कला

विलियम वर्डस्वर्थलाई भेट्न लेक डिस्ट्रिक्टतिर

नियात्रा

  – पवन आलोक

बिहानैदेखि घाम तापेर रमाइरहेको छ लण्डन ।  

बेलाइतमा मौसमको कुनै ठेगान हुँदैन । एकैछिनमा पानी पर्नु र एकैछिनमा चिसो हावा चल्नु त्यहाँको लागि सामान्य कुरा नै हो । अंग्रेजहरूको राजधानी यो बुढो शहर लण्डनले संसारभर नै शासन गरेको हो कुनै समयमा । “द सन नेभर सेट्स इन ब्रिटिश अम्पाएर “अर्थात् ब्रिटिश साम्राज्यमा कहिल्यै सूर्यास्त हुँदैन त्यसै भनिएको होइन । अहिलेको विश्व शक्ति राष्ट्र अमेरिका मात्र होइन, संसारका मै  हुँ भनिने देशहरू पनि बेलाइतको उपनिवेश थिए । हजारौं वर्षको इतिहास बोकेको यो देशमा म पनि अध्ययनको क्रममा बसेको छु करीव छत्तिस वर्षअघि । त्यो बेलामा अहिले जस्तो नेपालीहरू भेट्न निकै गाह्रो थियो । यदाकदा भेटिहालियो भने आफ्नै सहोदर आफन्तलाई भेटेझैं  लाग्ने गथ्र्यो । बेलाइतको प्राचीन संस्कृति, परम्परा र इतिहासबाट म निकै प्रभावित पनि थिएँ । अहिले म तुलना गर्छु त्यो हिसाबले हेर्दा अमेरिकाभन्दा बेलाइत नै किन किन बढी रमाइलो लाग्छ । कोलम्बसले अमेरिका पत्ता लगाएको कति नै भयो र ! अमेरिकामा जहाँजहाँ गएँ म खासै प्रभावित हुन सकिनँ । हो अमेरिका धेरै अर्थमा विकसित छ, विश्वकै शक्ति सम्पन्न राष्ट्र बनेको छ । तर, संस्कृति, परम्परा, इतिहास र भाषा साहित्यको आफ्नै महत्व हुँदो रहेछ।  

बेलाइतमा तपाई जहाँजहाँ जानु हुन्छ विश्वप्रसिद्ध एकसे एक कवि, लेखक, साहित्यकारका शालिक, स्मारक वा सडकको नाउँ वा जन्मस्थल र म्युजियम भेटेर छक्कै पर्न सक्नु हुन्छ।

शेक्सपियर, जर्ज वर्नार्ड शा, चाल्र्स डिकन्स, विलियम वर्डस्वर्थ, मिल्टन, कलरिज, शेली, किट्स्, ब्राउनिङ, वाइरन आदि केही नामहरू हुन् । विश्व साहित्यमा बेलाइतको योगदानको सबैले प्रशंसा गर्ने गर्दछन् । यो देशले कैयौं महान् साहित्यकारहरू दिएको छ विश्वलाई । घुम्दै जाँदा कुनै विश्वप्रसिद्ध व्यक्तिको शालिक वा म्यूजियम भेटिँदा मलाई सुरुमा त विश्वास नै हुँदैनथ्यो । मैले किताबमा पढिराखेका कवि यिनै हुन् त ? साँच्चि नै हो र ? म छक्क पर्ने गर्थें । अनि मलाई लाग्थ्यो, म त्यहीँ ठाउँमा पुगेको छु जहाँ यी ख्यातिप्राप्त व्यक्ति इतिहासको कुनै कालखण्डमा यहाँ थिए र म आफूलाई पनि त्यही कालखण्डमा यो पुगेको छु कि भन्ने भान पर्थ्यो । सुखद् आश्चर्य हुन्थ्यो । म आफू पनि साहित्यमा अभिरुचि राख्ने हुँदा यस्तो हुनु स्वभाविक पनि थियो।

