कला

सत्ता कब्जा गर्ने उपाय

लघुकथा

         १) सत्ता कब्जा गर्ने उपाय

 

जङ्गलमा पनि लोकतन्त्र आयो । सिंह बस्ने सिंहासनमा ब्वाँसो बस्यो । उसले जङ्गलमा निर्माण कार्य गर्ने भनेर अरू जनावरहरूको समर्थन पाएको थियो। 

ब्वाँसोले धमाधम प्रमुख जनावरहरू हिँड्ने राम्रोराम्रो बाटोघाटो(सडक) बिगार्न थाल्यो ।  

ब्वाँसाको यस्तो चालादेखि सम्पन्न विदेशी देशको राजदूत स्यालले गएर सोध्यो — “होइन हौ, ब्वाँसा ! बाटो बनाउनुपर्ने ठाउँमा झन् किन बिगारयौ ? यी बाटाहरू त हाम्रो सहयोगमा बनेको हो । के हामी सधैँ बजेट दिन्छौ भनेर यसो गरेको ?”

ब्वाँसोले जवाफ फर्कायो –“के गर्नु स्यालज्यू, लडाइँ गरेर सिंहले सत्ता कब्जा गर्ने जमाना गइहाल्यो । आजभोलि सडक कब्जा गरेर सत्ता हत्याउँदा रहेछन् । त्यही भएर सत्ता टिकाउन भएको बाटो पनि सबै बिगार्न थालेँ । के गर्नु सत्ताभन्दा ठूलो सडक होइन रहेछ त !”

सत्ताका लागि जे पनि गर्न तयार ब्वाँसाको कुरो सुनेर स्याललाई फनन्न रिँगटा लागेर त्यहीँ ढल्यो । 

          २) विश्वकपले बनाएको घाउ  

 

  उनीहरू स्नातक तहका विद्यार्थी थिए । सविनलाई रातो रङ मन पथ्र्यो भने किरणलाई नीलो । सविनलाई आलु मन पथ्र्यो भने किरणलाई पर्बल । उनीहरूको रोजाइ छुट्टाछुट्टै भए पनि आलु र पर्बलको तरकारी एकै ठाउँमा मिलेजस्तै उनीहरूको मित्रतामा घनिष्ठता थियो । उनीहरूको मित्रतामा डाहा गर्नेको कमी थिएन । कतिले त मित्रता तोडाउन बाङ्गोटिङ्गो हर्कत पनि गरे । तर, त्यसलाई तिनीहरूले असफल पारिदिएका थिए ।  

 २०१४ को विश्वकप फुटबल आयो । सविनलाई स्पेन मन पथ्र्यो; किरणलाई ब्राजिल । टोलका अरू केही साथीहरू समेत भेला भएर एउटै कोठामा उनीहरू फुटबल र्हेन बसे । स्पेनको समर्थक सविन त्यस टिमको सफलतामा दङ्ग पर्दथ्यो भने किरण ब्राजिलको । तर, यसपटक स्पेनले हल्याण्डसँग एकको विरुद्घ पाँच गोलले हा¥यो । स्पेनले पाँच गोल खाँदा अरू ठिटासँगै लागेर किरणले पनि गिज्यायो । अरूले आफ्नो टिमलाई गिज्याएकाले सविनलाई नरमाइलो लाग्यो । त्यसमाथि किरणको आवाज त उसको मुटुमै गएर ठोक्कियो । ऊ भित्रभित्रै भुटभुटियो।

 स्पेन प्रारम्भिक चरणबाटै पाखा लागेपछि किरणले अब ब्राजिलले नै विश्वकप जित्छ भन्ने सोच्यो । ब्राजिलको तारिफ गरिरह्यो ।  सबैलाई ब्राजिलको बढाइचढाइ गरेर हैरान बनायो । अन्ततः सेमिफाइनलमा ब्राजिलले पनि इतिहासमै रेकर्ड रहने गरी जर्मनसँग एकको विरुद्घ सात गोल अन्तरले हारयो । यस हारमा ब्राजिलबाहेकका समर्थकहरू खुसीले नाचे, गाए र रमाए । स्पेन समर्थक सविन पनि अरूसँग लागेर ब्राजिललाई खुबै गिज्यायो।

