कला

तृप्त

लघुकथा

तरकारीको लागि पासाले खेतमा आलु लगाएका थिए । यसपालिको  आलुको फसल सन्तुष्ट हुँदा पासा धन्य भए । मौसमी खेतीबाट भन्दा तरकारी खेतीबाट सबै  कृषकहरूको मनग्य कमाइ भयो । उनी लगायत बाँकी किसानहरू सन्तुष्ट देखिन्थे  । आलु रोप्ने  बेला मल नपाउँदा सबै कृषक पीडामा थिए  । कृषि मन्त्रीका अनुहार हेर्ने र बोली सुन्ने इच्छा सबैको  हरायो ।

आफूलाई खान दुईचार मुरी राखेर बैशाख लाग्दै पासा लगायत किसानले आलु बेचे । असारसाउन त्यही आलुले टर्यो ।  दशैँ नजिक आउँदै थियो । पुरानो आलु चाउरी परेर टुसै टुसा हालिसकेका थिए । खाँदा झनै  गुलियो लाग्थ्यो । दशैँको पाहुनापाछा तथा नेवारी भोज... नयाँ आलु नभई भएन  । आलु लिन तारामान राई र पासा लेक गए । बाटो भिरालो तथा घाँस नै घाँस थियो । पानी र हावाले  छाता फर्कायो । ओत लाग्नलाई गाउँ आइसकेको थिएन । अघिअघि लागेका तारामान राई उफ्रेर एक्कासि  चिच्याउन थाले।

पासाले वास्तविकता बुझ्न सोधे – का बेइमान? किन उफ्रेको ?

तारामान राई आत्तिँदै भने –  लौन ! रगत नै रगत बनाएर खाएछ । कति सारो ढाडिएको हो ? चप्पल लाएर सिंहदबार पस्दा ख्याउटे थियो । निस्कँदा फुलेका गालाजस्तै भएछ ।

पासाले एकछिन सोचे अनि वास्तविकता पत्ता लगाउँदै बोले –  बेइमानले जुका भनेको होला ।  तृप्त हुने भनेको जुका नै हो । सजीव  दुःख गर्ने परजीवी चुस्ने ।  

प्रकाशित: १३ चैत्र २०७७ ०४:०५ शुक्रबार

अक्षर