कला

ताली

कविता

त्यसले त भन्छु,

ताली इज्जत हो,                                    

त्यसका लागि बजाऊ 

जसले आजसम्म ताली नै पाएको छैन, तर योग्य छ । 

जो रगत ,

नसाहरूबाट हैन, 

खेतका गराहरूबाट बगाएर बाँचेको छ, 

गर्जिएको आकाशमुनि थिचिएर 

अन्धकारमा चम्किएको बिजुलीझैं 

 पौरखले साम्यवाद खोस्रिदै,साट्दै छ जीवन 

त्यसका लागि बजाऊ ताली

सायद, 

उसैले बोकेर निस्किन्छ घाम पनि 

तिनीहरूको मस्तक उज्यालो पार्न ।  

जो जीवनभर,                        

बर्सौं पुराना र मक्किएका थामजस्तै    

आफ्नै पैतालाहरू चिरा पार्दै , भरोसा थप्दै        

हुस्सु र कुहिरोको मजेत्रो ओढी  

लेक –बेंसी चाहर्दै  

अरूकै जीवन र पहिचानका लागि जिउँदै छन्,

त्यसका लागि बजाऊ ताली।  

सायद तिनीहरूले नै बचाउने छन् देशको नक्सा ।  

सोच्यौँ,

एक मुठो साग  

एक मुठी माटो  

एक माना चामल  

एउटा युवा  

एउटा पाखुरा  

उफ् !  

बेलैमा ताली पाएको भए  

नाघ्ने थिएनन् दैलाको सँघार  

काट्ने थिएनन् सिमाना  

आखिर, हावामा विलीन हुँदै बाकसमा आएका तन्नेरीहरूले कसरी पाउँथे र ताली ?

फगत, दुई थुँगा फूल र मौनता ।  

अब त लाग्छ,

बिनाअर्थको ताली बजाउँदाबजाउँदै  

बजाउनेलाई नै हेक्का छैन होला,

उसको घरको अगेनुमा बल्दै गरेको दाउरा पनि  

खरानी भैइसक्यो।

त्यसले त भन्छु,

ताली इज्जत हो,                                    

त्यसका लागि बजाऊ                                                              

 जसले आजसम्म ताली नै पाएको छैन,तर योग्य छ ।                          

प्रकाशित: ११ चैत्र २०७७ ०६:१४ बुधबार

अक्षर