कला

उहिल्यै र अहिले

निबन्ध

नन्दलाल आचार्य

 

शरीर ठीक थियो, बोली ठीक थियो । सारा संसार रिझिएको थियो । सर्वत्र नाम थियो; काम थियो र दाम पनि थियो । जीवन खुशीले झुमेको थियो । अभाव कुलेलम ठोकेको थियो । परिपूर्णताले जीवन अघाएको थियो।

अहिले आएर एक पाटो शरीर सपाङ्ग र अर्को पाटोचाहिँ अपाङ्ग भयो । सारा संसार विरक्तियो । अब यो न घरको न घाटको भयो भन्ठान्नेहरू पनि जन्मन थाले. । जीवन कृष्णगर्तमा खस्यो । अभावको आगमन जताततै देखापर्न थाल्यो । अपूर्णताले जीवन वैरागलाग्दो भयो।

म यस्तै कुरा सोचेर दिन बिताउन थालेँ । हुने कुरा नभई नछाड्ने रहेछ ।  देश नै हल्लने गरी यस्तै विमारका घटना घट्न थाले । चुनावकै मुखमा प्रकाश दाहालले संसार छाडे । उनकै पछिपछि अर्का गायक समेत लागे । सोसल मिडियाहरू रक्तचापबाट बच्नका लागि अपनाउनुपर्ने सावधानी बारेका कहिरनले ढाकिन थाले । मैले पनि बल्ल थाहा पाएँ कि मलाई लागेको विमार खतरनाक नै रहेछ।

पहिले म आफ्नो काममा सधैँ होसियार थिएँ । कसैलाई कुनै किसिमको दुःख दिन्नथेँ । विद्यार्थीहरूका बीचमा उभिन पाउँदा रमाउँथे । विद्यार्थीहरू नै आफ्नो परिचय, पहिचान र गाँस–बास–कपासका माध्यम हुन् भन्ठान्थेँ । एकाग्र मनले उनीहरूका कुरा सुन्थेँ । आवश्यक परेमा पृष्ठपोषण दिने र आफ्ना कुरा सुनाउने गर्थेँ । प्रत्येक दिन कक्षामा कुनै न कुनै नयाँ कुरा सुनाएर कक्षाशिक्षणको सुरुआत गर्थेँ । कुनै विद्यार्थी झर्किए; बटारिए म झन् नौनी बन्थेँ । पिरमार्का बुझ्थेँ र निदानको प्रयास जरैदेखि थाल्थेँ । यसो गर्दा विद्यार्थीहरू प्रसन्न थिए । मलाई पनि आनन्दै थियो।

अचेल मलाई उच्च रक्तचाप र पक्षाघातको बिमारले सताएको छ । शरीरको आधा अङ्ग नचलेर हैरानमा परेको छु । अचेल मलाई आफ्नो दुर्दशा कसैलाई देखाउन नपरे हुन्थ्यो भन्ने लाग्छ । कसैले लगिदियो भने यदाकदा स्कूल जान्ने गर्छु । कसैसँग बोल्न पनि सकस पर्छ । सानातिना झमेलामा पनि धैर्यता राख्न सक्दिनँ । हर्दम मन चञ्चल भइरहन्छ । सबै कुरामा आफ्नै जित हुनुपर्छ भन्ने ठान्न पुग्छु । अझ विद्यार्थीसामु उभिनु पर्दा तर्सन्छु । उनीहरूका स्वाभाविक खालका अनगिन्ती प्रश्नले समेत हैरान हुन्छु र झर्कोफर्को गर्न थाल्छु । उनीहरू उल्टै नौनी बन्छन् र निरास मुहार लगाएर फर्कन्छन् । विमारले गर्दा म आफ्नो स्वभावको प्रतिकूल व्यवहार गर्ने भएको छु । अचेल म यस्तै छु ।

अहिले आफ्नो व्यक्तिगत कर्म पनि आफैँ गर्न सक्तिनँ । अहिले खाना खाना होस् कि चर्पी जान वा   ओछ्यानमा  सुत्न–उठ्नसम्म अरूकै भर पर्छु । मेरा झिनामसिना काम गर्दागर्दा वाक्क भएर मेरो सहयोगी साथी लक्ष्मी समेत हैरान हुन्छिन् । मबाट कहिल्यै जस पाउँदिनन् । अचेल मेरो मनमा अरूप्रति दया, माया, करुणा छँदैछैन जस्तो लाग्छ । खाली रिस मात्र उठ्छ । 

