कला

देश रोएको बेला

कविता

देश रोएको बेला

कुर्सीको लोभमा नफसे हुने हो

आमाको जीवन उजाडिएको बेला

दाजुभाइ नलडे हुने हो

 शकुनिहरू पासा पल्टाउने षड्यन्त्र गर्दैछन्  

तिमी स्वार्थमा नडुबेकै राम्रो।

 

देश अहिले साँच्चिकै पीडामा छ

कोलाहल छ चारैतिर

छिमेकीले सीमाको खामा सार्दै छन्

नेपाल आमाको शिर लुछ्दै छ्न

नेपालीको स्वाभिमानमाथि धावा बोल्दै छन्  

बाँधहरूले पानी छेक्दा

गाउँ र बस्तीहरू डुब्दै छन्

अनि भन–

यतिबेला तिमी आफूलाई कसरी सुरक्षित ठान्न सक्छौ ।

 

देश दुखेको बेला  

राजनीतिक भागबन्डामा नलागेकै राम्रो

आमाको अस्मिता लुटिएको बेला नतमस्तक नबने हुने हो

कोरोना कहरले सिंगै देश

आक्रान्त भएको बेला

एक अर्काको दोषारोपणमा

समय खेर नफालेकै राम्रो।

 

देश धुजाधुजा हुने सँघारमा छ

छिमेकीहरूको खेलमैदान नबनाऊ

देश आगोमा सल्किएको बेला  

गुटबन्दी नगर

देश डुबेको बेला  

रमिते नबन  

देश खुम्चिएको बेला

हात नबाँध

किल्ला भत्किएको बेला  

अन्धो नबन।

 

आँट छ भने  

मेची,काली,हिमाल,

तराई ,पहाड मिलाऊ

छिमेकीले हड्पेको जमिन

फिर्ता ल्याऊ

बाटै नभए कहाँको यात्रा?

माटै नभए केको बगैंचा ?

आफू र आफ्ना सन्तति  

हिँड्ने बाटो खन र सुरक्षित राख

माटो जोगाऊ, जनता बचाऊ

देश रोएको बेला शत्रु नहँसाऊ।

प्रकाशित: १२ चैत्र २०७७ ०९:३४ बिहीबार

अक्षर