काठमाडौं उपत्यकामा अहिले बग्रेल्ती कला प्रदर्शनी हुन थालेका छन्। कोभिड–१९ बाट थोरै उन्मुक्त भएको अहिलेकोे अवस्थामा काठमाडौंका पाँच–सातवटा कला ग्यालरीमा कसै न कसैका कला प्रदर्शित भइरहेका छन्। अधिकांश समूहगत कला प्रदर्शनी छन्, केही एकल प्रदर्शनी पनि छन्। सबैजसो एकनासका, करिबन एकै स्वभावका कला प्रदर्शनी दृष्टिगोचर हुन्छ। सबै चित्रकला नै हुन्, ८० प्रतिशत भन्दामाथि एउटै माध्यमका चित्र देखिन्छन्।
कलाकारको चित्र–रचना गर्ने सोच र यसलाई प्रस्तुति गर्ने सोचमा कति परिवर्तन आएको छ भन्ने खोजको विषय छ। भर्खरै कविराज लामा, रीता मानन्धर र नीरा जोशीको एकल कला प्रदर्शनी भयो। खोजी पस्दै जाँदा साना–मझौला कला दीर्घामा अन्य कला प्रदर्शनी भइरहेको भेटाउन सकिन्छ। कति कला प्रदर्शनी कला बेच्नुको अर्थमा मात्र देखापरेको छ। यसले समयसापेक्ष सवाललाई, समस्यालाई वा कलाकै मूल मर्मलाई कति बोक्छ ? यो एउटा अर्को महत्वपूर्ण प्रश्न छ। कोभिडकै महामारीबीच भर्चुअल कला प्रदर्शनी प्रशस्तै भएको थियो। अर्थात् कला प्रदर्शनीको निरन्तरता कायमै छ। कोभिडले कला प्रदर्शनी हुनलाई छेकेन। झट्ट हेर्दा के देखिन्छ भने, कला विकासको पयार्यवाची भनेको कला प्रदर्शन अनि कला कार्यशालाजस्तो मात्र भएको छ।
कला कार्यशाला कति भयो, त्यसको लेखाजोखा भएको पाइँदैन। त्यसबखत बनाइएका कला कता छन्, न आयोजकलाई थाहा छ, न त कलाकारलाई। मूलतः कलाको वर्कसप सन् २००० को उत्तरकालमा सुरु भयो, मूर्तिकलाका यस्ता कार्यशाला सन् २००५ देखि सुरु भयो। सूत्र भन्ने कला संस्थाले ओशो तपोवनमा ‘कक्सिङ द नेचर’ नामक कला कार्यशाला गरेको थियो, सन् २००३ मा। त्यो कार्यशालामा नयाँ प्रवृत्तिका काम भएकाले यसलाई चित्र वा मूर्ति भन्नुभन्दा पनि समग्रमा काम भन्ने चलन छ।
जहाँ चित्र र मूर्ति दुवै नै समावेश भएको अवस्था थियो। त्यसो त बंगलादेश र नेपाली कलाकारले सुन्दरीजल र पोखराको लुम्लेमा सन् १९९५ मा गरेको कला–कार्यशालालाई पहिलो कार्यशाला मान्नुपर्छ। त्यस्तै, सन् २००५ मा ‘आरम्भ’ भन्ने संस्थाले मूर्तिकलाको कार्यशाला आयोजना गरेको थियो। अहिले सानो समूहदेखि कलाका आधिकारिक निकायले साना–ठूला कलाका कार्यशाला गरिरहेका हुन्छन्।
अहिलेसम्म सयौँ यस्ता कला कार्यशाला भए होला। यी कार्यशालामा सिर्जना भएका कला कहाँ छन्, यसबारे आयोजकलाई मतलब नहुनु अनि कलाकार आफैँलाई पनि आफ्नो कला कता गयो भनेर चिन्ता नलिनु पनि अचम्मलाग्दो छ। हुन त थोरै समयमा सक्नुपर्ने बाध्यात्मक अवस्थाका कारण दक्ष कलाकारका काम वर्कसपमा राम्रो नहुन सक्छ। किनकि प्रविधिगत हिसाबले गर्दा निश्चित समय त