कला

मुसाहरू

कविता

लुगा काट्ने मुसा ज्यादा विगविगी छ घरैभरि ,

यता हेर्यो उता हेर्यो जम्मै सक्छ किझैँ गरी ।

यौटा ढाडे बिरालोको खोजी कार्य भयो यता,

म्याउँ गर्दा नियुक्ति भो हस्ताक्षर जतातता ।  

 

बिरालो र मुसा जम्मै एकत्रित भई मिले,

दूध साक्षी बिरालो भै लुटे खाए सबै निले ।

घर मालिक भो एक्लो के नै पो गर्न सक्छ र,

मन बाँधेर आँखामा झर्दछ्न् आँसु तर्तर ।  

 

कालो ढाडे बिरालो त्यो भान्साकोठा चहार्दछ,  

ठेकी हर्पे सबै सुँघ्दै आफ्नो जात मुसार्दछ ।

छानामाथि पुगी कैले मस्त सुतेर बस्दछ,

रातारात गरी कैले जम्मै मुसा भगाउँछ ।  

 

घर मालिकका आँखा सकेसम्म ऊ छल्दछ,

घर मालिकले देखे फुर्तिले अझ बल्दछ ।

ठाडाठाडा जुँगा पार्दै ढुकुटीकै अघिल्तिर ,

ढुकी बस्छ घुमी फिर्दै सक्छुझैँ नि आखिर ।  

 

नाच्छन् खेल्छन् उता हिड्छन् फेरि फर्केर आउँछन्

घर आफ्नै भएजस्तै जाँदै आई रमाउँछन् ।

घर आफ्ना सजाएर सारै सुन्दरका पर,

बढाऊँ अझैँ गर्दै समाई अरूका  घर ।  

 

भित्रिया एउटा ढाडे अर्को छ गजधम्मको,

यदाकदा ऊ निस्कन्छ बनी सारै अचम्मको ।

आश्वासन दिई जुँगा–जुँगामा ताउ लाउँछ,

बढी हुँदा यता फाल्छ कमीमा टोक्न आउँछ ।  

 

अर्को ढाडे सधैँ घुम्छ मुसाआफ्नै  ऊ ठान्दछ,

भोकाए फाल्छ क्यै चारो आफ्नै आहार मान्दछ ।

मीठो बोली छ यो म्याउँ नङ्ग्रा  तीखा बनाउँछ,

अप्ठेरो घरमा पर्दा घरै नक्सा बनाउँछ ।

 

हल्लिरहेछ झैँ देखेँ घर यो कमजोर भो,

बिराला र मुसा गर्छन् साउती गठजोरको ।

यौटा आसनमै मक्ख घरमालिक यी किन,

लठ्याई घरका नक्सा तान्दै छन् पूर्वपश्चिम ।

 

उठ ए,घरका मान्छे घर यो गर्न रक्षण,

मुसा ढाडे दुवै मिल्दै आँट्दै छन् गर्न भक्षण ।

थला रक्षार्थमा एकजुट आऊ सबै अब  

बिराला र मुसा खेदी घरको राखूँ गौरव ।

प्रकाशित: २६ फाल्गुन २०७७ १२:१३ बुधबार

अक्षर