म नयाँनयाँ ठाउँ हेर्न, घुम्न रुचाउने मान्छे । लण्डन टेकेकै दिन लण्डन अन्डरग्राउण्ड ट्रेनबाट घुमेको मलाई सम्झना छ । कलेजमा लामो छुट्टी भयो भने कुनै न कुनै देश घुम्न जाने योजना बनाउँथें र भ्रमण गर्थें । चाहे त्यो क्रिसमसको छुट्टी होस् वा इस्टरको । लामो छुट्टीको उपयोग गर्दै कहिले फ्रान्स कहिले जर्मनी र कहिले स्वीटजरल्याण्ड । सप्ताहान्तहरूमै पनि बेलाइतका नयाँनयाँ ठाउँहरूमा घुम्न जाने योजना बनाइहाल्थें । मेरो लिस्टमा केही ठाउँहरू थिए–शेक्सपियरको जन्मस्थल स्ट्राटफोर्ड अपन एभन, विलियम वर्डस्वर्थको घर भएको लेक डिस्ट्रिक्ट आदिआदि । वर्डस्वर्थको ‘लुसी’, ‘अपन द वेस्टमिनिस्टर ब्रिज’ लगायत उनका अन्य सिर्जनाहरू पढेर प्रभावित भएको म उनको घर हेर्न लालयित थिएँ।

जुन महिना थियो । कलेजमा तीनचार दिन लगातार छुट्टी हुने वाला थियो । मैले मेरा कोर्स कोअर्डिनेटर अवेल कम्वेनसँग अनुमति मागें र उनकै सल्लाह अनुसार त्यो छुट्टीमा लेक डिस्ट्रिक्ट घुम्न जाने निर्णय गरें । मेरा एक जना अंग्रेज सहपाठी मार्कसँग कुरा गरें– ऊ पनि जाने भयो । ऊ मेरो मिल्ने साथीमध्येको थियो । लगभग मेरै उमेरको । सज्जन थियो। 

यो छुट्टीमा लेक डिस्ट्रिक्ट मात्र होइन, स्कटल्यान्डका केही भाग र अन्य ठाउँ  समेत घुमेर फर्कने हाम्रो सल्लाह थियो । पूर्व निर्धारित कार्यक्रम अनुसार मार्क र म लन्डनबाट रेलमा म्यान्चेस्टर गयौँ । हामी चढेको त्यो द्रुत गतिको रेल हरिया चउरहरू, ससाना डाँडाकाँडा, वन र खोल्साहरू पार गर्दै सुइयसुइय आवाज निकाल्दै कतैकतै सुरुङभित्र पस्तै फुत्तफुत्त बाहिर निस्कन्थ्यो । कति आरामदायी रेल । रेलभित्रै वार र रेस्टुरेन्ट पनि भएकाले मार्क र मैले केही खानेकुरा किन्यौ र एकएक क्यान वियर पनि लिँदै आनन्दसँग यात्रा गर्यौ । म्यान्चेस्टर घुम्ने रहर हामी दुवैको थियो । ऊ पनि पहिले त्यहाँ पुगेको रहने छ।

२१ जुनमा म्यान्चेस्टर कार्निभलको मौका परेको रहेछ । विभिन्न रंगीचंगी लुगा लगाएका केटीहरू, बच्चाहरू म्युजिकल व्याण्ड सहितको लामो प्रोसेसनमा थिए । घोडा बग्गीहरू स्कटिस लुगा लगाएका, हाम्रो काठमाडौँका जात्राहरूमा लगाउने जस्तै मास्कहरू लगाएका खुला, सिंगारिएका गाडीहरूमा नाच्दैगाउँदै हिंडिरहेका मानिसहरू, कति रमाइलो । मार्क र मैले फोटोहरू खिच्यौं ।  

