कला

योग र कला

कला

कलाकार रोशन प्रधानले एक अलौकिक संयोजनका साथ ध्यानमा मग्न भएको आकृतिलाई क्यानभासमा उभ्याए। स्वैरकाल्पनिक यो चित्रको एकातर्फ ध्यानमग्न एउटा युवकको आकृति देखिन्छ भने अर्कोतिर हिनहिनाउँदै गरेको अजीवको घोडा। पृष्ठभूमिमा लयात्मक अनेक रङका तरंग गतिशील जस्ता आभास हुन्छन्। युवकका केशहरू ठाडा भएका देखिन्छन्, अनि पेट गहिरो गरी भित्र घुसेको देखिन्छ। पेटको गहिराइ शक्ति आर्जनको र केश ठाडो हुनु ब्रह्मज्ञान प्राप्तिको प्रतीक हो। चित्रको युवक उनको आफ्नै मुखाकृति हो। 

बाहिर जतिसुकै बाधा–अड्चन भए पनि आफ्नो विश्वास दृढ छ, अटल छ भने सफलता प्राप्त गर्न सकिन्छ भन्ने अवधारणाका साथ उनको चित्र बनेको थियो। मूलतः उनी अन्तर्राष्ट्रिय चित्रकार सल्भादर डालीबाट प्रभावित भएको मान्छन्। अनि डालीले प्रतीकको रूपमा लिने गरेको घोडाजस्तै उनले पनि आफ्नै प्रकारको घोडालाई मूल पात्रको रूपमा लिएका छन्। अति सूक्ष्म रेखालाई खेलाउन सक्ने, सबल रचना र शिल्प–दक्षता भएका रोशन यथार्थ मानवीय आकारलाई लिएर चित्र बनाउँछन्। उनलाई नेपाली परम्परागत कला, संस्कृति र संस्कारको यथेष्ट ज्ञान छ। मिल्दा मोटिफका साथ अचम्मका र घतलाग्दा संयोजन गर्नलाई उनी माहिर मानिन्छन्। उनले नेपाली परम्परागत मिथलाई विम्बको रूपमा लिन्छन्। अनि, यसैलाई प्रयोग गरेर आजको सामाजिक सवाललाई बलियो किसिमबाट उठाएर चित्रको निर्माण गर्छन्। यसै प्रकारले अनेकौँ कन्सेप्चुअल कला उनले बनाइसकेका छन्। अन्तर्राष्ट्रिय कला प्रदर्शनीमा उनलाई प्रशस्त निमन्त्रणा आउने गर्छन्। त्यस्ता प्रदर्शनीमा भाग लिइसकेका उनी नेपाली समसामयिक युवा कलाकारमा अब्बल मानिन्छन्।

कला र योगको अन्तर्सम्बन्ध छ। योगको सम्बन्ध ध्यान, आत्म–विकास र आध्यात्मिक प्रक्रियासँग छ। ध्यानविना कला सिर्जना सम्भवै हुँदैन। ध्यानमग्न महात्मा बुद्धको उहिले परिकल्पना गरिएको थियो।    

अहिले नेपाल लगायत विश्वमै यस्तै राम्रा तर बेढंगका जस्ता देखिने चित्र बनाउने परम्परा बनिसकेको छ। वा, विश्वमा अनेक कलाकारले अनमेल सन्दर्भलाई कलामा प्रयोग र अभ्यास गर्ने गरेका छन्। सन् १९२० पछिका दिनमा सल्भादर डालीले अमिल्दा लमतन्न लम्बिएका आकृति आफ्नो क्यानभासमा स्थापित गरेका थिए। अवचेतन अवस्था वास्तविक र सत्य अवस्था हो भन्दै कलाकारले चित्रमार्फत यो अवधारणालाई कलामा प्रवेश गराएका थिए। विशेष गरेर उनी मानवको अवचेतन अवस्थालाई पुनव्र्याख्याका साथ चोटिलो प्रहार गर्छन्। उनले आफ्नो जीवनलाई समेत यस्तै प्रकार ढालेका थिए। उनको भनाइ छ, ‘म जे गर्छु, म पनि त्यस्तै हुन आवश्यक छ।’  

