कला

टौवा

अक्षर

‘भोलिदेखि त्यसको टौवामा नबस्,’ साँझ ओर्लिंदै गइरहेका बेला घरको संघारमा पदचिह्न कोर्नेबित्तिकै रामनाथले भने।  

आँगनमै थिए, प्रकाश। निःसंकोच उभिइरहेका। बाबुद्वारा सम्प्रेषित निर्देशन उनका निम्ति भने अनपेक्षित र अप्रत्याशित थियो। पूर्ववर्ती दिनमा उनले यति कडा र सशक्त निर्देशन व्यहोर्नुपरेको थिएन। त्यो साँझ भने रामनाथको आदेश प्रखर रूपमा पोखिएको थियो।  

प्रकाशले कुनै प्रश्न बिछ्याउन चाहेन, रामनाथसामु। सम्पूर्ण परिवेशमा कोरिँदै गएको साँझको तेजिला विम्बलाई नियाल्दै उनी यथास्थानमै उभिइरहे, प्रार्थनारत शैलीमा। बाबुको अनुहारमा भने उनले नियालिरहेका थिए। रामनाथको अनुहारको भूगोल अरू दिनका भन्दा पृथक देखिन्थ्यो। चक्रवातीले बिथोलेका बस्तीझैँ छिन्नभिन्न र उजाड प्रतीत हुन्थ्यो, उनको अनुहार।  

‘ऐड्ढया, त्यो रुवा अलिकति ले त,’ रामनाथले पत्नीलाई अह्राए, ‘ऐना र अलिकति पानी पनि ले’रा है।’

‘के भो ?’ पत्नीले जिज्ञासा उमारिन्।  

रामनाथको अनुहारको धरातल मात्र बिग्रिएको थिएन, शरीरको केही भागले समेत दक्खल व्यहोरेको थियो। उनले ग्रहण गरेको सेता कमिजमा माटैमाटो लागेको थियो र कपाल पनि घुस्रोफुस्रो देखिन्थ्यो।

‘के भो भन्या ?’ रामनाथको मौनतालाई चिर्ने प्रयत्न गर्दै पत्नीले पुनः उनी प्रश्न दोहोर्‍याइन् र सोधिन्, ‘लड्नुभयो कि क्या हो, कतै ?’

‘लड्या हैन, भिड्याचाहिँ हो,’ स्वरलाई तेजिलो बनाउँदै रामनाथले भने। उनको भावभंगी नियाल्दा अझै युद्धको धङधङीबाट मुक्त नभइसकेको जस्तो देखिन्थ्यो।  

‘कसैसँग झगडा पर्‍यो कि, क्या हो ?’ अत्याशलाग्दो स्वरमा सोधिन्, पत्नीले र नजिकै गएर निधारमा हेर्दै भनिन्, ‘निधार पनि धसारिएछ। कोसँग के भो ?’

‘त्यै सामन्तीसँग,’ रामनाथले नजिकैको अम्खोरा उठाए र मुख पखाल्दै भने, ‘साँध–मिचुवा त्यही नौले चोरसँग। आलीमा चिप्लिएर लडेँ र मात्रै...। नभए तेल्ले आज मेरो बाघेझापुको स्वाद नमज्जाले चाख्थ्यो।’

‘किन झगडा गर्नु’भा त ?’

‘तेल्ले हाम्रो खेतको साँध मिचेको म टुलुटुलु हेरेर बसुँ त ? त्यस्ता साँध–मिचुवा सामन्तहरूलाई किन छाड्ने ?’ रामनाथमा आवेगको तह अकासिँदै गइरहेको थियो।  

‘राम्रैसँगले कुरा गर्‍या भए हुन्थ्यो नि ?’ पत्नीले विनित हुँदै भनिन्। 

प्रथमतः नौले क्षेत्रीले रामनाथको गर्दनमा आफ्ना दुवै हातले समाते र ङ्याक्न खोजे। रामनाथले पनि नौलेको कमिजमा समातेर तान्न थाले। न्वारनदेखिको ऊर्जा खपत भएको हुँदा नौलेको कमिजले तत्क्षण सहादत प्राप्त गर्‍यो र सन् ४७ पछि भारत र पाकिस्तान दुई टुक्रामा विभाजित भएझैं हुन पुग्यो। 