आफूले गरेको झर्कोफर्को अरूले चूपचाप सहँदा भने मलाई झन् भाउन्न हुन्छ । मेरो खिल्ली उडाएजस्तै लाग्छ । प्रतिकारको भाषा प्रयोग गर्न थाल्यो भने त्यसलाई काँचै चपाउन मन लाग्छ । लचिलो भाषा बोलेर खुरुखुरु काम गरे पनि मलाई नै जिस्काएको ठानी शङ्का लाग्छ । कसै गरे पनि म अरूलाई धर दिन्न । बिमारले गर्दा ठीकलाई समेत बेठीक देख्न थालेको छु ? अचेल म यस्तै–यस्तै जीवन बिताइरहेको छु।

अचेल म आफन्तजनले कुरा बुझेर आफूलाई नम्र तुल्याउन सक्नुपर्छ भन्ने ठान्छु । सहज मनस्थितिमा छँदा त कसैलाई दुःख दिएको थिइनँ। अहिले असहज भएर पो पीडा दिनुपरेको हो । समय सधैँ एकनासको हुन्न । कुनै दिन पूर्ण रूपले ठीक भए पछि कसैलाई दुःख दिन्नँ । बरू पहिले मन दुखाएकोमा क्षमा याचना गर्छु ।

यद्यपि अहिले मेरो मनको यस्तो गन्थन बुझ्ने मान्छे विरलै छन् । म सबैलाई शंकालु नजरले हेर्छु । मलाई हेर्ने उनीहरूको नजर पनि त्यस्तै भएकाले समस्यामा छु । मलाई समस्यै समस्याको पहाडमै बसेको जस्तो लागेको छ । अचेल म यस्तै मनस्थिति र परिस्थितिमा छु।

पहिले त मेरो हरेक कुरा राम्ररी सुन्ने, मनमा गुन्ने र सही लागेका कुराहरू अपनाउने बानी थियो । यत्तिखेर म न सुन्न रुचाउँछु न सुनाउन चाहन्छु । आफू मात्र जान्ने–बुझ्ने र ज्ञानी हुँ; अरूहरू चाहिँ अबुझ हुन् भन्ने ठान्न थालेको छु।

साँच्चै अहिले मैले आफूले बुझेका र मनले खाएका कुरा अरूलाई सुनाउँदा सिकाइ दिगो हुन्छ भन्ने कुरा भुलेको छु । कुनै न कुनै रूपमा अरूलाई दिशानिर्देश गरी ऋण लगाउन सके आफ्नो मन आनन्दले पुलकित हुन्छ भन्ने बिर्सेको छु । सचेत मनस्थितिले हरेक काम कुरा गर्न सके बेहोसीपन कम हुने र होसीपन बढ्दै जाने बाटो छाड्न पुगेको छु।

के गर्नु अहिले म सबै कुरा पहिलेझैं बुझ्छु तर व्यवहार अर्कै गर्न रुचाउँछु । अचेल मेरो सोच– समझ यस्तै असामाजिक छु । तसर्थ म अनजान मान्छेसँग भलाकुसारी गर्न डराउँछु । सानातिना कुरामा पनि विवादको पहाड खडा गरूँला कि भन्ने भयले पिल्सिएको छु।

उमेरले आधा शताब्दी पचाएर शिक्षण पेशामा अढाई दशक बिताए पनि यत्तिखेर म पाँच वर्षमुनिको आलोकाँचा बालक भएको छु । शरीरमा तागत नभएको र अरूको दयामायामा रहनु परेकोमा जीवनलाई बोझकै रूपमा लिएको छु । हर्दम बेहोसीपनमा बाँच्न पाउँदा आनन्द मान्न थालेको छु । त्यस्तै सोचले मलाई बिलकुलै फरक मान्छे बनाइरहेछ । हातपाउ नचल्दा पनि आफ्ना कुरा देब्रे हातले भए पनि सकसले लेख्ने गरेको छु । विचार तलमाथि पर्लान् कि भनेर पटकपटक सुधार र संशोधनद्वारा लेखनलाई खार्न खोज्दै छु ।

उच्च रक्तचाप र पक्षाघातले पक्रनुअघि म श्री जनता मावि गोलबजार–४, सिरहामा शिक्षणरत थिएँ ।  त्यो दिन थियो– २०७४ कात्तिक १० गते । त्यस दिन अपरान्ह टाउको दुखेकाले डेरा मालिक सुवर्ण दाहालले गोलबजारको श्रीराम अस्पताल पु¥याए । रक्तचाप भने औधी उच्च रहेछ । मेरो त्यस हालतले त्यहाँका स्वास्थ्यकर्मी डराए । एकजनाले एउटा क्याप्सुल जिब्रोको फेदमा राखिदिए । विराटनगर रिफर गरियो । त्यत्तिञ्जेल मेरो दाहिने हात र खुट्टा लगायत आधा शरीरमै पक्षाघात समाते पनि मेरो चेतना भने जिउँका तिउँ थियो । म रातारात विराटनगरको विराट अस्पताल भर्ना भएँ।

