श्रीओम श्रेष्ठ रोदन
कहाँबाट शुरु गरूँ म ? अलमलमा परिरहेको छु । लेख्न बस्नासाथ उहाँसँगका असङ्ख्य भेट र रोचक क्षणहरू एकदमै नजिक आउँछन् । कुनलाई छोड्नु ? कुनलाई लेख्नु ? धर्मसङ्कटमा छु म।
उहाँ अर्थात् क्याप्टेनसाप अर्थात् क्याप्टेन जनकबहादुर राणा । इन्डियन आर्मीका रिटार्यड क्याप्टेन । वीरगन्जवासी जङ्गबहादुरका सन्तति । उहाँसँग परिचय भएदेखि लगभग अन्तिम समयसम्म कहिले टाढा भएनौं हामी । हुनै दिनु भएन उहाँले । काठमाडौंमा हुँदा कुनै न कुनै निहुँले हाम्रो भेट नियमितजस्तै हुने गथ्र्याे । वीरगन्जमा हुँदा पनि फोनले कहिले टाढिन दिएन हामीलाई । साहित्य र साहित्यकारहरूप्रतिको चासोको कारण उहाँ सोधखोज, कुराकानी गरिरहनुहुन्थ्यो हामीसँग । हामी भनेका जय छाङ्छा र म।
उहाँसँग पहिलोपटक मधुपर्कमा परिचय भएको थियो । जवाहरलाल नेहरुले लगाउने जस्तो घाँटीसम्म ट्याप्प भएको कालो कोट र सेतो पाइन्ट लगाउनुभएको थियो । अग्लो कदु, खाइलाग्दो अनुहारको व्यक्तित्व भएको मान्छे को होला भन्ने लागिरहेको थियो । त्यतिन्जेल म आफ्नो टेबुलमा काम गरिरहेको थिएँ । वसन्तजीले उहाँ क्याप्टेन जनकबहादुर राणा र उहाँ श्रीओमजी भनेर दुवैको परिचय एकसाथ गराउनुभएको थियो । त्यतिन्जेल उहाँ जुरुक्क उठेर हात मिलाउनुभएको थियो । क्याप्टेनसापको नाम लिनासाथ कान्तिपुरमा पढ्ने गरेको ‘लाहुरेको डायरी’ ले पूरै परिचित भइहालें म । त्यो ताका लाहुरेको डायरी स्तम्भ चर्चित थियो । नेपालको पहिलो मिस नेपाल रुबी राणाकी बाबु हुनु अर्को परिचय हो उहाँको।
परिचयको त्यो क्षण निकै बलवान् संयोग मिलेको थियो हाम्रो सायद । त्यसपछि हाम्रो मित्रता दिनप्रति दिन घनिष्ठ हुँदै गयो । कहिलेकाहींँ अचम्म पनि लाग्थ्यो, त्यस्तो बूढो मान्छेसँग घनिष्ठता भएकोमा । पैँतीस वर्षसम्म भारतीय सेनामा काम गरेर निवृत्त भएपछि मातृभूमि फर्कनुभएका क्याप्टेनसाप मेरो बाको जस्तै उमेरको हुनुहुन्थ्यो । तर, बन्यौं हामी साथीसाथी । प्रेममा सबै कुरा सम्भव भएजस्तै जायज भएको थियो हाम्रो मित्रता पनि।
बन्दुक चलाएको हात भए पनि उहाँको हात अत्यन्त नरम थियो । प्रत्येक पल्ट हात मिलाउँदा त्यस्तै अनुभव गर्थें म । त्यसैले हुनसक्छ बन्दुक बिसाउनासाथ कलम समाइहाल्नु भो । पैँतीस वर्ष समातेको बन्दुकले युद्धमा कतिलाई मार्नु भो थाहा छैन, तर बूढ्यौलीमा केही वर्ष समातेको कलमले उहाँलाई कहिले नमर्ने बनाएको छ । कलमको कमाल नै यही हो, मरेपछि पनि बचाउने।
