कला

आउने आशा

कविता

तिमी  आउँछौ कि भनेर, प्रतीक्षामा बस्दाबस्दा

धेरै समय बिते, धेरै दिन बिते, धेरै वर्ष बिते

तर के गर्नु तिमी आएनौ ।

त्यो तिम्रो कोमल हृदय आज,  

ढुङ्गाजस्तो चट्टान बन्दा

अतीतलाई सम्झदा, यो मुटुमा तुफान आउँछ

चटयाङ पर्छ, बाढी आउँछ ।

मन शान्त पार्ने कुनै औषधि नहुँदा

पीडै पीडाले छटपटाइरह्यो

छटपटिँदा – छटपटिँदा आँसुको भेल बग्छ

तर, के गर्नु तिमी आएनौ ।

तिम्रै सम्झनामा, तिमी अवश्य आउँछौ भन्ने आशा गर्दै

कल्पनामा डुब्दै, तिमीसँग भेट हुँदाको आनन्दको

गहिराइमा डुब्दै, त्यो रमाइलो क्षणको आशा गर्दै

दिन बिताउदै, तिम्रै यादमा डुबिरहेको छु, डुबिरहने छु

तर, तिमी आएनौ ।

तिम्रा साथमा हिँडेका ती उकालीओरालीहरू

शीतल ताप्ने ती वरपीपल चौतारीहरू

तिर्खा लाग्दा प्यास मेटाउने ती पानीका धाराहरू

तिम्रा साथमा गुञ्जिएका ती सुरिला भाकाहरू

सबै ताजै छन्, सबै आलै छन्, तर के गर्नु

तिमी टाढाटाढा धेरै टाढा भयौ

भेट्ने आशामा धेरै वसन्तहरू पार भए

तर के गर्नु तिमी आएनौ, तिमी आएनौ । 

प्रकाशित: १२ चैत्र २०७७ ०५:५६ बिहीबार

अक्षर