चेतन अवस्थामा मानवले धेरै कुरा लुकाउँछन्, भन्दैनन्, बोल्दैनन वा लेख्दैनन्। लेखे पनि अनेक प्रतीकको सहारा लिने गर्छन्। यसर्थ अवचेतन मनमा धेरै कुरा लुकेका हुन्छन् भन्ने गरिन्छ। अवचेतन मनका कैयौँ कुरा चेतन अवस्थामा थोरै सम्झनामा आउँछन्। धेरैजसो यी कुरा चेतन अवस्थामा सम्झनामा पनि आउँदैनन्। यस्तै सन्दर्भ सपनामा भाँचिएर, टुक्रिएर देखापर्छ भन्ने गरिन्छ। मानव चेतनबाट अवचेतन अवस्थामा आइपुगेपछि स्वभावतः भित्रको साँचो कुरा बाहिर ओकलिन्छन्। यस्ता कुरा ओकल्दै छु भन्ने राम्ररी हेक्का नभएपछि वा यसो गर्न आफूमा नियन्त्रण नभएपछि, अनियन्त्रित हिसाबले जम्मै कुरा बाहिर आउँछन् र यी कुरा स्वभावतः साँचो हुन्छ। यसर्थ डालीले यही कुरालाई चित्रमार्फत उठाउन सपनालाई मूल स्रोतको रूपमा लिएका थिए। कतिले भनेका पनि छन्– आफैँले सपनामा देखेका अनेक सबल र विकृत आकृति, जुन एकनासले नमिलेको एउटा कथा जस्तो देखिन्छ, तिनलाई जस्ताको तस्तै उनी आफ्नै चित्रमा समाहित गर्थे। कतिको भनाइ छ, यस्तो चित्र बनाउन उनी आफैँ कहिलेकाहीँ अवचेतन अवस्थामा पुग्थे रे।  

यस्ता यथार्थ कुरा कलामा देखिन वा देखाउन थालेको यो सन्दर्भ त्यसै बेला चर्चामा आएको थियो। यति बेला अन्य कलाकारले यसै प्रकारका चित्र बनाउने एक प्रकारको होडबाजी चलेको थियो। भोगेका–नभोगेका, देखेका–नदेखेका चेतन र अवचेतन मन–मस्तिष्कमा जम्मा भएर आएका अनेक विम्बलाई क्यानभासमा कलाकारले उतार्ने काम गरेका थिए। पछि यही कलाको आन्दोलन अति यथार्थवादी कलाको रूपमा विश्वभर स्थापित भयो। यो स्वैरकाल्पनिक कलाशैली नेपालमा सन् १९६० मै उदय भएको आधुनिक कलाको उत्तरकालमा देखापरेको थियो। जसमा विशेष गरेर रामानन्द जोशी, शशिविक्रम शाह र मनुजबाबु मिस्र अग्र स्थानमा देखापरेका थिए। यही कलाको प्रवृत्तिलाई अलि पछिल्लो कालमा आएर रोशनले ध्यान र योगको समिश्रण गरेर नौलोपनको प्रत्याभूति दिएका छन्।  