उच्च रक्तचाप कम गर्न र पक्षाघात भएको अङ्गलाई पूर्व रूपमा फर्काउन धेरैतिर सोधखोज, अध्ययन, मनन र चिन्तन गरेँ । धेरै कुराहरू बुझ्ने मौका पाएँ । आफ्नो जीवनशैली नै परिवर्तन गर्न पुगेँ । बिहान उठ्नासाथ चार केस्रा लसुन र राति भिजाएको एक चम्चा मेथी चपाईचपाई खान थालेँ । कहिलेकाहीँ काँचो सुपाडी समेत चपाउन थालेँ । प्रायः अदुवाको टुक्रो र चिराइतोको चोइटो हर्दम मुखमा राख्न थालेँ। 

मादक पदार्थ र धूमपान सेवन गर्न त सख्त मनाही रहेछ । रोगीलाई बजारका तयारी खानेकुराहरू घातक हुँदा रहेछन् । असन्तुलित जीवनशैली, खानपिनमा गडबड र तनावपूर्ण दिनचर्या बनाउँदा उच्च रक्तचाप रोग जन्मने रहेछ । बिमार जन्मिसकेपछि पनि त्यस्तै दिनचर्या अपनाए रोगबाट कहिल्यै छुटकारा नपाइने रहेछ । यत्तिखेर मैले धेरै कुरा बुझ्न सकेको छु यद्यपि जीवनमा पूर्णतः लागू गर्न सकेको छैन । त्यसैले अभिशप्त जीवन बिताउन बाध्य छु।

सुरुआतका दिनमा अलमलअलमलमै एक हप्ता भातको माड मात्र पिएँ; सानो पाइपबाट पानी पिएँ । शरीर घटेर आधा भयो । रोगीले मोटोपन घटाउनुपर्ने रहेछ । घट्यो । ठीकै भयो भन्ने ठान्न पुगेँ । बढी फाइबरयुक्त अर्थात् रेशादार र पोटासियम भएका खानेकुरा खान थालेँ। 

सोडियमयुक्त खानेकुरा खान बन्द गरेँ । कोलस्ट्रोल घटाउने खानेकुरा खान जोड दिएर उच्च रक्तचाप घटाउने काम गरे । मात्रा मिलाएर गाँजर, कागती, छाली निकालेको लोकल गाईको दुध–दही, काँचो प्याज नियमित सेवन गर्न थाले । यसका अतिरिक्त शिलाजित, मह, मेवा, मरिच, करेला, कमै मात्रामा पाकेको खोर्सानी, गहुँ र जौँको रोटीले समेत फाइदा गर्ने ठानेर सेवन गर्न थाले ।

घरेलु औषधीको रूपमा सौंप–जिरा–सक्खरसहितको चूर्ण, सर्पगन्धाको जराको चूर्ण, अनार, स्याउ, अङ्गुर, नास्पती समेत खान थालियो । अर्कातिर यदाकदा कमल फूलको रस, नरिवल दानाभित्रको पानी, कटहर र हिंगको सेवन समेत गर्न थालेँ । तरकारीमा  ब्रोकाउली, बन्दाकोबी, टमाटर, फर्सी, लौका, हरिया सागसब्जी, मस्रुम, चुकुन्दर, खरबुजा, तरबुजा, केरा, बदाम, यदाकदा माछा र सोयाबिनको प्रयोग गर्न थालेँ।

खाना कमै मात्रामा खाने, नियमित व्यायाम गर्ने र बिहान नाङ्गो खुट्टाले हिँड्ने गर्नाले मलाई प्रशस्त फाइदा पुग्दै गयो । अर्कातिर पक्षाघात भएका अङ्गको मसाज गर्ने÷गराउने काम गरेँ । दिनानुदिन स्वास्थ्य अवस्थामा सुधार हुँदै गयो । मेरी आमा समेत उच्च रक्तचापको बिरामी हुनुहुन्थ्यो । यो बिमार वंशानुगत गुणका रूपमा मैले पाएको रहेछु भन्ने लाग्दै छ । अहिले शरीरमा रोग पस्न नदिने उपाय अपनाउन नसकेकोमा पछुतो भएको छ । यद्यपि नलाग्नु रोग लागिसकेपछि न्यूनिकरण गर्न प्रयास भने जारी राखेको छु।

