रामकुमार पण्डित क्षत्री
१) पुरस्कारले ल्याएको तिरस्कार
एउटा प्रतिष्ठित साहित्यिक संस्थाले पुरस्कार दिने निधो गरयो । सकेसम्म निष्पक्ष होओस् भनेर त्यस संस्थाले अत्यन्तै सजगता अपनायो । देशभरि अत्यन्त सरल र इमानदार अनि उत्कृष्ट साहित्यिक व्यक्ति भनेर चिनिएको मान्छेलाई पुरष्कार दियो । निष्पक्ष पुरस्कार दिन सकेकोमा त्यस संस्थाका पदाधिकारीहरू प्रसन्न थिए।
तर जति नै निष्पक्ष गरे पनि के गर्नु ? दुई–चार दिनपछि गाइँगुइँ हल्ला चल्न थाल्यो —“फलानो इमानदार भनेर चिनिएको मान्छे पनि बेइमान भएछ । त्यस्तो मान्छेले नि चाकडी गरेर पुरस्कार लिएछ । थुक्क !”
२) खराब नियत
“पहिला त हामी सँगसँगै कत्राकत्रा पहाड घुम्न गयौँ । कस्ताकस्ता फिल्म हेर्न गयौँ । कत्राकत्रा होटेल रेस्टुरेन्टहरूमा गएर खायौँ । अब ती सब कथा भइसके । अब त प्रमिलासँग म आक्कलझुक्कल मात्रै सपनामा गएको हुन्छु । ऊ पनि मसँग बिताएका ती पलहरूलाई सपनाजस्तै गरी सम्झँदी होली ।”
उसले एक पलक निहारिकाको गोरो मुहार हेरेपछि फेरि भन्यो — “अब त यस्तायस्ता होटेलमा आउने पालो तिम्रो हो निहारिका । कहाँ तिमी भर्खर सोह्र वर्षकी केटी, कहाँ त्यो दुईदुई वटा बच्चाकी आमा प्रमिला !”
निहारिकासँग मोजमस्ती गर्दागर्दै साँझ परयो । उनलाई मोटरसाइकलको पछाडि राखेर घरसम्म पुरयाइदियो । त्यसपछि ऊ आफ्नो घर गयो । घरमा पुग्नासाथ प्रमिलाले प्रश्न सोधी — “तिमी आज लामटाङ रेस्टुरेन्ट एण्ड लजमा गएर आएको हो कि होइन !”
प्रति उत्तरमा अप्ठ्यारो मान्दै भन्यो — “हो ।”
“किन गएको ?”
“त्यहाँ आज अफिसको मिटिङ थियो अनि ।
कसले भन्यो तिमीलाई ?”
“रुपेशले भनेको । रुपेशलाई तिमीले चिनेनौ रे । तर उसले तिमीलाई याद गरिराखेको रहेछ ।”
“ए ! खोइ, मैले यादै गरिनँ । रुपेश भनेको त्यो तिम्रो फुपूको छोरा होइन ?”
“हो ।
खाना खाने हो कि होइन ? पस्किऊँ ?”
लोग्नेको जवाफ आउनु अगावै प्रमिलाले थाल अगाडि तेर्साइदिई । थालमा पस्किएको खाना देखेर ऊ जङ्गियो — “हैन, के जिस्केको यो ? भातको सट्टा बालुवैबालुवा थालभरि हालेर ! दालको सट्टा कचौराभरि पानी अफिसको धाराबाट आउने जस्तो लेदो पानी पो छ त !”
“ओहो, नकड्किनुस् श्रीमानज्यू ! अब मिठो दाल र भात खाने त यहाँले आक्कलझुक्कल सपनामा मात्रै हो । जसरी म यहाँसँग घुम्नलाई सपनामा जाने गर्छु । लौ यो रुपेशले दिएको रेकर्ड सुन्नुस् त !”
