कला

योग र आयुर्वेदमा गौतम बुद्ध

अक्षर

वैदिक षड्दर्शनअन्तर्गत एउटा ‘योगदर्शन’ भनेजस्तै चार बौद्ध दार्शनिक सम्प्रदायमा एउटा ‘योगाचार’ पनि हो। षड्दर्शन र बौद्धदर्शन दुई बेग्लाबेग्लै विषयवस्तु हुन्। तर, दुवै सम्प्रदायको नाममा ‘योग’ शब्दको प्रयोग भएकै आधारमा त्यसमा समानता देख्नु र बुझ्नु अनभिज्ञता हो। निश्चित व्यक्ति वा समाजमा सीमित ‘योग’ आजभोलि पाश्चात्य लवजमा ‘योगा’ बनेको छ, उनीहरूका लागि यो चिन्तन पद्धति नभएर शारीरिक अभ्यासभन्दा माथि उठेको छैन। अष्टांग योगमा रहेको ‘आसन’ र ‘प्राणायाम’लाई मात्र योग भनेर बुझ्नु वास्तवमा योगदर्शनको एउटा पक्ष मात्रै हो। योगदर्शनका कतिपय कुरा बौद्धदर्शनमा आउने र योग दर्शनले चित्तका सम्बन्धमा चिन्तन गर्ने भएकाले यी दुई उस्तै लाग्छ, तर मूलभूत रूपमा एकापसमा विरोधाभासपूर्ण चिन्तन पद्धति पाइन्छ। योगदर्शनलाई आस्तिक र बौद्ध दर्शनलाई नास्तिक समूहमा राखिएबाट अझ स्पष्ट बुझ्न सकिन्छ, कति फरक रहेछ।

ध्यान गर्नुलाई नै बौद्धजनले अर्को शब्दमा योग गर्नु भनेको हो। यसर्थ यहाँ भाषागत रूपमा मात्रै फरक रहेको भनेर बुझ्न सकिन्छ। अन्य बौद्धमा शमथ र विपश्यना भनेर प्रचलित शब्द तथा अभ्यासलाई बज्रयानीहरू कहिले ध्यान त कहिले योग शब्दको प्रयोग गर्छन्।

कोही बौद्ध आफूखुसी योगासन र प्राणायाम गर्छन् भने त्यो उसको व्यक्तिगत कुरा भयो, अर्थात् यसले बौद्ध दर्शनसँग खासै सम्बन्ध राख्दैन। बौद्ध समाजमा योगासनलाई आध्यात्मिक साधनाको रूपमा नलिनुको तात्पर्य उसको बेग्लै चिन्तन हुनु हो। तर बौद्धसमाजमा अत्यन्तै प्रिय शब्द हो, योग। शाब्दिक अर्थमा योग जोड्नुसँग सम्बन्धित छ। पतञ्जलिले पनि यसलाई जोड्नुसँग सम्बन्धित गरेर अर्थ गरेका छन्। योगकै अर्थ वा भाव दिन बौद्ध समाजमा ‘संकला’ शब्दको प्रयोग भएको पनि पाइन्छ। संसारमा जति पनि भौतिक वा अभौतिक कुरा छन्, ती सबै यौगिक प्रक्रियाका उपज हुन्। सबै कुरा एक अर्कासँग सम्बन्धित छन् र एकको अभावमा अरूको अस्तित्व हुँदैन, अर्थात् दुई वा दुईभन्दा बढी भौतिक वा अभौतिक वस्तुको मिलन वा योगबाट तत्तत् कुराले अस्तित्व कायम गर्ने हुन्। वास्तवमा सबै निःस्वभावका छन्। प्रसिद्ध बौद्धग्रन्थ ‘लंकावतारसूत्र’को एउटा श्लोकमा ‘जब यो सम्पूर्ण संसार संकला मात्र हो भनी विपश्यनाद्वारा अवलोकन गर्दछ, अनि संकला सिवाय अरू छैन भनी बुझ्छन्, तब त्यसको चित्त समाधिष्ट हुन्छ’ भनिएको छ। यस श्लोकले पनि निःस्वभावकै कुरा दर्शाउन खोजेको हो र यसलाई शून्यवादको अर्थमा बुझ्न सकिन्छ।  

