कला

महिला कति प्रतिशत ?

आलेख

खेमराज पोखरेल

 

एकाएक मेरा दिमागमा एउटा उरन्ठ्यौलो जिज्ञासा जन्मियो कि हाम्रो यो समाजमा महिलाकोे हिस्सा कति प्रतिशत ?यो प्रश्न मेरा वरिपरि घुमिरहन्छ सधैँ । किनकि म मेरा जीवनभरि श्रद्धेय महिलाकै वरिपरि छु । महिलाबिना पुरुषको अस्तित्व मात्र नहुने कुरा होइन कि बरु पुरुषस्वरूपको कल्पना गर्न पनि सकिन्न।

मैले समाजमा महिलाको स्थान कति प्रतिशत भनेर प्रश्न राखिरहँदा जनसङ्ख्याको गणनालाई आधार मानेको होइन । त्यो त थोरबहुत आधा होला। अलिकति बढी होला वा कम होला । यो गणनाको हिसाब गर्न त सजिलो पनि होला । तर, त्यसले समाजमा महिलाको अस्तितवको प्रतिशतलाई फरक पार्ने होइन । हुनतः सङ्ख्यात्मक हिसाबलाई आधार मानेर महिलालाई आधा आकाश भनिएको होला । तर, मैले महिलाको प्रतिशतको मापन गर्न प्रचलित समाजमा महिलाको अस्मिता, अस्तित्त्व र भूमिकाको रूपलाई आधार मान्ने प्रयत्न गरेको छु । 

म इतिहास–संस्कृतिको विद्यार्थी हुँ । धर्म–परम्परा–खान्दानको गौरव (घमण्ड ?) बुझेको मान्छे हुँ । म जन्मेको, बढेको तथा पढेको परम्परागत खान्दानी आदर्श बोक्ने आमनेपाली समाजमै हो । त्यसकारण नेपाली समाजका विकासका रूपहरू मेरा आँखा अगाडि नै सललल बगिरहेका छन् । इतिहासका पानामा समाज विकास हुँदा महिला तथा पुरुषको अवस्थाका बारेमा पनि थोरबहुत जानकारी पाएकै हो । ती क्षणदेखि लिएर वर्तमान नेपाली राजनीतिक समाजसम्म आइपुग्दा एकखाले बोध मैले स्वाभाविक रूपले गरेकै छु । यो आलेख अनुसन्धान होइन । यसलाई निजी बोध ठानिदिँदा हुन्छ ।

मैले यहाँ प्रयुक्त गरेको समाज विकासको धारणाको आधार ईश्वरीय सृजना होइन । म पूरापूर समाज विकासको वैज्ञानिक ऐतिहासिक विकासवादको दर्शनलाई पछ्याउँदै छु । यो दर्शनअनुसार मान्छे जङ्गली अवस्थाबाट समाज विकासका चरणहरू पार गर्दै आजको अवस्थामा आएको हो । यो कुनै एकै दिन वा एकै सय वर्षको कुरा होइन । हजारौँ वर्ष लगाएर मान्छेले परिवार, समाज तथा सभ्यताको विकास गरेको छ । यसमा समयका कैयौँ चरणहरू लागेका छन्। 

मान्छेले जङ्गली अवस्थाबाट पहिलो चरणको सभ्यतामा प्रवेश गर्दा समूह बनाएर बस्न थाल्यो । त्यो समूहलाई कविला नामाकरण गरिएको छ । कविला युगमा आमा नै कविलाको नाइके, वंशको अधिकार तथा हर्ताकर्ता थिइन् । किन भने त्यो बेला सन्तानको बाबु टुङ्गो लाग्दैनथ्यो । तर आमा भने टुङ्गो नलाग्ने कुरा थिएन। यौनानन्दका कारणले पुरुषहरू महिलाका वरिपरि स्वाभाविक रूपले घुम्थे । महिलालाई खुसी पार्न प्रयत्न गर्थे । त्यसकारण त्यो समाजमा आमा नै देवी, आमा नै पालक, आमा नै जन्म दिने, कर्म दिने, पालनपोषण गर्ने र शक्तिशाली वंश दिने संस्था थियो । समाज विकासको त्यो प्रारम्भिक चरणमा आइपुग्दा मान्छेको सभ्यतामा महिलाको स्थान, उत्तरदायित्व, अधिकार र अस्तित्व, अस्मिता शतप्रतिशत थियो । त्यसैलाई मातृसत्तात्मक समाज भनिएको हो।