संस्मरणमा अत्यन्त तीक्ष्ण हुनुहुन्थ्यो क्याप्टेनसाप । चित्रजस्तो गरेर एकएक घटना सुनाउनुहुन्थ्यो । त्यसैले त नेपाली साहित्यमा युद्धसाहित्यलाई भित्र्याउनुभयो उहाँले । जीवन र जागिरका असङ्ख्य अनुभवका संस्मरणहरू थिए उहाँसँग । युद्धकथा अरूले पनि लेखेका थिए होलान्। तर, आम पाठकका बीच युद्धसाहित्यलाई लोकप्रिय भने उहाँले नै गराउनुभएको हो । कुनै पनि घटनाको संस्मरण लेख्नु हुँदा पात्रको नाम, तिथिमिति मात्र होइन, प्रत्येक संवादलाई समेत सहज रूपमा उतार्नुहुन्थ्यो।
युद्धका घटनाहरू सुन्न म जहिले पनि उत्साही हुन्थें । त्यसैले हाम्रो भेट हुनासाथ म युद्धका प्रसङ्गहरू खोतल्थें । उहाँ जीवन्त रूपमा सुनाउन थाल्नुहुन्थ्यो । धेरै पटक उहाँले लेखेका र नलेखेका घटनाहरूको दृश्यात्मक विवरण सुनेको छु मैले ।
मैले एकपटक सोधेको थिएँ– कसरी भारतीय सेनामा पुग्नु भो राणासाहेब मान्छे ?
‘म जङ्गबहादुरको सन्तति हुँ, नेपालबाट भागेर पुगेका थियाँैं हामी । त्यतिबेला राणा थर लेख्दा सेनाले भर्तीमा नलिने भएकाले मैले आफ्नो थर ढाँटेर थापा राखेको थिएँ ।’
उहाँ भारतीय सेनामा भर्ती भैसकेपछिका कठिन दिनहरू, आफ्नो मेहेनत र ज्ञानको कारण आफ्ना अफिसरहरू प्रभावित भएका घटनाहरू, युद्धका त्रासदी क्षणहरू, युद्धविराम हुँदा गर्ने रमाइला र साङ्गीतिक क्षणहरू, आफ्नै अगाडिबाट गोली गएका क्षण र आफ्नै मित्रहरू गोली लागेर ढलेका घटनाहरू कथाजस्तै सुनाउनु हुँदा ध्यान दिएर सुन्ने गर्थेंँ म।
एक दिन क्याप्टेनसापले मधुपर्ककै कार्यालयमा जयजीसँग रचना माग्नुभयो । ‘सगर’ त्रैमासिक पत्रिकाका लागि । ‘सगर’ को शुरुवात वीरगन्ज साहित्य परिषदले गरेको थियो । संयोगले वर्षभरिका उत्कृष्ट रचनाहरुमध्ये एक जना उहाँ पनि पुरस्कृत हुनुभो, ज्ञानपूर्ण पुरस्कारबाट । त्यसका लागि म पनि जयजीसँग वीरगन्ज गएको थिएँ । त्यही बेला हामीले दार्जिलिङ, कालिम्पोङ र सिक्किमको यात्रा गरेका थियौं।
२०५३ चैत ३० गते हामी काठमाडौंबाट हिंडेका थियौं वैशाख १ गतेको कार्यक्रमको लागि । वीसापको कार्यक्रममा देशभरि र प्रवासबाट पनि धेरै लेखकहरूको सहभागिता थियो । तर, हामी दुई जनालाई भने क्याप्टेनसापले आफ्नै घरमा बस्नुपर्ने बाचा पहिले नै गराउनुभएको थियो।
बाटोका कारण हामी भनिएको समयभन्दा एक घण्टाजति ढिलो पुगेका थियौं । उहाँ एक घण्टादेखि बसपार्कमा नै हामीलाई कुरिरहनुभएको थियो । बसबाट ओर्लनासाथ द¥हो हात मिलाएर स्वागत गर्दै रिक्सामा चढाउनुभएको थियो ।