अरूले आफ्नो टिमलाई गिज्याएकाले किरणलाई पनि नरमाइलो लाग्यो । त्यसमाथि सविनको आवाज त उसको पनि मुटुमै गएर ठोक्कियो । ऊ पनि भित्रभित्रै भुटभुटियो।

विश्वकप सकिएपछि उनीहरूको भेटघाट पातलिन थाल्यो । बिस्तारैबिस्तारै बाटोमा भेट हुँदा पनि बोल्न छोडे । हुँदाहँुदा एकले अर्कालाई नदेखेजस्तो गरी हिँड्न थाले । यो देखेर पहिले मित्रता तोडाउन बाङ्गो हर्कत गर्नेहरूले भन्न थाले — हामीले नसकेको काम, विश्वकपले गरयो यार । चियर्स ! 

             ३) अलमल 

चौतारीमा बसेर आइतेले राम्रो काम सुरु गर्ने विचार ग¥यो । काम कहिलेबाट सुरु गर्ने भनेर कल्पन थाल्यो ।

   “आइतबार  ... यस्तो राम्रो काम यो बारमा के गर्नु, नगरौँ । सोमबार  ... यो दिनमा रोपराप गरे पो राम्रो हुन्छ । मङ्गलबार  ... कडा बार । यस्तो कडा दिनमा यो काम सुरु नगरौँ । बुधबार ...ओहो बुधबार त के राम्रो दिन हो र, नगरौँ । बिहीबार ... यो विजोर बार । यो कामका लागि यो दिन पनि खासै राम्रो छैन । शुक्रबार ...हाफछुट्टी हुने दिन । आधी राम्रो, आधी नराम्रो यो बारमा के सुरु गर्नु ? शनिबार ... ओहो, अब यो बिदाको दिनमा, त्यो पनि शनि ग्रहले छुने बारमा त काम सुरु गर्नु हुँदैन ।”

  उसले सुदिन छान्नै सकेन । ऊ उठेर हिँड्यो । त्यही चौतारीमा एकछिनपछि आशाकाजी आयो । उसले पनि आइतेले जस्तै राम्रो काम गर्ने विचार ग¥यो । सुदिनको कल्पना गर्न थाल्यो —  “आइतबार ... आहा, सूर्यको पूजा हुने दिन ! राम्रो बार छ । सोमबार ... शिवको पूजा हुने दिन ! यो बार झन् राम्रो छ । मङ्गलबार ...यो दिनमा भगवान् गणेशको पूजा हुने दिन ! विध्नबाधा हट्ने दिन । अति राम्रो दिन । बुधबार ... आहा, विष्णु र महालक्ष्मीको पूजा हुने दिन ! कति राम्रो !  बिहीबार ... कृष्ण र गुरुको पूजा हुने दिन ! साह्रै राम्रो दिन ।  शुक्रबारको दिनमा सन्तोषी माताको पूजा हुने दिन ! कति राम्रो ! शनिबार ... बिदाको दिन पनि, शनिदेवको पूजा गरेर ग्रहदशा शान्ति हुने पनि दिन !  

हे भगवान्, म कुनचाहिँ दिनमा काम सुरु गरौ त ?’  

