कला

कोपरा

कथा

बुइँगलमा चढ्नेबित्तिकै जमुनी बज्यैका आँखा त्यही पित्ले कोपरामा गएर ठोक्किन्छन् । कतिचोटि यो ठाँडोलाई हेर्दिन त भनिन् । तर, कसोकसो त्यहीँ पुगिहाल्छन् आँखा । कोपरा देख्नुपर्ला भनेर बुइँगलमै नचढ्ने संकल्प पनि गरेकी हुन् । तर दैनिक जीवनमा आइपर्ने अनेकौँ चिजविजहरू त्यहीँ छन् । दिनै नभए पनि हप्तामा दुईतीनचोटि बुइँगल नउक्लिई सुखै छैन ।  

गुन्द्रुक मुलाको सिन्की पोक्याएर राखेका कपडाका पोकापन्तुरा बुइँगलमै छन् । गुन्द्री बुन्न बाटेर थुपारेका हतेउरीका मुठा बुइँगलमै छन् । जरेबोडा र कान्ले बोडाका कोसाहरू बुइँलगमै छन् । मास र मस्याम भरेर राखेका मटियाहरू बुइँलगमै छन् । गहत राखेको हाँडी त्यहीँ छ । सूर्तीका मुठाहरु बुइगलमै छन् । विउ मकैका झुत्ताहरू बुइँगलमै छन् । अनेकन चिजहरूको भण्डारण गर्ने ठाउँ बुइँगल भएकाले पनि त्यहाँ चढिरहनुपर्छ । चढेंपछि उनका आँखालाई त्यही कोपराले स्पर्श गर्छ ।

कोपरा देख्नेबित्तिकै उनको नाकमा एक नमिठो गन्ध ठुस्स गनाउँछ । धेरै वर्षपछि पनि त्यो छेराउटीको गन्धले सताउन छाडेको छैन । हुन त कोपरामा अहिले केही छैन । माझेर टल्टलाउँदो अवस्थामा राखिएको छ । परन्तु, कोपरा देख्नेबित्तिकै गुको गन्धले उनको नाक पोल्छ । अझ तित ेफापरको छेराउटीले सिधै नाकमा डसिहाल्छ ।  

“किन अझै गनाइराखेको होला ?” मनमा अनेकचोटि प्रश्न उठ्छ । समाधान पाउन सक्दिनन् । मनोविज्ञानको जटिल संरचना, निरक्षर जमुनी बज्यैलाई थाहा हुने कुरा पनि होइन । भ्रम विभ्रमको नियम उनको सरल चित्तले पर्गेल्न सक्ने विषय पनि होइन ।

कोपरा देखेपछि पहिले कोपरा गनाउँछ । त्यसपछि उनलाई आफ्नै हात गनाउँछन् । एकछिनमा दिङमिङ –दिङमिङ हुन थाल्छ र उल्टी आउन खोजेपछि बुइँगलमा के कामका लागि चढेकी हुन् त्यो काम सम्पन्न गरेर भुइँमा ओर्लिहाल्छिन् । उनको स्मृतिबाट कोपरा हटाएपछि गन्ध पनि बिस्तारै भुल्दछिन् ।

जनुमी बज्यै गाउँकै आमा । सबभन्दा सजिली मान्छे । कसैले केही माग्न आए हुन्न र छैन भन्न जानेकी छैनन् । भएको चिज दिन पाए, बाँड्न पाए उनी खुशी हुन्छिन् । अभरमा परेको मान्छेलाई मद्दत गर्नु धर्म ठान्दछ्न् ि।

पहिलेपहिले उनलाई जामुन घरे बज्यै भन्थे । पछिपछि मान्छेले सजिलोका लागि जमुनी बज्यै जमुनी बज्यै भन्न थाले । जमुनी बज्यैको श्रीमान् छैनन् ।

त्यो जमानाका ऊ सिपालु राजमिस्त्री थिए । कुनै मुखिया महाजनको घर बनाउने सिलसिलामा छानोबाट लडेर उनको देहान्त भएको थियो । सो घडी जमुनी बज्यैको छोरो सात वर्षको थियो । अनायास लोग्नेले छाडेर गएपछि त्यही छोराको मुख हेरेर बाँचिन् । टुल्के माथिका अरू दुईओटी छोरी थिए । उनीहरू एकलक काम गर्न सक्ने भैसकेका थिए ।

