कला

पर्दा

लघुकथा

इन्दिरा प्रसाई

 

काँठका जग्गाको भाउ बढेपछि मात्रै उनीहरूको दिन फेरिएको थियो । उसले पनि पुर्खाको नासो चार आना जमीन बेच्यो ।  

स्वास्नीलाई वर्षौंदेखि किन्ने धोको गरेको छड्के तिलहरी, कण्ठ, जन्तर, चन्द्रमा, फूल, मोहोर छापाको असर्फीको औंठी सबै बनाइदियो।

सबैले सुनको भाउ आकाशिएको छ, के गरी सुन किन्ने भनेको पनि सुन्दै थियो। तर, आफूसँग पैसै नहुँदा सस्तेको सुन पनि कसरी किन्नु अनि आफूसँग पैसा भएपछि केको महँगो !  उसले पनि जिन्दगीभरिको मन खोलेरै स्वास्नीलाई सिँगार्यो ।  

‘पख, अब भोलि तैंले जेठो जन्मनुअघि हत्ते गरेको कुरा पनि ल्याइदिन्छु । अनि मेरो सास पनि सजिलै जाला बुढी।’ उसले स्वास्नीलाई भनेको थियो।

‘लौ भैगो नि, जे नि किन्देकै हुनुहुन्छ। अब केही किन्नुपर्या छैन है बुढा । सास जाने कुराचाहिँ नगर्नु है।’ बुढीचाहिँले तरकारी झ्वाइँय्य पार्दै भनेकी थिई ।

–साहुजी कता राखौं ।    

भोलिपल्ट बिहानको भात खाँदाखाँदै बाहिर मान्छे करायो।  

‘एकैछन पख है, हामी भात खाँदै छौँ ।’ भान्सैबाट कराएको थियो ऊ ।  

अलि हतारिँदै खाइसकेर ऊ बाहिर निस्क्यो । बुढीचाहिँ अझै खाँदै थिई।  

‘लौ हेर बुढी, तैंले यस्तै भनेकी हैनस् ?’ बडेमाको ऐना टाँसिएको ड्रेसिङ टेबुल सुत्ने कोठामा राखेर बुढा गम्केको थियो ।  

‘हुन त हो, ऊ बेलामा रहरै लाग्याथ्यो ।’ बुढीको  अलि निरासिएको आवाज सुनिएको थियो। भोलिपल्ट बुढो बिहान गाउँ डुलेर घर फर्केको थियो।  

‘एई जंगली आइमाई, यो ऐनामा किन पर्दा लगाएकी? थुइक्क तेरो बुद्धि । कहिले माल देख्या भा’ पो आओस् बुद्धि पनि ।’

भात खाएर सुत्ने कोठामा पुगेको बुढो चिच्याएको थियो।  

‘ऐनामा आफ्नो मुख हेर्दा मलाई डर लाग्यो क्या बुढा। अब त ऐना नहेर्दा पो बरु राम्री नै छु लाग्दो र’छ । तपाईंले ल्याई दे’को यो डिरेसिङ टेबुलको दराज त राम्रो रे’छ नि ।’ चुठेको चिसो हात सारीको सप्कोले पुछ्दै उसले भनेकी थिई।

प्रकाशित: ३० चैत्र २०७७ ०५:०२ सोमबार

अक्षर