२१ जुनकै दिन हामी बस चढेर लेक डिस्ट्रिक्टको विन्डरमियरतर्फ गयौं । हामी लेक डिस्ट्रिक्ट पुग्दा सूर्यास्त हुनै लागेको थियो । आहा कति सुन्दर रहेछ यो ठाउँ  स–साना लेकहरू । हाम्रो पोखरा जस्तो, मिनि फेवाताल मिनि बेगनास ताल जस्ता तालहरू । स–साना लेकहरू तथा फुच्चे पहाडहरू । सुन्दर हरियो वन जंगल । मनमोहक । अस्ताउँदो सूर्यका किरणहरू ती तालहरूमा पर्दै थियो अति रमणीय लाग्यो । हाम्रो नेपाल मात्र सुन्दर भनेको त यो पनि कम सुन्दर त कहाँ रहेछ र ? यही लेक डिस्ट्रिक्टमा विश्वप्रसिद्ध कवि विलियम वर्डस्वर्थ जन्मे, हुर्के र जीवन बिताएका रहेछन् । श्रद्धाले मेरो शिर निहुरियो–ती महान् कविको सम्झनामा । वर्डस्वर्थ लेक डिस्ट्रिक्ट एरियाकै कम्बरल्याण्डमा जन्मेका रहेछन् ।      

मार्क र म एउटा होटल बुक गरेर बस्यौं । भोलिपल्ट बिहान ब्रेकफास्टपछि हामी घुम्न निस्कियौं । यो विन्डरमियर लेक चारैतिर स–साना पहाडै पहाडले घेरेको, प्रकृतिको वासस्थान नै जस्तो लाग्ने । झ्याउले बेरेका अग्लाअग्ला बुढा रुखहरू । झरनाहरू । हरियो पाखामा हुलका हुल भेडा, गाई, गोरु, घोडा चारिरहेका । हाम्रै गाउँघर जस्तो अग्ला होचा जमीन, ढुंगाका पर्खालहरू, जंगलहरू । पारि क्षितिजमा अलि अग्ला पहाडहरू देखिन्थे । यो प्राकृतिक सुन्दरताले पक्कै पनि वर्डस्वर्थलाई आफ्नो सिर्जनाका लागि प्रेरणा दियो होला।

पर्यटकहरू थिए– क्यामेरा लिँदै घुमिरहेका । मैले मार्कलाई नेपालको सुन्दरताको कुरा गरें– पोखरा र अन्य ठाउँहरूका बारे, रारा र फेवातालका बारे, माउन्ट एभरेस्टका बारे । ऊ मेरो कुरामा निकै प्रभावित देखिन्थ्यो । भन्थ्यो– केही वर्षपछि अलिक पैसा जम्मा गरेर अवश्य नेपाल घुम्न आउने छु।

केही जोडीहरू वोटिङमा व्यस्त थिए । हामी भने रिडल, याम्बल साइट, किन्डल, ल्याङडेल घुम्दै हामीले जान चाहेको खास ठाउँ ‘ग्रासमेयर’ तर्फ लाग्यौँ । जहाँ वर्डसस्वर्थको कटेज थियो– ‘डोभ कटेज’ । खरले छाएको होचो दुई तेल साधारण घर तर छ विश्वप्रसिद्ध । जसलाई हेर्न संसारका कुनाकुनाबाट मानिसहरू आउँछन् । यही घरमा वर्डस्वर्थले आफ्नो जीवनका महत्वपूर्ण आठ वर्ष बिताएका थिए । यही डोभ कटेजको नजिकै वर्डस्वर्थ म्युजियम रहेछ जहाँ वर्डस्वर्थले प्रयोग गरेका लठ्ठी, टोप , किताब र तस्वीरहरूको संग्रह छ ।

यही डोभ कटेजमा उनी आफ्नी बहिनी डोरोथीसँग सन् १७९९ को डिसेम्बरमा बस्न आएका थिए रे । यो कटेजभित्र छिरयौ हामी– बैठक कोठा, वर्डस्वर्थको खाने कोठा । पुराना काठका केही कुर्सी र टेबुलहरू राखिएका, दाउरा बालेर  आगो ताप्ने चिम्नी । वर्डस्वर्थ र उनकी श्रीमती मेरी सुत्ने गरेको कोठा । भित्तामा केही पारिवारिक फोटाहरू । दाहिनेपट्टि वर्डस्वर्थको पढ्ने, लेख्ने कोठा।