रेष्टुरेन्टमा निहारिकासँग गरेको वार्तालापलाई मोबाइलमा रेकर्ड गरेर रुपेशले दिएको रहेछ ।
त्यो सुनेपछि उसले आफूलाई जिउँदो हो कि मरेको हो भनेर ठम्याउन सकेन।
३) बुक अर्थात् बैना
बार कक्षामा पढाइ भएको थिएन । विद्यार्थीहरू आआफ्नो समूहमा बाँधिएर गफ गरिरहेका थिए । पछाडिको बेन्चमा उटिङ्गिएका पाँच–छजना केटा थिए । तिनीहरूले डेस्कमाथि बसेर, बेन्चमा खुट्टा झारेर आपसमा मजाक गरिरहेका थिए । त्यति नै बेला एउटी उठेर बाहिर गई । तिनीहरूमध्ये एउटाले भन्यो– ती मेरो बुक भैसकिन् है ।
अरूले ओठमा हाँसो ल्याएर सहमति जनाए । फेरि अर्की केटी उठेर बाहिर गई । यसपटक अर्कोले “बुक भैसकी” भन्यो । अरूले समर्थन जनाए । फेरि अर्की उठेर गई । त्यसलाई पनि अर्कोले “बुक” भन्यो । अरूले सहमति गरे । त्यस लगत्तै एउटी राम्री केटी भित्र पसी । उनी नयाँ विद्यार्थी थिइन् । नयाँ भएकीले अरूभन्दा सुन्दरी पनि देखिन्थिन् । अनि तिनीहरूमध्ये अघिदेखि चुप लागेर बसेको एउटाले भन्यो —“त्योचाहिँ मेरो बुक !”
यसपटक उसको कुरालाई अरू साथीहरूले समर्थन गरेनन् । ती केटीमाथि सबैले आआफ्नो अधिकार जमाउन चाहन्थे । सबैले “मेरो”, “मेरो” भनेर आपसमा झगडा गरे । त्यो दिन त्यसरी नै बित्यो । अर्को दिन पनि ती केटीलाई कसैले आफ्नो बनाउन सकेनन् । एक हप्ता त्यत्तिकै बित्यो ।
एक महिना गर्मीको छुट्टी भयो । त्यतिन्जेल कसैको भेटै भएन । बिदा सकिएपछि कक्षा सुरु भयो तर ती केटी आइनन् । “किन आइनन् होला” भनेर केटाहरूले आपसमा कुरा गरे।
त्यसको एक हप्तापछि त्यो केटी आइन् । चुरा, पोते, र सिन्दुरले सजिएर । ती सबै केटाहरू एकअर्काको मुखमा हेरेर भन्न थाले –
“ल, अब चाहिँ तिमेरकै बुक भई ।”
४) पलपको रूख
उत्तरी मोहडा भएको अग्लो डाँडा थियो । आफ्नै छायाँले छेक्ने हुँदा दिउँसोको चर्को घाममा पनि त्यहाँ चिसो हुन्थ्यो । ठाउँ—ठाउँबाट पानी बग्थ्यो । यस्तो सुन्दर वातावरणमा बाक्ला बोटबिरुवाहरू हुर्किएका थिए । एकदिन अर्को डाँडाबाट ठूलो गिद्घ आएर त्यो डाँडाको ठूलो रूखमा बस्यो । उसले ती बाक्ला बोटबिरुवाहरूप्रति आफ्नै दृष्टिले हेरेर बोल्यो —
“हैन हो, बोटबिरुवाहरू हो ! तिमीहरू यसरी कतिन्जेल चूपचाप बस्छौ ? कोही मोटा छौ, कोही दुब्ला छौ । जताततै उम्रिएर आफै गुम्सिएका छौ । यसो व्यवस्था मिलाएर पार्क जस्तो छरितो बन न हो !”
बोट बिरुवाहरूमध्ये एउटा जिङ्रिङ्ग उभिएको दुब्लो पैयुँको रूखले बोल्यो —
“हामीलाई नि त्यस्तै बन्न त मन थियो, तर कसरी ?”
“तिमीहरू आफैंले त्यस्तो व्यवस्था मिलाउन सक्दैनौ । म एउटा पलपको बिरुवा ल्याइदिन्छु । त्यसले तिमीहरूलाई पार्कजस्तै सुन्दर बनाइदिने छ । हुन्छ ?”