तर, समाज विकासको यो गति सधैँ एकैनास चल्न सकेन । तिनताक कविलाहरू एक अर्कामा युद्ध गर्दथे । युद्धको आदेश तथा युद्ध व्यवस्थापन महिलाले नै गर्थिन् । पुरुष युद्धमा जान्थे । सिकार खेल्न जान्थे । पुरुषसँग महिला पनि युद्धमा जान्थे । पुरुष अलि धेरै बलको काम गर्दथे । कविला–कविला बीचको युद्ध जितेर अर्को कविलाबाट महिला तथा पुरुषलाई बन्दी बनाएर ल्याइन्थ्यो । बन्दी महिला तथा पुरुषलाई नेल ठोकेर कैद गरिन्थ्यो । पुरुष बन्दीलाई तल्लो तहको निजी नोकरको दर्जामा राखिन्थ्यो । नमानेमा कोर्राले हिर्काइन्थ्यो । यसले कालान्तरमा सामाजिक सभ्यतामा दासप्रथाको जन्म दियो । महिला कैदीलाई नाककान छेडेर डोरीले बाँधेर खाँबोमा बाँधिन्थ्यो । हातमा हत्कडी लगाइन्थ्यो । खुट्टामा नेल ठोकिन्थ्यो । त्यो भनेको महिला नभागून् भन्ने आशय थियो । यो सबै महिला नाइकेकै आदेशमा हुन्थ्यो । कविला प्रमुखकै आदेशमा हुन्थ्यो । यही क्रममा महिलालाई बन्दी बनाएर ल्याउने आफ्नो कविलाको युद्ध सरदारलाई पुरस्कारस्वरूप बन्दी महिलालाई निजी रूपमा प्रयोग गर्न दिने गर्न थालियो । यो भनेको महिला बन्दीलाई दिइएको यौन सजाय थियो । यो निजी श्रीमती बनाउने प्रक्रियाबाट बाबुको टुङ्गो लाग्न थाल्यो । यो पद्दति यतिसम्म विकास भयो कि शनैशनै मातृसत्ताबाट समाज पुरुषसत्तामा रूपान्तरण हुन थाल्यो । यो अवधिमा महिलालाई नाककान छेडेर, नेलहत्कडी लगाएर राख्न थालियो । यो चलन सुधारिएर गए पनि सिम्बोलिक रूपमा महिलाले लाउने गहनामा रूपान्तरण भयो । त्यो गहना लगाउने चलनलाई धार्मिक तथा सामाजिक प्रचलनले गौरवको लेपन दिए । यसरी समाजमा शतप्रतिशत भूमिका निर्वाह गर्ने महिलाको अवस्था तल झर्यो ।  

शनैशनै समाजको विकास हुन थाल्यो । महिलाको अवस्था झन् कमजोर हुन थाल्यो । निजी श्रीमती राख्ने परिपाटीले गर्दा पुरुषले बहुबिहे गर्न थाले । महिलाका नचिनिने पतिप्रथाको चलनमा अवरोध भयो । यसप्रकारले महिलाको अवस्था निकै दयनीय बन्न थाल्यो । महिलालाई भोगविलास तथा निजी सम्पत्तिसरह मान्न थालियो । समाज विकासको यो खण्डको सभ्यताले महिलालाई अवला भनी व्याख्या गर्यो । श्रीमतीलाई दासीको दर्जा दियो । यो कुरा पुष्टि गर्न अनेकौँ शास्त्रहरूको निर्माण भयो । ती शास्त्रले महिलामा कमजोर मानसिकता हालिदियो । महिलाको सुरक्षा पुरुषले गर्नुपर्छ भन्ने मान्यता स्थापित गरिदियो । यसरी समाजमा पुरुषसत्ता स्थापना भयो । यो पुरुषसत्ताले समाजमा परम्परा, सभ्यता, खान्दान वा संस्कृतिका रूपमा जरो गाड्यो।