छपकैयाको ‘कमला सदन’ लेखिएको दुईतल्ले सेतो घरमा ओरालियौं । त्यही साँझ हामीले खायौँं पियौँं र रमाइलो गरयौं। उहाँ जति फरासिलो हुनुहुन्थ्यो त्योभन्दा बढी कप्तानीसाप रमाइलो हुनुहुन्थ्यो । उहाँको व्यवहारले एकै रात बिताएको घरलाई छोड्न हामीलाई गा¥हो भएको थियो भोलिपल्ट । त्यही राति उहाँले भातको सट्टामा रोटी खानुभएको थियो सुगर भएकाले । अन्ततः त्यही सुगरले जित्दैजित्दै उहाँलाई हरायो २०६० को भाइटीकाको राति ।
सामान्यतया म आफ्नो अनुभूति लेख्ने मान्छे । अरूका अनुभूतिका शल्यक्रिया गर्ने सामथ्र्य नभएको र नरुचाउने मान्छे म । सिर्जना पढ्न सदा तम्सिने तर पढेपछि लागेको लेख्न तर्किने बानीजस्तै बनिसकेको छ मेरो ।
सन्ताउन्न सालको तेस्रो महिनातिर जस्तो लाग्छ । क्याप्टेनसाप आउनुभयो मधुपर्कमा र ‘नेपाली’ त्रैमासिक –१६२ निकालेर दिनुभयो । सरर पल्टाएँ । रैनबसेरा शीर्षक र स्रष्टाको नाम देख्नासाथ रोकिएँ । त्यही अवसर पारेर उहाँले भन्नुभयो – ‘पढेर के लाग्छ लेख्नुस् । कमलबाबुले छाप्छु भन्नुभएको छ ।’ क्याप्टेनसापको आग्रहसहितको सौगात अलिकति भारी र धेरै हार्दिक लाग्यो र स्वीकारेँ।
मलाई लाग्यो– क्याप्टेनसापको यही आग्रहद्वारा नै म ‘नेपाली’ मा प्रवेश गर्नेछु । आफूभन्दा जेठो पत्रिकामा आफ्ना कुरा लेख्न पाउनु चानचुने कुरो होइन । अर्को कुरा कमल दीक्षितजस्ता उमेर, अनुभव, योगदान र सिर्जनाले पनि भीष्मपितामह सरहका श्रद्धेय व्यक्तिले सङ्केत मात्र गर्नु मेरो निम्ति लाख हो , पुरस्कार हो।
क्याप्टेन साप जसको साहित्यमा कलम उघ्रिएदेखि शरीरले नचिने पनि अक्षरहरूसँग परिचित छु । उहाँको लेखनीको प्रारम्भिक कक्षादेखि नै अक्षर मात्र होइन अनुहार र अनुभवहरुसँग परिचित छु म । हो, उहाँको र मेरो उमेरमा पर्याप्त असमानता छ तर भावनाको दृष्टिले हामी समान छाँैं र निकट छौंँ । मन मिलेपछि तन र धनको केही लाग्दो रहेनछ ।
क्याप्टेन जनकबहादुर राणाको रैनबसेराको घटना ०५३ फागुन १८ गतेको साँझको हो । प्रकाशित भएको छ तीन वर्षपछि अर्थात् नेपालीको २०५६ को माघ, फागुन र चैत अङ्कमा । लेखको प्रारम्भमा कथा, कविता नछाप्ने नियम छ नेपालीको भनेर सम्पादकको भनाइसँगै क्याप्टेनसापले संस्मरण भनेर लेखे पनि उत्कृष्ट कथा भएको तर पन्छाउन मनले नमानेको उल्लेख गरिएको छ । यसबाट क्याप्टेनसापको रचना स्तरीय भएको पुष्टि हुन्छ । तर रचना राम्रो हुँदाहुँदै पनि तीन वर्षपछि प्रकाशित हुनुबाट नेपाली साहित्य र प्रकाशन समस्यालाई पनि सङ्केत गरेको छ ।