योग र ध्यानको प्रसंग चित्रसँग जोडेर यसअघि तन्त्रकलाको रूप देखापरेको थियो। नेपालको मध्यकालको कला इतिहासमा तन्त्रकलाको इतिहास पाइन्छ। नेपाली कला इतिहासमा विशेष गरेर वज्रयानको उदय भएपछि कलामा यस्ता अस्वाभाविक देखिने आकृति देखापरेका थिए। विशेषगरी आ–आफ्नो आराध्य देवीदेवतालाई बढी शक्तिशाली देखाउन रौद्र वा क्रोध रस, डरलाग्दा आसन र भयानक आयुध बोकेका संयोजन कलामा देखापरेको थियो। त्यस वेला कलामा बग्रेल्ती विम्ब र प्रतीकको प्रयोग भएका थिए। सबैजसो क्युबिक फर्म अनेक अर्थका साथ कलाको विविध रूपमा देखापरेका थिए। यस प्रकारको दर्शन र भावनाको गहिराइ पश्चिमी कलामा प्रयोग भएको देखिँदैन। धेरैपछि मात्र पश्चिममा यो अवधारणा देखापर्‍यो। पूर्वमा भने यस्ता अलौकिक–कला स्वैरकाल्पनिकताको अवधारणा झन्डै १२ सय वर्षअगाडि देखापरिसकेको थियो। लौकिक, अलौकिक र धार्मिक कलाको लामो सिलसिलेवार परम्परा यता पूर्वमा यथेष्ट मात्रामा देखिन्छ। तथापि यस्ता गहन परम्परालाई बचाइराख्न भने हाम्रो प्रयास भएन। हामीले यसबारे अभिलेखीकरण र विश्लेषण गरेनौँ।  

सम्भवतः यसैले यी सन्दर्भ छायामा लुकेर बस्यो। विशेष गरेर पश्चिमका कलाकारले यी र यस्तै गहन अवधारणालाई आधार मानेर आजको दिनमा नवीन कलाका धार स्थापित गरेका छन्। हामी भने यस्ता कला स्रोतको रूपमा लिन, प्रयोग गर्न र विश्लेषण गर्न अलि अल्छी र अज्ञानी भएका छौँ। हामीले आफ्नै गहकिला संस्कार, परम्परा र कल्पनाशील मोटिफलाई अध्ययन र अनुसन्धान गरेर नयाँ कुरा प्रस्तुत गर्ने वातावरण निर्माण बनाउन नसकेकै मान्नुपर्छ। यसैमा लेखाजोखा गर्ने सन्दर्भ अझ टाढाको विषय भएजस्तो भएको छ।  

यति हुँदाहुँदै केही कलाकार आफ्नै प्रयास र अथक परिश्रमले गर्दा समय–सान्दर्भिक राम्रा कला बनाउन सफल भएका छन्। यसैको निरन्तरतामा यस्ता ध्यानका चित्र देखिन आएको हो। यस्ता चित्र सबै तन्त्र, मन्त्र एवं यन्त्र, धर्म कला र योगको परिणतिको रूपमा देखापरेको थियो। नेपालमा नवतन्त्र चित्रकला सन् १९८० मा चित्रकार रामानन्द जोशीले सार्वजनिक गरे। जुन सम्भवतः नेपाली समसामयिक कला इतिहासमा नवतन्त्र चित्रकलाको पहिलो प्रवेश थियो। परम्परादेखि आइरहेको तान्त्रिक चित्र वा मूर्तिलाई नयाँ स्वरूपमा समसामयिक कलामा पुनव्र्याख्याका साथ प्रस्तुत गरिएको यही क्षण हुनुपर्छ। यसभित्रै ध्यानका विविध स्वरूप देखापरेको थियो। दोस्रो आयामिक चित्रपटमा तन्त्रका अनेक प्रतीक र विम्ब समायोजन भएर यो आधुनिक कला देखापरेको थियो। सदियौँदेखि चलिआएको शाक्तधर्म, यसैमा विकसित चक्रको विम्ब अनि मिथको अद्भूत प्रयोग हुँदै किसिम किसिमका चित्र निर्माण भएका थिए। शाक्तधर्ममा चक्रपूजाको प्रचलन पनि चल्यो। जहाँ स्पष्ट तन्त्रपूजाको आभास पाइन्छ। यही चक्रलाई केन्द्रबिन्दुमा राखेर ध्यान गर्ने अभ्यास पनि चल्यो। पछि आएर यसैलाई योगाको रूपमा भनिन र मानिन थालियो। ध्यानमा कुण्डलिनीको सन्दर्भ वा चित्रकलामा मण्डलाको प्रसंग धेरै गहिरो गरी उठेको देखिन्छ। धर्ममा व्रज्रयानको प्रवेश र यसको दर्शन अनि यसैको प्रतिविम्बको रूपमा अलौकिक कलाको प्रयोग हुँदा त्यस बखतको मानवको संस्कार र दिनचर्या फरक ढंगले देखापरेको थियो। मानवको दिनचर्या र संस्कारमा यस प्रकारको अभ्यासले गर्दा नेपाली समाज एक अलग्ग मौलिकताको सेरोफेरोमा बाँधिएको अनुभव पनि हुन्थ्यो। यस्तै प्रकारले अलि पछिल्लो कालमा आएर कलाकार वत्सगोपाल वैद्यले यस्ता विम्बलाई प्रयोग गरेका छन्। अहिले आएर समसामयिक कलामा यस प्रकारले मिथका विम्बलाई धेरै कलाकारले आ–आफ्नै ढंगले प्रयोग र अभ्यास गर्दै आएको देखिएको छ।  

