कला

नयाँ वर्ष

कविता

कविता ढकाल ढुंगेल

 

आयो रे आयो नयाँ उमंग लिएर नयाँ  वर्ष आयो,

गाउँ शहर पहाड तराई सबैमा वसन्त बहार छायो।

 

बनजंगल बोटबिरुवा सबैतिर नयाँ पालुवा पलायो,

नयाँ पालुवाको साथमा रूखबिरुवा पनि मुस्कुरायो!

 

बिहानीको मिर्मिरे उज्यालोसँगै चिर्बिर चरा करायो,

नयाँ वर्षको बिहानसँगै सूर्यको सुनौलो किरण छायो।

 

नयाँ वर्षले उमंग अनि जोश जाँगर सबैमा ल्यायो,

पुरानो वर्षको शिशिर छाडी नयाँ वसन्त बहार ल्यायो ।

 

सबैलाई नयाँ वर्षको शुभकामना भन्ने शब्द नै गुन्जायो,

वरपर साथीसँगी सबले भन्ने गर्दछन् नयाँ वर्ष आयो।

 

बेली अनि चमेलीले नयाँ बास्ना छर्दै स्वागत गर्दै छन रे,

बनभरि गुराँस र सुनाखरीले पनि मृदु मुस्कान छर्दै छन् रे।

 

बनपाखामा मयूर प्वाँख फिँजाई स्वागतमा नाच्दै छन् रे,

नदीनाला मुस्कुराउँदै कलकल बग्दै स्वागत गर्दै छन् रे।

 

सल्लाका बोटले सुसाउँदै नयाँ वर्षलाई डाक्दै छन् रे,

धुपीका बोट पनि स्वागतका लागि रमाउँदै हाँस्दछन् रे।

 

आहा आयो रे नयाँ वर्ष उमंगको साथमा आयो,

सबैको मनमा नयाँ जोस जागर र उमंग  ल्यायो।

प्रकाशित: २ वैशाख २०७८ ०६:२३ बिहीबार

अक्षर