कला

पर्दाफास

लघुकथा

छविलाल खड्का

 

 आज मार्च ८ तारिख ,   शहरमा माइकिङ भइरहेथ्यो,  

“नारी दिवसको अवसरमा मूर्धन्य महिला अधिकारकर्मीले सम्बोधन गर्नुहुने भएकोले यहाँहरू सबैलाई चुले निम्तो छ ।“

सम्झनाको  निकै करबलले विनिता पनि कार्यक्रमतिर लागी।  

उनीहरू पुग्दा कार्यक्रम शुरू भैसकेको थियो । कार्यक्रमस्थल खचाखच थियो । धेरै वक्ताले बोलिसकेका रहेछन् ।  उद्घोषकले भन्दै थिइन् –  आदरणीय आमा, दिदी, बहिनीहरू ,  हामी कार्यक्रमको मुटुमै पुग्न थाल्यौं । अब आउँदै हुनुहुन्छ, महिला अधिकारको क्षेत्रमा आफूलाई स्थापित गराउन सफल व्यक्तित्व जसले यस क्षेत्रमा  गरेको योगदान बापत थुप्रै अन्तर्राष्ट्रिय सम्मान तथा पुरस्कार पाउनुभएको छ । हाम्रा मुटुका ढुकढुकी रिना.....देवी।

गड्गडाहट तालीले स्वागत गरे ।  मञ्चबाटै  हात हल्लाउँदै रोस्टममा उभिइन्।

मै बहुत बहुत धन्यवाद दे ती हुँ । यो ट्वान्टी फस्ट सेन्चुरीमा पनि वुमेन राइटका बारेमे  बोल्नुपर्दा थोडा सर्मिन्दा हुन्छ । आज मै विश्वका नारीहरूको अवस्था र तिनका अधिकारका बारेमा खोतल्ने प्रयास गर्नेछ भन्दै गर्दा विनिता आक्रोसित भइन् । जुरुक्क उठेर मञ्चमा पुगिन् । आँखाबाट आगोको लप्का निक्लियो।

 रिसले  थरथर काँप छुट्यो । अतिथिको गालामा  जोडले एक थप्पड लगाइन् । सबै हेरेका हेरै भए । उनले माइक खोसिन्  र बोल्न थालिन् – हजारौ नारीहरूलाई कोठीमा नारकीय जीवन जिउन बाध्य पार्ने राक्षसी रिनादेवी  महान महिला अधिकारकर्मी हुन सक्तिनन् । यसको   ज्वलन्त प्रमाण म आफै हुँ ।  

प्रकाशित: ४ वैशाख २०७८ ०५:४४ शनिबार

अक्षर