‘सुन्छ तेल्ले हाम्रो कुरा ? त्यो एक नम्बरको साँध–मिचुवा हो,’ रामनाथले आवेगमै भने, ‘हाम्रोभन्दा त्यसको जग्गा–जिमिन धेरै छ। हामीभन्दा धनी पनि छ। तर, के आफू धनी भएँ भन्दैमा, प्रशस्तै जग्गा–जिमिन छ भन्दैमा, अरूको साँध मिच्न हुन्छ ? मिच्न पाइन्छ ? त्यसको खेतमा सय मुरी धान फल्ला, हाम्रो पनि १५–२० मुरी फल्छ नि। अति गर्नु अतिचार (अत्याचार) नगर्नू भन्छ नि। तेल्ले अतिचार नै गर्‍यो भन्या।’

प्रकाश भने नजिकै बसेर बुवा–आमाबीचको घनीभूत संवादलाई सुनिरहेका थिए।  

‘कहाँ मिचेछ ?’ पत्नीले सोधिन्।  

‘त्यै कुलोनिर। अलिकति आँठा सारिहालेछ,’ रामनाथले भने, ‘कस्तो सँधियार परेछ भन्या। जसको पनि साँध मिचेर हैरान पारेको छ। पोहोर साल पनि बलरामसँग त्यत्रो झगडा पर्‍यो। पञ्चायत नै बस्नुपर्ने गरी झगडा पर्‍यो। दुवैबीच हात हालाहाल नै भयो। त्यै कुलोको पानीको बाँडफाँटमा लीलानाथसँग हानाहान नै पर्‍यो। कोदालोले हिर्काउँदा लीलानाथ घाइते नै भयो भन्या। के भन्ने भन्या, गाम्ठाम्का कुनै पनि सँधियारसँग राम्रो छैन तेस्को।’

रामनाथ एक्लै र एकोहोरो भट्याइरहेका थिए, पत्नी अगेनोमा आगो फुक्न व्यस्त भइन्। नजिकैको आँटीनेर एउटा टुकीले मझेरी, अगेनोलगायत स्थानमा उज्यालो पुर्‍याउन भगीरथ प्रयत्न गरिरहेको थियो।  

‘भोलिदेखि त्यो टौवामा नबसेर कहाँ बस्ने होला ?’ प्रकाश भने चिन्ताले ग्रस्त देखिए। चिन्ताका अभेद्य पर्खालले उनलाई क्रमशः थिच्न थाल्यो। उनले कल्पिए, ‘झन् भोलि उजेलीले गुलेली लिएर आउनु भनेकी थिई। गुलेलीले मकै खान आउने सुगाहरूलाई हान्ने कत्रो कुरा भा’थ्यो। के गर्ने होला ?’

तनाव र चिन्ताको दोसाँधमा उभिएका प्रकाश रात गाढा बन्दै गएपछि निदाए।  

***

त्यो दिन रामनाथ र नौले क्षेत्रीबीच ठूलै संग्राम मच्चियो। जेठको उखरमाउलो गर्मी सर्वत्र चलमलाइरहेको थियो। अघिल्लो दिन सामान्य वर्षाद भएर वातावरण केही शीतल भए पनि भोलिपल्ट गर्मीले पुनः आफ्नो सान प्रदर्शन गर्न थालिसकेको थियो।  

रामनाथले सोचेँ, ‘आज खेततिर जानुप¥यो। अब त धानको ब्याड राख्ने बेला पनि भो। केही खनखान गर्नुपर्‍यो। पानी परेको छ, खन्न पनि सजिलो होला।’

रामनाथ एक थान कोदालो लिएर खेततिर ओर्लिए। घरभन्दा केही दूरीको अन्तरालमा थियो, उनको खेत, समथर फाँटनेर। खेतनजिकै एउटा खोला बग्थ्यो। हिउँदमा पूर्णतः सुक्खापन ग्रहण गर्ने र वर्षाद्मा उग्र रूप लिने त्यो खोला चुरेको मसिना ढिस्काबाट प्रवाहित हुन्थ्यो। त्यही खोलासँगै टाँसिएको भित्ताको गाउँमा थियो, रामनाथको घर।  

गाउँबाट खेततिर झर्दा बाटोको एउटा बिन्दुबाट छ्याङ्गै देखिन्थे– खेत, खोला, कुलो र निकै परको मूल बाटो। रामनाथ आफ्नै सुरले खेततिर ओर्लिइरहेका थिए। तर, कुलोनजिकै नौले क्षेत्रीले कोदालो चलाइरहेको उनले प्रस्टै देखे। उनले हतार–हतार ओरालोमा पाइला बढाए र मनमा आशंका उमार्दै भने, ‘फेरि के गर्न लागेछ नौलेले ?’

