कला

खसीको मासु

लघुकथा

बिहानै गाउँबाट  जुठो परेको खबर आएपछि  श्रीमती फत्फताउँदै भन्न थालिन्  –आज शनिबार  खाउँला भनेर पल्लो घर छिमेकीबाट लोकल खसीको मासु ल्याएको थिएँ। एकाबिहानै जुठो बार्नुपर्ने खबर पो आयो। कहिल्यै  राम्रोसँग चाडपर्व मनाउन नपाइने भयो । बुढाको दाजुभाइ खलक नै ठूलो । दिक्क लाग्ने।

मर्निङ वाकमा निस्कदै गरेका श्रीमानले भने– के गर्नु त जन्म र मृत्यु कसैले रोक्न सक्दैन। यतिबेला  डाँडाघरे काकाको परिवारमा ठूलो क्षति भएको छ काकी बितेर। त्यो दुखद् घडीमा पुग्नुपर्ने तर कोरोनाले कतै निस्कन पाइएन। फोनबाटै भए पनि काकालाई सान्त्वना दिनुपर्ला।

श्रीमती फोनमा व्यस्त  भइन् । उनी भने मर्निङवाक निस्किए।

फर्केपछि  श्रीमानले सोधे –खोई फ्रिजको मासु ?

श्रीमतीले भनिन् –मैले कुन्तीलाई दिइपठाएँ।

  – किन दिएको त कुन्तीलाई ?

 – जुठोमा खानुभएन । नदिएर के गर्नु त?

– मैले हाम्रो भाडामा बस्ने अनिलकी आमालाई दिनु भन्दै थिएँ। बिचरी आमा, अस्पतालबाट हिजो मात्रै आएकी थिइन् । रमाउँदै खान्थिन् नि।

–यस्तो महँगो खसीको मासु कस्ले सित्तैमा  दिन्छ। मैले  त कुन्तीलाई ल्या’कोभन्दा बढी नै लिएर बेचिदिएँ।

प्रकाशित: १२ चैत्र २०७७ ०८:४२ बिहीबार

अक्षर