कला

१०१ प्रथम नेपाली महिलाः को, कहिले

पुस्तक समीक्षा

कमल रिजाल

नेपाली साहित्यको क्षेत्रमा नयाँ नाम होइन निर्मलकुमार आचार्य । गोरखापत्र दैनिकको प्रधानसम्पादक रहिसकेका आचार्य सिद्धहस्त लेखकसमेत मानिन्छन् साहित्यिक क्षितिजमा । यस अघि नै झन्डै एक दर्जन पुस्तक लेखिसकेका आचार्यको ‘प्रथम नेपाली महिला (परिमार्जित तथा परिवर्धित)’ नामक पुस्तक प्रकाशनमा आएको छ हालै । पुस्तकबारे पहिले नै सुनेको भए पनि पढ्ने साइत भने जुरेको थिएन । एकदिन आमाको किरियामा बसेका आफन्तलाई भेट्न जाँदै थिएँ पशुपति आर्यघाटतिर । उनको फोन आयो बाटामै । कुराकानीबाट थाहा भयो त्यतै आउँदै रहेछन् उनी पनि । बाटामै भेटेर एउटा पुस्तक दिएर गए उनी । घरमा आएर हेरेँ उही प्रथम नेपाली महिला नामक पुस्तक रहेछ । पुस्तक मोटो भएकाले तत्कालै पढ्न सुरु गरेको भए पनि एकसरो पढेर सक्न तीन दिनजति लाग्यो मलाई।

लेखकले १०१ प्रथम नेपाली महिलाका बारेमा चर्चा गरेका रहेछन् पुस्तकमा । यिनमा सीता र गार्गी÷ वाचक्नवी जस्ता केही प्रागैतिहासिक कालका विश्वविख्यात महिला पर्छन् भने बाँकी भृकुटी लगायत प्राचीन तथा आधुनिक इतिहास र वर्तमान कालका प्रथम नेपाली महिलाहरू रहेका छन्, जसले अद्भूत कला र क्षमता प्रदर्शन गरेका छन् योग, दर्शन, अध्यात्म, शिक्षा, सङ्गीत, राजनीतिक, प्रशासनिक, विज्ञान, प्रविधि, पत्रकारिता, पर्वतारोहण, प्राध्यापन, गायन, उद्योग, व्यवसाय लगायत तमाम क्षेत्रमा । यतिलामो कालखण्डका प्रथम नेपाली महिला खोजी गर्नु लर्तरो काम होइन पक्कै पनि । चानचुने खुवी र अध्यययनले भ्याउँदै भ्याउँदैन । समुद्रमा गोता लगाएर मोती खोज्नुजस्तै हुन्छन् यस्ता कामहरू । यसका लागि जति गहन अध्ययनको आवश्यकता पर्छ त्यति नै खाँचो पर्छ धैर्य र साहसको पनि । जतिसुकै मिहिन ढङ्गले खोजे पनि छुट्ने र काल व्यतिक्रम हुने सम्भावना रहन्छ यस्ता कामहरूमा । असल नियतले काम गर्दागर्दै पनि अपजसको भारी बोक्नुपर्ने अवस्था आयो भने त्यो पनि अस्वाभाविक होइन । एककिसिमले अग्निपरीक्षा जस्तै हुन्छन् यस्ता काम हर लेखकका लागि तर निर्मलकुमारजीको कुरा बेग्लै छ । यसमा खरो उत्रेका छन्, उत्रन सफल भएका छन् उनी ।  

प्रागैतिहासिक कालीन नारी सीता यस्ती प्रतिभा हुन्, जसको तुलना हुँदैन, हुनै सक्दैन कसैसँग पनि । त्यतिबेलै नेपाल र भारतबीच सेतु बनेर आदर्शको पढाएकी मात्र छैनन् सुदूर लङ्कासम्म पुगेर साक्षात् माता लक्ष्मीको स्थान सुरक्षित गर्नसमेत भ्याएकी छन् उनले । नेपालकी छोरी सीतालाई भारतीयहरूले जति मान्थे, मान्छन् त्यति नै मान्थे समुद्रपारिका लङ्कावासीले पनि त्यतिबेला । हालको अवस्था कस्तो छ थाहा छैन । सायद कुनै न कुनै अवशेष बाँकी नै होला अहिले पनि त्यसको । गार्गी वाचक्नवी पनि उत्तिकै बेजोड नारी प्रतिभा हुन् प्रगैतिहासिक युगका । खासगरी ब्रह्मवादिनी भनेर चिनिने यी नारीले विलक्षण प्रतिभाका कारण देशविदेशमा चर्चा पाएकी थिइन् त्यतिबेलै । प्राचीन इतिहासको कुरा गर्दा त्यस्तै बेजोड नारी प्रतिभा मानिन्छिन् राजकुमारी भृकृटी पनि, जसले दुई देशबीचको सेतु बनेर भाइचाराको विकास गरेकी मात्र थिइनन् धार्मिक, सामाजिक र राजनीतिक क्षेत्रमा समेत राम्रै योगदान दिएकी थिइन् । आधुनिक इतिहासका नारी योगमायाको त के कुरा गर्ने, जसले सामाजिक र राजनीतिक सुधारकै खातिर जीवनदान दिएकी थिइन् । प्रशासकलाई चेतावनी दिन दर्जनौँ समर्थक सहित जलसमाधि लिन हिम्मत गर्ने साहसी नारी मिल्दैन सायद दुनियाँभरि कतै पनि तर बिडम्बना नै मान्नुपर्छ उनको त्यागको कदर हुन सकेन त्यतिबेला । हाल आएर भने केही आशा लाग्दा नतीजा देखिन थालेका छन् यसबारेमा । अन्य प्रथम महिलाका कुरा पनि त्यस्तै हो । आज नसही भोलि कुनै बेला उनीहरूका पनि क्षमताको कदर गर्न बाध्य हुनेछ समाज र सरकार पक्कै पनि।  

