कला

बैँसको प्रेम

लघुकथा

    १)बैँसको प्रेम

 शर्मिला सोह्र वर्ष मात्र पुगेकी थिई तर उसको चन्चलता उमेरभन्दा बढी थियो । छरछिमेकका जुनसुकै उमेरका केटाहरूसँग उत्ताउलो भएर कुरा गरेको देखेर उसको बुवा भोलाले भन्ने गर्दथ्यो–“हेर, शर्मिला ! तँ यसरी जोसँग पनि छिलिएर नबोल् त । धेरैजसो केटा मान्छेको बानी भँमराको जस्तो हुन्छ । रस चुस्यो अनि फूललाई छोडेर हिड्यो । तेरो यस्तै बानी रहने हो भने, म सिपाहीसँग तेरो बिहे गराइदिन बाध्य हुने छु ।” 

भोलाको यस्ता कुरालाई उसले एक कानले सुनेर अर्को कानले उडाउँथी । अठार वर्षसम्म थामेर राख्न उसलाई धौधौ भयो । अठार वर्ष पार गर्नासाथ सिपाही खोजेर बिहे गराइदियो ।

ज्वाइँले छोरीलाई सन्तुष्ट पारेका छन् भन्ने कुरामा ऊ ढुक्क थियो । केही समयपछि ज्वाइँको छ महिनाको लागि दुर्गम जिल्लामा सरुवा भयो । उसले “छोरीको पीर गर्नु पर्दैन” भनेर ज्वाइँलाई बिदा गरिदियो । “ज्वाइँ नआउँदासम्म छोरी तिमी माइतैमा बस्नु नि” भनेको कुरालाई शर्मिलाले मानिन । ऊ त्यहीँ डेरामा बसी । उसले पनि छोरीले माइतमा बसेरभन्दा आफ्नै घरमा गरेर खाएको ठीक हो भन्ने सोच्यो।

एकदुई महिनासम्म त शर्मिलाको चाला ठिकै पाएको थियो भोलाले । तर, तेस्रो महिनामा छोरी अर्कैसँग पोइल गएको थाहै पाएन । ऊ त्यस्तोसँग पोइल गई जो उमेरले ऊभन्दा दोब्बर र जसका अगाडि नै तीनवटी स्वास्नी र छजना छोराछोरी थिए ।  यो घटना थाहा पाएपछि भोलाले लाज मानी गाउँघरमा आउन जान एकदमै कम गरयो । गाउँलेले चाहिँ यस्तो भन्न थाले – “भोलाले छछ महिना बाहिर गएर बस्नेसँग, चञ्चले छोरीको बिहे गराएर ठूलो गल्ती गरयो । उसले त चखेवाको जोडीजस्तो सधैँ साथ दिने केटा पो खोजेर बिहे गराइदिनु पथ्र्याे ।”  

 

२) फैसला

रावणले धर्तीमा फेरि अवतरण ग¥यो । पहिला रामले आफूलाई मारेको सम्झी–सम्झी, उसले ‘राम’ नाम गरेका सबैलाई निर्ममतापूर्वक मार्न थाल्यो । सीताको कारण आफूले अकालमै ज्यान गुमाउनुपरेको सम्झेर उसले ‘सीता’ नामका स्त्रीहरूलाई बलात्कार गर्न थाल्यो । वृद्घ, वयस्क, बालिका कसैलाई छोडेन ।

मान्छेहरू यो नयाँ आतङ्कदेखि डराउन थाले । विशेष गरी ‘राम’ र ‘सीता’ नाम गरेका मान्छेहरू बढी त्रसित भएर सतर्क हुन थाले । पुलिसहरूलाई यस्तो अपराध गर्ने मान्छेलाई पक्रिन नसकेर बडो चिन्ता भइरहेको थियो ।  

एक दिन घाममा तेल लगाएर सीता नाम गरेकी तीन महिने बालिकालाई आँगनमा सुताइएको थियो । बाहिर कोही नदेखेर उसले जबर्जस्ती गर्न थाल्यो । बालिका पीडाले चिच्याउन थाली । के भयो भनेर घरभित्रका मान्छे बाहिर निस्केर हेर्दा उसले गर्दै गरेको कु—कृत्यलाई देखे ।

   ‘‘गुहार’’!, ‘‘गुहार’’!  