विश्व प्रसिद्ध कलाकार पिकासोको ध्यानसँग सम्बन्धित रमाइलो प्रसंग छ। उनका थुप्रै प्रियसी थिए रे। जब उनी चित्र बनाइरहेका हुन्थे। उनका प्रियसी आउने र अनेक वाद–विवाद गर्ने अनि उनले बनाइरहेको चित्र अगाडि आएर होहल्ला गरेर चिच्याउनेदेखि लुछाचुँडीसम्म गर्दथे। उनीचाहिँ एक सुरले चित्र बनाइरहेका हुन्थे रे। को कता रगताम्मे भएर लडिरहेका छन्, उनलाई हेक्का समेत हुँदैनथ्यो रे। अरूले नै आएर उनका प्रियसीलाई उठाएर लैजाँदा अनि होहल्ला हुँदा वा कोठा नै शून्य भइसक्दा पनि उनलाई पत्तै हुँदैनथ्यो रे। यो कलाप्रतिको उनको ध्यान र उनको अचम्मको स्वभाव विश्वमै चर्चित छ। यस्तै प्रकारले विश्वका कैयौँ कलाकार यसरी ध्यानमा मग्न भएर कला बनाउने गर्छन्।

ध्यान, धर्म र सिर्जनाको सम्बन्ध  

कला र योगको अन्तर्सम्बन्ध छ। योगको सम्बन्ध ध्यान, आत्म–विकास र आध्यात्मिक प्रक्रियासँग छ। ध्यानविना कला सिर्जना सम्भवै हुँदैन। ध्यानमग्न महात्मा बुद्धको उहिले परिकल्पना गरिएको थियो। जब इसापूर्व पहिलो शताब्दीतिर बुद्धको पहिलो मूर्ति छिमेकी मुलुक भारतको कुषाणकालमा मथुरामा बन्यो, जसलाई मथुराशैली भन्ने चलन पनि छ। यही मथुराशैली प्रभावित नेपाली कला यथेष्ट मात्रामा पाइएका छन्। शान्त, स्निग्ध, ध्यानमा निर्लिप्त यस्ता मूर्ति (प्रतिमा) सरल रूपमा बन्न गएको थियो। यसअघि बौद्ध धर्ममा प्रतीकात्मक रूपमा मूर्ति बन्ने प्रचलन थियो। जुनसुकै धर्ममा भक्तिमार्ग, ज्ञानमार्गको साथसाथै ध्यानको अपिरिहार्य उपस्थिति हुन्छ। कुनै पनि धर्ममा ध्यानलाई केन्द्रमा राखेर आफ्ना दर्शनलाई सम्प्रेषण गर्न कोसिस गरेको देखिन्छ। बुझेर धर्मको अवलम्बन गर्ने र ज्ञानआर्जन गर्ने प्रक्रिया ज्ञानमार्ग हो। धर्मका अमूक देवीदेवतालाई भक्ति भावका साथ आत्मसात गर्नु भनेको भक्तिमार्ग हो। ध्यान अनेकौँ प्रकारले गर्ने प्रचलन छ। कतै एकान्तमा, कतै नाचगान गरेर, कतै विश्वास आस्थाका आधारमा, कतै मन्त्रोच्चारणमा, कतै आँखा चिम्लेर मात्र पनि ध्यान गरिन्छ। कतै कसैले बोलेको मधुर मन्त्रमुग्ध स्वरलाई पच्छाउँदै ध्यान गरिन्छ। आफ्नो शरीर मन नियन्त्रणमा ल्याउने यो प्रक्रिया योगको सहाराविना सम्भव छैन।  