यद्यपि ऐतिहासिक कालका प्रथम महिला राजेन्द्रलक्ष्मीका बारेमा केही आलोचना नभएको होइन । आफ्ना आठ वर्षे नायवी कालमा एक महिनाकी सुत्केरी सौता मैजुरानीलाई सती जान बाध्य पारेर कहिल्यै नमेटिने कलङ्को टीका लगाएर गएकी छन् उनी । यसबारेमा भने तत्कालीन परिवेशमा सत्ता टिकाउन जे गर्नु थियो त्यही गरिन्, उनका स्थानमा अरू भएका भए पनि सायद त्यही गर्थे भनेर चित्त बुझाउनुपर्ने अवस्था छ । राजनीतिक मामिलामा अहिले पनि पर्दा पछाडि यस्तैखाले हुने÷नहुने काम हुन्छन्, भइरहेका छन् भने त्यतिबेलाको अवस्था अर्कै थियो । यस्तैयस्तै केही कमीकमजोरीबाहेक एकीकरण मामिलामा उनले जुन साहस देखाएकी थिइन् निसन्देह त्यो प्रशंसनीय छ । पुस्तकमा उल्लेख भएका सबै नारीहरूको अवस्था पनि त्यस्तै हो । आफ्नो स्थानमा रहेर देशको कीर्ति फिँजाउन र छवि उकास्न जति गरेका छन्, धेरै नै गरेका छन् सबैले ।  

हाम्रो समाजले नारीलाई उच्च सम्मान दिँदै आएको छ प्राचीन कालदेखि नै । जहाँ नारीको सम्मान हुन्छ त्यहाँ देवीदेवताका बास हुन्छ भन्ने मान्यता छ हाम्रो । प्रायः सुनिन्छ नारी भनेका आधा आकाश हुन् तर आधा होइन पूर्ण आकाश भन्नुपर्ने पर्ने देखिन्छ उनीहरूका देनलाई केलाउँदै जाने हो भने । नारीबिना कोही पनि पूर्ण हुँदैन । न समाज पूर्ण हुन्छ न घरपरिवार नै । उनीहरूबिना पूर्ण भइन्न, हुनै सकिन्न भने पूर्ण नभनेर के भन्ने प्रश्न विचारणीय छ । यस्तो अवस्थामा प्रथम नारीको भूमिका कति बढी होला स्वतः अनुभूत हुने कुरा हो । यस्ता १०१ नारीहरू खोज गरी प्रकाशनमा ल्याएर साह्रै राम्रो काम गरेका छन् निर्मलकुमार आचार्यजीले । यसको अर्थ यतिमै उनीहरूका त्याग र समर्पणको भरपाई हुन्छ वा भयो भन्ने होइन तर एउटा लेखकले त्यो पनि आफ्नै खर्च र बलबुतामा जति हुन सक्थ्यो बढी नै भएको छ भन्नुपर्छ । सरकार लाग्नुपर्छ, समाज लाग्नुपर्छ, सङ्घसंस्थाले ध्यान दिनुपर्छ बाँकीमा । अरू नसही पुस्तकलाई शैक्षिक पाठ्यक्रममा राख्नेसम्मको व्यवस्था भए पनि धेरै नै हुनेछ तत्कालका लागि । महिला नेतृहरू र महिला सङ्घ, सङ्गठनहरूको विशेषत ध्यान दिनुपर्ने देखिन्छ यस मामिलामा ।

थप केही नयाँ कुराको समेत उठान भएको छ पुस्तकमा । गार्गी ÷ वाचक्नवीका प्रसङ्गमा याज्ञवल्क्य एउटै हुन नसक्ने दवी गरेका छन् लेखकले । याज्ञवल्क्य एउटै हुन् भन्ने नै हो हालसम्म सबैले जानेको र मानेको तर पुस्तकमा याज्ञवल्क्यको कालखण्डको विवेचना गर्दै एउटै हुन नसक्ने जुन तर्क अघि सारिएको छ चाहेर पनि तर्कका लागि तर्क भनेर पन्छाउन मिल्छ जस्तो लाग्दैन त्यसलाई । जेहोस् अनुसन्धानको ढोका उखारिदिएका छन् लेखकले । अब विद्वानहरूको काँधमा आएको छ छानबीन गरी निष्कर्ष निकाल्ने कामको  जिम्मा । केही त्रुटी पनि भेटिन्छ सरसर्ती पढ्दै जाँदा पुस्तकमा । सबैभन्दा ठूलो त्रुटि सूत्र भनिएको छ सूक्तलाई । सूत्र हुँदैनन्, सूक्त हुन्छन् वेदका । टङ्कन त्रुटिकै कारण त्यस्तो भएको हुन सक्छ । यसबारेमा आगामी संस्करणमा ध्यान जानुपर्ने देखेको छु लेखकको । यस्तै केही सामान्य कमजोरीबाहेक पुस्तक अब्बल छ । जेजति उल्लेख भएका छन् बढी नै भएका छन् । कम्तीमा एउटा पुस्तकमा हुन सक्नेभन्दा बढी नै भएका छन् जस्तो लागेको छ मलाई । अस्तु        

प्रकाशित: ३१ चैत्र २०७७ ०७:२८ मंगलबार

अक्षर