कला

एसएमएस सन्देश

लघुकथा

       १) विमान सुटर   

प्यूठानको असाध्यै रमणीय स्थल र शान्तिपूर्ण स्वर्गद्वारीमा मेला लागेको थियो । देशविदेशका धार्मिक पर्यटकहरू आउनेजाने क्रमले त्यहाँको बाटोघाटो व्यस्त देखिन्थ्यो । को आयो, को गयो, आउँदा साथमा के थियो, जाँदा साथमा के लिएर गयो भनी हेर्ने त्यहाँ व्यवस्थापन गरिएको थिएन । मानिसहरू निर्धक्क हिँड्दथे । बाटोको दायाँबायाँ बजार लागेको थियो । अधिकांश व्यापारीहरू तराईका र भारतीय थिए ।  स्वर्गद्वारी मन्दिरको छेउमै बसेर चारैतिरका अग्लो पहाडका टाकुरा र ती टाकुराको टुप्पोमा चाँदीजस्तै चम्किरहेको हिमाली दृश्यहरू म हेर्दै थिएँ । 

त्यति नै बेला एउटा अजङ्गको मान्छे आयो । त्यस्तो मान्छे मैले पहिले कहिल्यै देखेको थिइनँ । उसले पिठ्यूँमा ग¥हौ ब्याग भिरेर लम्किरहेको थियो । लामोलामो श्वास फेरेबाट ऊ केही भयभीत छ कि जस्तो देखिन्थ्यो । ऊ स्वर्गद्वारीबाट, डाँडैडाँडाको गोरेटो बाटो भएर अर्को पहाडतिर गयो ।

केहीबेरपछि आकाशमा एउटा आन्तरिक उडानको विमान देखियो । पहाडी दृश्यको स्वाद पर्यटकलाई चखाउने गरी त्यो विमान पहाड माथिमाथि उड्दै गयो । अघिको अचम्मको मान्छे गएकै मास्तिर । अचानक विमान ठूलो आवाजमा बिस्फोट भयो । मानिसहरू ‘जहाज खस्यो’  भन्दै बिस्फोट भएतिर दौडिन थाले । मलाई विमान छरपस्टिएको दृश्य हेर्नलाई घटनास्थलमै जाने साहस भएन । म भुइँमै थचक्क बसेँ । डर र त्रास अनि कौतूहलवश बस्दाबस्दै निकै समय बितेको पत्तै भएन । त्यति नै बेला अघिको मान्छे त्यही बाटो भएर फर्किदै थियो । उसको आँखामा विजयीभाव देखिन्थ्यो । उसले बोकेको मोबाइलमा एफएमबाट समाचार बजिरहेको सुनिन्थ्यो । समाचारले भन्दै थियो —‘‘प्यूठानको पहाडमा मौसमको खराबीले आन्तरिक उडानको विमान दुर्घटनाग्रस्त । त्यसमा सवार चालक दलका सदस्य सहित बीस जनाभन्दा बढी नेपालका अन्तर्राष्ट्रिय स्तरका विद्वानहरूको मृत्यु । ती विद्वानहरू विदेशी सहयोगमा मनोरम जिल्ला भ्रमणमा गएका थिए । मृत्यु हुनेहरूमा ...। नाम भन्दै थियो, त्यो मान्छेको मोबाइलमा फोन आएकोले समाचार रोकियो । उसले मोबाइलमा अप्ठ्यारो गरी भन्दै थियो — “काम भयो हजुर । बाँकी दस लाख लिन कहाँ आऊँ ? तपाईँको मामलामा दखल दिनेहरूको तपाईँकै योजना मुताविक एकै चिहान भयो ।”

उसको अघिको भयभीत मुहार, जहाज पड्किएको दृश्य र अहिलेको उसको मोबाइलको कुरा सुनेर शान्तिपूर्ण स्थलमा मेरो मनभित्र अशान्तिको हुरी चल्न थाल्यो ।

    २) ठेकेदारको चिप्लो कुरा 

 “पहाडी मान्छे सस्तो त छ लेकिन काम राम्रो गर्दैन हजुर !”  

  विहारको ठेकेदार सुनिलकुमारले काठमाडौँको घरधनीलाई भन्यो । अझ उसले चिप्लो कुरा गर्दै भन्यो —  “पहाडी मान्छेले फिनिसिङ अच्छा दिँदैन हजुर । घर बनाउँदा दो रुपियाँको अन्तरले हजुरको माल मेटेरियल धेरै खर्च गराइदिन्छ हजुर !”  