रामनाथको खेतमा जुन गह्राबाट कुलो लाग्थ्यो, ठीक त्योभन्दा माथ्लो गह्राबाट नौलेको खेत सुरु हुन्थ्यो। त्यही थलो नै उनीहरूको साँध थियो।  

‘ए ए, के गर्न लाग्नु’भा ?’ रामनाथले आलीमा उभिएर आश्चर्यमिश्रित नजर बिछ्याउँदै सोधे। त्यो बेला नौले क्षेत्री भने आँठा सार्न व्यस्त थिए।

‘साँध मिलाउन लाग्या नि,’ नौलेले निःसंकोच भावमा भने।  

‘ए, साँध मिलाउन लाग्या कि, मिच्न लाग्या ?’ रामनाथले रोबिलो स्वरमा प्रतिवाद गर्दै भने।  

‘तैँले मलाई साँध मिच्ने देख्या छस् कि क्या हो ?’ रामनाथको बोली चुहिनेबित्तिकै नौले क्षेत्रीले एकाएक आफूलाई आवेगको परिसरमा उभ्याए।  

‘नखन। तैँले आफ्नो आँठा मेरोतिर सारिसकेको छस्। रोक खन्नलाई,’ रामनाथभित्र पनि आवेग र उत्तेजनाका थुम्की अग्लिन थालिसकेको थियो।

‘मेरो खेतमा मलाई नखन भन्ने को होस् तँ, यो खेतको मालिक होस् ? बड्ता कराउँदो रहेछ,’ नौलेको अनुहारभरि उम्रिइरहेका पसिनालाई अलिअलि माटो लागेको हातले सपक्क पुछ्दै भने। शारीरिक ऊर्जा खपत भइरहेको हुँदा उनी पसिनाले भिज्दै गइरहेका थिए।  

‘नखन।’

‘नकरा।’

एक्कासि तनावपूर्ण माहोल उत्खनन भयो। दुवै संग्रामको मुडमा उभिएका थिए। कुन बेला कसले आफूभित्र उम्रिएको आवेशलाई कार्यान्वयनको तहमा ओराल्ने हुन् ? त्यसको प्रतीक्षा मात्र बाँकी थियो।

रामनाथले नौले क्षेत्रीको हातको कोदालोलाई फुत्त खोसे र केही पर फ्याँकिदिए। र, आफूसँग भएको कोदालो उज्याउँदै उनी कड्किन थाले, ‘साँध–मिचुवा चुतिया साला...। अरू सँधियारका साँध त मिचेकै थिइस्। हुँदाहुँदा मेरो साँध पनि मिच्न थालिस्, हैन ? के तैँले मलाई लर्तरो ठानेको छस् ? यो पाखुरीमा बल होउन्जेल म तँलाई आफ्नो एक टुक्रा जमिन पनि मिच्न दिन्नँ, बुझिस् ?’

‘कसले मिच्यो साँध ? मैले आँठा लगाएकोसम्म मेरै जमिन पर्छ। यो कुलोले खोस्रेर साँध नमिलेको हो। मैले ठीक ठाउँमा आँठा लगाएको छु,’ नौले क्षेत्रीले रामनाथको दाबीलाई पूर्णतः खारेज गर्दै भने।  

‘जो चोर उसकै ठूलो स्वर ?’  

‘ए, कल्लाई चोर भनिस् ?’