   आखिर आशाकाजीलाई पनि कुन बार रोजौ, कुन बार रोजौ भयो । शुभ दिन ठहरयाउनै सकेन ।  उनीहरूलाई ‘राम्रो काममा ढिलाइ किन’ भन्ने नै थाहा रहेनछ ।

               ४) औकात

भरतले एउटा कविताको सृजना ग¥यो । पहिलो पटक लेखेको आफ्नो रचना उसलाई क–एक(ए वान) जस्तो लाग्यो । देशका मूर्धन्य साहित्यकारको के कुरा, विश्वस्तरको दाँजोमा पुगेको जस्तो लाग्यो । संयोगवश त्यही बेला विश्वभरिका साहित्यकारमध्येबाट उत्कृष्ट दस जनालाई नोवेल पुरस्कारजस्तै नवनोवेल पुरस्कार दिइने कुरा सुन्यो । यो पुरस्कार युवा साहित्यकारलाई दिने भनिएको थियो । साहित्यकारको छनौटचाहिँ रचनाको स्तरबाट गरिने रे । रचना इमेलबाट पठाउनुपर्ने थियो।

उसले पठायो । सकेसम्म त पहिलो नै हौला, नभए दश जनाभित्र त कसो नपरिएला भनेर उसले सोच्यो । उत्कृष्ट दसभित्र परियो भने पाइने एक लाख डलरको पुरस्कारले के गर्ने होला भनेर कल्पियो । कैलेकाहीँ फरक विचार पनि सोच्दथ्यो —“के पर्ला दसभित्र ? हाम्रो देशको कुनचाहिँ नेता त नोवेल शान्ति पुरस्कारको छनौट चरणसम्म पार गर्न सकेन । आ  ... त्यसको त के पर्दथ्यो त ? कतिकति भ्रष्टाचारको काण्डमा मुछेका थिए मान्छेहरूले । मेरो त कुरै अर्कै छ । छनौट गर्ने पश्चिमी विद्वानहरू हुन् । उनीहरू हाम्रो देशको जस्तो आफ्नो मान्छेलाई खोजेर पुरस्कार दिँदैनन् । राम्रो रचनालाई मात्रै दिन्छन् । मेरो त क–एक छ ।”

केही दिनपछि नवनोवेल पुरस्कारको नतिजा सार्वजनिक भयो । उसले ढुकढुक गरेको छाती सम्हाल्दै अनलाइन पत्रिका हेरयो । पहिलो त के उत्कृष्ट दसभित्र पनि त्यहाँ उसको नाम थिएन । त्यहाँ सय जनाको नाम दिएको रहेछ । त्यसभित्र पनि अरूकै नाम थिए ।

उत्कृष्ट सयमध्ये एसियाबाट भारतीय, जापानिज र चाइनिजको गरी तीन जनाको नाम थियो भने एक जना अफ्रिकी मुलुकको नाम थियो । बाँकी सबै पश्चिमी मुलुकहरूका नामहरू थिए । त्यो समाचारको मुनिबाट धेरै मान्छेहरूले प्रत्ििरयास्वरूप बधाई भनेका थिए ।  अरूभन्दा फरक दुइटा प्रतिक्रिया पढेर ऊ शान्त भयो । एउटा —“गरिबले साहित्य सृजना गर्न नसक्ने रहेछन् क्या रे । अधिकांश नाम धनीहरूकै छ ।”

अर्को —

“साहित्य सृजना कठिन साधनाबाट मात्रै सम्भव छ । एक दिनको रहरले साहित्य बन्दैन ।”

                 ५)  सामन्ती

राजनेताले खुलामञ्चको भरिभराउ जनमानस अगाडि भाषण गर्दै थियो —“फलानो हर्षमान साहू सामन्त ...ह्... ।”  

 यो वाक्य पूरा हुँदा–नहँुदै हतारिँदै आएर एउटा सहयोगीले उसको कानमा केही कुरा खुसुक्क भन्यो ।  

   “हर्षमान साहूले भने जति चन्दा द्यो। ” 

 त्यसपछि राजनेताले भन्यो —“...हो भनेर भनिहाल्न मिल्दैन । हर्षमानलाई सामन्तीजस्तो बनाउने मुठीभरका मान्छेहरूचाहिँ सामन्ती हुन् । हर्षमान त हाम्रो देशको ठूलो समाजसेवी हो ।...”

 राजनेताको भाषण सुनेर उपस्थित भीडले पररर ताली पड्काए ।  

प्रकाशित: ९ चैत्र २०७७ १०:३१ सोमबार

अक्षर