कला

आफ्नै ठाउँको आफ्नै कला

मोरङको पथरी–शनिश्चरे बजारसँग टाँसिएको अलि पातलो सामुदायिक वन, जो शान्ति भुल्के सिमसार क्षेत्र नामले परिचित छ, यही स्थानमा ‘जलरङ महोत्सव–२०७७’ को आयोजना भयो। नेपालभरका बगुन्द्रो जलरङका कला–साधक अनि म पनि गोष्ठीको प्रस्तोताका रूपमा यहाँ आइपुगेको छु। विषय पनि गहन राखिएको छ– नेपाली चित्रकलाको इतिहास अनि वर्तमान अवस्था।  

दिनभरि रङहरूसँग खेल्दाखेल्दै अलि थाकेजस्तो भएपछि, वा झमक्क साँझ परेपछि अगेनाकोे चारैतिर बसी कलाबारे चर्चा हुँदा रमाइलो अनुभूति हुन्छ, भयो पनि त्यस्तै। यसैबेला नेपाली चित्रकलाको सांगो–पांगो इतिहास र यसैको सेरोफेरोमा पुर्पक्ष भयो। भावकका जिज्ञासा, वर्तमान कलाको विविध विधामा विभाजित कलाको प्रकृतिमा भएको बहस पनि रमाइलै भयो। यहाँ देखिएको विविध कलाको प्रकृतिमा अलि तल व्याख्या गरौँला।

नेपालमा खुला प्रकृतिमा गएर दृश्यचित्र अंकन गर्ने प्रक्रिया सन् ६० को दशकको उत्तराद्र्धमै सुरु भयो। विशेषगरी जब कलाकार रामानन्द जोशीले भारत मुम्बईको जेजे स्कुल अफ आर्टबाट कला अध्ययन गरेर नेपाल फर्के, तत्पश्चात् उनी नेपालका गाउँ–गाउँ गएर दृश्यचित्र अंकन गर्न थालेको देखिन्छ।  

ग्रन्थचित्रबाट नेपालको चित्रकला इतिहास सुरु भएको मानिन्छ। सातौँ शताब्दीको उत्तरार्धतिर ग्रन्थको र १०औँ वा ११औँ शताब्दीदेखि अनवरत रूपमा विकास भएको ग्रन्थचित्रलाई चित्रकलाको शुभारम्भ कालका रूपमा लिने गरिन्छ। तथापि आज चित्र आफैँ एउटा बलियो पात्रका रूपमा विकास भई कतै कोल्याबोरेटिभ आर्ट, प्रोजेक्ट आर्ट, कतै कन्सेप्चुअल आर्टका रूपमा देखापर्न थालेको छ। आजका युवा कलाकारले चित्रलाई भित्तामा टाँसिसकेपछि भुइँ, भित्ता र वरिपरि अनेकौँ वस्तुलाई गाँसेर समग्रमा कला बनाउने गर्छन्। सम्भवतः चित्रकलाको आफ्नै विशेष पहिचानलाई पुनव्र्याख्याका साथ प्रयोग गर्नु केवल प्रयोग होइन, समय–सान्दर्भिक पनि हो। यसो भनेर सबै चित्रकारले यसै गर्छन् भन्ने होइन। अहिले पनि प्रकृति र मान्छेका अनुहारलाई दुरुस्तै बनाउने यथार्थवादी चित्रकार पनि बग्रेल्ती छन्। उहिले कमिसन वर्कका रूपमा यस्ता चित्र बढी बनाइन्थ्यो, आज सिर्जनशील रूपमा ज्यादा देखिन थालेको छ।  

किंवदन्तीमा यो चित्रकलाको इतिहासलाई किरातकालसम्म तान्ने प्रचलन छ। यसपछि लिच्छवि वंशका सातौँ शताब्दीका राजा नरेन्द्रदेवसम्म जोड्ने पनि गरिन्छ। तथापि दशौँ शताब्दीमा लेखिएको प्रज्ञापरमिता ग्र्रन्थचित्र नै भौतिक रूपमै साक्षीका रूपमा प्राप्त भयो। यसैले चित्रकलाको इतिहासलाई आधिकारिक रूपमा यसभन्दा अगाडि तान्न सकिने अवस्था अब रहेन। मूर्तिकलामा भने काठमाडौंको हाँडीगाउँमा जयबर्माको मूर्ति पाइएपछि नेपालको कला इतिहासलाई इसाको दोस्रो शताब्दीसम्म तान्न सकिन्छ।  