‘तँलाई। तँ साँध–मिचुवा चोर नै होस्, चुतिया।’

प्रथमतः नौले क्षेत्रीले रामनाथको गर्दनमा आफ्ना दुवै हातले समाते र ङ्याक्न खोजे। रामनाथले पनि नौलेको कमिजमा समातेर तान्न थाले। न्वारनदेखिको ऊर्जा खपत भएको हुँदा नौलेको कमिजले तत्क्षण सहादत प्राप्त गर्‍यो र सन् ४७ पछि भारत र पाकिस्तान दुई टुक्रामा विभाजित भएझँै हुन पुग्यो।

भुइँमा माटोको स्वाद चाखिरहेको कोदालो टिपेर त्यही कोदालोले हान्न खोजे, रामनाथले। तर, केहीबेर त्यही कोदालो खोसाखोस गर्दैमा समय कट्यो। त्यो कोदालो उछिट्टिएर पुग्यो, केही पर। त्यो कोदालो लिन रामनाथ के दौडिएका थिए, उनी चिप्लो आलीबाट नमज्जाले लडे र नजिकैको कुलोमा पाहा पछारिएझैँ पछारिन पुगे।  

रामनाथ पछारिएपछि नौलेले त्यो संग्रामलाई पुनः ब्युँताउन उचित ठानेनन्। उनी आफ्नो कोदालोलाई टिपेर के के बकबकाउँदै बाटो लागे।  

रामनाथले भने चोट ग्रहण गरिसकेका थिए। उनको कमिज सद्दे नै थियो तर पूरै माटोमय। कुलोमा पछारिँदा उनको चाक पूरै थचारिएको थियो। उठ्दाउठ्दै उनले मुखतिर हात पुर्‍याए। हातमा रगत लाग्यो।  

‘अहो, दाँत पो भाँच्चिएछ त,’ उनले भाँच्चिएको एउटा दाँत निकाल्दै भने।

त्यो संग्राममा नौले क्षेत्रीको कमिजले सहादत प्राप्त ग¥यो भने रामनाथको दाँतले। भाँच्चिएको दाँत हातमा लिँदै र थिल्थिलो शरीरलाई घिसार्दै रामनाथ घरतिर लम्किए।  

***

जेठका दिनहरू भित्रिएपछि प्रकाशको बेग्लै ड्युटी सुरु हुन्थ्यो। बिहान स्कुल जानुपथ्र्यो, दिउँसोपख उनी खेतमा मकै रुङ्न खटिन्थे। हरेक वर्ष जेठ लागेपछि उनको दैनिकी यसरी नै बित्थ्यो।  

कुलोभन्दा ठीक पूर्वतिर, एउटा सानो आकारको चौरमा नौले क्षेत्रीले टौवा बनाएका थिए। त्यो टौवाले करिब ५–७ हिउँद–वर्षा नै भोगिसकेको थियो। अरू समयमा प्रयोजनविहीन देखिने त्यो टौवा जेठका दिनमा प्रयोगमा आउँथ्यो। त्यही अग्लो टौवामा बसेर केटाकेटीहरू सुगा धपाउँथे। पाक्न लागेका मकैमा दक्खल पु¥याउन सुगाको बथान यसरी उर्लिन्थे, मानौँ कुनै शक्तिशाली राष्ट्रले आफ्ना शत्रु राष्ट्रमाथि युद्ध–विमानहरूबाट बम–गोला बर्साइरहेका छन्, कुनै छनक नदिईकन, एक्कासि अकल्पनीय रूपमा।  

त्यो दिन पनि निर्धारित समयमै प्रकाश टौवामा पुगे, उजेली भने त्यो बेलासम्म आइपुगेकी थिइनन्। मध्याह्न आफ्नै सुरले लस्किँदै थियो, उजेलीको कुनै अत्तोपत्तो थिएन।  

प्रकाश कल्पनाको अथाह सागरको अथाह गहिराइमा डुब्न पुगे, ‘साँच्चि, आज उजेली कता गइन् होली ? यो बेलासम्म त आइपुग्थिन्, हिजोअस्ति त। आज भने किन आइनन् ?’

प्रकाशले टौवाबाट नजिकैको खोलातिर आँखा पुर्‍याए। खोलाको भित्तानेरका एउटा अस्पृश्य बाटोतिर पनि हेरे, उजेलीलाई देखेनन्। निरन्तरको हेराइमा पनि उजेलीका आगमन नभएपछि उनले एउटा निचोड निकाले, ‘आज उजेली नआउने भइन् कि क्या हो ?’

प्रकाशको निचोडले निचोड पाएन। त्यो टौवाभन्दा उत्तरी दिशाको कुलाको डिलै डिल उजेलीले आफ्ना पाइलालाई गतिशील तुल्याउँदै टौवातिर लम्काउँदै थिइन्।  

‘कहाँ गएकी थियौ आज ?’

