कला

टिका

लघुकथा

नारायणी (पौडेल) खनाल 

फागु पूर्णिमाको दिन मेरी साथी पूजा, अबिरको प्याकेट बोकेर मेरो घरमा फागु खेल्न आएकी थिइन्। मलाई भने फागु खेल्नमा सानैदेखि त्यति रुचि लाग्ने थिएन। पूजाले ‘हाम्रो सबै परिवारलाई  टिका मात्र भए पनि लगाउनुपर्छ’ भन्दै सद्भाव, प्रेम अनि विजयको प्रतिक रातो टिका लगाइदिइन्। टिका लगाउने क्रममा उनले हाम्रो हजुरआमालाई पनि रातो टिका लगाउन कर गर्दै थिइन्  – हजुरआमा ! हजुरलाई पनि टिका मात्र लगाइदिन्छु है?

–भैगो नानी ,मलाई नलगाऊ। तिमीहरू लगाएर रमाइलो गर न। म हेरेरै खुशी हुन्छु।  

– केही हुन्न क्या आजको टिका। सानो लगाइदिन्छु नि!

पूजाले हजुरआमालाई जबर्जस्ती टिका लगाइदिन खोजिन् – ए नानी ,  किन यसरी कर गरेर टिका लगाइदिन खोज्छ्यौ। मैले यो टिका लाएँ भने देशमा शान्ति छाउँछ र ? चन्दन लगा’कै छु। किन लाउनु यो रातो टिका ?

– ए ! हजुरआमा त एउटा टिका लगाइदिऊँ भन्दा देशका कुरा पो गर्न थाल्नुभयो!

पूजा र म दुवै हाँस्न थाल्यौ । हजुरआमा भने गम्भीर देखिनुभएको थियो।  

– हामीले धेरै आशा राख्दै उनीहरूले भनेजस्तै गरी छानेर, अबिर र फूलले छोपेर पठाएकाहरू ठाउँमा पुगेपछि रातो टिकाको महत्व, मर्यादा बिर्सेर कालो टिका मन पराउन थाल्दा रहेछन्।  

–कालो टिका पनि कति लगाउन सकेका सबैका निधार उत्रै भएजस्तै लाग्ने।

हजुरआमाले फत्फताउँदै पूजाको हातबाट अबिर लिएर हामीलाई लगाइदिनुभयो अनि भुईंको माटो कोट्याएर पूजाको हातमा दिंदै ‘ल नानी, मलाई यही टिका लगाइदेऊ निधारमा’ भन्नुभयो।

प्रकाशित: २ वैशाख २०७८ ०५:४४ बिहीबार

अक्षर