पहिले आनन्दले रात कटाउँथेँ । दार्शनिक ओशोको आनन्द यात्राको अनुयायी भएको थिएँ । ध्यानको गहिराइमा डुब्ने विधिविधान सिकेको थिएँ । ध्यानद्वारा निर्विचार मनोदशामा पुग्दा भररात उत्सवमय हुन्थ्यो । आनन्दको चरमोत्कर्षमा पुग्न पाउँदा आफूलाई संसारकै भाग्यमानी प्राणी ठान्थेँ ।

खाना खाँदा होस् या विश्राम गर्दा होस् वा काममा जुट्दा होस् ध्यानपूर्वक गर्थेँ । त्यही ध्यानले मलाई आनन्द दिन्थ्यो । आनन्द खोज्न बाहिर भौतारिनु पर्दैन भनेर आफैँभित्र खोज्थेँ । जताततैबाट आनन्द वर्षेको अनुभूत हुन्थ्यो । आन्तरिक रूपले म त्यसैत्यसै सफल व्यक्ति बनेको थिएँ । बाह्य रूपले पनि पूर्वाञ्चल विकास क्षेत्रबाट बाइस सय प्रतिस्पर्धीलाई उछिनेर माध्यमिक तहको नेपाली भाषा शिक्षकमा भएको थिएँ।

सिरहाको कर्जन्हा स्कूलमा खटिएँ । प्रारम्भमा सन्तुलित जीवन थियो । बिस्तारै पहिलेको जीवन शैली छाड्दै गएँ । र, तनाव लिएर जीवनकै भुल गर्न पुगेँछु । खुट्टा पोल्ने र टाउको दुख्ने जस्ता बिमार देखिँदै थियो । वास्ता नगरी सहेर अर्को गल्ती गर्न पुगेँछु ।

अर्कातिर वर्ष दिन पनि नपुगी मेरो स्थानमा अर्को शिक्षक आयो । शिक्षा कार्यालयले गोलबजार सरुवा भएको मौखिक जानकारी दिइरह्यो । लिखितपत्र माग्दा स्कूलको नाममा पठाइसकेको जानकारी दिइरह्यो । प्रधानाध्यापक भने कुनै पत्रसत्र आएको छैन; तपाईंलाई यही प्रतिस्थापन गर्छु; ढुक्कले काम गर्नुस् भनी रहे । म पनि लिखित आदेश नआई कतै नजाने सोचमा पुगेँ।

दशैँ आयो । सबै शिक्षक–कर्मचारीले तलब पाए । प्रधानाध्यापक भने दशैँपछि तलब दिलाउँछु भनिरहे । आफू रित्तो हात घर आएँ । जेनतेन चाडपर्व मनाइयो । स्कूल लाग्यो; हाजिर भएँ । तलब पाइएन । सोधखोज गर्दा शिक्षा कार्यालयले मेरो तलब गोलबजार स्कूल गइसकेको अनौपचारिक जवाफ दियो । म तनावै तनावमा गोलबजार स्कूलमा हाजिर हुन गएँ । जहाँ पुगे पनि भोलि, पर्सि भन्दाभन्दै तलब भेटिएन । तनावमै काम गरिँदै थियो । अहिले अकस्मात् उच्च रक्तचापले पक्षाघातको रोगी बनायो।

हुन त सधैँ धरतीमा बाँच्न कोही पनि आएको छैन । यहाँ भएका हरेकले एक दिन न एक दिन बिदा भएर जानैपर्छ । यद्यपि आत्मविश्वासका साथ आहारविहारमा सन्तुलन राख्न सके मृत्युलाई पनि पराजित गर्न सकिने रहेछ । आफन्तजनको प्रेमले रोगीलाई रोगसँग लड्ने तागत दिलाउने रहेछ। 

ध्यान, योग, प्राणायाम र व्यायाममा प्रत्येक दिन समय दिन सके सुखमय र स्वास्थ्य जीवन खोज्न अन्यत्र भौतारिनु नपर्ने रहेछ । मान्छेले जीवनमा जोखिम मोल्ने हिम्मत गर्नुपर्ने रहेछ । जे जस्तो भए पनि दुःख भोग्ने सहास गर्नुपर्ने रहेछ । सजिलो बाटो पाए मात्तिने र अप्ठेयारो बाटामा भने आत्तिने काम किमार्थ असुहाउँदिलो रहेछ । मान्छेले आफ्नो स्वास्थ्यप्रति होसियार भई पहिले आफ्ना लागि बाँच्नु पर्ने रहेछ । त्यसपछि मात्र असल कर्मद्वारा संसार हँसाउनुपर्ने रहेछ । अचेल दिमागमा यस्तै कुराहरू आउँछन् । र, म यस्तै सोचले आनन्दित हुने कोसिस गर्दछु ।

प्रकाशित: ५ वैशाख २०७८ ११:०८ आइतबार

अक्षर