पथरीमा रमाउँदै कलाकार  

थुप्रै मान्छेको भीडमा पनि शान्त देखिन्छ, पथरीको यो पर्यटक क्षेत्र। साह्रै रमाइलो छ– साना–ठूला सुरिला रूखले घेरिएको वन, बीचबीचमा लामो गरी लमतन्न सुतेको भाँती देखिने जलकुण्ड, वरिपरि र अलि टाढाबाट आउने स्वदेशी पर्यटकका लागि पिकनिक क्षेत्रजस्तो स्थान, केटाकेटीका लागि रमाउने वातावण र खेल्न मिल्ने अनेकौँ उपकरण।  

यही जंगलमाझ चित्रकलासम्बन्धी कार्यक्रम भएकाले यहाँ वरपर छरिएर दृश्यचित्र बनाउन व्यस्त देखिन्थे कलाकारहरू। कति कलाकार स्थानीय प्रबुद्ध व्यक्तिको व्यक्ति–चित्र बनाउन तल्लिन पनि देखिन्थे। दर्शक र विद्यार्थी कलाकारका लागि यी र यस्तै डेमो आकर्षण मात्र होइन, सिकाइको सन्दर्भमा महत्वका साथ देखापरेको थियो। कति विद्यार्थी कलाकारले जलरङका दृश्यचित्र वा व्यक्तिचित्र बनाउने विधि र प्रविधिलाई गौरले हेरी–हेरी सिकिरहेको देखिन्थ्यो, आफैँ गरिरहेको पनि देखिन्थ्यो।  

भित्तामा झुन्डिएका तयार चित्र मात्र हेर्ने बानी परेका भावकका लागि कलाचाहिँ कसरी बन्दो रहेछ, यसलाई प्रत्यक्ष अवलोकन गर्ने अवसर जुरेको थियो। घुम्न आउने थुप्रै भावक, स्थानीय साहित्य, संगीत वा कला–विधाका सर्जक अनि राजनीतिक व्यक्ति वा सबैजसोको ठूलो भीडले कलाकारलाई घेरिरहेको परिदृश्य साँच्चिकै रमणीय देखिन्थ्यो। जलरङका सिद्धहस्त चित्रकार एनबी गुरुङ, डी राम पाल्पाली, दीपेन्द्रमान बनेपाली, राजेन्द्रप्रसाद याकर्मी, आँसुराम खायजु, डी. बराल, डिबी याम्फू, डिल्लीकृष्ण आले, प्रनोद दत्त, हरिलाल उदास, शिव छाड्छा राई, महेन्द्र राई, डा. बिजुकुमार थपलिया, युवराज रिजाल, जयप्रकाश चौधरी, उद्वव गुरुङ आदि र अनेकौँ स्थानीय कलाकार, विद्यार्थी कलाकार जम्मा भएर कला सिर्जनामा संलग्न भएका छन्। स्थानीय विशिष्ट व्यक्तिको मुहार–चित्र तत्कालै बनाउने कलाकारको उपक्रम पनि अझ चाखलाग्दो हुन गएको छ।  

यसै कार्यक्रमको अर्को पाटोको रूपमा विराट राजाको भग्नावशेष स्थल भेडियारीमा यस्तै कार्यक्रम गर्ने योजना छ। यसर्थ पुनः सबै कलाकार यहाँ जम्मा भएका छन्। सार्वजनिक बाटो नभएको यो गाउँ भेडियारी, उसबेला विराट राजाको जाज्वल्यमान दरबार थियो होला, आज मात्र सानो ढिस्को देखिन्छ। सम्भवतः त्यो ढिस्कोभित्र दरबारसँग सम्बन्धित अनेकौँ कलात्मक वस्तु होलान् ! यस्तै अनेकौँ आशा स्थानीयवासीले पनि राखेका छन्, तथापि २०२७ सालमा यसको उत्खनन भएको थियो। यसपछि उत्खननको कुरा हराएर गयो। अब बल्ल यसतर्फ ध्यान जान खोजेको देखिन्छ। त्यसबेला केही पुरातात्विक वस्तु पनि प्राप्त भएका थिए। यसलाई संकलन गरी एउटा नजिकैको घरमा दशनार्थ प्रदर्शित छन्, कलाप्रेमीले हेर्न सक्छन्। तथापि यसको अधिकारिकतामाथि अभिलेखन भएको पाइँदैन। यसको इतिहासलाई पनि उचित तवरले राख्न कला र कलाकारलाई संलग्न गराउने प्रयास कम भएको देखिन्छ। हुन त उत्खननका बेला यहाँ वास्तुकलाको रूप पनि देखापरेको थियो। अहिले यो माटोले पुरिएको छ। भविष्यमा यस वरिपरिको क्षेत्रलाई अधिकरण गरी विराट राजाको यो नगरलाई पर्यटनका लागि आकर्षकको स्थल बनाउने योजना ठूलै देखिन्छ।  