छरछिमेकको इष्टमित्रको टेकोपिंडो पाएर छोरा हुर्काइन् ।

 

गाउँमा हाइस्कूल थिएन । घरदेखि एकदिनको बाटो टाढा गएर टुल्के १० कक्षामा पढ्दै थियो । हप्ता पन्ध्र दिनमा सामलतुमल, नुनगुन्द्रुक र दाल लिन घर आउँथ्यो । आमाले पनि टुल्केलाई पढाउन कुखुराबाख्रा पालेर खेतीपाती धानेर जो खेप्नु खेपेकै थिइन् ।

गाउँको स्कुलबाट सातपास गरेर नयाँ ठाउँको स्कुलमा पढ्न गएको टुल्केले तीन वर्षपछि त्यहाँबाट एसएलसी परीक्षा दियो । परीक्षापछि ऊ घर फक्र्याे । आमा –दिदीहरूलाई खेतीको काम सघाएर बसिरहेको थियो । उसको रिजल्ट आउन अरू दुईतीन महिना बाँकी नै थियो ।

एकदिन राति सबैजना भात खाएर ओछ्यानमा सुतिसकेका थिए । टुल्के निदाइसकेको थियो, जमुनी बज्यैचाहिँ जागै थिइन् ।

ढोकामा कसैले खट्खटायो । धर्तीलाई गाढा अन्धकारले पूरै बेरेको छ । आकाशमा ताराहरू त पिलपिल गरिरहेका छन् । तर तिनको बुताले भ्याएको छैन – चुक समान अध्याँरोलाई अलिकति पनि पातलो बनाउन सकेको छैन । कताकता हुच्चिल बासेको आवाजले प्रकृतिको अगम मौनता भंग बन्छ ।  

पारिको भस्मे डाँडाको जंगलबाट न्याउलीको आवाज आइरहेको छ। लगातार दैलो खट्खट् पारेपछि जमुनी बज्यैको आवाज पोखियो –

“को हो यतिराति ? दैलो बजाउने ?”

“म हुँ आमा म”

“को म ?”

“म कान्छाराम हुँ ।”

“कहाँको कान्छाराम ? को कान्छाराम ? म चिन्दिनँ ।”

“म तपाईको छोरो टुल्कुरामलाई पढाउने गुरु हुँ । अलिक आपत परेर आ’को छु आमा । ढोका खोल्नुस् न ।”

छोराको गुरु हुँ भनेपछि टुल्केलाई उठाइन् र दैलो खोल्न लाइन् । एक्कासी यति राती आफ्ना गुरु कान्छारामलाई आफ्नो घरमा पाउँदा टुल्के आश्चर्यचकित बन्यो । जाडो र भोकले उसका ओठहरु थरर कामिरहेका थिए । धेरै लामो पहाडी बाटो छिचोलेर ऊ त्यहाँ आइपुगेको थियो ।

संवादको सिलसिलामा थाहा भयो । उसलाई प्रहरी प्रशासनले आतंककारीहरूको अभियानलाई साथसहयोग दिएको आरोपमा वारेन्ट काटिएछ । उसलाई पक्राउ गर्न पुलिस आएको सुइँको पाएपछि सधैँका लागि घर छोडेर हिंडेको रहेछ । अब गुप्त पार्टीको भूमिगत राजनीतिमा संलग्न हुने संकल्प गरिसकेको थियो । आफ्नो घर परिवार र जागिर त्यागेर जनसमरको आँधीबेहेरीमा होमिइसकेको थियो ।  

 

आमाले खाना बनाएर खुवाइन् । आफ्नो गुरुलाई सुताउन टुल्केले टाँडमा लग्यो । रातभरी टुल्कुराम र उसको गुरु कान्छाराम गुनुमुनु गुनुमुनु बात मारिरहे । के के बोले ? आमालाई सबै कुरा थाहा भएन ।

