कला

प्यास

लघुकथा

भट्टीकी साहुनी राँगाको सुकुटी भुट्दैछे। उसको लोग्ने उसकी स्वास्नीलाई सघाउँदैछ। साँझको बेला भएकाले एउटा मधुरो बल्बले अध्यारोसँग लडाइँ गर्दैछ त्यहाँ। केही थान मान्छेहरू दिनभरको कामको बिट मारेपछि थकाइलाई थोरै भए पनि लुकाउन हो या किन हो, टेबलमा बसेर कहिले साहुनीले सुकुटी भुटेको त कहिले उसको लोग्नेले रक्सी बाँडेको नियाल्दै छन्। पर दूरदराजबाट पैसा कमाउन छिरेका यी मजदुरहरू आफ्नो पालो कुरिरहेको कुरा उनीहरूको हाउभाउ र अनुहारको चलमलाइबाट बुझ्न सकिन्छ।

साहु र साहुनीले कसलाई के चाहिएको हो र पैसा तिर्ने बेला कति भयो भनेर सोध्नेबाहेक त्यहाँ अरू आवाज कमै सुनिन्छ। भट्टीमा यस्तो सन्नाटा कसोकसो नसुहाउने देखिन्छ। घरिघरि साहुनी भुटुवा मासु ल्याउँछे र मागेअनुसार प्लेटमा हालिदिन्छे। रक्सी खानेहरू पुलुक्क साहुनीको अनुहार हेर्छन्। साहुनीको अनुहार हेरेपछि पुलुक्क एकपल्ट साहुको अनुहारतिर आँखा पुरयाउँछन्। साहुलाई ग्राहकको सेवा गर्न भ्याईनभ्याई छ। उनीहरूको अनुहारको भाव थोरै बदलिन्छ।  

आज साने र माने त्यहाबाट चाँडै निस्कन्छन्। सानेले बाहिर निस्कनासाथ मुख फोरिहाल्छ– हैन ए माने, त्यसको लोग्ने अब सधैं यतै बस्छ के हो? त्यसले गार्डको जागिर छोडेछ?

माने केही बोल्दैन।

– भन न साने,अस्तिअस्ति त खुब बोल्थिस् त साहुनीमाथि साहुनी भनेर। कुरा के हो? के अब त्यसको लोग्ने पनि त्यही बस्छ?

मानेले सानेको प्रश्नको उत्तर सिधा दिएन। तर, खुइय गर्दै मलिन स्वरमा भन्यो– हेर साने, मुख हेरेर मात्रै हुने त केही पनि हैन तैपनि बरु यसो गरौ भोलिबाट अलि टाढा भए पनि पुरानैतिर जाने हो कि! त्यहाको साहु दुई वर्षका लागि उडेको भन्ने सुन्थें।  

प्रकाशित: २७ चैत्र २०७७ ०७:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App