यहाँ यी कलाकारबाट भविष्यमा बन्ने भनेर योजना बनेको विराट राजाको दरबारको काल्पनिक चित्र बनाउनु थियो। सबैजसो कलाकारको मन–मस्तिष्कमा यसबारे सिर्जनाको प्रारूप रहे पनि भौतिक रूपमा बनिहाल्ने अवस्था सिर्जना भएन। तत्काल कसैको चित्र पूरा हुन नसक्नुले कार्यक्रमको केही अन्योल पनि देखियो। तथापि कलाकारले घरबाटै सिर्जना गर्ने, अनि पछि यसको बारेमा एक अलग्गै कार्यक्रम गर्ने सोच आयोजकको हुँदा यसलाई सकारात्मक रूपमै लिनुपर्ने हुन्छ। यसबारे औपचारिक र अनौपचारिक रूपमा यथेष्ट चर्चा–परिचर्चा पनि भयो।  

मूलतः स्थानीय चित्रकार सरोजा खड्कीको सक्रियतामा यहाँ एक ललितकला सम्बन्धी ‘एभरेस्ट आर्ट फ्युजन’ नामक संस्थाको गठन भएको छ। यही संस्थाको सक्रियतामा यी कार्यक्रमको आयोजना भइरहेको हो। यही संस्थाले कलामा योगदान गर्ने कलाकारलाई पुरस्कार दिएर सम्मान पनि गर्ने गरेको छ। ‘विष्णु–मीना ललित कला’ पुरस्कार यसपल्ट स्थानीय कलाकार ध्रुवनारायण डंगोललाई प्रदान गरियो। सरोजा खड्कीले आफ्नो बुवा–आमाको नाममा राख्नुभएको यो पुरस्कारको यो चौथो संस्करण हो। यसअघि गोपाल कलाप्रेमी, स्वयं प्रकाश श्रेष्ठ, रूद तुम्सेकले यो पुरस्कार प्राप्त गरिसकेका छन्। उनैको सक्रियतामा स्थानीय पञ्चायत माविको प्लस टुमा ललितकला अध्ययन गर्न पाउने अवसर पनि जुरेको छ। काठमाडौं र भर्खरै पोखरामा खुलेको बाहेक यता पूर्वतिर औपचारिक ललितकला अध्ययनसम्बन्धी यो पहिलो स्कुल हो। मोफसलमा यस्ता औपचारिक कलाका स्कुल, कलेज र क्याम्पस नहँुदा विश्वमा उदय भइरहेका नौलो कलाबारे अनभिज्ञता हुने, कलाको प्रवृत्ति र प्रविधिबारे थाहा नहुने र सक्षम कलाकार पनि आफ्ना कलालाई तिखार्न अनुकूल वातावरण नपाउने अवस्था थियो। कमसे कम यो अवस्थालाई सुधार्न पनि यस प्रकारका कला स्कुलले राम्रो वातावरण बनाउन सक्छन् भन्ने आशा गर्न सकिन्छ।  

