कला

सम्झनाका क्षणहरू

कविता

बच्चा थियौं, धुलोमैलो र माटोहरूमा खेल्थ्यौ  

दिदी र दाइहरूले  बोक्थे, खेलाउँथे  

आमा र बाबु मेलापातबाट फर्किएपछि

न्यानो र सुरक्षित काखहरूमा रुन्थ्यौ, हाँस्थ्यौं र बस्थ्यौ

 

सरकारी स्कुलमा पढ्थ्यौ, लगाएर निला ड्रेसहरू  

स्कुल जान डर लाग्थ्यो , नसकेर मुक्ति र राजकृष्ण सरका पाठहरू

सात पुस्ताका नाम भन्थे  वेद सरहरू  

छौँडा र पाखे भन्थे वासु सरहरू

यस्तैयस्तै गरी लहैलहैमा बिते बचपनहरू  

 

तिमीले चाहेर, नचाहेर बित्छन्, बचपन, जवानी र  बुढ्यौलीहरू  

जिन्दगी पिछेका लेऊ मजाहरू,  

एकदिन सिद्धिन्छन् जिन्दगीहरू  

तिमी सानो छँदा, तिमी ठूलो  हुँदा, तिमी बूढो  पर्दा  

आआफ्नै हुन्छन् कथा, कहानी र आत्मा वृतान्तहरू

हामी गाउँका मान्छेहरू, अत्यन्त कठिन र रमाइला थिए हामीले बिताएका क्षणहरू  

हावा, पानी र असिना आउँदा भाग्थे चराएका गाईवस्तुहरू

घरका खरका छाना उडाउँथे,

रामराम भनेर बस्थ्यौं समातेर दलिनहरू  

ओढ्ने कपडाहरू हुँदैनथे, पकाउने चामलहरू  

टालेर, उल्टाएर लगाउने गर्थ्यौ रत्ने दाइले सिएका कपडाहरू  

 

जातभात, धनीगरीब यस्तैयस्तै धेरै छुवाछुत थियो  

प्रेम गर्न, रक्सी खान, फिल्म हेर्न पाइँदैन्थ्यो  

चिया र चना खान पाइँदैन्थ्यो, नभएर पैसाहरू  

लुकेर चाडपर्वमा शिव र देवीका मन्दिरमा खान्थेम चुरोट, गाँजा र रक्सीहरू  

चोरेर खान्थेम मौसमअनुसारका फलफूल, आँप र लिच्चीहरू  

पढ्न किताब हुँदैन्थ्यो, लेख्न कलम र कापीहरू  

स्कुलका छानाहरू चुहिन्थे, हुँदैन्थ्यो बस्ने बेन्चहरू  

हरियो चौरमा पढाउँथे क, ख, सरहरू  

घामले पोलेर फर्किन्थ्यौं बिहानी पढाइहरू  

 

वर्षा हुन्थ्यो, रोपाइ हुन्थ्यो, निस्किन्थे हुलका हुल खेतालाहरू  

बाउसे गरिन्थ्यो, आली लगाइन्थ्यो, समाएर कान्लाहरू  

बिउ पजिंथ्यो, साहा लाइन्थ्यो,  

किन सरितालाई रोपाइमा छेकेर  ल्याउँथे, आमा र नाइके दिदीहरू  

पानी पर्दा दिन्थ्यौ, स्याखु  , छत्री , छाता र प्लास्टिकहरू  

तर रुझेको सरिता हेर्न चाहन्थ्यौ हामीहरू  

तोरीका बिटाहरू बोक्थेम जुनेली रातमा  

धान काटेर मुठा बोक्थेम, डोकोमा मकै र गोबरहरू  

खेती लाइन्थ्यो, काटिन्थ्यो, थन्काइन्थ्यो  

यसरी नै समय बित्थ्यो किसानी जीवनहरू  

विवाह हुन्थ्यो, निम्तो आउँथ्यो बसमाथि बसेर बजाइन्थ्यो पन्चे बाजाहरू  

सुतिन्थ्यो परालमुनि खाएर भोजहरू  

मर्दा मलामी गइन्थ्यो, सुनपानी छरेर पसिन्थ्यो घरहरू  

मर्दापर्दा सबै जम्मा हुन्थे गाउँका दाजुभाइहरू

कति सफा थियो गाउँका मनहरू  

आंदी खोले , मकै खोले, कार्की नेटे, आरचौरे भन्ने उपनामले चिनिन्थे गाउँका जमीनदननरहरू  

दुधालु बनाउन गाई र भैसीहरू, पाल्थे बोका राँगा , शेष र राम दाइहरू

यहीबाट सुरु हुन्थ्यो, सरिता र बलुका ओशो र फ्राइडका विचारहरू  

सत्संग सुनिन्थ्यो, गीता, पुराण र महाभारत हेरिन्थ्यो।  

कहाँ थिए र अश्लील फिल्महरू

फूल फुल्ने आशामा, कोपिलामा बसेनन् भमराहरू  

तर आजकाल फरक छन् समय र परिस्थितिहरू  

पाकेका फल छोडेर विदेसिएका छन् दाइ र भाइहरू  

बिर्सिएर पनि बिर्सिन सकिन्न, हृदय र मानसपटलमा  

नउक्किने गरी टाँसिएर बसेका डोबहरू  

त्यसैले त बिर्सिन सकिन्न, आफू जन्मेर हुर्किएको माटो, ढुंगा र बोटहरू  

जहाँ बसे पनि सम्झिन्छ आफ्नै गाउँ र ठाउँहरू  

बिर्सिने छैनन् बाचिन्जेल ती क्षणहरू

बारम्बार आइरहन्छन् सम्झनाका क्षणहरू ।

प्रकाशित: २४ फाल्गुन २०७७ ०५:५० सोमबार

अक्षर