कला

अर्काको मान्छे

लघुकथा

रातको एघार बजे फोनको घण्टी बज्यो । खुसी भएर बोल्छु । म उसलाई औधी मन पराउँछु । ऊ मसँग गफ गरेर फोन राख्छ । म आनन्दको अनुभूति गर्छु । धेरैले मलाई फोन गर्छन्। दिनभरि मेरो फोन आइरहन्छ । धेरैले गर्छन्। मसँग मनको भाव साट्छन् । मलाई थाहा छैन उसले मलाई के सोचेर फोन गर्ने गरेको छ । सधैं कुरा गरिरहन्छन् । घण्टा बितेको पत्तै हुँदैन भन्छ । म पनि चूपचाप उसको कुरा सुन्छु । समयको धारसँगै जीवनका केही पल जोडिएको हुन्छ । म पनि मान्छे सबैसँग जोडिनै पर्छ । 

मलाई थाहा छ । रमाउने इच्छा छरपस्ट भुईमा छरिए पनि रमाएको नाटक गर्न व्यस्त हुन्छु । कता लगेर फ्याँक्नु अनगिन्ती पीडा छन्। मन भक्कान्निन्छ ।

आफ्ना लागि नभए पनि बाँचिदिनु परेको बाध्यतामा रुमलिएको जीवन पनि के जीवनजस्तो लाग्छ ।  काठमाडौँको जाडोसँगै कठ्याग्रिंएको मन कहाँ तात्छ ।

आज काम गर्न पटक्कै मन छैन । मन खोलेर उसँग रुन मन छ ।

म माया गर्छु , उनलाई रातको एघार बजेसम्म हरेक दिन म्यासेन्जरको हरियो थोप्ला हेरेर बस्छु । फोन गर्छन् कि आश गर्दागर्दै सात जनाको फोन आइसक्छ । हतारहतार फेरि उसको मुहारपुस्तिका खोलेर हेर्छु । मुसुक्क मुस्कुराएको छ । म पनि  उसको फोटो हेरेर सधैँ  मुस्कुराउँछु  ।  मनमनै सोच्छु, ऊ अर्काको मान्छे समय मिलाएर बोल्छ  ।

प्रकाशित: ११ चैत्र २०७७ १०:१० बुधबार

अक्षर