कला

समवेदना

लघुकथा

एक्लो नाति माझमा च्यापेर राधिका र बमप्रसाद सधैंंझैं दुःखसुखका कुरा गर्दागर्दै निदाए । एक्कासि राति राधिका ‘सास फेर्न अप्ठेरो भो बाबा’ भन्दै कहालिन् । श्रीमानले आत्तिएर हेरे, राधिकाको अनुहार कस्सिएको छ र शरीर पसिनाले निथ्रुक्क भिजेको । बेडलाइटको उजेलोमा बमप्रसाद डायरीमा एम्बुलेन्सको नम्बर खोज्न थाले । चार वर्षे नाति पनि बिउँझेर रुन थाल्यो । एम्बुलेन्स आइपुग्यो । हल्लाखल्लाले त्यतिन्जेल उठिसकेका छिमेकीलाई नाति जिम्मा लगाएर उनी अस्पातल लागे।

जीवनमा निकै कष्ट भोगे बमप्रसादले । कमाउने उनी एक्ला थिए र खास भन्नु पर्दा नपुग्ने देखेरै उनले दोस्रो सन्तानको चाह मारे ।  सरकारी नोकरीको सीमित आय, त्यसमाथि उनी घुस्याहा भएनन् । त्यसैले सरुवा भइरह्यो । सरुवा भएपिच्छे बिरालोले बच्चो सारे जसरी परिवार र झिटीगुन्टा सारिरहे । छोरो असलै भैदियो । राम्रै पढ्यो तर विदेसियो । यता खोजिदिएकै केटी बिहे गर्यो तर छोरा जन्मिएपछि हेरचाह पुगेन भनेर दुधे छोरा ल्याएर जिम्मा लगायो । हजुरबा–आमाले छातीमै टाँसेर हुर्काउँदै ल्याए।

बमप्रसादले राधिकाको निधार,चाल,नाडी छामे केही निधो पाउन सकेनन् । अस्पातलमा डाक्टरहरूले निकै प्रयत्न गरे तर राधिका गइसकिछन् । चालिस बर्से साथ छिन्दा बमप्रसाद मूच्र्छा परे । होस फिर्दा पनि केही सार पाउन सकिरहेका थिएनन् । इष्टमित्रले छोराबुहारी डाकिदिएका थिए । एक्लिएका बमप्रसादले सबै आफूले गर्ने कृयाकर्म अर्धबेहोेसीमै गरे । मासिक, डेढ मासिक तानतुन पारेर तेह्रै दिनमा टुङ्गियो । बमप्रसादको खानपिन, ओखतीमूलोको समय खल्बलिएको थियो । उनको आफ्नै पनि मन कता पुगेको कसैलाई थाहा थिएन ।

समय दौडियो । महिनादिनपछि छोराबुहारीले फर्कनुपर्ने कुरा गरे । जाओ भने । काखमा खेलिरहेको छोरातिर हेरेर भने– हजुरको नाति पनि लान्छौं । अब तपाईंलाई  गाह्रो हुन्छ ।  यसको पनि राम्रो स्याहार पुग्दैन।

त्यतिका दिनसम्म एक्लिएका बमप्रसाद अब रित्तिएका देखिए ।

प्रकाशित: १२ चैत्र २०७७ ०९:५७ बिहीबार

अक्षर