२०५५ सालको पुसमा फेरि साहित्यिक समूहसहित म वीरगन्ज पुगेंँ । वीरगन्ज साहित्य परिषद्ले मलाई अकस्मात् सम्मान पनि ग¥यो । त्यतिबेला म समूहमा भएको कारण एक्लै छुट्टिएर क्याप्टेन सापकहाँ जान सकिनँ । कार्यक्रमको अन्तिम दिन उहाँले दिउँसो चियाका लागि निम्ता गर्नुभो । सबै जना कलैया जानुभएकाले धरणीधर कोइराला र म एउटा रिक्सामा बसेर उहाँको घरमा दोस्रोपटक पुगेका थियौंँ । त्यतिबेला रमेश गोर्खाली दाइ पनि बाटोमा भेटिनुभयो र सँगै गएका थियौंँ।
विसं २०५६ तिर, सारांश नेपालबाट हामीले चाइनिज कवि चङचको सम्मानमा काठमाडौं किचेन रेस्टुरेन्टमा कार्यक्रम गरेका थियौंँ। कार्यक्रम नसिद्धिँदै क्याप्टेनसापलाई निकै गाह्रो भयो । उहाँ ट्याक्सी चढेर घर जानुभयो महाराजगन्जमा । त्यसपछि पनि कार्यक्रमहरुमा फाटफुट भेटघाट भैरहन्थ्यो, कुराकानी भैरहन्थ्यो।
वीरगन्ज हुनुहुँदा प्रायः शनिबार हामी लामै फोनमा गफिन्थ्योैं र कुरा साहित्यिक नै हुन्थे । पछिल्लो समयमा म उहाँलाई जहिले पनि प्रकाशित संस्मरणहरुको एउटा सङ्ग्रह निकाल्नका लागि भनिरहन्थें । तर उहाँ कहिले हतारिनु भएन । कति पटक त मैले अब काठमाडौं आउँदा तपाईले पाण्डुलिपि लिएर मात्र आउनुपर्छ भनें । उहाँ जहिले पनि हाँसेर भन्नुहुन्थ्यो – ‘तपार्इँजस्तो शुभचिन्तक हुनुहुन्छ। मेरो पुस्तक म मरेपछि निकालिदिइहाल्नुहुन्छ नि ।’
दुख लाग्छ । अहिलेसम्म पनि सार्थक बनाउनसकेको छैन उहाँले मप्रति गर्नुभएको विश्वासलाई । बचन पूरा गर्न नसकेकोमा चिमोटिरहेजस्तो लाग्छ । तर के गर्नु ? पुस्तक प्रकाशन गर्नका लागि छोरा विशालसँग पटकपटक कुरा पनि नभएको होइन । क्याप्टेन सापलाई सम्झनासाथ अहिले पनि उहाँको त्यही आवाज बेलाबेलामा सुनिरहेंजस्तो लाग्छ । ढिलोचाँडो अवश्य निस्केला क्याप्टेनसापको ‘लाहुरेको डायरी’ । बाँच्ने भनेकै विश्वासले त हो नि ।
पुस्तकका लागि जयजी र मैले धेरै कराएको बेला भने धेरैवटा रचनाको सम्पादन पनि गरिसकेको बताउनुहुन्थ्यो उहाँ । बेलाबेलामा फोन गरेर उहाँले हामी उपस्थित भएको कार्यक्रमको आयोजक, वक्ताहरू , तिथिमिति जस्ता प्रश्न सोधिरहनुहुन्थ्यो।
एक पटक मैले इमेज एफएममा उहाँसँग आधा घण्टाको साहित्यिक अन्तर्वार्ता लिएको थिएँ, स्टुडियोमा नै बोलाएर । उहाँले आफ्नो क्यामराबाट फोटो खिच्न लगाउनु भएको थियो प्राविधिक मित्रलाई । कुनै कार्यक्रममा त्यो फोटोका पछाडि तिथिमिति र आफ्नो मन्तव्यसहित लेखेर मलाई एकप्रति दिनुभएको थियो । त्यो अन्तर्वार्तामा मैले गरेका प्रश्नहरूको बारेमा पनि पटकपटक मलाई सोध्नुभएको थियो, लेख्नलाई । तर लेखिए नलेखिएको भने थाहा पाउन सकेको छैन ।