कलाले माग्छ नै, कला भावना मात्र होइन, प्रविधि पनि यसको महत्वपूर्ण भाग हो। परोक्ष रूपमा यसले केको संकेत गरिरहेको छ भने, कला कार्यशाला र प्रदर्शनी मात्रैले कलाको ठूलै विकासको सबैजसो भाग ओगट्छ। योभन्दा पर सोच्न सकिएको भने पाइँदैन। यस प्रकारको सोच जुन कलाका आधिकारिक निकाय, साना–ठूला कलाका समूह, कलाका ग्यालरीमा यथेष्ट मात्रामा देखिएको छ, के यो समयसापेक्ष सोच हो? एउटा गहन प्रश्न हामीबीच उभिएको छ।
वास्तवमा यसलाई समयसापेक्ष भन्न नसकिएला। किनकि अहिले समाज बदलिएको अवस्था छ। सामाजिक, राजनीतिक अनि धार्मिक अवस्था पनि हिजोभन्दा फरक छ। जसकारण आममान्छेको दिनचर्या र सोच परिवर्तित अवस्थामा देखापरेको छ। अझ ग्लोबल कल्चरको पनि असर छ। त्यसैले यी सबैको प्रतिबिम्वका रूपमा कलाको स्वरूप, प्रस्तुति र प्रदर्शनी हिजोभन्दा आज फरक हुन आवश्यक छ। कला प्रदर्शनी पनि कला विकासकै अंग हो, सर्वांग भने पटक्कै होइन।
६० वर्षअघि एकल कला प्रदर्शनीको शुभारम्भ भएको थियो। कला प्रदर्शनीको यो एउटा आधिकारिक मोड थियो। किनकि यसै बेलादेखि निरन्तर कलाका प्रदर्शनी भइरहेका छन्। समूहगत कला प्रदर्शनी यसअघि नै भइसकेको थियो। आजको एकल कला प्रदर्शनी हेर्दा पहिले र अहिलेको कला प्रदर्शनीमा तात्विक फरक देखिन्न, यही हो त कलाको विकास भनेको ?
गहिरिएर हेर्ने हो भने कला प्रदर्शनीले आम भावकलाई कला हेर्ने पहुँच दिन्छ। कला अवलोकनको इच्छा हुनेलाई यसले एउटा अवसर जुराइदिन्छ। २०२२ सालमा नेपाल ललित कला संस्था विधिवत खुलेपछि यसले हरेक वर्ष राष्ट्रिय कला प्रदर्शनीको शुभारम्भ गर्यो। यसअघि यस्तो प्रचलन थिएन। मेला आदिमा कलाको सामूिहक प्रदर्शन हुने गथ्र्यो। थोरै कलाकारको अव्यस्थित तरिकाले कलाको प्रर्दशन हुँदा त्यसलाई औपचारिक कला प्रदर्शन भन्न मिल्दैन होला। नेपाल ललित कला संस्थाले गरेको यो राष्ट्रिय कला प्रदर्शनीले स्वभावतः सयौँ कलाकारका कलाकृति आम–भावकले अवलोकन गर्ने मौका पाए। त्यतिवेला यो सन्दर्भ धेरै हदसम्म ठिकै थियो। धेरै कलाकारले आफ्ना कला सार्वजनिक गर्न पाए। प्रदर्शनीकै लागि भनेर नयाँ कला सिर्जना गर्ने मौका पाए। त्यतिवेला कला प्रदर्शनीमा भाग लिन नयाँ कला हुनुपर्ने बाध्यात्मक व्यवस्था थियो। कलाकार पनि हौसिए भन्नुपर्छ। आज पनि सोही रूपमा यस्तै राष्ट्रिय कला प्रदर्शनी हुने गरेको छ। पहिला ललितकला संस्थाले आयोजना गथ्र्यो, आज नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले गर्छ। अहिले एउटा प्रश्न के उठ्छ भने, राष्ट्रिय कला प्रदर्शनीको स्वरूपमा आमूल परिवर्तन नआउनु समय सान्दिर्भिक भयो त? अब सोच्ने वेला आएन?