इतिहासको यो कालखण्डमा महिलाहरूले शालीन विद्रोह त गरे । ज्यान जोखिममा राखेर महिलाले विरोध गरे । तर, पुरुषसत्ताले त्यसलाई दमन गर्ने काम गर्यो । यहाँनेर एउटा कुरा प्रस्ट हुनु जरुरी छ कि पुरुष भन्नु र पुरुषसत्ता भन्नु अलग कुरा हो । पुरुष भन्नु व्यक्ति हो । व्यक्तिको समूह हो । तर पुरुषसत्ता भन्नु दर्शन हो । समाज व्यवस्थापनको एउटा आधार हो । तर पनि महिलाले गरेका विद्रोहबाट पुरुषसत्ताले बाध्य भएर सुधारिनुपर्ने अवस्था आयो । त्यसपछि पुरुषसत्ताले श्रीमती महिलालाई अर्धाङ्गिनी मान्ने परिपाटी चलायो । यसैअनुसार सामाजिक शास्त्रका सिद्धान्तहरू बने ।  गहिरिएर हेर्यो भने पुरुषलाई अर्धाङ्ग कमै भनिन्छ । यो शास्त्रीय दर्शनले पुरुष शतप्रतिशत र महिला आधा भन्ने अर्थ बोक्छ । याने कि पुरुष पूर्ण र महिला खण्ड हो भन्ने गुप्तदर्शन बोक्छ । यो अर्धाङ्गिनी भन्ने सिद्धान्त स्थापना गर्नका लागि पनि महिलाले विद्रोह गरेका छन् । अर्धाङ्गिनीभन्दा पहिले त महिलालाई दासीको हैसियत थियो । दासीको अवस्थाबाट अर्धाङ्गिनी हुनुलाई अहिले पनि समाजले गौरव महसुस गर्छ।

वर्तमानकालको नेपाली समाज भनेको यही खण्ड हो । पुरुषसत्ताविरुद्ध आवाज उठाउने र आफ्नो अस्तित्वको रक्षा गर्ने भनिएको छ । त्यो भनेको दासीको अवस्थाबाट मुक्ति र अर्धाङ्गिनीको दार्शनिक आधार प्राप्ति हो । तर समाजमा प्रचलित रहेका परम्परा, प्रचलन, सभ्यता तथा संस्कृतिको परिधिभित्र बसेर खोजिने महिला अस्तित्वको अधिकार पूर्ण हुन सक्दैन।

यो कुरा बुझेको पुरुषसत्ताले सामाजिक रूपमा महिलालाई अर्धाङ्गिनी, आधा आकाश र गृहिणीको पदवी दियो । र, कालान्तरमा राजनीतिक रूपमा ३३ प्रतिशत आरक्षण दिने प्रलोभनयुक्त राजनीतिक नारा अगाडि सारेको छ । यद्यपि व्यवहारमा समाजका हरेक पक्षमा ३३ प्रतिशत स्थान अझै पाएका छैनन् । लेखिएको यो कुरा प्राप्त गर्न पनि महिलाले अझै आन्दोलन गर्नु परिरहेको छ । अझै चेतनशील भनिने महिलाले यो ३३ प्रतिशतको अवधारणाभन्दा परतिर गएर ५० प्रतिशत भन्ने माग पनि उठाएका छन् । बाहिरबाट हेर्दा यो नारा प्रगतिशील देखिन्छ । महिलाले जनसङ्ख्याको हिसाबमा प्रतिनिधित्व खोजेको देखिन्छ । यसले समाजमा महिलाको पूर्ण स्वतन्त्रता दिन्छ भन्ने पनि गरिन्छ ।

