कला

डाक्टर सा’प हुनुहुन्न

लघुकथा

दुर्गा वनवासी

चाहे वृद्ध होस्, बालक होस् या जवान, जोसुकै भए पनि ज्वरो आएको बिरामीलाई गेटबाटै फर्काउने कठोर आदेश थियो अस्पतालबाट । दस वर्षदेखिको अस्पतालको गेटमा बस्ने आफ्नो ड्युटीमा यति अप्ठेरो परिस्थितिको सामना कहिल्यै गर्नुपरेको थिएन थिरमानले । ज्वरो आएको र पखाला चलेको बिरामीको हकमा गेटबाटै डाक्टर सा’प नहुनु भएकाले अन्तै लैजाने रटिरटाउ बहानासहितको ड्युटी निर्वाह गर्दै थियो ऊ । मनले मानेर त कहाँ हो र ? अस्पतालको आदेश नमाने जागिरमा संकट ।

 आफ्ना समस्याहरू सधैं अरूभन्दा अगाडि नै त हुन्छन् । त्यसैले मुटुमा ढुंगा राखेर खटिएको थियो थिरमान । सेता एप्रोनहरूले पनि आफ्ना कर्तव्य बिर्सिसकेका थिए । पहिला आफू बाँच्नु नै सर्वोपरि थियो । त्यहीमाथि त्यत्रा विकसित मुलुकहरुमाथि नै धावा बोलिरहेको कोरोनाविरुद्ध अलि सबल सुरक्षा प्रविधि नभएको देशका अस्पतालहरूले के नै गर्न सक्थे र?

हिजो र आज गरी तीस जनाभन्दा बढी रुघाखोकी, ज्वरो र पखालाका बिरामीहरूलाई फर्काइदिएको थियो थिरमानले गेटबाटै । तीमध्ये धेरैजसो ज्वरोले ग्रस्त बच्चाहरू थिए । कति बच्चाका मातापिताका हृदय पगाल्ने अनुनय पनि नसुनेझैँ गरी ढोका लगाउन बाध्य थियो ऊ । उनीहरूका हालत देख्दा आफ्नै आँखा पुछेको थियो लुकीलुकी।

‘डाक्टर सा’प हुनुहुन्न, अर्को अस्पताल लैजानोस् ।’ बिरामी बच्चाको अभिभावकतिर नहेरी गेट लगाउन खोज्यो उसले । तर, गेट थुन्न नपाउँदै महिलाभित्र पसिन् । कृत्रिम रिस देखाउँदै उसले ती महिलातिर हेर्यो र हेरेको हेर्यै भयो । सामुन्ने उसकी पत्नी ज्वरोले थलिएको छोरो बोकेर उभिएकी थिई।

प्रकाशित: ३१ चैत्र २०७७ ०२:०७ मंगलबार

अक्षर