बौद्ध साधक योग गर्दैनन् भने उनीहरूलाई किन योगी भन्ने गरेका हुन् भन्ने प्रश्न उठ्छ। शाब्दिक अर्थमा योग गर्ने व्यक्ति योगी हुन्। योग महिला र पुरुष दुवैले गर्न सक्छन् र दुवैलाई योगी भन्ने गरिन्छ। बज्रयानी बौद्ध धर्म सम्प्रदाय योगाचार दार्शनिक मतसँग सम्बन्धित छ। ज्यादाजसो यही सम्प्रदायले नै योग र योगी शब्दको प्रयोग गर्ने हुन्। बज्रयोगिनी विशिष्ट देवी पनि हुन्छन्। यो सम्प्रदायले गर्ने साधना तन्त्रमा आधारित हुन्छ। तन्त्र साधनालाई सर्वसाधारणको पहुँचभन्दा टाढा राखिन्छ। सामान्य चर्चाको विषय पनि बनाइन्न। यी साधना ध्यानको माध्यमबाट गरिन्छ। ध्यान गर्नुलाई नै बौद्धजनले अर्को शब्दमा योग गर्नु भनेको हो। यसर्थ यहाँ भाषागत रूपमा मात्रै फरक रहेको भनेर बुझ्न सकिन्छ। अन्य बौद्धमा शमथ र विपश्यना भनेर प्रचलित शब्द तथा अभ्यासलाई बज्रयानीहरू कहिले ध्यान त कहिले योग शब्दको प्रयोग गर्छन्। यही कुरा स्पष्ट नभएर गोप्य रूपमा गरिने साधनाभित्र योग वा योगासन पनि पर्छन् कि भन्ने बुझाइ रहन जाने गरेको पाइन्छ। साधनाका क्रममा अपनाइने अभ्यासमा योगदर्शनका पनि केही पक्ष देखिनु वा समानता राखिनुमा स्वाभाविकता मान्न सकिन्छ, तर त्यसलाई नै योगदर्शन वा विभिन्न आसनका योग भनेर बुझ्न सकिन्न। बौद्धहरूले योग र योगी शब्द प्रयोग गर्ने भएकै आधारमा बौद्ध समाजमा पनि योग वा योगासन लोकप्रिय रहेको भन्न शब्दमै अलमलिनु हो। योगासनको प्रचलन कहिलेबाट भयो भन्नेमा निक्र्योल गर्न सकिएको छैन। बुद्ध भन्दाअघि यो प्रचलन हुँदो हो, साधनाका क्रममा अभ्यास गरेर हेरेको मान्न सकिन्छ। बुद्धत्व प्राप्तिका लागि सहायक नभएकाले परित्याग गरेका साधनाअन्तर्गत राख्न सकिन्छ। उनले तत्कालीन समाजमा प्रचलित तपस्या गरेको तर पछि ध्यान–साधना गरेर बुद्धत्व प्राप्ति गरेको कुरा स्पष्ट उल्लेख पाइन्छ। ध्यानलाई नै जोड दिए। ध्यान साधना पनि अनेकौँ प्रकारका छन्, तर बौद्धहरू ध्यान भनेर विपश्यना तथा आफ्नै विधिविधानका ध्यान साधना गर्ने हुन्।  