  घरधनीको दिमाग हल्का मोडियो । उसले पनि सुनेको कुरा भन्यो   “हुन त हो , फिनिसिङ मधिसेले नै दिन्छ । नेपालीको ठीकै हुन्छ ।”

  “हो हजुर ! काम मलाई दिए पनि दिनुस्, पहाडीलाई दिए पनि दिनुस् ! तर, काम मधेसीकै राम्रो हुन्छ हजुर !”  

  यति संवाद भएपछि घरधनीले सुनिलकुमारलाई काम दियो । काम भकाभक हुन थाल्यो । बिस्तारै ठेकेदारले एकदुई जना गर्दै पहाडिया मिस्त्री पनि राख्न थाल्यो । हुँदाहुँदा उसको कमाण्डमा सबै पहाडिया मिस्त्री देखिए । त्यो देखेर घरधनीले सोध्योे —“सुनिलजी ! नेपाली मिस्त्रीले फिनिसिङ दिँदैन भन्नुहुन्थ्यो । अहिले किन आफैँले यी पहाडियालाई मात्रै काम दिँदै हुनुहुन्छ ?”

  मुस्कुराउँदै ठेकेदारले भन्यो — “अरे हजुर ! मैले जो काम हेरिरहेछ । चिन्ता लिनु पर्दैन हजुर । यो पहाडिया बच्चादेखि मसँगै काममा हिडिँरहेछ । मधेसीभन्दा राम्रो गर्छ हजुर !”  

  “हुन त हो । काम जसरी पनि राम्रो हुनुपरयो ।”

  “हो हजुर ! फरक पर्दैन । म हेरिलिन्छु ।”  

  त्यसपछि घरधनी आफ्नो काममा हिँड्यो । घरधनी नदेखिएपछि ठेकेदारले जुँगामा ताउ लगाउँदै भन्यो — “साला ! काम त सबै मान्छे राम्रो गर्छ । लेकिन पहाडी मान्छेको रेट जो सस्तो छ । मैले पनि दो चार रुपियाँ कमाइलिनु प¥यो । दूरसे कमाइ गर्न आएको छ जो ।”

     ३) दिगो विनाश

 ‘‘हाम्रो बाउबाजे वन मन्त्रालयको हाकिम थे’ रे । त्यहाँको रुख काट्दै–बेच्दै गरेर घरखेत जोडेर अहिले हामीहरू धनी भा’को हो रे ।’’  

  ‘‘हाम्रो पनि बाउबाजेले जङ्गलका जडीबुटी चोरेर बेच्दै, घरखेत किन्दै गरेर अहिले हामी धनाढ्य भाको हो रे ।’’  

 ‘‘हाम्रा बाउबाजेले नि हो । खोलाका बालुवा, गिटी – ढुङ्गा चोर्दै बेच्दै गरेर शहराँ खेत किनेर अहिले हामी धनी भा’को रे । ऊ बेलामा रोपनी जग्गालाई एक सिजनको बालुवा बेचे पुग्थ्यो रे ।’’  

 ‘‘जे भए नि बाउबाजेले बुद्घि पुरयाएकाले अहिले हामी र हाम्रा सन्तानले मोज गर्न पाका छौँ । घरभाडा मात्रैको आम्दानीले युरोप –अमेरिका घुमेर खान पाएका छौं ।’’

  उनीहरू सबैले अन्तिम कुरामा पूर्ण सहमति जनाए । कति युरोप मात्रै घुम्नु भनेर, मङ्सिर महिनाको पर्यटकीय मौसममा उनीहरू पोखरा घुम्न गए । शहरका महत्वपूर्ण दृश्यहरू हेरिसकेपछि सेती नदीमा गए । नदीको कञ्चन पानी र त्यहाँको सफा मौसमले उनीहरूलाई बडो आनन्द दिइरहेको थियो ।

एक्कासि सेती नदीमा बाढी आयो । नदीको आसपासका रुखलाई नै डुबाउने गरी भेल बग्यो । सुसाएर आएको नदीले नदी छेउका घरहरू समेत बगाए। 

वातावरणीय तापक्रमको हेरफेरले हिमालको हिउँ पग्लिएको थियो । त्यही पग्लिएको हिउँले  माथि कतै पहाडी उपत्यकामा ताल बनेको थियो । त्यो ताल फुटेर सेतीमा अप्रत्यासित बाढी आएको थियो । बाढीले उनीहरू लगायत धेरै पर्यटकहरूलाई समेत, उनीहरूकै बाउबाजेले खनेको खाल्डोमा पुरिदियो । 

         ४) ताली

उसले नयाँ नेपाल बनाउने नेताहरूको भाषणमा ताली बजायो । आधुनिक कविहरूको कवितामा ताली बजायो । यस्तै ठूलावडाको सम्मानमा पनि ताली बजायो । बजेट पास हुँदा पनि ताली बजायो।