गिद्घको कुरामा सबै बोटबिरुवाहरूले सोच विचारै नगरी सहमति जनाए । अर्को दिन अन्त कतै डाँडाबाट पलपको बिरुवा त्यहाँ ल्याएर सारिदियो । पलपको बिरुवालाई अरू सबै बिरुवाले हुर्कनमा मदत गरे । सबैको साथ पाएर त्यो बढ्दै गयो । झाङ्गिँदै गयो । झाङ्गिएपछि त्यसको पात नाङ्लोजत्रो त फेद हात्तीजत्रो भयो । यो देखेर सबै बिरुवाहरू खुसी भए । यसले केही गर्छ भनेर आशावादी भए।
बिस्तारै—बिस्तारै पलपको नाङ्ला जत्रा पातहरू झरेर अरू बोट बिरुवाहरूमाथि पर्न थाले । ती पातहरूले थिचेपछि अरू बिरुवाको मुन्टो मास्तिर आउन सकेन । त्यति मात्रै होइन, अब पलपको जरा पनि फैलिएर अरू बिरुवा उभिने ठाउँ समेत कब्जा गर्न थाल्यो । बिस्तारै आफ्नो जरा पुगेको ठाउँमा पलपले आफ्नै सन्तान उत्पादन गर्न थाल्यो । बलियो बिरुवाको अगाडि कमजोर बिरुवा टिक्न नसकेर मर्न थाले।
केही समयपछि पलपैपलपले त्यो डाँडा भरिन थाल्यो । त्यहाँका धेरै रैथाने बिरुवाहरू मासिए । आफूहरूको वंशै निमिट्यान्न हुन लागेको देखेर बचेखुचेका बोटबिरुवाहरूले गिद्घलाई सराप्दै आफैँलाई धिक्कारे ।
(नोट– पलप भन्ने कुनै रूख बिरुवा छैन । यस प्रतिकलाई जसले जसरी बुझे पनि हुन्छ।)
५) यो कस्तो सुख
विष्णुले छोराको करमा घर खेत बन्धकी राख्यो । पैसा पाएपछि कामको खोजीमा छोरा विदेश गयो । छोराले त्यहाँ अठार घण्टासम्म खटिएर काम गर्नुपर्ने भयो । यहाँ बरालिएर हिँडेको मान्छे, त्यहाँको घोटाइले बिरामी भई थलियो । त्यहीँ उपचार गर्दागर्दै केही सीप नलागेर उसको मृत्यु भयो।
छोरा मरेको खबर सुनेपछि विष्णुकी जहानको पनि इहलीला समाप्त भयो । बूढो उमेरमा ऊ एक्लो भयो । भाका नाघेपछि बैङ्कले साँवा व्याज तिर् भन्यो । उसले तिर्न सकेन । बैङ्कले बन्धकी राखेको घरखेत लिलाम गरयो । आर्थिक मन्दीको समय थियो । लिलामबाट उठेको पैसाले पनि सबै ऋण तिर्न पुगेन । ऋण चुक्ता गर्न नसकेको निहुँमा उसलाई जेल हालियो ।
गाउँलेहरूलाई यो घटनाले दुःखित बनायो । त्यसैले उनीहरूले चन्दा उठाएर विष्णुलाई छुटाउने सल्लाह गरे । यही खुसीको कुरा विष्णुलाई उनीहरूमध्ये केहीले जेलमा गएर सुनाए। गाउँलेहरूको कुरा सुनेर हात जोड्दै उसले भन्यो —“मलाई यहीँ ठीक छ गाउँले दाजुभाइ, दिदीबहिनीहरू ! गाउँमा मेरो के छ र, को छ र ? कसले पकाएर खुवाउछ ? यहाँ बसीबसी खान त पाएको छु ।
भर्खरका जवान भुसतिघ्रे चोरहरू पनि यहाँ खुट्टा पसारेर खान्छन् । पुरानो हिन्दी फिलिममा जस्तो, यहाँ पहाड फुटाएर बाटो खन्नु पर्दैन । बडो सुख छ । बरू सक्छौ भने मलाई पनि मन्तिरी बसेको कोठामा सारिदेओ न ! त्यो पल्लो गाउँको मन्तिरी घुस खा भएर उता भिआइपी कोठामा छ रे । यसो दुःख सुखको कुरा गर्न हुन्थ्यो ।”
(रामकुमार पण्डित क्षत्रीको लघुकथा संग्रह ‘देशको खोजी’ बाट ! )
प्रकाशित: ७ चैत्र २०७७ ०४:२० शनिबार