।
चैतको मध्यदिनमा पनि घरभित्र जाडो लागेर बिस्कुन नजिकै गुन्द्री ओछ्याएर झकाएकी चन्द्रकला हर्केकी आमाको आवाज सुनेर उठिन्।
–कता हिंडिस् त हर्केकी आमा, आज कसैका मेला गइनस् ?
‘सकिन मुखिनी बज्यै , बोलाएका त थिए। ज्वरो आउलाजस्तो जीउहात कटकटी खान्छ। घरमा एक गेडो अनाज छैन। यसो बेसाहा पाइन्छ कि भनेर। हर्केका बाउ पनि काम गर्न सक्दैनन्। गाह्रो भो यस वर्ष त। अनिकाल पनि गरीबलाई नै आउनुपर्ने।’ तरक्क आँसु झार्दैै हर्केकी आमाले वेदना पोखिन्।
–लौ बर्को थाप्, कसैलाई नभन्नु नि भन्दै पाथी तिनेक मकै दिइन् चन्द्रकलाले। अनिकालको पोइसो बँचाएर राख्नु, खर्च नगर्नु। अभर नै पर्यो भने फेरि पछि आउनु ।
साँझ सबै जम्मा भए। मिठोमसिनो खाएर सुत्ने बेलामा कल्पनाले सासू बज्यैसँग प्सधैं जस्तै सोधिन् – आमा, बिस्कुन त आधै घटेछ नि।
–के गर्नु त कल्पी भित्र भुसुक्कै निदाएछु। बाहिर जाँदा त एक हुल लेकाली काला कागहरूले भुसुक्कै पारेछन् बिस्कुन त।
प्रकाशित: ६ वैशाख २०७८ ०४:०२ सोमबार