‘कहीँ पनि हैन।’

‘किन यति ढिला गरेकी त ?’

‘हैन, कहाँ ढिला भयो र ? हिजोअस्ति पनि आउने बेला यही त हो नि।’

‘कहाँ हुनु ? हिजोअस्ति त तिमी अलि चाँडै आउँथ्यौ। आज तिम्ले ढिला नै गरेकी हौ,’ प्रकाशले त्यो टौवाभन्दा पर्तिरको पाखातिर नजर दौडाउँदै भने।  

खेतभन्दा पर्तिरको खोला। खोलासँगै टाँसिएको पाखा। साल, साज, चिलाउनेका बडेमान र अरू छोटेमान बुट्यानले भरिपूर्ण त्यो पाखामा सुगाको बथान बस्थ्यो र भोकले रन्थनिएका ती सुगा फाँटभरि फलेका मकैका बोटमाथि सामूहिक नृत्य देखाउँथे।  

‘अब भोलिदेखि म यी सुगालाई हैरान पार्छु।’

‘कसरी ?’

‘आज बजारबाट मेरो दाइले एउटा गुलेली किनेर ल्याइदिनुहुन्छ। म त्यही गुलेलीले यी सुगालाई हायलकायल बनाउँछु।’

‘किन गुलेली हान्नु ! कराएपछि यी सुगा भागिहाल्छन् नि।’

‘कराउँदा केही सुगा त भाग्छन् तर केही सुगा यति धेरै अटेरी हुन्छन्। तिनीहरूलाई गुलेलीको स्वाद नचखाई चित्तै बुझ्दैन।’

त्यो मध्याह्न टौवामा दुई पात्र मात्र थिए– प्रकाश र उजेली। उनीहरूलाई आफ्ना मनका तरङ्ग फैलाउन पर्याप्त समय र अवसर मिलेको थियो। हुन पनि, दुवै एउटै स्कुलमा पढ्थे। प्रकाश र उजेलीको कक्षान्तर केवल दुई खुड्किला मात्रै तल–माथि थियो।  

‘यी सुगाले पनि कत्ति दुःख दिएको हगि ?’ प्रकाशले केही पारिको भित्तातिर हेर्दै भने।  

‘बिचराहरूले पनि खाऊन् त। यही मकै त पाइन्छन् नि अचेल,’ उजेलीले कोमल भाव प्रदर्शन गर्दै भनिन्।

‘तिम्लाई सुगा मनपर्छ कि क्या हो ?’

‘पर्छ नि।’

‘किन ?’

‘कस्तोरी मीठो गरी बोल्छन्,’ उजेलीले भनिन्, ‘परार साल मेरो दाइले एउटा सुगालाई समातेर ल्याउनुभएको थियो। त्यो सुगालाई हामीले पाल्यौँ। त्यो यति चलाख सुगा थियो कि, मेरो नाम बुवा–आमाले भनेको सुनेर हुनुपर्छ, बिहान उठ्नेबित्तिकै त्यसले मलाई बोलाउँथ्यो र भन्थ्यो– उजेली, ए, उजेली, उठ् कति सुति रा’की ? कति मीठो स्वरमा बोलाउँथ्यो मलाई। म त्यसलाई हरेक दिन दूध–भात दिन्थेँ। कति मायालु र प्यारो थियो, त्यो सुगा।’

प्रकाशले उजेलीको हँसिलो मुहारतिर हेर्दै भने, ‘बोली मीठो मात्र भएर काँ हुन्छ र ? बानी राम्रो हुनुपर्‍यो नि। यी सुगा कति मीठो बोल्छन् तर हाम्ले खान रोपेका मकै रुँगेनौ भने एकैपटकमा सिध्याइदिन्छन्।’

उजेली बोलिनन्।

नबोले पनि उजेलीले प्रकाशको अनुहारमा आफ्ना दृष्टि फ्याँकिन्। प्रकाशले भने उजेलीको अनुहारमा व्याप्त भाव र संवेदनालाई टिपे र आफूभित्र अटाए। दुवैले एकाध क्षण एकअर्काका अनुहार हेरेर, ती अनुहारमा कुँदिएका शिलालेखलाई बुझ्ने प्रयत्न गरे।  