तर मेरा विचारमा यो अर्धाङ्गिनी वा पचास प्रतिशतवाला सिद्धान्तले पनि समग्र महिलाको अस्तित्व र अस्मिताको हित गर्दैन । रक्षा गर्दैन । सम्भव छैन । यसमा पनि तिनै परम्पराको धङधङी बोकेका कथित शिक्षित वा अगुवा भनिएका सुविधाभोगी महिला मात्र समावेश हुने हो । तिनै पनि समाजमा आफ्नो अस्तित्व र अस्मिताका लागि परजीवी नै हुन्छन् । यो विकास भनेको पनि पुरुषसत्ताकै विकसित रूप हो । यसबाट समग्र महिलाको कुनै हित सम्भव छैन । राजनीतिक रूपमा ५० प्रतिशत भनिए पनि यो पक्ष समग्र महिलाको अस्तित्व, उत्तरदायित्व तथा अधिकारको प्रसङ्गमा ल्याउने हो भने प्रतिशतमै आउँदैन । यो दर्शनले महिला मात्र होइन, पुरुष पनि पीडित भएका छन् । किनभने पुरुषसत्ताको परम्परागत मानसिकता र महिला विद्रोहको अनावश्यक ठाउँमा स्वच्छन्दताले वर्तमान नेपाली समाज दुःखी छ।

यस्तो किन भइरहेको छ ? किन हुन्छ यस्तो कुरा ? यसो हुनुका केही सामाजिक, सांस्कृतिक तथा सभ्यताका कारणहरू छन् । यो अर्धाङ्गिनी र पचास प्रतिशतवाला फर्मुला नै गलत छ । फर्मुला नै गलत भएपछि समस्या समाधान हुने सम्भावना नै रहन्न । यद्यपि मान्छे वास्तवमा आफू उभिएको धरातललाई नै ठीक ठान्छ । यो धरातल उसको अध्ययन, चेत र परिवेशमा निर्भर हुन्छ । हुन त संसारका महिलाहरूले अहिले पनि भोग्दै आएका विसङ्गतिका तुलनामा नेपाली महिलाहरूले प्राप्त गरेको उपलब्धि भने राम्रो छ । खास गरेर कथित उपल्लो जात मानिने आर्य बाहुनछेत्री परिवारमाभन्दा मङ्गोल सभ्यतामा महिलाको स्थान उच्च छ । तुलनात्मक रूपमा उनीहरू गरिब हुन पनि सक्लान् । तर स्वतन्त्र छन् । गरिब हुनु र स्वतन्त्र हुनु दुई बेगल कुरा हुन् । उनीहरूमा महिलाको अस्तित्वको प्रतिशत उच्च कुलीनभन्दा बढी छ । सहज पुनरविवाह छ । यौन आचरणका कुरा तुलनात्मक रूपमा उच्च कुलीन ठान्ने बाहुनछेत्री कुलमा धेरै कठोर छ । यो यौन आचरणलाई जीवनकै आचरण मान्ने बुझाइले महिला कहिल्यै  माथि उठ्न सक्दैनन् । त्यस कारण वर्तमान महिला आन्दोलनले सही बाटो अबलम्बन गरेको प्रतित हुँदैन।