केही वर्ष मैले इमेजमा समाचार वाचन शुरु गरें । त्यसपछि प्रत्येक दिन बिहान साढे छ बजे समसामयिक घटनाका बारेमा सम्बन्धित नेताहरूसँग प्रत्यक्ष अन्तर्वार्ता लिने कार्यक्रम चलाएँं ‘आजको सन्दर्भ’ । उहाँ त्यसको नियमित स्रोता हुनुहुन्थ्यो । जहिले पनि मेरो आवाज र मैले गरेका प्रश्नहरूको प्रशंसा गर्नुहुन्थ्यो । हरेक दिनको कार्यक्रम सकिनासाथ प्रतिक्रिया दिएर प्रोत्साहित गर्ने गर्नुहुन्थ्यो । क्याप्टेनसाप सेनाबाट निवृत्त हुनुभएपछि कृषक र कृषकबाट साहित्यकार बन्नुभएको थियो । क्याप्टेन राणाको साहित्यिक सक्रियता र सबै पुस्तासँग घुलमिल हुनसक्ने उहाँको विशेषता अद्भूतको थियो ।
उहाँको संस्मरणशक्ति अत्यन्त तीक्ष्ण थियो । उहाँ प्रत्येक घटना र पात्रको संवाद समेत सविस्तार वर्णन गर्न सक्नुहुन्थ्यो । यही गुणका कारण उहाँका प्रायः संस्मरणहरू चित्रात्मक हुन्थे । नेपाली, अङ्ग्रेजी, हिन्दी र बङ्गाली भाषाको राम्रो ज्ञानका कारण परिवेशअनुसार शब्दप्रयोग गर्न सिपालु हुनुहुन्थ्यो । आफ्नो क्षेत्रको पर्याप्त ज्ञान र संस्मरण शक्तिका कारण उहाँको लेखाइ सन्दर्भमाथि सन्दर्भ जोड्दै आकाशपाताल जोडिएजस्तै पनि हुनेगथ्र्यो । त्यसैले उहाँ छोटो लेख्न सक्नु हुन्नथ्यो, लामा हुन्थे उहाँका लेखहरू।
एक पटक रेयुकाई नेपाल पाटन शाखाको आयोजनामा कविगोष्ठी भएको थियो । संयोजकका नाताले विभिन्न कविहरूका साथ उहाँलाई पनि निम्ता गरेको थिएँ । अर्को पटक २०५४ पुस १८ गते अन्तर्राष्ट्रिय स्वयं सेवा दिवसको उपलक्ष्यमा विद्यालयस्तरीय कविता प्रतियोगिता भएको थियो । त्यसमा उहाँलाई निर्णायकका रूपमा आमन्त्रण गरेँ । एकपटक कवि र अर्को पटक निर्णायक हुनुभएकोमा निकै खुशी हुनुभएको थियो । यी दुई सन्दर्भलाई आधार बनाएर उहाँले एउटा संस्मरण लेख्नुभयो – ‘किस्सा प्रायश्चित्तको’ । छापियो समष्टिको वर्ष १९, अङ्क १, २०५५ मा । त्यसमा केही सन्दर्भ पारेर मेरा केही बानीहरूका बारेमा पनि उल्लेख गर्नुभएको थियो । त्यही भएर होला त्यो समष्टिको भित्री पृष्ठमा उहाँले ‘परम मित्र श्रीओम श्रेष्ठ ‘रोदन’ ज्यूमा नरिसाएर पढिदिने आग्रहसहित समर्पण ’ भनेर हस्ताक्षर गरेर दिनुभएको थियो।
हाम्रो सम्बन्ध हामी दुईको बीचमा मात्र नभएर पारिवारिक थियो । हामीबीच घरमा जानेआउने क्रम चलिरहन्थ्यो । जयजी र म मात्र हुँदा कतिपय नभन्दा पनि हुने पारिवारिक कुराहरू पनि बताउनुहुन्थ्यो।