***

भोलिपल्ट प्रकाश खेतमा गए।  

त्यो दिन आकाश पूरै धुम्मिएको थियो। आकाशभन्दा पनि सयौँ गुना बढी धुम्मिएको थियो, उनको मन आज। उनको उत्साहको क्षितिजलाई बादलले नराम्ररी छोपेको थियो।  

टौवातिर उनले आँखा पुर्‍याए। टौवामा अझसम्म कोही आएको थिएन। एक्लो, नितान्त एक्लो खेतको बीचमा उभिइरहेको त्यो टौवातिर उनले नजर बिछ्याइरहे। नजर पुगे पनि त्यो टौवामा जाने आँट उनीमा अङ्कुराइरहेको थिएन।  

हिजोअस्तिसम्म उनी त्यही टौवामा चढ्थे। टौवामा बसेर धपाउँथे, सुगाको बथान। उनको उँचो स्वर सुनेर सुगाको बथान पनि उडेर भाग्थे, टाढा–टाढा। खोलाभन्दा पारिका लघु–जंगलको परिसरमा। आज भने उनलाई त्यही टौवा बिरानो लागिरहेको थियो। त्यो टौवासम्म पुग्न उनी इच्छुक थिएनन्।  

एकाध क्षणपछि त्यो टौवामा उजेली झुल्किइन्। आज अर्कै परिधानमा व्यक्त भएकी थिइन्, उजेली। पहिला–पहिला खैरो–खैरो सर्ट र फ्रकमा झुल्किने उजेली त्यो दिन भने बेग्लै रङको पोसाकले छोपिएकी थिइन्। अर्ध–पहेँलो थियो, उनको पोसाकको रूप। नयाँ पनि थियो, सायद।  

अग्लो ठाउँमा आसीन टौवा निकै परबाट समेत देखिन्थ्यो। प्रकाशले पनि आफ्नो खेतको अन्तिम बिन्दुमा उभिएर त्यो टौवालाई हेरे। टौवामा बसेका उजेली र उनका केही समकालीनलाई हेरे। आफ्ना समकालीनसँग हाँस्दै थिइन्, उजेली। रमाउँदै थिइन्, उजेली। खुसी बाँड्दै थिइन्, उजेली।  

प्रकाश भने निराश भावभंगी प्रदर्शन गर्दै त्यो मध्याह्न आफ्नै खेतको आलीमा उभिएर टोलाइरहे।  

***

समय गतिशील रूपले बग्दै गयो।  

वर्षाद्का दिन सकिएर हिउँदका दिन प्रारम्भ भए। त्यो दिन प्रकाश आफ्नै खेतको आली टेक्दै घरतिर फर्किरहेका थिए। फर्किदै गर्दा उनको आँखा त्यही टौवामा प¥यो, जसमा उभिएर उनी उफ्रिन्थे, रमाउँथे र उजेलीसँग खुसीका पल साट्थे।  

तर, ती पल अब स्मृतिका पानामा कैद हुँदै थिए। बाबु–बाबुबीचको तिखो द्वन्द्वको असर छोराछोरीमा परेको थियो। त्यही समयदेखि प्रकाश र उजेलीबीच सम्बन्धका हाँगाबिँगा झाँगिन छाडेको थियो।  

प्रकाशले टौवाका काठ हेरे। घाम, पानी र धमिराले चिथोरेका काठ क्रमशः मक्किँदै गइरहेका थिए। मक्किँदै, खिइँदै गएका काठतिर हेर्दै उनले मनमनै भने, ‘सबैसँग मजबुत सम्बन्ध नहुँदो रहेछ। कसैकसैसँगका सम्बन्ध त यही टौवाको काठजस्तै मक्किँदै जाने रहेछ। काठलाई मक्किन नदिन घाम, पानी र धमिराबाट बचाउनुपर्दो रहेछ।’

प्रकाशले एकटकले हेरे, टौवालाई। र, हेरे पश्चिमतिरको सानो थुम्कीलाई। घाम बिस्तारै ओरालो लाग्दै थियो र एउटा अर्को साँझलाई आमन्त्रण गर्दै थियो।

प्रकाशित: ७ चैत्र २०७७ ०६:२३ शनिबार

कथा अक्षर टौवा