कला

हिमालजस्ता गुरु

लघुकथा

सानैदेखि अन्तर्मुखी स्वभावका मणीमुकुन्द लाल घोष परिवारका लागि आश्चर्य देखिन्थ्ये। आमाबुवाप्रति अपार लगाव राख्ने घोष ससाना छेडछाड र मजाक त्यत्ति  मनपराउंदैनथे। असमान व्यवहार कसैले कहीं नगरूँन भन्ने उनको चाहना गृहस्थ जीवनमा उल्लङ्घन भइरहेझैं लाग्थ्यो उनलाई। उनी अनकण्टार ठाउँमा जान चाहन्थे, आत्मसाक्षत्कार गर्न चाहन्थे। पवित्र जीवन बनाएर अनन्त मुक्तिका लागि प्रयास गर्नुपर्छ भन्ने चाहना राख्दथे।

मार्च महिना लागिसकेको थियो । चण्डीगढको खुला आकाशबाट तपतप शीतका थोपाहरू झर्न बन्द हुंदै गइरहेको थियो। परपर हिमाल हाँसेको हेरेर युवक मुकुन्दलाई हिमालजस्तै अटल गुरुका चरणमा गएर आफ्ना सारा दुखहरूलाई पोखिदिएर खुला आकाशमा स्वतन्त्र बनी चराजस्तै उड्नु थियो अनि पुग्नु थियो सत्यको नजिक,  अनन्त मोक्षको यात्राका लागि पाइला चाल्नु थियो।

तिर्थयात्रीहरूका साथमा एघार दिन अनि त्यत्ति नै एक्लै पैदल यात्रा गरेर मुकुन्दले युक्तेश्वर गिरी नामका योगीलाई गुरु माने। श्री युक्तेश्वरजीले सिधै उनको हार्दिक स्वागत गरे। मुकुन्दले घर छोड्ने बेलामा दाजु अनन्तले भनेको सम्झिए, तिम्रो चिनामा लेखिएको छ कि तिमी कम उमेरमा हिमालयतिर भाग्छौ तर जबर्जस्ती फर्काएर ल्याइने छौ र तिम्रो विवाह हुनेछ।

एकदिन उनलाई स्पष्ट अन्तर्ज्ञान भयो कि भविष्यवाणी एकदम गलत छ। एकरात उनी उठे  र झोलामा भएको आफ्नो चिना जलाइदिए। भबिष्य देख्ने चिना खरानीको डल्लोमा परिणत भयो। खरानीलाई जम्मा गरे एउटा कागजमा हाले र त्यहां लेखे– पूर्व कर्महरूको बीउ उम्रिन सक्तैन यदि त्यसलाई दिव्य ज्ञानको आगोमा पोलिदियो भने।

उनले आफू नफर्कने दृढता सहितको पत्र पठाए घरमा।

कलेजो रोगले थलिएका मुकुन्दको कलेजो ठीक भइसकेको थियो । मुकुन्द यसलाई गुरुकृपा सम्झन्थे । लामो समय गुरुको सामिप्यपछि मुकुन्द योगानन्द बने। सेल्फ रियलाइजेसन सेन्टरहरू स्थापना गर्दै पश्चिमी मुलुकहरूमा घुमेर योगानन्द भारत फर्के।

केही दिनअघि मात्र आफ्ना गुरुको धाम गमनको खबरले बेचैन भए। गुरुसंग अन्तिम क्षणमा भेट हुन नसक्नुले व्याकुल बने। प्रवचनको सिलसिलामा मुम्बई पुगेका योगीले आफू बसेको होटलमा अचम्मको दृष्य देखे। होटलबाहिर दिव्य अलौकिक उज्यालो आफ्नै कोठातिर आइरहेथ्यो। सूक्ष्मलोकबाट सवार गुरु युक्तेश्व गिरीको सशरीर उपस्थितिले हर्षको सीमा रहेन। आदि भौतिक, सूक्ष्म र कारण शरीरहरूबारेको अनुभवका साथ यक्तेश्वर गुरु अन्तरध्यान भए। योगानन्दको स्मरणमा यो घटनाले जीवनभरि खेदिरह्योखेदिरह्यो...।

प्रकाशित: १३ चैत्र २०७७ ०७:१४ शुक्रबार

अक्षर