कला

ठूलो मान्छे

लघुकथा

तारा केसी

 

– नाति बाबु, धेरै पढ्नु ठूलो मान्छे बन्नु है, मावलीका हजुरबा र हजुरआमाले सधैं  यही कुरा भन्नुहुन्थ्यो।

भेटेपछि मामामाइजूले पनि  भनिहाल्नुहुन्थ्यो – भान्जा बाबु, राम्रोसँग पढ् है । ठूलो मान्छे बन्नुपर्छ नि।

दिदीभिनाजु , काकाकाकी, ठूलो बा – ठूली आमा  जसले पनि उत्तमलाई भेट्यो कि यही कुरा भन्नुहुन्थ्यो।

–राम्रोसँग पढ् है बाबु ! ठूलो मान्छे बन्नुपर्छ।

उतमलाई लाग्थ्यो  – ठूलो मान्छे भनेको को होला? हाम्रो स्कुलको हेडसर पो ठूलो मान्छे हो कि?

होइन होला ऊ फेरि सोच्थ्यो– यदि हेडसर ठूलो मान्छे भा’को भए त्यो पुलिसलाई किन नमस्कार गरेको  त? कि ठूलो मान्छे भनेको पुलिस हो। फेरि पुलिससँग सबै मान्छे डराउँछन्। डराउने मान्छे पनि  ठूलो मान्छे हुन्छ र? अस्ति मलाई हस्पिटल  लाँदा  बाबाले डाक्टरलाई नमस्कार गर्नुभा’को थियो। डाक्टरचाहिँ होला बरु ठूलो मान्छे। उसले सबैको रोग निको पार्छ। पक्कै पनि डाक्टर ठूलो मान्छे हो ,उसलाई लाग्यो।

स्कुलमा सरले भन्नुभयो–  ठूलो मान्छे त्यसलाई भनिन्छ, जो ज्ञानी छ। सबैको भलो चिताउँछ। समाजमा राम्रो नाम कमाएको हुन्छ त्यो नै ठूलो मान्छे हो।

–हेर उतम! तँ पनि भोलि पढेर पल्लोघरको  नेता अंकलजस्तै ठूलो मान्छे बन्नुपर्छ है। उनीसँग सम्पति छ, पावर छ, सबै उनको पछि लाग्छन्।

हजुरआमाको कुरा सुन्दासुन्दै उतमले भन्यो– हेर्नुस् त हजुरआमा ! नेता अंकलको घरतिर जुलुस आउँदै छ। जुलुसले नारावाजी गर्याे।

–भष्टचारीलाई फाँसी दे। देश लुट्न पाइदैन ।

– यी नेता  अंकल त ठूलो मान्छे होइन रहेछन्। म त यिनीजस्तो बन्दिनँ हजुरआमा!  म त  मेरो बाबाजस्तो बन्छु । मेरो बाबालाई  सबैले राम्रो मान्छे , असल मान्छे भन्छन्। मेरो बाबा नै मेरा लागि ठूलो मान्छे हो।

प्रकाशित: ३० चैत्र २०७७ ०३:४८ सोमबार

अक्षर