कला

जहाजको झ्यालबाट

कविता

कल्पना काफ्ले

 

आँखा उघारेर हेरेँ बादल माथिको देश  

कुहिरो लमतन्न सुतिरहेको हेर्दा लाग्छ  

जमिन भएको देश एउटा

जमिनमाथि अर्को देश

हिमालका टाकुरामा हाँसिरहेको सौन्दर्य

जहाजका पखेटामा हल्लिरहेका चन्द्र र सूर्य

गौरवले ढक्क फुलेको एक बिसौली छातीमा  

तिम्रा सम्झनाका तरंगहरूमा तैरिएर  

उडिरहेछु म आफ्नो पधेँरोतिर  

रित्तो माटाको गाग्रो बोकेर

यौटा जिन्दगीको अग्लो पर्खाल बनाउन

सपनाको शहर आँखाभरि बोक्दै

यौटा अबोध बच्चाको  

एकपल आमाको साथ नछोड्ने तीव्र चाहनालाई  

केही गुलिया मिठाईको प्रलोभन देखाएर

चाँडै फर्कने बाचा गर्दै

रंगीन भविष्यको कल्पना सजाएर

उडिरहेछु म दाउरा खोज्न जंगलतिर

रित्तो डोको पिठ्यूँमा बोकेर

समुद्रको तरंगमा टहलाउँदै  

उर्लिएका छालहरूमा

विवशताको चिसो घाम ओढेर  

सपना सजाइरहेछु

डुङ्गा खियाउँदै  

बेते लौरी टेको लगाउँदै अड्याउँदै छु  

जिन्दगीको भारी  

मनको भन्ज्याङ्गमाथि देवीथानमा

केही थान कागजका पैसा चढाएर

म उडिरहेछु कुहिरोको कागझैँ  

काफल खोज्न

चोयाको रित्तो डालो बोकेर

अमिबाझैं चित्र कोर्दै जहाजको झ्यालबाट।

प्रकाशित: ४ वैशाख २०७८ ०८:२८ शनिबार

अक्षर