गुरु कान्छारामको मुखबाट निस्केका धेरै दार्शनिक कुरा त उसले बुझ्न सकेन । भर्खर एस.एल.सी. परीक्षा दिएको टुल्केले त्यति गहिरो सैद्धान्तिक कुरा पहिलो चोटिमै बुझ्ने कुरा पनि होइन । पटकपटक उसले भनेको माक्र्सवाद, लेनिनवाद, माओवाद, चेगुभेरा विचार आदिलाँई बुझ्न सकेन । अपितु आफूलाई स्कूलमा पढाउने ती गुरु अन्याय अत्याचारको सामन्ती राज्य खत्तम गरेर गरवि दुःखीको राज्यव्यवस्था ल्याउन भूमिगत राजनीतिमा हिँंडेका रहेछन् । यसै सिलसिलामा उनले स्कुलको जागिर छोडेछन् । घर छोडेछन् । उनको पछाडि पुलिस प्रशासनले पिछा गरेको कारण रातिराति हिंडेका रहेछन्, सारमा उसले यती नै कुरा बुझ्यो ।  

साथै उसले ऊबाट यो पनि बुझ्यो–समाजमा दुई वर्ग हुँदा रहेछन् –एउटा शोषक वर्ग र अर्काे शोषित वर्ग । शोषक वर्गले गरिवहरूलाई युगौदेखि शोषण गर्दै आएका रहेछन् । अब संंगठित भएर शोषक सामन्तहरूको विरुद्ध लाग्नुपर्ने रहेछ । र उनीहरूको हातको शासनसत्ता खोसेर गरीवको हातमा ल्याउनुपर्ने रहेछ । तब मात्रै दुःखीगरीवलाई सुखशान्ति मिल्ने रहेछ । गरीवहरूले विद्रोह नगरेसम्म अन्यायअत्याचार गर्ने शोषक सामन्तीकै हालीमुहाली चल्ने रहेछ ।

उसका कुराले टुल्केका मनमा थोरै उत्तेजना पनि भ¥यो । थोरै आक्रोश रोप्यो । थोरै विस्मय पनि भ¥यो । हृदयमा अन्योलको आँधीहुरी पनि उब्जायो ।

 

धर्तीभरि बिहानीको उज्यालो खस्यो । डाँडापाखा चारैतिर घामका कलिला किरणहरू पोखिए । अब आफ्नो गुरु कान्छारामलाई दिनको उज्यालोमा सुरक्षित लुकाउने दायित्व टुल्केको हातमा आएको थियो ।

आफूलाई माया गरेर पढाउने कान्छारामको ज्यान खुकुरीको धारमा अडिएको थियो । उसलाई समात्न पुलिसको डफ्फा छोडिएको थियो । कहाँ लुक्छ ? कहाँ खान्छ ? कहाँ जान्छ ? खोजी गर्न सुराकी खटाइएको थियो ।

रातभरि गाउँगाउँ चहारेर आफ्नो रानजीतिक गतिविधि फैल्याउँथ्यो । उज्यालो भएपछि जमुनी बज्यैको बुइँगलमा लुकी बस्थ्यो । छिसिक्क कसैेले देखेमा वा थाहा पाएमा लुक्नेको पनि खैरियत थिएन । लुकाउने घरपरिवारको पनि बाँच्ने कुनै उपाय थिएन ।

दिनभरि बुइँलगमै बस्थ्यो । बुइँगलमै खान्थ्यो । बुइँगलमै हग्थ्यो । बुइँगलमै मुत्थ्यो । हग्नमुत्नका लागि जमुनी बज्यैले कोपरा राखिदिएकी थिइन् । कोपराको दिसापिसाव कहिले टुल्के, कहिले जमुनी बज्यै आफैँ बाँसताल घारीमा लगेर घोप्ट्याउँथे ।

जमुनी बज्यैको मनमा कान्छारामले रामै्र छाप बसाइसकेको थियो । छोरो टुल्के र उसको कुराले यी मान्छे शोषित पीडितको निम्ति सुखको स्वर्ग धर्तीमा अवतरण गर्न ज्यानको जोखिम मोलेर हिंँडेका हुन् । यिनलाई जोगाउनुपर्छ । यिनलाई बँचाउनुपर्छ र यिनको सेवा गर्नु हामी निमुखा दुःखीगरिवको कर्तव्य हो भन्ने कुरा उनको दिमागमा छाप जस्तो कतै नहल्लिने गरी जमौट भएर बसेको थियो । त्यसैले त जमुनी आमैले साक्षात् छोरोझैँ मानेर सेवा गरिन् ।