मूलतः भक्तिमार्गमा अमूक देवीदेवताको विशेष आसनमा बसेर ध्यान गरिन्छ। ज्ञानमार्गमा धर्मसम्बन्धी ग्रन्थको सहारा लिइन्छ। विशेषगरेर इसापूर्व पहिलो शताब्दीतिर हिन्दू धर्मको पुनरुत्थानको अवस्थामा अनेक ग्रन्थको परिकल्पना गर्न थालियो। यसका लागि विभिन्न रूपमा देवीदेवताको परिकल्पना गरियो। हुन त यसअघि धेरै वर्ष पहिला यसको प्रक्रिया सुरु भएको किंवदन्ती पाइन्छ। तथापि विशेष गरेर भारतको तथ्यपरक ऐतिहासिक आधार हेर्दा भने यसैलाई आधिकारिक रूपमा लिन गाह्रो हुन्छ। इसापूर्व तेस्रो शताब्दीबाट बौद्ध धर्मको अति तीव्ररूपले विकास भएको थियो। इसापूर्व पहिलो वर्षदेखि इसाको पहिलो वर्ष बीचको समयमा हिन्दू धर्मको पुनरुत्थान भएको सन्दर्भमा अझ नजिकको सत्यता देखिन्छ। जसरी बौद्ध धर्ममा बुद्ध र बोधिसत्वका यस्ता मूर्ति देखापरे, हिन्दूधर्ममा पनि यस्तै शान्त रूपमा विष्णु, महादेव वा अन्य देवीदेवताका रूप शान्त भावमै देखिन्छन्। देवीहरूमा तन्त्रकलापछि मात्र यो शान्त रस रौद्र रूपमा देखापरेको हो। अधिकांश देवीका यस्ता रूप देवताको शक्तिको रूपमा हेरिएको पनि देखिन्छ।  

धर्ममा ज्ञान वा भक्तिलाई प्रचारप्रसार वा चिरकालसम्म स्थायित्व प्रदान गर्ने माध्यमका रूपमा कलाको सहारा लिएको देखिन्छ। यसका लागि अमूक देवीदेवताको मूर्ति वा चित्रको निर्माण हुन आवश्यक भयो, यसैको अगाडि बसेर भक्तिभावको विकास गर्ने अनेकौँ प्रक्रिया अगाडि आएको देखिन्छ। एक प्रकारले विशेष मुद्रामा बसेर नियमका साथ, पूजाआजा गर्र्नेदेखि भजन गाउने, वा आँखा चिम्लेर ध्यानै गर्नु पनि योगको अभिन्न अंग रहेको स्पष्ट देखिन्छ। यस वेला हरेकजसो देवीदेवताका विविध आसनको परिकल्पना गरिएका छन्। अनेकौँ मुद्रा कल्पना गरिएका छन्। भावलाई प्रवाहित गर्न अनेक भावाभिव्यक्ति अभिव्यञ्जनाको कल्पना गरिएका छन्। यी सबै कुरा कहीँ न कहीँ योगसँग गाँसिएर आएको छ। ज्ञानमार्गका लागि बनाइएका अनेक ग्रन्थका कभर पेजमा बनाइने चित्रदेखि हरेक पानाको छेउ र बीचमा बनाइने देवीदेवताका चित्र पनि विशेष आसन एवं मुद्रामै बनाइएको पाइन्छ। विशेष आसन र हाउभाउ हरेकजसो देवीदेवताको आ–आफ्नो अलग्ग पहिचान बनेको वा बनाइएको देखिन्छ। 

