कला

खोई

लघुकथा

अनुग्रह राना मगर (पुष्प)

 

देशभर चुनावको लहर छाएको थियो । यसको असर गाउँगाउँमा पनि परेको थियो । वल्लो घर, पल्लो घर, यो पाटी ,  त्यो पाटी भनेर उचाल्ने होच्याउने  काम  हुन  थाल्यो। सधैँ  हरखेताला आलोपालो , ऐंचोपैंचो त्यो पनि बन्द हुन  थाल्यो । आखिर मार्ने बाजी अर्कैले , कुर्सीमा बसेर महलको घाम ताप्ने अर्कै ... खुट्टा तानी र हानी हेर यो छिमेकी दुई घर कस्तो  जमाना  आयो  वाइ...। ठुलो  पिपलुको  छहारीको चौतारीमा थकाइ मार्न बस्ने सोच बनाउँदै, खेतीपाती गरी जीविकोपार्जन  गर्ने  किसान दाइले त्यो  गरुङगो  भारी बिसाउँदै , टोपीले पसिना पुछ्दै  चौतारीभन्दा  मुनि तल  पर्ने दुई घरको बखान गर्दै थियो ।  

किसान दाइसँग म पनि थिएँ । किसान दाइको कुरा सुनेर मैले पनि होमा हो थपेँ । साँच्चै मनको मिल्दो कुरा थियो । यो हामी खेतीकिसानी गरी जीवन बिताउनेलाई।

गएको पाँच वर्षअघि पनि यस्तै चुनावको हावाहुरी चल्यो । कतिको त ज्यानै लियो । न त दाइले भाइ देखे, न त भाइले दाइ, न त छिमेकी देखे, न त मेलापातमा हुने सरसहयोग नै।

यो कस्तो चलन ‘काम गर्ने कालु मकै खाने भालु’ भनेझैं जनताको भोट पाएर कुर्सीमा नेता उपरर्खुट्टी लाएर बस्या छन् ,  

यतातिर दाजुभाइ लड्या छन्, जुद्द्या छन् , मारकाट गरया छन् ।

–उनै जानून् । खोई हाम्लाई त थाहा पनि नहुन् दाइ भनेर मैले भने  दाइले सुनिराख्नुभएको थियो।  

हामीलाई आफ्नो घर पुग्न अझै एक बिसौनी थियो। समय झमक्क साँझ पर्न लाग्या थियो । कुरा कुरामा थकाइ मार्ने समय पनि सकिएछ। 

मैले भने कुरा भनेको यस्तै हो दाइ कुरो र कुलो अनि यो देशको ठग्ने नेताको बोली जता लगे नि हुन्छ । अब यस्ता कुरा गरेर आफ्नो मन भारी बनाउनुभन्दा बरु चूपचाप लागि घर पुगेर  आनन्दले विश्राम गर्नु नै राम्रो हो ।  दाइ जौँ अब मैले भने .. ।दाइले अलिक मेरो घुमाउरा कुरा नबुझेँ पनि उहाँको जवाफ भने भारी बोक्दै आधाकल्चो बुझाइमा आएको थियो –खोई ...।

प्रकाशित: ४ वैशाख २०७८ ०९:४७ शनिबार

अक्षर