योगासनले शारीरिक तथा मानसिक स्थितिको सन्तुलन मिलाउने भनिन्छ। शारीरिक तथा मानसिक सन्तुलन अन्य सम्प्रदायलाई चाहिने, तर बौद्धहरूलाई मात्र नचाहिने हुन् त ? भन्ने प्रश्न उठ्छ। वास्तवमा बौद्धहरू यो सन्तुलनको कुरा ध्यानबाटै प्राप्त गर्ने हुन्। बौद्धहरू चित्तलाई एकाग्रह राख्ने वा चित्तशुद्धिलाई बडो महत्व दिन्छन्। धेरै कुराको कार्यकारण चित्त हुन्छ। चित्तलाई वशमा राखेर पनि कतिपय शारीरिक कुराको समाधान हुन सक्छ। विपश्यना प्रशिक्षण शिविरमा नयाँ साधकलाई पूर्व समयमा नियमित योगासन गर्ने भए पनि प्रशिक्षण अवधिभर त्यसलाई अनिवार्य रूपमा स्थगन गराई पूर्ण रूपमा विपश्यनामै लीन गराइरहेको हुन्छ। विपश्यनाको विधिमा यसले बाधा पार्ने भएकैले बन्देज लगाएको भनेर बुझ्न सकिन्छ। कुनै पनि विहार वा गुम्बामा योगासनको अभ्यास गराएको पाइँदैन। यी ठाउँमा कतिपयलाई त योगासनको सामान्य जानकारी समेत हुँदैन। यो पंक्तिकार पनि कुनै बेला नियमित योगासन गर्दथ्यो, तर पछि छुट्यो। त्यसको लामो अन्तरालपछि नियमित विपश्यना साधनातर्फ लागेको हुँदा दुवै साधनाको अनुभव छ। एकाग्र भई आन्तरिक रूपमा आफूले आफैँलाई तटस्थ भावमा नियालेर हेरिरहनु विपश्यना अभ्यास हो। योगासन वा अन्य कुनै शारीरिक कसरत नगरी विपश्यना मात्र गर्दा पनि शरीरमा स्फूर्ति आउनुको अर्थ चित्तको प्रभाव भनेर बुझ्न सकिन्छ।  

अमूक रोगका लागि अमूक आसनको योग गर्दा फाइदा गर्छ भनेजस्तै विपश्यना पनि शारीरिक वा मानसिक जेजस्तो समस्या छ, त्यसलाई जस्ताको तस्तै हेर्ने र बुझ्ने साधना हो। ‘जस्तो देख्यो त्यस्तै हेर्ने’ भन्नु निकै सजिलो कामजस्तो लाग्ला, तर सबैभन्दा कठिन काम हो यो। बगैँचामा फुलेको फूललाई हामी जस्ताको तस्तै हेर्न सक्दैनौँ, अर्थात् त्यो फूललाई हामी आफ्नै आग्रह वा पूर्वाग्रह तथा अन्य जानकारीका माध्यमबाट हेर्न पुग्छौँ, वास्तविकताबाट टाढा हुन्छौँ। जस्तो छ, त्यस्तै हेर्नु निकै गाह्रो काम हो, तसर्थ विपश्यना पनि सजिलो साधना होइन। यही विपश्यना वा ध्यानलाई योग भनिएको हो। भाषा एउटै भएर होला, सहज रूपमा योग शब्दको प्रयोग हुन पुग्यो। योग, योगी र योगिनी शब्द मात्रै नभएर विभिन्न योग (ध्यान) का सन्दर्भमा योगतन्त्र, महायोग, अनुयोग, अतियोग, चण्डालयोग, प्रभाश्वरयोग, स्वप्नयोग, अन्तराभवयोग, उत्क्रान्तियोग आदि अनेकौँ नामको प्रयोग भएको पाइन्छ, जसले वैदिक योगदर्शनसँग कुनै सम्बन्ध राख्दैन।

विपश्यना एउटैले सबै समस्या समाधान गर्छ, विपश्यनाका साधकलाई रोग नै लाग्दैन वा औषधिको दरकार पर्दैन भन्ने होइन। बौद्ध दर्शनअनुसार संसारमा भएका हरेक कुरा अनित्य छन्, सर्वम् अनित्यम्। बिनाकारण परिवर्तन हुँदैन र परिवर्तन विनाको कुनै कुरा छैन पनि। यही भएर शाश्वतवादीले भन्ने गरेको अपरिवर्तनशील आत्माको अवधारणा बौद्धहरूलाई मान्य छैन। जन्मनु, हुर्कनु, बूढो हुनु र मर्नु पनि यही परिवर्तन वा अनित्यसँग सम्बन्धित कुरा हो। यसअनुसार रोग लाग्नु र मर्नु स्वभाव धर्म हो। स्वभाव धर्म भन्दैमा बौद्धहरू रोग लागे लागोस् भनेर चुपचाप बस्दैनन्। यसरी नै प्राणी जन्मेपछि मृत्यु अनिवार्य छ, वा यसलाई पनि स्वभाव धर्म भन्दै मृत्युलाई लाचार भएर स्विकार्ने हुँदैनन्। बाँचुन्जेल राम्रोसँग बाँच्ने, पुण्य सञ्चय गर्ने र धर्मलाभी हुने प्रयत्नमा बौद्धहरू पछि पर्दैनन्, तसर्थ स्वास्थ्योपचारमा जोड दिने गरेको बुझ्न सकिन्छ। प्राणीले मानव योनि प्राप्त गर्नु दुर्लभ कुरा भएको र यसलाई भरमग्दूर सदुपयोग गर्नुपर्नेमा बौद्ध दर्शनले जोड दिने गर्छ। यही भएर आत्महत्यालाई ठूलो पापको रूपमा लिइन्छ।  