कला प्रदर्शनी र भावक
प्रदर्शनीले कला बिक्री हुने सम्भावना रहन्छ। यो कला विकासका लागि सबल पक्ष नै होला, तथापि कला प्रदर्शनी हुँदैमा दर्शक र क्रेता आइहाल्छन् भन्ने हुँदैन, दर्शक वा ग्राहकलाई ग्यालरीसम्म जबर्जस्ती ल्याउन पनि सकिन्न। भावकलाई कला प्रदर्शन कक्षभित्र उपस्थित गराउने, कला बुझ्ने वातावरण बनाउने अनि मात्र बिक्री–वितरण कुरा आउँछ। दर्शकलाई कलाका प्रदर्शन कक्षसम्म ल्याउन आकर्षण पैदा नगरेसम्म कलाको एप्रिसिएसन र कलाको बिक्री कसरी सम्भव छ र ? यी दुवै कुरा भए मात्र कलाको विकास हुन्छ भन्ने कलाकार वर्गलाई थाहा नभएको होइन। तर, कला प्रदर्शन पछिका यी थप क्रियाकलाप कसले गरिदिने ? कला प्रदर्शनीको नयाँ ढंगको समयसापेक्ष स्वरूप, समसामयिक विषय, गुणस्तर र नितान्त नौलो सिर्जनाको खोजी, मौलिकताको खोजी आदिलाई अब कला प्रदर्शनीसँग जाडेर हेरिनुपर्छ।
अहिले केही मात्रामा भावक र कलाकारबीच अन्तक्र्रिया हुन थालेका छन्। यो बढ्दै जाने हो भने भावक कलाभित्र घुसेर वा कलामै तल–माथि गर्न सक्ने, कलासँग खेल्न सक्ने कलाको स्वरूपको कल्पना पनि गर्न सक्ने अवस्था सिर्जना हुन्छ। जसलाई सामान्यतः ‘इन्स्टलेसन आर्ट’ भनिन्छ। थ्री डाइमेन्सन स्वरूप बोकेका इन्स्टलेसन वा समसामयिक मूर्ति अलग्याउन आज आवश्यक भइसकेको छ। आज इन्स्टलेसन भनिने कला पनि समसामयिक मूर्तिभन्दा अलग्ग देखिन्न, न त स्ट्रिट आर्टको परिभाषा बोकेर उभिएको देखिन्छ। यी र यस्तै प्रयोगात्मक कलाबारे प्रदर्शनकै वेला परिभाषित हुन आवश्यक छ। आम भावकमा कलाकारबारे, कलाबारे समसामयिक मुद्दामा लिइरहेको चासोलाई प्रदर्शनकै वेला यथेष्ट मात्रामा चर्चा–परिचर्चा र अभिलेखन गरिनुपर्छ।
अब दर्शक वा भावक पनि कलामा एकाकार हुन थालेको छ। सीमित भावकले कला बुझ्न र कलामा अपनत्वको बोध गर्न थाल्नु सुखद पक्ष हो, यसले अन्य दर्शक तानिने सम्भावना रहन्छ। अहिले कलासम्बन्धी यथेष्ट पाठ्यसामग्री पनि आवश्यक छ, जसबाट कला बुझ्न चाहने पाठकले धेरै जानकारी पाउँथे। त्यस्तै आर्ट यजुकेटरलाई सक्रिय बनाउन सकिन्छ। अहिले पनि परम्परागत क्याटलगमा चित्त बुझाउनुपर्ने अवस्था छ। एउटै चित्र घरीघरी टाँगेर ‘कला आफैँ बोल्छ, दर्शकले आफैँ कला हेरेर बुझ्छन्’ भनेर कति बस्ने रु आजको कलाकार स्वयं जागरुक भई कलाको वकालत गर्न र समसामयिक सवाल जोडेर कलालाई जीवन्त बनाउन सक्नुपर्छ। यो फड्को मार्न हामीलाई केले रोकेको छ?