आवाज सुनेपछि ऊ भाग्न थाल्यो । घरका मान्छे र छिमेकका केही युवाले त्यसको पिछा गरे । आधा घण्टा जति खेदेपछि त्यसलाई पक्रिए । पक्रिएपछि रगत छाद्ने गरी पिट्दै पुलिसलाई बुझाए।

मान्छेहरूले उसलाई मृत्युदण्ड दिनुपर्छ भनेर सडकमा नारा लाए । पुलिसले अदालत लग्यो । पैसाका लागि वकिलहरूले उसको पक्षमा वकालत गरे । मुद्दाको फैसला भइसकेको थिएन ।  अखबारहरूमा पनि उसको मुद्दालाई प्रभाव पार्ने गरी मानव अधिकारवादीहरूको लेख छापिन थाले । दुईचार वर्षसम्म यो तातो बहस भइरह्यो । सेलाएपछि मात्रै यसको फैसला भयो । फैसला सुनेर रावण अत्यन्त खुसी भएर हाँस्यो —   ‘‘हाहा ! मान्छेहरूले रावणलाई पनि मान्छे नै देखे । रामको पूजा गर्ने देशमा रावण आज जीवितै छ । हाहा ! 

अपराधी मारेर अपराधी पो मर्छ, अपराधचाहिँ मर्दैन रे । त्यही भएर मार्नु हुन्न रे । नेपाली धेरै कुरामा गरीब भए पनि जीवन दान दिने मामलामा धनी छ रे । रावणै भए पनि उसलाई राम बन्ने मौका दिनुपर्छ रे ।

   जनावरलाई टोक्ने किर्नालाई मारेर किर्ना पो मर्छ । त्यसको टोकाइ मर्दैन रे ।

 किर्नाले पनि घाँस खानुपर्छ भनेर जीवित छोड्ने मान्छे हो !

   हाहा ! हेर्दै जाओ । म अब राम बन्ने होइन, कतिराम बन्न खोज्नेलाई चाहिँ रावण बनाउँछु । हा !हा !’’

   उसको कुरा सुन्नेहरूले भन्न थाले — ‘‘यो त फैसला सुनेर बौलायो ।’’  

  ३) विश्वास 

धेरैलाई विश्वास छ ऊमाथि । उसलाई भेट्न मान्छे लाइन लागेर बस्दछन् । फलफूल, चामल, मनग्गे भेटी र धूप अक्षता उसलाई कोसेलीस्वरूप दिन्छन् । ऊ खुसीसाथ लिन्छ । मान्छेहरूलाई आफ्नो मूल मन्त्र भट्याएर सुनाउँछ । सबै कान ठाडोठाडो पारेर सुन्छन् । उसलाई आदर गर्छन्, सम्मान गर्छन् । यही काम गरेर उसले छोरालाई पढाउन अमेरिका पठायो । छोरीलाई नर्स बनाएर काम गर्न अस्टे«लिया पठायो । यहाँ तीन तले आलिशान महल बनायो । ऊ बनझाँक्री हो । उसले ‘भुतप्रेत, पिचास, बोक्सी, डङ्किनी छ’ भनेर मान्छेको अन्धविश्वासलाई बढवा दिन्छ। 

अर्कोको चाहिँ कुरा धेरैले सुन्दैनन् । धेरैले गन्दैनन् पनि । एउटा झोला भिरेर हिँड्छ । हातमुख जोड्न धौधौ पर्दछ । छोराछोरीको पेट सारङ्गीजस्तो हुँदा पनि पीर गर्दैन । जहानको छुराजस्तो कुरालाई हाँसेर उडाउँछ । ऊ कवि हो । उसले “भूत, प्रेत, पिचास, बोक्सी, डङ्किनी छैन; यो भ्रम मात्रै हो” भनेर भन्दा मान्छेहरू ‘मनगढन्ते माग्ने कवि’ भन्दछन् ।

पाँच सय वर्षपछि, उपर्युक्त कथाका हरफहरू पढेर जुम्लाको एउटा बाह्र वर्षे बालक खिस्स हाँस्दै भन्छ —  “पैलापैला त कविभन्दा झाँक्र्रीको भाउ पो महँगो रैछ, गाइजं (गाँठे) !”

४) सुस्त मनोनयन 

 

कक्षा आठमा स्वास्थ्य शिक्षाको पढाइ भइरहेको थियो । गुरुले पढाउँदै थिए –  “क्यान्सर रोग नसर्ने रोग हो ।”  

  मोमिलाले ध्यान दिएर सुनी । आजको पाठ उसले राम्रोसँग बुझी ।  

  बेलुका घर फर्की । घर फर्कदा हजुरबाले टेलिभिजनमा समाचार हेर्दै रहेछन् । समाचारले भन्दै थियो —

  “प्रधानमन्त्री क्यान्सर परीक्षण गराउन विदेश प्रस्थान ।”

भोलिपल्ट विहान उसको घरमा दैनिक पत्रिका आयो । पत्रिकाको मुखपृष्ठमा लेखिएको थियो –

 “प्रधानमन्त्रीलाई लागेको क्यान्सर रोग देशका प्रमुख आयोगहरूलाई पनि स¥यो ।”

