कला

आदर्श

लघुकथा

ऊ एकदम कट्टर आदर्शवादी । एउटा नारीवादी एनजिओको हर्ताकर्ता थियो । एउटा गोष्ठीमा प्रवचन दिँदै भन्यो– नारीहरू आधा आकाश हुन् ।  पुरुषहरूको प्रगति र उन्नतिमा एउटा नारीको अहम् भूमिका हुन्छ । जहाँ नारीको सम्मान हुँदैन त्यो घर नरक समान हुन्छ।

नारी शक्तिको दमदार विचार गोष्ठी समापनपछि ऊ एउटा रेस्टुरेन्टमा पस्यो र मदिराको चुस्की लगाउन थाल्यो । सधैँ पिउनेभन्दा अलि धेरै पिएर ऊ लरखराउँदै घरमा पुग्यो र ढोका ढकढक्याउन थाल्यो ।

भित्र श्रीमती उसको प्रतीक्षामा व्यग्र थिइन् । दौडेर ढोकाको छेस्किन खोल्दै श्रीमानलाई हातले समातेर सोफामा आरामसँग बसालिन् । लुगा – मोजा खोल्दै श्रीमान् लाई सम्झाउन थालिन्–  यसरी धेरै पिउनु हुँदैन हजुर । आफ्नो स्वास्थ्य र यो समाजको पनि ख्याल त गर्नुस् ।

श्रीमान् बरबराउन थाल्यो – तँजस्तो अनपढले मलाई सम्झाउने ! सोसाइटीमा भिज्न केके पिउनुपर्छ र केके बोल्नुपर्छ,  तँजस्ती पाखे मूर्ख आइमाईलाई के थाहा !

ऊ मुखभरिको गालीहरू बर्साउँदै गयो । श्रीमती बरर आँसु झार्दै थिइन ।

प्रकाशित: २२ फाल्गुन २०७७ ०५:४४ शनिबार

अक्षर