संकटकालको सघन कुहिराबीच बस्ती छोपिएको थियो । मानिसहरूका मनमा निसासलाग्दो उकुसमुकुस थियो । दिनदिनैको सेना पुलिसको गस्ती, खानतलासी, गिरफ्तारी र हत्याले मान्छेलाई त्रासदीको सीमान्त विन्दुमा घचेटेको थियो ।

एकदिन कताबाट सुराकी भयो या कुन कारणले हो, शाही सेनाको एक टुकडीले जमुनी बज्यैको घरमा घेरा हाल्यो ।

संयोग या बाँच्ने दिन जे भनौँ त्यसरात कान्छाराम त्यहाँ आएकै थिएन । घरमतान, गोठगुवाली, परालको माच दाउराको हार सबैतिर छाप्छाप्ती गरे ।

दुई जना सिपाही बुइँगलमा पुगेर खानतलासी लिए । एकजनाले घोप्ट्याइरहेको पित्ले कोपरा पल्टाउँदै प्रश्नको वर्षा ग¥यो –“यो कोपरामा कसलाई हगाउने गरेको छ एई बूढी ?”

अशोभनीय शब्दावलीमा आफूलाई रयाखरयाख्ती पारेपछि डराईडराई बोलिन् –“आऽऽ कस्लाई हगाउनु र आफैँलाई चाहिन्छ नि कहिलेकाहीँ ? बूढी मान्छे पेट लाग्छ, कुदेर खोलामा पुग्न सक्तिनँ । कोपरामै झाडा गर्नुपर्छ । आफ्नै लागि राखेको हो ।”

“कहाँबाट ल्याइस् यो कोपरा ?”

“आफ्नै आमाले उहिले दाइजो दिनुभएको ।”

कोपराको विषयमा निकै मिहीन पाराले सोधपुछ गर्दा बज्यैको मुटुको चाल अनपेक्षित रूपमा लबढब लबढब गरिराखेको थियो । कसैले थाहा पाएर पोलीदिएछन् कि जस्तो भो । किनभने कामरेड कान्छारामले त्यस कोपरामा अनेकौँ चोटि दिसापिसाब गरेको थियो ।

सेनाहरू त्यति सोधपुछ गरेर बाटो लागे । अर्काे एकचोटि सशस्त्र पुलिसको डफ्फाले घर घेरा हाल्यो । रिमरिम उज्यालो खसिसकेको थियो । आमाहरू उठेर दैलो खोल्दै थिए । अँगेनामा आगो खोस्रिँदै थिए । भाउजूहरू गाग्रो बोकेर पानी भर्न पँधेरातिर कुद्दै थिए ।

गोठमा पाडाबाछा लाउनुको सुरसार हुँदै थियो । सोही समयमा थाहा भयो । जमुनी बज्यैको घरलाई चारैतिरबाट बन्दुकधारी प्रहरीले घेरा हालिसकेका छन् । सो समय ऊ बुइँगलमै मस्त निदाइरहेको थियो ।

जमुनी बज्यैले मूलदैलो पनि नखोली झ्यालबाट चियो गरेर बाहिरको परिदृश्य थाहा पाइसकेकी थिइन् । लुसुक्क बुइँगलमा चढेर उसलाई बिउँझाइन् । बाहिरको तनावपूर्ण अवस्था अवगत गराएपछि ऊ किंकर्तव्यविमूढ बन्यो ।

“अब फँसिया, उम्किने उपाय छैन अब ।” कान्छारामले मनमनै सोच्यो ।

जमुनी आमैले आफ्नो पुरानो फरिया –चोलो दिइन् । कपालमा कस्न मजेत्रो ठीक्क पारिन । दसै मिनेटमा फरिया बेरेर पटुकी कस्यो । चौबन्दी चोलोमाथि मजेत्रो ओढेर पानीको गाग्रो डोकोमा हालेर महिला भेषमा पँधेरातिर लाग्यो ।

प्रहरीहरूले दैलो खोलेको पनि देखे । डोको बोकेर पँधेरातिर हिँडेकी महिलालाई पनि देखे । छ्याङ्ग उज्यालो भएपछि प्रहरीहरू घरभित्र पसेर छाप्छाप्ती गरे । तर चरोमुसो फेला पार्न सकेनन् । उनीहरु रित्तो हात फर्के ।