त्यसै हेडिङको मुनी बाँकी समाचार यस्तो थियो — “प्रधानमन्त्रीलाई क्यान्सर लागेकाले महत्वपूर्ण निकायहरूमा पदाधिकारीहरू मनोनयन हुन नसकी ती निकायहरू पनि क्यान्सर लागेजस्तै भएका छन् । यस्तो मनोनयनमा ढिलाइ विगतका सरकारहरूले पनि गर्ने गर्दथे । यस पटक त सत्ता साझेदार ठूला दलका प्रमुखहरू नै विरामी भएका छन् । उनीहरू पनि पालैपालो उपचार गराउन विदेशिएकाले संवेदनशील पदहरूमा समेत मनोनयन हुन सकेका छैनन् । 

हुन त मुलुकमा पनि अस्पताल नभएका होइनन् । तर भन्नेहरू भन्छन्; नेताहरू विदेशी डाक्टरसँग सल्लाह लिएर मात्रै पदाधिकारी मनोनयन गर्छन् रे ।”  

  मोमिलाले पूरै पढिनँ । पढेको भए पनि उसको दिमागले त्यति नै बुझ्थ्यो, जति हेडिङमा थियो । ऊ अब दुबिधामा परी । परीक्षामा क्यान्सर रोगको बारेमा सोध्यो भन,े “सर्छ भनेर लेख्ने कि सर्दैन भनेर लेख्ने” उसले ठम्याउन सकिन । 

   ५) नाम मात्रैको नारी दिवस

    “महिलाको हकहित सुरक्षित गर ! अहिले तेत्तीस प्रतिशत मात्रै आरक्षण छ । अब पचास प्रतिशत गर ! लैङ्गिक समताको ग्यारेन्टी गर ! महिला सशक्तीकरणको लागि अरबौंको बजेट निकासा गर !”

   आफ्नी मालिकनीले चिच्याई–चिच्याई गोष्ठीहरूमा यस्ता नारा बोलेकी देखेर चन्द्रकला दङ्ग परेर हेर्दथी । ऊ पिछडिएको गाउँबाट काम खोज्न काठमाडौं आएकी थिई । काठमाडौं आउने उसको रहर नभएर बाध्यता थियो । 

गएको तीन वर्षमा पालैपालो उसको जीवनमा धान्नै नसकिने गरी दुःखको हिँउ परेको थियो । पहिलो वर्ष उसकी हजुरआमालाई गाउँलेहरूले बोक्सीको आरोप लगाएर लछारपछार पार्दै मलमूत्र कोच्याइदिएका थिए । त्यसैको तीन महिनामा हजुरआमाको मृत्यु भयो । दोस्रो वर्षमा उसकी भाउजूले अकालमा ज्यान गुमाउनुपरयो । कलिलो उमेरमै बिहे र कुपोषण त्यसको प्रमुख कारण थियो । तेस्रो वर्षमा ऊ आफै छाउपडीको शिकार भई । जङ्गल नजिकको छाप्रोमा उसलाई बलात्कारको डर थियो, तर उसलाई सर्पले डसेको थियो । समयमै अस्पताल पुग्न सकेकाले उसको ज्यान बच्यो ।  

 काठमाडौंमा आएपछि भाग्यवश उसले महिला  अधिकारकर्मीको  घरमा नोकरी पाई । साधारण लेखपढ गरेकी उसले घरधन्दा र पाहुनाको सत्कार गर्दथी । घरमा आएका ठूलाबडाले गरेका वार्तालाप सुनेर उसमा पनि केही चेतना आएको थियो । त्यसपछि उसले पनि आसा गर्न थाली । सुनेकी थिई, महिलाको नाममा धेरै बजेट निकास हुन्छ रे ।  उसले पिछडिएको क्षेत्रमा खास काम होला, मान्छेमा चेतना बढ्ला, बोक्सी र छाउपडी जस्ता प्रथा हट्लान् भन्ने सोचेकी थिई ।

महिनाको चक्र घुम्दैघुम्दै मार्च ८ आयो । यतिबेला उसकी मालिकनी लगायत अरूले पनि उही अरबौँ बजेट निकासा गर, आरक्षण बढाऊ आदि जस्ता नारा मात्रै, घोकेर कण्ठ पारेजस्तो गरी सुनाउन थाले । त्यो पनि महङ्गो होटेल र रेष्टुरेन्टहरूमा ।  

तर उसको जस्तो पिछडिएको गाउँका महिलाहरूको चेतना बढाउनलाई, अन्तराष्ट्रिय महिला दिवसको सन्दर्भ पारेर एकदिनको लागि भए पनि, न कसैले एक रुपियाँ मात्रै भए पनि खर्च गर्ने कुरा गरे, न त त्यस्तो क्षेत्रमा गएर एक मिनेट समय नै दिए ।  

 (‘देशको खोजी’ मा लघुकथा संग्रहबाट !)

प्रकाशित: २३ फाल्गुन २०७७ ०६:५३ आइतबार

अक्षर