यही कटेजमा सर वाल्टर स्कट, उनकी पत्नी डिकेन्सी, कोलरिज वर्डस्वर्थका साथमा घन्टौ बिताउने गरेका थिए । वर्डस्वर्थले यहाँ थुप्रै साहित्यिक कृतिहरू लेखेका थिए।

हामी यो ऐतिहासिक ठाउँमा घुम्दै गर्दा ती महान् कवि वर्डस्वर्थलाई सम्झदै श्रद्धाले शिर झुकाइरहेका थियौँ । हामी नजिकैको नीलो ग्रासमेयर झर्ना आफ्नै तालमा थियो, घरि घाम लाग्थ्यो घरि हुस्सुले छोप्थ्यो ग्रासमेयरलाई । हामीलाई त्यसपछि वर्डस्वर्थ बसेको अर्को घर ‘राइडल माउन्ट’ पुग्यौँ । यो घर अलि भव्य र आधुनिक पनि रहेछ– वरिपरि बगैंचा पनि भएको । यही घरमा वर्डस्वर्थ लामो अवधिसम्म बसे र यही घरमै सन् १८५० मा असी वर्षको उमेरमा उनको निधन भयो ।  

त्यहाँ गाइडले हामीलाई बैठक कोठा, वर्डस्वर्थले प्रयोग गर्ने गरेका कुर्सी, बुट्टे मसीदानी, कलम, टेबुल, बहिनी डोरोथीले प्रयोग गर्ने गरेको कुर्सी, डाइनिङ रुम, बेडरुम आदि देखाएपछि मार्क र म अलि पर्तिर रहेको चर्च यार्ड पुग्यौँ । त्यहाँ वर्डस्वर्थको चिहान पनि रहेछ । उनकी श्रीमती मेरी र परिवारका अन्य सदस्यको चिहान पनि त्यहीँ रहेछ। मैले मनमनै ती प्रिय र महान् कवि वर्डस्वर्थप्रति श्रद्धा व्यक्त गरेँ । मैले हाम्रा आदिकवि भानुभक्त सम्झिएँ, लेखनाथ सम्झिएँ, महाकवि देवकोटा सम्झिएँ । खै हामीले हाम्रा साहित्यिक धरोहरहरूलाई सम्मान गर्न सकेको ? सम्झेर दिक्क लाग्यो।

हामी रेल चढेर साँझ स्क्टल्याण्डको प्रसिद्ध शहर ग्लास्गो (न्बिकनयध) पुग्यौँ । यो स्कटल्याण्डको प्रमुख औद्योगिक शहर पनि हो । भोलिपल्ट बिहान ग्लास्गोका वुचानन स्ट्रीट, पार्लियामेन्ट स्ट्रीट, जर्ज स्क्वायर आदि ठाउँहरू घुमेर हामी स्टकल्याण्डको अर्को प्रसिद्ध शहर एडिनवरातर्फ प्रस्थान गरयौ । एडिनवरामा मार्कको एउटा नातेदार रहेछ फिलिप । एडिनवरामा ऊ एक्लै बस्दो रहेछ । त्यहींको एउटा कम्पनीमा काम गर्दो रहेछ । मार्कले ग्लास्गो छाड्नुअघि हामी आउँदैछौँ भनेर उसलाई फोन गरिसकेको थियो । फिलिपले हामीलाई एडिनवरामा स्वागत ग¥यो । मार्कले ऊसँग मेरो चिनजान पनि गरायो । हामी त्यो दिन फिलिपको पाहुना बनेर बस्यौँ । उसले शहर घुमायो, स्कटल्याण्डको प्रसिद्ध स्कच खुवायो । साँझ एउटा क्लबमा पनि लग्यो । त्यो रात एडिनवरा बसेर भोलिपल्ट फिलिपलाई धन्यवाद दिँदै ऊसँग बिदावारी भएर म र मार्क रेलबाट लण्डनतर्फ प्रस्थान गरयौँ ।    

प्रकाशित: ३ वैशाख २०७८ ०६:१० शुक्रबार

अक्षर