कला प्रदर्शनीको चर्चा
युरोपमा प्रभाववादी कलाकारको आठवटा कला प्रदर्शनीको चर्चा अहिले पनि गरिन्छ। सन् १८७४ मा पहिलोपल्ट प्रभाववादी कला प्रदर्शनी भएको थियो। सुरुमा यसलाई प्रभाववादी भनिएन। प्रकाश वस्तुमा पर्दा वातावरणको दृश्य कसरी परिवर्तन हुन्छ, वस्तुमा वास्तविक यथार्थता कसरी देखापर्छ भन्ने सोचका साथ त्यो कला आन्दोलन अगाडि आएको थियो। तेस्रो कला प्रदर्शनीपछि मात्र कलाकारले त्यसलाई ‘प्रभाववादी आन्दोलन’ भनेर नाम राखे। त्यो प्रदर्शनी मात्र प्रदर्शनी नभएर प्रभाववादी आन्दोलनको एउटा भाग थियो। कला समीक्षक लुइस लेरोयले प्रभाववादीको पहिलो कला प्रदर्शनीमा प्रदर्शित मोनेले बनाएको ‘सूर्योदय’ नामक चित्रलाई मजाकका साथ उल्लेख गर्दै एउटा लेख लेखे। जसको नाम थियो, ‘एक्जिबिसन अफ् द इम्प्रेसनिस्ट’।
यी कलाकार, जसले खास उद्देश्य लिएर विशेष कलाको दर्शन नयाँ टेक्निकका साथ प्रयोग गरेर यो कला प्रदर्शनी गरेका थिए। कलाकारले यो लेखलाई गहनपूर्वक लिए, पुर्पक्ष र बहस गरेर आफ्नो तेस्रो कला प्रदर्शनीपछि उनीहरूले प्रभाववादी शब्दलाई आफूमा जोडेका थिए। प्रभाववादको कुरा यसअघि पनि उठेको थियो। कला समीक्षक गाउटिएरले डाउबिग्नेको कामलाई नकारात्मक भविष्य सूचकको रूपमा प्रयोग गरेका थिए। प्रकृतिको अपूर्ण प्रभाव, अधुरो लाग्ने, डिटेलमा नभएको प्रयोगात्मक प्रविधिलाई लक्षित गर्दै उनले यो प्रभावको प्रसंग उठाएका थिए।
जसलाई ‘स्केची इम्पे्रसन अफ नेचर’ भन्ने गरिन्छ। सन्दर्भ कहाँ मात्र हो भने, खास प्रयोजनका लागि, एक अलग्ग शैली प्रवृत्ति र कलाको दर्शन स्थापनाका लागि, अनि मौलिक कलाको उद्घोषका लागि कला प्रदर्शन गरिन्छ। यसपछि पनि कला समीक्षकको निष्कर्ष, आम भावकमा परेको प्रभाव, उसको बुझाइ र प्रतिक्रिया आदिलाई कलामा समेट्ने योजना रहेको हुन्छ। जसमा क्युरेटर, आर्ट म्यानेजर वा आर्ट यजुकेटरका साथै कलामाथिको पुर्पक्ष, बहस र छलफल आदि कार्यक्रम संलग्न गरिएका हुन्छन्। यसैले प्रदर्शनीमा आम भावक एउटा उत्सवका रूपमा कला अवलोकन गर्न, राम्रो लागे खरिद गर्न, नराम्रो लागे गाली गर्न वा प्रतिक्रियासहित उपस्थित भएका हुन्छन्। आज कलाका विद्यार्थीले युरोपमा भएको आठवटा प्रभाववादीका कला प्रदर्शनीको सन्दर्भ पढ्न, बुझ्न र मनन गर्न आवश्यक छ। त्यस्ता प्रदर्शनीलाई इतिहास बनाइन्छ। वा, इतिहासमा उल्लेख गर्नैपर्ने खालका कला प्रदर्शनी गरिएका हुन्छन्।