आफ्नै ठाउँको आफ्नै कला

गएका केही वर्षदेखि मोफसल पनि कलाका कार्यक्रमले तातेको देखिन्छ। अहिले विराटनगरमा बाहिर खुला ठाउँमै भए पनि एक स्थानीय कलाकारको कला–प्रदर्शनी भएको छ। यहाँको बूढानीलकण्ठ स्कुलको प्रांगणमा इजलमाथि प्रदर्शित चित्र नियाल्न त्यहाँ सरस्वती पूजा मनाउन जम्मा भएका विद्यार्थी, शिक्षक–शिक्षिका लगायत आम दर्शकका लागि सुवर्ण मौका भयो भन्नुपर्छ। हुलमुलमा जताततै छरिएर रहेका कलाकारका चित्र हराएका जस्ता देखिएका छन्। तापनि परोक्ष रूपमा दर्शकले कलाको रस स्वादन गरिरहेकै देखिन्थ्यो। यो कला प्रदर्शनीमा यस भेगका चित्रकार छितेन शेर्पा, तुलसी श्रेष्ठ, उद्वव गुरुङ, युवराज रिजाल, ध्रुव डंगोल, यशोधा लम्साल, सरोजा खड्की, एससी सुमन, सुशील राई, अनुराधा थापा, भरत डंगोल, भरत तामाङ, भीम पुरी, विनोद राजवंशी, विष्णु थापा, दीपनारायण चौधरी, धिरज राई, दिल्लीकृष्ण आले, गणेश लामा, गोपाल कलाप्रेमी, गौरव सवीन, हरिलाल उदास, कृति श्रेष्ठ, लेख मगर, नवीन राई, निर्मला चौधरी, प्रनोद दत्त, रवीन चौधरी, रानी खड्काका चित्र राखिएका थिए। यसै वेला थोरै कलाकार भेला भएर सानो छलफल, समीक्षाको कार्यक्रम पनि भयो। कलालाई गरिनुपर्ने चिरफारको सन्दर्भ राचेक बन्यो।  

चितवनमा अझ सक्रिय रूपमा रहेको ‘हामी कलाकार, कलावती आर्ट काउन्सिल नामक’ कलाको समूह र ग्यालरी पनि छ। अहिले यसैबेला चितवन गैँडाकोटमा ‘संयोजन’ नाममा सामूहिक कला प्रदर्शनी भइरहेको छ। स्थानीय कलाकार गोविन्दराज विनोदी, भीमप्रसाद शर्मा, प्र्रकाश थापा, सुलभ पौड्याल, वरुण बाबु घिमिरे, दामोदर बराल, सुशील गुरुङ, मिलन गुरुङ, सन्तोष श्रेष्ठ, तीर्थ पाण्डे, टीकाराम मानन्धर आदिका कला प्रदर्शनार्थ त्यहाँ राखिएका छन्। खाली भएको एउटा ठूला हललाई कला ग्यालरीको रूपमा विकसित गरी ‘किसान ग्यालरी’को पनि स्थापना भएको छ। यही भर्खरै खुलेकोे किसान ग्यालरीमा स्थानीय कलाकारको कलाकृति प्रदर्शित छन्। यसै वेला चितवन गैँडाकोटमा एउटा आस्था प्रस्तर मूर्तिकलाको कार्यशाला पनि भइरहेको छ।  

यी र यस्तै कार्यक्रममा नेपाल ललित कला प्रज्ञा प्रतिष्ठान र स्थानीय नगरपालिकाको पनि संलग्नता देखिन्छ। यसरी कलामा आम समुदायको चासोले गर्दा मोफसलमा कला जागेको देखिन्छ। पूर्वमा ‘एभरेस्ट आर्ट फ्युजन’बाहेक विराटनगरमा ‘ललितकला संगम’ र ‘भोग इन्टेरियर’ छ। झापामा ‘देही आर्ट’, धरानमा युवा कला केन्द्र, चितवनको ‘हामी कलाकार’, ‘किसान ग्यालरी’ आदि अहिले मोफसलमा सक्रिय देखिन्छन्। हरेकजसो ठाउँमा अहिले सक्रिय कलाकार देखिन थालेका छन्। यसले मोफसलको पूर्वी र मध्यक्षेत्र जागेकै देखिन्छ।