हुन त जमुनी बज्यैको छोरो टुल्कुराम कान्छारामसतिै हिँडिरहेको थियो । तर, बाहिरी हल्ला अर्कै चलाइएको थिो । रोजीरोटी कमाउन कालेबुङ गएको छ । दशैँमा आउँछ भनिएको थियो ।  

दशैँमा कालेबुङबाट आएजस्तै गरी ऊ घरमा प्रवेश ग¥यो । नुनतेल, लुगाफाटो, मरमसला लिएर आयो । दशैँ राम्रैसति माने । दशैँपछि हिँड्यो । कालेबुङ जान्छु भनेरै हिँड्यो । तर, ऊ कालेबुङ नगएर भूमिगत अभियानमा हिँड्यो । कान्छारामको टोलीमै हिँडिरहेको थियो । तर बाहिर कालेबुङ गएको हौवा पिटिएको थियो ।

एकचोटि अध्यरातमा कान्छाराम र टुल्कुराम दुवै जना ढोका खोलेर भित्र पसे । आमासित भलाकुसारी गरे । भोकाएर आएका थिए । जमुनी बज्यैले घिउ हालेर तितेफापरका रोटी पकाइन् । गोलभेँडाको चटनी पिसेर दुवै जनालाई खान दिइन् ।

कान्छारामले निकै दिनदेखि अघाउँजी खान पाएको थिएन । न शान्तिले सुत्न पाएको थियो । बज्यैको घर आएपछि आफ्नै घरमा आइपुगेको अनुभूति मिल्छ उसलाई । उसकी आमाले बरु उसलाई त्यति खातिर गरिनन् होला । जमुनी बज्यैले खानपिनको औधी खातिरदारी गर्थिन् ।

खाँदाखाँदै घिउमा हालेका बाबर उसलाई मीठो लाग्दै गयो । अचारसित चोब्दै खाँदै गर्दा उसले सातओटा मोटामोटा बाबर भ्याएछ । पानी खाएर बुइँगलमा चढेर सुत्यो ।  

बिहानका रातिदेखि छेरपाटे चल्न थाल्यो । धर्तीमा अँध्यारो रहुन्जेल त आफँै खोल्सामा गएर दिसा ग¥यो । छ्याङ्गछुङ्ग उज्यालो भएपछि बाहिर निस्किन मुस्किल भयो । बाहिरी मान्छेले देख्ने चिन्ने खतरा भयो । उसलाई पखाला पटक्कै थामिएन ।

तितेफापरको रोटीको हरियोहरियो कालोकालो पखालाले अनेकौँ चोटि कोपरा भरियो । घिन लाग ेपनि घिन नमानी जमुनी बज्यैले कोपराको फोहोर बाँसतानमा फ्याँकिन् ।

छेराउटीले सिकिस्त भएको कान्छारामलाई अनेकन जडीबुटी बनौषधि घोटेर पियाइन् । सन्चो बनाएर पठाइन् । अहिले पनि त्यो कोपरा देख्नेबित्तिकै उनको नाकमा त्यो नमीठो दुर्गन्ध ह्वास्स गनाउँछ । धेरै वर्षपछि पनि त्यस छेराउटीको गन्धले सताउन छाडेको छैन । हुन त कोपरामा दिसाको एउटा पाप्रो पनि टाँसएिको छैन, माझेर मस्काएर सुकसुकाउँदो टकटकाउँदो अवस्थामा राखेकी छन्, परन्तु कोपरा देख्नेबित्तिकै गुको गन्धले नाक पोलीहाल्छ । अझ तिते फापरको छेराउटीले उनलाई सिधै नाकमा डसिदिन्छ ।

समयको वेग थामी नसक्नु गरी अघि बढ्यो । नवीन परिवेशका परिदृश्यहरू पत्याउनै नसकिने गरी एकपछि अर्काे देखा पर्दै गए । जमुनी बज्यै रनभुल्लमा छिन् । समयको रङ छुट्याउन सक्दिनन् । हिजो रातो देखेको रङ फुस्रो फुस्रो देख्छिन् । हिजो निठ्ठा सेतो देखेको रङ कालो कालो देख्छिन् । हिजो हरियो देखेको रङ आज पहेँलो– पहेँलो देख्छिन् ।

मनमा कति औडाहाहरू छन् । मनमा कति पीडाहरू छन् । त्यो कसैलाई भनी साध्यै छैन । त्यो अंक अक्षरमा गनीसाध्यै छैन ।