हामीकहाँ कला अवलोकन
अहिले समसामयिक कला मात्र होइन, लोककला र परम्परागत कलालाई अवलोकन गर्न चाहनेका लागि कतै स्थायी व्यवस्था वा ग्यालरी छैन। अझ भनौँ, समसामयिक कलाको वा लोककलाको म्युजियम हामीसँग छैन। यसबारे सम्बन्धित निकायले सोच्नसम्म सकेको पाइँदैन। त्यसैले थोरै दिनका लागि मात्र भए पनि यस्ता कला प्रदर्शनीले आम दर्शकलाई राहत दिन्छ। तथापि अहिले साह्रै थोरै भावक कला प्रदर्शनीमा आउने अवस्था देखिँदा यसको सार्थकता के रह्यो र भन्ने प्रश्न स्वभावतः उठ्ने गर्छ र प्रदर्शन गर्नु मात्र कला विकासको द्योतक होइन भन्ने स्पष्ट हुन्छ। त्यसैले म्युजियमकै व्यवस्था हुन्थ्यो भने आज कलाकार मात्र सम्मानित हुने होइन, उसका कृति स–सम्मान राष्ट्रको अमूल्य निधिका रूपमा कहीँ प्रदर्शित भएर रहन्थ्यो। त्यस्तै, राष्ट्रको पहिचान झल्काउने कलाहरू हाम्रा राष्ट्रपति वा प्रधानमन्त्रीको वासस्थान वा ठुल्ठूला सभाकक्षमा टाँगिन पुग्थ्यो, तर आज यो अवस्था छैन।
पछिल्लो समय प्रदर्शनीमा विशेषतः युवा कलाकारका कला बढी मात्रामा प्रदर्शन हुने गर्छन्, पुराना कला कहीँ हेर्न सकिन्न। यस्ता कलालाई प्रदर्शन गर्न कोही पनि जागरुक भएको देखिन्न। उदाहरणका लागि भाजुमान र दीर्घमान, मनोहरमान पुन, चन्द्रमानसिंह मास्के, जीवरत्न शाक्य, चन्द्रबहादुर मानन्धर, इन्द्र प्रधान, मनुजबाबु मिश्र आदिकै चित्र प्रदर्शन भइरहेको छैन। यी र यस्तै मूर्धन्य कलाकारका अति बहुमूल्य कलाको प्रदर्शन र व्याख्या विश्लेषण गरी आम भावकलाई बुझाएको देखिँदैन। वास्तवमै कलाको प्रवद्र्धन गर्ने हो भने यसतर्फ ध्यान दिन जरुरी छ। अर्कोतर्फ आम भावक र ग्राहक सम्भवतः दुवैलाई कला र कलाकारबारे यथेष्ट ज्ञान हुन गएपछि मात्र बढी मात्रामा भावक यस्ता कला प्रदर्शनीमा आउन लालायित हुन्छन्। यतापट्टि पनि कसैको ध्यान पुगेको देखिँदैन।
कलाकार र कला निकायको भूमिका
कला र कला प्रदर्शनीको अभिलेखीकरण र समीक्षा (सही र आधिकारिक) लगायत व्याख्या आफैँ भइहाल्छ भन्ने मानसिकताबाट हामी बाहिर आउन सकिरहेका छैनौँ। योसँगै हामीले पुराना सर्जक र उनीहरूका कलालाई बिर्संदै गएका छौँ। हामीकहाँ नयाँ वा पुराना कला प्रदर्शनी गर्ने र आर्ट यजुकेटर राख्ने परम्परा बसाल्न जरुरी छ। कलालाई बुझाइ राख्नुपर्दैन भन्ने सोच अझै हराइसकेको छैन। कलालाई दर्शकले आ–आफ्नै ढंगले बुझ्ने हुँदा र कलाकारले भन्न खोजेको सन्दर्भ नबुझ्दा पनि कला, कलाकार र दर्शकबीच दूरी रहन्छ। आर्ट युजुकेटरका माध्यमबाट कलाबारे बुझाइयो भने दर्शकको उपस्थिति बढ्न सक्छ। त्यसैले अहिले कम्तीमा कलाकार, कलामा लेख्नेहरू र कलाका निकायहरू जागरुक हुन आवश्यक छ।