वज्रयानको उदय र तन्त्रकलाको उदयपछि यस्तो प्रचलन पराकाष्ठामा पुगेको पाइन्छ। नियम पालन गरेर, अर्थका साथ बनाइने यस्ता चित्रबाट अमूक धर्म–दर्शनको ज्ञान प्रवाहित हुने उद्देश्य राखिएको हुन्थ्यो। यसर्थ योगका हरेकजसो प्रक्रियालाई भगवान्सँगको एकाकार वा नजिक हुनुको रूपमा हेरेको देखिन्छ। चेतनाको पराकाष्ठाको रूपमा आध्यात्मिक र धार्मिक अर्थका साथ परिकल्पना गरिएको हुन्छ। यहाँ मानवको स्वास्थ्यको सन्दर्भलाई देवीदेवतासँगको आस्थामा जोडिएको देखिन्छ। यसरी स्वास्थ्यलाई धर्मसँग जोड्दा मानवमा मानसिक रूपमा मलम लगाउने काम हुन्छ। अझ अमूक देवीदेवतामा गहिरो आस्थाले गर्दा भगवान्ले नै निको पारिदिएको सन्दर्भ प्रशस्तै देखिन्छ। यसैलाई कार्य रूपमा परिणत गर्न योगको परिकल्पना भएको देखिन्छ। उदाहरणका लागि धर्ममा भजन गरिरहँदा (एक प्रकारको ध्यान) निश्चित आसन र हाउभाउ वा सही उच्चारणको आवश्यकताको बोध गराइनु र यसैलाई लागू गर्ने प्रक्रियासँग योग गाँसिएको छ।  

यसर्थ कलाको कुरा गरिरहँदा कला आइसोलेसनमा कहिल्यै देखापरेन। समाजसँग अभिन्न अंग बन्ने स्वभावले गर्दा कला धर्म, संस्कार र सामाजिक हरेकजसो क्रियाकलापमा आबद्ध भएर देखापरेको छ। अहिले आएर राजनीतिक मुद्दामा समेत कला बन्न थालेको छ। अर्कोतर्फ समाजसँग नजिक भएर विकसित भएको योग पनि अलिकता स्वास्थ्य, मानसिक उल्झनको निकासासँग गाँसिएको पाइन्छ। यसरी जीवनको एक अंग बन्न पुगेको योग प्रत्यक्ष–परोक्ष रूपमा स्वभावतः कलाको नजिक देखिन गएको हो।  

योगको भावार्थ  

योगको मूल भावार्थ भनेको आध्यत्मिक अनुशासन अनि आत्मअनुशासन हो। अनुशासनको सन्दर्भ जसरी योेगमा मूल तत्वका रूपमा गाँसियो। यसैगरी विशेष गरेर नेपाली परम्परागत कला अनुशासनको दरिलो डोरीले बाँधेको पाइन्छ। अझ नेपालको कला इतिहासको मध्यकालमा त कलाकारले शुद्धताको अनेकौँ चरणमा प्रवेश गर्नुपर्ने बाध्यात्मक व्यवस्था थियो। आफैँले बनाएको क्यानभासलाई घोटेर चिल्लो पार्ने प्रक्रिया (अति मिहीन चित्र बनाउनुपर्ने भएकाले खस्रो क्यानभासलाई घन्टौँ घोटेर चिल्लो पारिन्छ) लाई शुद्ध रूपमा गर्ने, कलाकार स्वयंले शुद्ध आचरण र मनोभावका साथ चित्र बनाउने चलन थियो। कला बनाउनुअघि कलाकारको हातलाई पूजा गर्ने प्रचलन समेत रहेको थियो। पूजाआजा गर्न बनाइएका यस्ता चित्र अति आदर र जतनका साथ विशेष ठाउँमा राख्ने चलन आज पनि छ। कडा अनुशासनबिना यस्ता गहकिला, लालित्यपूर्ण कला बन्न सम्भव थिएन। र, अहिलेसम्म यस्ता कला रहिरहने अवस्था हुँदैनथ्यो होला। आज अनुशासन भड्किँदै गएपछि सम्भवतः आजका अत्यधिक कला अस्थायी बन्न गएको देखिएको छ। नेपाली परम्परागत कलालाई हिन्दू वा बौद्ध धर्मको अति अभिन्न अंगका रूपमा लिइन्छ। योगलाई अभ्यासको रूपमा प्रार्थना, व्रत, उपवास र मानुअल श्रमको रूपमा व्याख्या गरिएको छ। देवीदेवता (मूर्ति वा चित्र)लाई नै मानिसले भौतिक रूपमा प्रार्थना गर्छ। प्रार्थना गर्दा श्वासलाई नियन्त्रण गर्ने मुख्य लक्ष्य रहन्छ। त्यस्तै, प्रार्थना गर्दा सही आसनमा बस्नुको अर्थ, रहस्य र उपादयता हुन्छ। यस्तो चित्र बनाउँदा स्वस्थ र आरामदायी अवस्थाको परिकल्पना गरिन्छ, जुन आत्मज्ञानसँग सम्बन्धित हुन्छ। शारीरिक, मानसिक, सामाजिक र आध्यात्मिक विकासलाई पनि ख्याल गरिएको हुन्छ।  