आँखा सामुन्ने घटेका कतिपय दृश्य सपना हुन् या विपना छुट्याउन नसकेर रनभुल्ल पर्छिन् ।

आफ्नो छोरा टुल्कुराम अरवको तातो मरुभूमिमा ऊँट र भेडा चराइरहेको छ । निकै वर्ष ऊ कामरेड कान्छारामको अंगरक्षक बनेर युद्धमा हिँड्यो । युद्ध विसर्जनपछि कामरेड कान्छाराम सत्ताको सियाँल ताप्तै सिंहदरबारतिर छि¥यो ।  टुल्के र टुल्केहरू अयोग्य लडाकुको विल्ला भिरेर क्यान्टोनमेन्टबाट हठात् निकालिए ।

ऊ निकालिँदासम्म कान्छारामहरू निकै माथिल्लो तलीमा उक्लिसकेका थिए । अब कान्छारामको पहुँचसम्म पुग्न हम्मेहम्मे प¥यो । पुगेर पनि उसले खासै केही पाउने बाटो देखेन । बरु पासपोर्ट बनाएर अरब गएँ भने केही कमिएला भन्ने मनसुवा बोकेर ऊ अरबतिर उड्यो । अरबको तातो मरुभूमिमा ऊँट र भेडा चराउने काम पाएको छ उसले ।  उता कान्छाराम सत्ताको काजुमा मगनमस्त छ ।  

जमुनी आमै, टुल्के र पित्ले कोपरा कान्छारामका दिमागबाट ओझेल परिसकेका शब्द थिए । कहिलेकाहीँ यिनको सम्झना आउँदा पनि उसलाई कताकता एलर्जी भएजस्तो हुन्थ्यो ।  

हिजै त हो कान्छाराम गाउँमा आयो । स्कूल भवनको उद्घाटन गर्न आएथ्यो । पँजेरो चढेर आयो । उसका अगुवापछुवा पुलिसका गाडीहरूरूको लर्काेले निकै धुलो उडायो । एकचोटि डोजरले खनेको खनेको कच्ची बाटोमा चौपट्टै उड्यो धुलो । धुलोको कुहिरीमण्डलबीच बाटामाथिको जमुनी बज्यैको घर पुरिएको थियो ।

उसलाई फूलमाला लाउने स्वागत गर्नेको हुलमा कतै थिएन टुल्के । कतै उपस्थित थिइनन् जमुनी बज्यै । थिए त त्यहाँ बिछट्टै बाक्लो खरानी घसेका नयाँ जोगीहरूको हुल थियो, नयाँनयाँ जोगिनीहरूको भीड थियो ।

नयाँ जोगीको हुलमा घेरिएर मखलेल छ कान्छाराम । जमुनी बज्यै पिँढीमा बसेर उदास आँखा टाढा क्षितिजमा उडिरहेको बादलको टुक्रो हेरिरहेकी छिन् ।

हिजै कसैले उनलाई सुनाएको हो –“बज्यैबज्यै ! भोलि तपाईले कोपरामा हगाएका कामरेट गाउँमा आउँछन् रे । भेट गर्न जानु नि । केही हुन्छ कि ? उनी अचेल त ठूलो मन्त्री भैरान् रे ।”

“आऽऽ मन्त्री हउन् कि सन्त्री हउन् । हामी दुखियालाई क्यै न क्यै ? बर्मा गए कर्मसँगै, नेपाल गए कपालसँगै । केही हुँदैन नानी केही हुँदैन । आफ्नो भुँडी भर्न पाइहाले भै गो नि ।”

अमिल्चो अनुहार पार्दै जमुनी बज्यैले प्रतिक्रिया जनाइन् । उनलाई न त मन्त्री भेट्न जाने कुनै रस थियो, न उत्साह र उत्तेजना थियो । न निमन्त्रणा र बोलाहट नै थियो । उनी निस्पृह भावमा घरको पालीमा पीरा बुनेर बसिरहिन् ।

