कला

बाख्रा चोर

लघुकथा

गाउँमा दिनहुँ बाख्रा हराउन थालेपछि धिरेन र नरेश बाघ मारेरै छाड्ने निर्णयमा पुगे। रातको करीब १० बजे उनीहरू धन्सारमा निकै सावधानीका साथ रुंगेर बसे। रुंग्दारुंग्दा करीब ११ः४५ मा सुस्तरी बाघ घुरेको आवाज कताकता सुनियो। धिरेन र नरेश चाल मार्दै धन्सारबाट तल झरे। नरेशको हातको खुँडा उदाइएको पनि थियो। धिरेनले पनि उदाइएको खुर्पा हातमै लिएको थियो। दुवै जना एक अर्काको साथ नछोड्ने र  बाघले एउटालाई झम्टिहालेमा हतोत्साही नभै अर्काले हतियारले ठोक्ने सहमतिमा धन्सारबाट पूर्वतिरको बाटोतिर पाइला सार्दै थिए। उनीहरू जतिजति पाइला अघि  सार्छन्  उतिउति बाघको आवाज चर्को सुनिएको अनुभूति हुन्थ्यो। उनीहरू पनि थप सावधानीका पाइला चालिरहन्थे। अब उनीहरू आवाजको नजिक पुगेका थिए। 

बाघ पूर्ण  रूपले देखियो। नरेशले बाघलाई निसाना लाउंदै खुँडा प्रहार गर्यो। बाघ दुई खुट्टाले ठिङ्ग उभियो। त्यो दृश्य टर्च बालेको धिरेनले पनि प्रष्ट देख्यो। खुँडाको प्रहार छल्दै बाघ मानव आकृतिमा ठिङ्ग उभिएपछि नरेश र धिरेन एकै ठाउँमा गुजुल्टिए।

अन्ततः बाघ नै तिनीहरूछेऊ आएर भन्नथाल्यो– सक्छौ भने मुकुन्डो लगाएर हिंड् नत्र तिमीहरू जङ्गलीलाई तह लाउने प्रयास नगर, बुझ्यौ?

मुकुन्डोधारी जीवनको कुराले १५ दिनदखि गाउँमा बाघ घुर्दै बाख्रा हराएका घटनामा मौन रहे।

प्रकाशित: १५ चैत्र २०७७ १०:०८ आइतबार

अक्षर