चिनीको रोगले उहाँलाई निकै गाल्दै लगेको थियो । आँखा राम्रोसँग नदेख्ने भएपछि पटकपटक लेजर गराउनुभएको थियो । प्रत्येक दिन इन्सुलिन लगाउनुपथ्र्यो । कतिपटक लड्नु पनि भयो । आँखाले राम्रो देख्न छोडेपछि उहाँ घरबाट बाहिर निस्कन सक्नु भएन । त्यसपछि उहाँ प्रायः साहित्यकारहरूसँग फोनमा मात्रै कुरा गर्नुहुन्थ्यो । जोसँग कुरा भए पनि मलाई भन्नुहुन्थ्यो र साहित्यिक गतिविधिका बारेमा सोधिरहने गर्नुहुन्थ्यो । घरमा नै थला पर्न थाल्नु भएपछि जयजी र म केही पटक सँगै भेट्न पुगेको थियौंँ । केही पटक मदन दाइ, पुष्पजी र अन्यको साथमा पनि गएका थियाँैं । एकपटक म निर्मोही व्यास सरसँग पनि गएको थिएँ । त्यसबेला धेरै कुरा नगरी मैले दुई वटा निबन्ध सुनाएको थिएँ, उहाँको अनुरोधमा ।
उहाँको अस्वस्थता बढ्दै गएको थियो । धेरै चाप्दा भने शिक्षण अस्पतालमा भर्ना हुनुभएको थियो । अस्पतालमा कमजोर र शिथिल देखिनु भए पनि अलिकति पनि डराउनु हुँदैनथ्यो । विश्वासका साथ कुरा गर्नुहुन्थ्यो । पछि कप्तानी सापसँगको कुराबाट मात्र उहाँको स्वास्थ्य स्थितिको जानकारी पाएका थियौंँ।
पछिल्लोपटक उहाँ विएण्डवि अस्पतालमा लामो समय भर्ना हुनुभयो । भर्ना हुनासाथ क्याप्टेन सापले छोरा विशाललाई हामीलाई फोन गर्न भन्नुभएको थियो । खबर पाउनासाथ हामी पुगेका थियौंँ । हामीलाई देखेर उहाँ निकै खुशी भएर भन्नुभएको थियो– ‘तपाईहरूसँग भेटघाट गर्न मन लागेर खबर गर्न लगाएको ।’
विएण्डविमा भने उहाँ निकै गलिसक्नुभएको थियो । उहाँ आफैले पनि आशा मारिसक्नुभएको जस्तो कुरा गर्नुहुन्थ्यो । त्यसैले हुनसक्छ आफू हस्पिटलमा भएकै बेलामा उहाँले आफ्नो एक मात्र छोरालाई हतार गरेर विवाह गर्न लगाउनुभएको थियो । त्यो दिन हामीलाई हस्पिटलमा खुशीयालीको लड्डु खुवाउनुभएको थियो ।
सायद त्यसपछि हामीबीच भेट हुन सकेन । खुशीको लड्डु खाएर छुट्टिएको भेट नै अन्तिम भेट बन्यो हाम्रो । एकैपटक भाइटीकाको राति खबर आयो हामी सबैलाई छोड्नुभएको । यद्यपि क्याप्टेनसापसँगको मित्रता कायमै छ । उहाँको शरीर नभए पनि उहाँले बताउनुभएका संस्मरणहरू कानमा गुन्जिरहेका छन् । कतिपय सन्दर्भमा सिकाउनुभएका कतिपय कुराहरू मुटुमा टाँसिरहेका छन् ।
थोरै समयमा साहित्यमा धेरै गर्नु भो र धेरै पाउनु भो पनि । यो अमरत्वलाई श्रद्धाञ्जली होइन सलाम छ मेरो।
आखिर तपाई बन्दुकको सिपाही भन्दा कलमकै सिपाही बन्नुभयो क्यारे।
प्रकाशित: ३ वैशाख २०७८ ०९:२२ शुक्रबार