गणतान्त्रिक सरकारको बजेटले सरकारी कर्मचारीकोे तलब ह्वात्तै बढाएको थियो । तीस डिग्री कोणको आकारमा । ऊ निजी कारखानाको कामदारको चाहिँ साहुले दश डिग्रीको आकारमा बढाएको थियो । व्यापारीहरूले साठी डिग्री कोणको आकारमा भाउ बढाए।

महङ्गीले दुई तिहाई आकाश ढाकेपछि, उसले पहिलेजस्तै अगेनाबाट ओदानमाथिको ताउमा आगो झोस्न सकेन । ज्वरो आएपछि क्लिनिकको डाक्टरको महङ्गो शुल्क पनि तिर्न सकेन । बिरामी भएर सरकारी अस्पताल हिँड्यो । बिरामीले थरथराएको शरीरलाई अस्पतालको ढोकासम्म पु¥याउन सकेन । अस्पताल नजिकै गल्लीको छेउमा पुक्लुक्कै ढल्यो।  

उसको अर्धमुच्र्छित शरीरलाई नेता, कविजस्ता देखिने बटुवाहरूले क्वारक्वार्ती हेर्दै हिँडे । यस्तो लाग्थ्यो, अर्काको रमिता हेर्न अभ्यस्त ती मान्छेहरूका नजरहरूले उसलाई देखेर ताली बजाइरहेका थिए ।  

      ५) एसएमएस सन्देश

  राजनले सरोजलाई अपरिचित केटीको नम्बर दिएको थियो; पट्टयाएर गरी खा भनेर । त्यहाँदेखि केटी र सरोज बिचमा धेरै एसएमएस आदानप्रदान भए । विविध कारणले प्रत्यक्ष भेट भने हुन सकेको थिएन ।

केटीले सरोजलाई फेसबुकमा भेट्नू भनी । फेसबुकाँ नकली फोटो राखेर गर्नु–नगर्नु गरेको हुन्छ भनेर, त्यहाँ नभेट्ने बरु स्काइपमा भेट्ने प्रस्ताव उसले राख्यो । उसको प्रस्तावलाई केटीले त्यत्तिकै मानिन । तर, प्रत्यक्ष भेट्ने कुरामा उनीहरू सहमत भए ।  

  भेट्ने दिन जु¥यो । उनीहरूले आफूले लगाउने पोशाकको रङ बताए । मोबाइल लिएर तोकिएको ठाउँमा गए । केटी अलि डराएकी थिई । त्यसैले उसले आफ्नी घनिष्ठ साथी लिएर गएकी थिई । उसकी साथी लङ्गडी थिई । आफ्नो मोवाइल साथीलाई समाउन दिएर ऊ नजिकैको गुलाफको झाङमा छेलिएकी थिई ।

सरोज सुरो भए पनि अलि होसियार थियो । कुरा मिलेमा आजै रमाइलो गर्नुपर्छ भनेर उसले एक प्याकेट प्यान्थर खल्तीमा राखेको थियो । उसले एउटा रुखको छेको लागेर मोबाइलबाट फोन गरयो । नजिकै उभिएकी त्यही अपाङ्ग केटीको हातमा फोन बज्यो । त्यो केटीले “हेलो” भनी । सरोजले बोलेन । बरु फोन काटिदियो । अनि थुचुक्क भुईँमा बसेर फुसफुसायो —  “थुइक्क, कस्तो केटीको नम्बर देर मोरेछ ...को छोराले ! त्यही भर पो स्काइपमा नभेट्ने भन्दी रैछे त यो लङ्गडी। कोही नपाएपछि जो पनि चलिहाल्छ नि, यस्ती लङ्गडीलाई ।”

गुलाफको झाङको बिचबिचमा आँखीझ्यालजत्रो प्वाल थियो । त्यो प्वालबाट सरोज रूखको छेको लागेको र भुइँमा बसेर फुसफुसाएको दृश्य देखियो । त्यसपछि हतार गर्दै ऊ आफ्नी अपाङ्ग साथीलाई लिएर बाटो तताई । सरोजले पनि अब दुई जना केटीलाई सँगसँगै देख्यो । उसले चिन्यो, त्यो सलक्क परेकी केटी आफ्नै मामाकी छोरी थिई । वर्षमा एकपल्ट दशैँको बेलामा मामाघर जाँदा मात्रै उनीहरूको भेट हुन्थ्यो । ऊ फेरि फुसफुसायो — “ला ! त्यो मामाको छोरी त लङ्गडीको साथी पो रछे । अब मामाघरमा नि था’पाउने भयो ।” 

त्यसपछि उनीहरू बिचमा कहिल्यै एसएमएस भएन ।  

प्रकाशित: ११ चैत्र २०७७ ०७:५५ बुधबार

अक्षर