यहाँहरूले मलाई प्रश्न गर्दै हुनुहुन्छ कि यसको समाधान के ? यसको समाधान भनेको बुझाइको कुरा हो । आधा अङ्गवाला फर्मुलाका आधारमा बुझ्नुभयो भने आधा भनेको पूर्ण होइन भन्ने बुझिन्छ । त्यसकारण समाजमा हरेक मान्छे पूर्ण हुन् भन्ने फर्मुलाको विकास गर्नुपर्छ । हरेक महिला व्यक्तिगत रूपमा नै पूर्ण हो । भौतिक, मानसिक, अस्तित्व तथा अस्मिताका हिसाबमा नै पूर्ण हुन् । हरेक पुरुष व्यक्तिगत रूपमा नै पूर्ण हो । याने कि शतप्रतिशत हो । एउटा उदाहरण दिन्छु – दुई सग्ला ५ का नोट हालेर बनायो भने त्यो १० रुपियाँ हुन्छ । १० रुपियाँ भन्नु जीवनको सम्बन्ध हो । त्यहाँ ५ को नोट पनि सग्लो हुन्छ । शतप्रतिशत हुन्छ । तर, हामीले विकास गर्न खोजेको सभ्यता तथा महिला आन्दोलनले सग्लो ५ को नोटकोे कल्पना गर्दैन । बरु दसको नोटलाई च्यातेर आधाआधा बनाउँछ । अर्धाङ्ग÷अर्धाङ्गििनी बनाउँछ । परिणाम त्यो न दस रुपियाँको सुन्दर नोट हुन्छ, न पाँच रुपियाँको सग्लो नोट हुन्छ । अहिलेको हाम्रो समाजको पुरुष तथा महिलाको अवस्था अझ खास गरी लोग्नेस्वास्नीको सम्बन्ध भनेको त्यही च्यातिएको १०को नोटको टुक्रा जस्तो हो । टेप लगाएर चलायो, फेरि फुस्किहाल्छ । हो, वर्तमान नेपाली समाज त्यही नोटको च्यातिएको टुक्रालाई स्वतन्त्रता, समानता तथा अस्तित्व ठानिरहेछ । दुईवटा ५ का नोट आफ्ना केही महत्त्वपूर्ण स्वार्थले जोडिएर १० रुपियाँ बनेको भन्ने तथ्य नमान्दा अहिलेको महिला आन्दोलन धरापमा परेको छ।

त्यसकारण महिला आन्दोलन आधा आकाश प्राप्तिको रूपमा होइन, शतप्रतिशत ठानेर अघि बढ्नपर्छ । भौतिक रूपमा शतप्रतिशत, मानसिक रूपमा शतप्रतिशत, अस्तित्वका रूपमा शतप्रतिशत । अस्मिताका रूपमा शतप्रतिशत । यसरी महिलाले शतप्रतिशतका लागि आन्दोलन गर्दा प्रचलित सामाजिक परम्परा, कथित मूल्यमान्यता तथा धर्म–संस्कार–प्रचलनले अवरोध पुर्याउने कुराका बारेमा भने पूर्व मान्यता राख्नु जरुरी हुन्छ । आन्दोलनका क्रममा तीसँग जुध्नु वाञ्छनीय हुनजान्छ । ती त्यति सजिलै परिवर्तित हुनेवाला होइनन् । यसको तात्पर्य समाज विग्रह होइन, समाजलाई अग्रगमनतिर लैजाने हो । समाजलाई वैज्ञानिक तरिकाले अगाडि लैजाने हो । महिलाले शतप्रतिशतका लागि विचार, व्यवहार र कर्ममा आन्दोलन उठाउनु पर्छ जस्तो लाग्छ मलाई । 

यो मेरो नितान्त व्यक्तिगत विचार हो । मेरो चेतले मलाई अह्राएको कुरा हो । यो कुरामा पाठक महानुभावहरू सहमत हुनै पर्छ भन्ने छैन । सहमत हुनुभयो भने म खुसी हुँला, त्यो अर्कै कुरा हो । असहमत हुनुभयो भने पनि म यहाँको विचार, चेत तथा सोचाइलाई श्रद्धा गर्छु । नमन गर्छु । आखिर संसारको एउटा सानो जीव न हौँ हामी । यो पृथ्वी सबैको साझे त हो । साझे पृथ्वीमा साझा अस्तित्वको कुरा मात्र त हो । त्यसो त संसारमा अनेकौँ विचार आइरहन्छन् । गइरहन्छन् ।

अप्रिल ९, २०२१

सान मार्कोस, अमेरिका  

प्रकाशित: २८ चैत्र २०७७ १२:३४ शनिबार

अक्षर