उनको स्मृतिमा अनेकन दृश्यहरू सजीव बनेर झुल्किरहेका छन् । विगतको संगीन समयका पर्दाहरू एकपछि अर्काे खुल्दैछन् । जताबाट दृश्यहरू खुले पनि त्यही पित्ले कोपरामा आएर ठोक्किन्छ्न् घटना परिघटनाहरू । भीषण द्वन्द्वकालीन विगत कति कष्टका संगीन रातहरू गुजार्नुप¥यो ? हिसाव छैन । कति सन्त्रास दिन बिताउनुप¥यो ? त्यसको कुनै लेखो छैन ।

“मोराको गुमुत सोहोरेका हात यिनै हुन् । उसले हगेको कोपरा बुइँगलमा लडिरहेकै छ । आज बैगुनीले विगत सबै भुल्यो ।” मनमनै फुस्फुसाइन् ।

त्यो बेला कान्छाराम भने नाक छोप्पिन्जेल अविर र मालाले पहिरेर कस्सिईकस्सिई भाषण दिइरहेको थियो । संकटकालभरि उसकै पछुवा भएर हिँंडेको आफ्नो छोरो तातो मरुभूमिमा पसिना बगाउन गएको छ । न उसले केही पायो न जनताले केही पाए?

“पापी बज्याहरू !! जनवार आएपछि सब ठीकठाक हुन्छ । गरिवका घरआँगनमा सुखका बत्ती बल्छन् भन्थे । जुन जोगी आए पनि कानै चिरेका ............” जमुनी आमैले मनको औडाइ फेरि पोखिन् ।

बुन्दाबुन्दैको खोस्टाको पिरा थन्क्याइन् । उनको मनमा विचारको ज्वारभाटा उठिरहेछ । उनको स्मृतिमा घरि राति ढोका ढकढक पार्दै आउने कान्छाराम झुल्किन्छ । घरि आफ्नै छोरो टुल्के झुल्किन्छ । घरि उसले हगेको कोपराको याद आउँछ ।

उसले संकटका दिन काटिसक्यो । काँडा बिच्छ्याएको बाटो पार गरेर फूल बिच्छ्याएको बाटोमा हिंड्न थालिसक्यो । हिजोसम्म कतिखेर कहाँ मारिने हो ,  प्रहरी र सुराकीबाट लखेटिएको मान्छे आज तिनै प्रहरीलाई अगुवापछुवा बनाएर कारमा हुँइकिन थालिसक्यो । तर, संकटकालभरि उसले छेरेको कोपरा आमैकै बुइँगलमा लडिरहेको छ ।

उनको मनमा एकतमासले विचारको हुन्डरी उठ्यो । कान्छारामको अनुहार सम्झिइन् .............. । घृणाको लेदोभित्रबाटै सुसाएर आयो । भुइँमा पिचिक्क थुकिन् । फेरि ............. कोपरा सम्झिन्छन् । उल्टी नै होला जस्तो भयो ।

कुन अज्ञात शक्ति र अन्तरप्रेरणाले उनलाई छोयो छोयो । बुइँगलमा पसेर कोपरा टिपिन् । बत्तिएर स्कुलको चौरीमा पुगिन् । जहाँ मान्छेहरू बराम लागेर कान्छारामको भाषण सुनिरहेका थिए । पुलिसले वरिपरिबाट पालोपहरा दिइरहेका थिए ।

मान्छेको भीड छिचोल्दै मन्त्रीले सामुन्नेमा पुगेर गोन्द््रयाङ्ग कोपरा फालिन् ।

“राख्तिन तिम्रो ठाँडो अब तिमी नै लग । घर गनाएर उठिबास लाइसक्यो ।”

मन्त्रीलाई धारेहात लाउदै यति फलाकिन् । निमेषभरमा त्यहाँबाट अलप भइन् । मानिसहरू विस्मित बने । बूढीले यो के गरेकी हुन् थाहा पत्तो पाउन सकेनन् । प्रहरीले पक्रिन बूढीलाई लखेट्यो । बूढी बाँसघारीतिर पसिन् ।

कोपरा कान्छारामको सामुन्नेमा हुँइक्याएपछि उनको मन शीतल भयो । मनमा उठेका अनगिन्ती भुँवरीहरू साम्य बने ।

तर मान्छेहरू पानी पँधेरो र चिया चौतारीमा जमुनी बज्यै बहुलाएर मन्त्रीलाई कोपराको झट्टी हानेको कुरा गरिरहेका थिए ।

प्रकाशित: २४ फाल्गुन २०७७ १०:०७ सोमबार

अक्षर