गौतम बुद्धमा आयुर्वेदको ज्ञान रहेको कुरा ‘विनयपिटक’ ग्रन्थको अध्ययनबाट थाहा हुन्छ। उनले धर्मदर्शन तथा नैतिकताको मात्रै उपदेश दिएका छैनन्, कुन रोगका लागि कुन जडिबुटी कति मात्रामा मिलाउने र कसरी सेवन गर्ने भन्ने सिकाएका छन्। यससम्बन्धी प्रसंगहरू एउटा छुट्टै अध्यायमा पनि उल्लेख छन्। विहारमा एक भिक्षु बिरामी परेको अवस्थामा स्वयं बुद्ध उक्त बिरामी भिक्षुकहाँ पुुगेको तथा आवश्यक औषधिसहित उपचारमा संलग्न रहेको वर्णन पनि पाइन्छ। त्यही बेला बुद्धले बिरामीको सेवा गर्नु पुण्य कर्म नै भएको र जसले बिरामीको सेवा गर्छ, बुद्धकै सेवा गरेसरह हुने उपदेश गरेका थिए। स्वयं बुद्ध पनि बिरामी पर्दा ‘जीवक’ नामका नामुद वैद्य उपचारमा संलग्न हुन्थे।  

गौतम बुद्धसँग आयुर्वेदसम्बन्धी ज्ञान भएको र अन्यलाई सिकाउने पनि भएका कारण अनुयायीहरू उनलाई ‘भैषज्य गुरु’ पनि भनेर प्रशंसा गर्छन्। स्वास्थ्योपचार सम्बन्धमा बुद्धको यही आदर्श पछ्याउने क्रममा उनका कतिपय अनुयायी चिकित्सा क्षेत्रमै संलग्न भई विशेषज्ञ हुने गरेका छन्। यसरी अनेकौँ राजा महाराजाले बौद्ध आदर्शलाई पछ्याउने क्रममा अस्पतालको निर्माण गर्ने तथा त्यसमा निःशुल्क उपचार गर्ने समेत व्यवस्था मिलाएको पाइन्छ। मौर्य सम्राट अशोकले मानिसको मात्रै उपचार नभएर पशुपक्षीको समेत उपचार गर्न अस्पतालको निर्माण गर्न पुगेकालाई यसैको उदाहरण भन्न सकिन्छ।  

आयुर्वेद विज्ञान तथा स्वास्थ्योपचार क्षेत्रलाई महत्व दिने क्रममा महायानी बौद्ध चिन्तक तथा साधकले ‘भैषज्य बुद्ध’कै पनि कल्पना गर्न पुुगेका छन्। नील वर्णमा प्रस्तुत गरिने यी बुद्धको हातमा हर्रोलगायत महत्वपूर्ण जडिबुटी समाएको हुन्छ। यस्तै कुनै कुनै मूर्तिमा यी बुद्धलाई एउटा हातमा हर्रो समाउन लगाएर अर्को हात अभय मुद्रामा राखिएको पनि पाइन्छ। गौतम बुद्धलाई ‘भैषज्य गुरु’को रूपमा मात्रै प्रशंसा गरेर नपुगेर पछि बेग्लै ‘भैषज्य बुद्ध’ अवधारणा विकास गर्नुको तात्पर्य बौद्ध धर्मले सुस्वास्थ्य र आवश्यक उपचारमा कतिसम्म ध्यान दिएको छ भन्ने छर्लंग हुन्छ।

प्रकाशित: २९ फाल्गुन २०७७ ०५:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App