बाह्य राष्ट्रका स्तरीय कलाका ग्यालरीले जोकसैको कला प्रदर्शन गर्दैनन्। निश्चित स्तर नपुगेका कलाकारले आफ्ना कला सामान्य पर्खालमा, बाह्य खुला ठाउँमा प्रदर्शन गरेर आफूलाई एक निश्चित स्तरमा पुर्याउँछ। आर्ट क्रिटिक, क्युरेटेरले जाँचीबुझी स्तरीय भएको ठहर गरेपछि मात्र यस्ता कला प्रदर्शन हुने गर्छ। नेपालमा भने यस्तो प्रचलन छैन। लेख्नेले राम्रो कला छैन भन्ने, कलाकारले राम्रो कला समीक्षक छैनन् भन्ने दोहोरी अहिलेसम्म चलेकै छ। वस्तुतः आम दर्शक मात्र होइन, कलाकार स्वयं र कला लेखनमा लागेका पनि कला प्रदर्शनी हेर्न जान यथेष्ट मात्रामा गएको देखिँदैन। कला यस्तो विधा हो, जसका बारेमा लेख्न प्रदर्शन कक्षमा जानैपर्छ। कोठामा बसेर कला लेख्ने लेखक वा कलाको चर्चाको आधिकारिक बहस गराउन रुचि नराख्ने कलाकारले कलाको विकासमा टेवा दिन सक्तैन।
अर्कोतिर, पुरानै ढर्राका कलाको प्रदर्शनीले कसरी, केको महत्व बोक्छ रु यो एउटा अहं प्रश्न खडा छ। प्रदर्शित कला केही राम्रा, केही मझौला र केही निकृष्ट पनि देखिन्छन्। कसोकसो आज कलाका ग्यालरीको भित्तामा झुन्डिनुले मात्र कलाकारको मान–मर्यादा गर्नुपर्छ भन्ने जस्तो भएको छैन। अधिकांश यस्ता समूहगत कला प्रदर्शनीमा अधिकांश कलाकारको उपस्थिति देखिँदैन, अनि देखिहाले पनि कलाको बारेमा चर्चा धेरै कम भएको आभास हुन्छ। यसले एउटा अहं प्रश्न जन्माउँछ– कसका लागि कलाकार र केका लागि कला प्रदर्शनी? कुनै उत्सवको अवसरमा कला प्रदर्शनी धेरै नै हुने गर्छ, तर त्यसको आवश्यक अभिलेख हुन सक्दैन। आम भावकले कसको कला प्रदर्शन भएको रहेछ भन्ने थाहै पाउँदैनन्। अनि प्रदर्शित कलाको महत्व, अर्थ वा उद्देश्य थाहा हुने प्रश्नै उठ्दैन। हामी पहिलेदेखि नै कलालाई, कलाकारलाई राष्ट्रले केही गरेन, मान र सम्मान केही गरेन भन्थ्यौँ, आज पनि भन्छौँ। तर, कलासँग सम्बन्धित व्यक्ति नै कलाको गुणात्मकता, अर्थ र महत्ताबारे सामान्य जानकारी सञ्चारित गर्नतिर लागेनौँ, यतापट्टि अब लाग्ने हो कि ?
(लेखक कलाकार र कला समीक्षक हुन्।)
प्रकाशित: २१ चैत्र २०७७ ०५:१७ शनिबार