ऐतिहासिक आलेख  

मूलतः योगाको विकास क्रमलाई सिन्धुघाँटी सभ्यतासँग जोडेर हेर्ने गरिन्छ। आधिकारिक रूपमा प्रमाण नपाइए पनि पछि लेखिएका विविध ग्रन्थमा यसबारे प्रशस्तै चर्चा भएका छन्। योगा टेस्टको रूपमा भने पहिलोपल्ट ऋग्वेदमा यसबारे उल्लेख भएको पाइन्छ। सम्भवतः धार्मिक सन्देशलाई मौखिक रूपमै एकले अर्कालाई हस्तान्तरण गर्ने क्रममा यसलाई प्रयोग गरिएको विश्वास गरिन्छ। यस्ता कुरालाई विशेष गरेर ऋषिमुनि, मन्त्र र अनुष्ठानसँग गाँसेर हेर्ने गरिन्छ।  

सिर्जनामा ध्यान र ध्यानका लागि सिर्जना 

कला र योग विभिन्न प्रकारले एकापसमा गाँसिएको देख्न सकिन्छ। कलाकारले योगाको चित्र कोर्छन्। चित्र सामुन्ने राखेर ध्यान गरिन्छ। रमाइलो कुरा त एकान्तमा ध्यान गरेर चित्रको निर्माण गरिन्छ, अनि यही चित्र अगाडि राखेर एकान्तमा पुनः ध्यान गरिन्छ। धर्मसँग योग, ध्यान र कला नजिकबाट आबद्ध भएको हुन्छ, सम्भवतः यी जम्मै कुरामा एउटा मात्र निकालिदियो भने कुनै क्षेत्रमा सम्पूर्णता पाइँदैन। तन्त्र धर्ममा गरिनुपर्ने ध्यान–प्रार्थना गर्दा कसैले थाहा नहुने गरी, कसैलाई भन्न नहुने गरी अँध्यारो कोठाभित्र तान्त्रिक चित्र अगाडि राखेर गरिन्छ। स्वास्थ्यको सन्दर्भमा, जसरी योगा स्वास्थ्यका लागि परिकल्पना गरिएको छ, यस्तै अहिले आर्ट थेरापीको अभ्यास गर्ने प्रचलन छ। युवा कलाकार सरोज लामिछानेले पाँच मिनेटमै चित्र बनाउने र पाँच मिनेटमै आर्ट थेरापी गरेर आमभावकलाई प्रभावमा होइन, स्वास्थ्यमा सकारात्मक पारेको घटना भर्खरै सार्वजनिक समेत भएको छ।  

(लेखक कलाकार तथा कला समीक्षक हुन् ।) 

प्रकाशित: २९ फाल्गुन २०७७ ०४:०९ शनिबार

कला योग र कला