खुला प्रकृतिमा चित्र–अंकन  

नेपालमा खुला प्रकृतिमा गएर दृश्यचित्र अंकन गर्ने प्रक्रिया सन् ६० को दशकको उत्तराद्र्धमै सुरु भयो। विशेषगरी जब कलाकार रामानन्द जोशीले भारत मुम्बईको जेजे स्कुल अफ आर्टबाट कला अध्ययन गरेर नेपाल फर्के, तत्पश्चात् उनी नेपालका गाउँ–गाउँ गएर दृश्यचित्र अंकन गर्न थालेको देखिन्छ। सम्भवतः मुम्बईमा त्यसबखत यस्तो प्रचलन यथेष्ट मात्रामा भएको हुनुपर्छ। यसपछि उनले पार्क ग्यालरी खोले। कलाको कोचिङ कक्षा खोले। यस्ता चित्रलाई प्रदर्शन गर्न थाले। यसैलाई संस्थागत गर्न अनेकौँ कार्यक्रम पनि गरे। यसलाई उनले मृत्युपर्यन्त निरन्तरता दिइरहे। यसपछि भने बाहिर गई यस प्रकारको चित्रांकन गर्ने परम्परा औधि द्रूत गतिमा बढेको देखिन्छ। यसरी अगाडि बढेको यो संस्कार ८०को दशकमा आइपुग्दा सम्भवतः सबैजसो कलाकारले जीवनमा एकपल्ट भए पनि बाहिर गई खुला हावामा कलाको निर्माण गरेका छन्। अहिले पनि कलालाई वर्गीकरण गर्दा स्टुडियो आर्ट भनेर कोठाभित्र गरिने कलालाई सम्बोधन गर्ने प्रचलन छ।  

बाहिर गई कला सिर्जना गर्नुले खास अर्थ राख्छ। कलाका स्कुलमा पनि यो विधालाई अनिवार्यता गरियो। कलाका स्कुलमा औपचारिक रूपमा यसलाई कति अवलम्बन गरियो वा गरिएन, यो एउटा अलग्ग प्रश्न छ। तर, ती कलाकारबाहिर गएर यस्ता कलालाई सिर्जना गर्ने क्रम भने बढेर गयो। यस वेला हरेकजसो कलाकार यसो कतै घुम्न जाँदा पनि ह्यान्डमेड पेपरको सानो प्याड, रङ–ब्रस बोकेर जाने गर्दथे। यो क्रम काठमाडौं उपत्यकाभित्र मात्र होइन, बाहिरी जिल्लामा पनि प्रचलनमा आएको थियो। पोखरा पर्यटकको केन्द्र भएकाले त्यहाँ बढी मात्रामा देखाप¥यो। तथापि विराटनगर र धरानमा समेत स्व–दीक्षित कलाकार समेत यस्ता चित्र बनाउने गर्थे। पछि यो परम्परा हराउँदै गयो। यसपछि अचानक केही वर्षअगाडि कलाकार रतन राईको सक्रियतामा एउटा जलरङ चित्रकलासम्बन्धी संस्थाको स्थापना भयो। यसले निकै वटा गतिला जलरङका चित्रकला प्रदर्शनी ग¥यो। अहिले यसैलाई अझ गति दिन एनबी गुरुङको अगुवाइमा आइडब्ल्युएस खुलेको छ। जसले जलरंगी दृश्यचित्र कलालाई ठूलै उचाइमा पु¥याएको मान्नुपर्छ।  

विश्व कलाको इतिहासमा भने यसलाई प्रभाववादी आन्दोलनसँग जोडेर हेर्ने गरिन्छ। प्रभाववादीहरू यथार्थवादी चित्रभन्दा अलग्ग प्रकारले कलाको सिर्जना गर्न चाहन्थे। ओपन एयरको यो आन्दोलनको खास विशेषता भनेको स्टुडियो कलाभन्दा अलग हुनु थियो। दृश्यावलोकनका वेला नै अलग्ग देखिनु यसको मूल लक्ष्य थियो। कलाकारले प्रकृतिमा अवस्थित कुनै पनि वस्तुमा प्रकाश परेपछि यसले ल्याउने प्रभाव र अलग्ग देखिएको परिदृश्यलाई चित्रित गर्न चाहन्थे, त्यस बखतको क्षणिक उत्पन्न भएको वातावरणलाई टिप्न चाहन्थे। एकै ठाउँ वा वस्तुको पनि बिहान, दिउँसो र साँझमा भिन्दाभिन्दै प्रभाव परी अगलअगल चित्र तयार हुन्छ। यसो हुँदा यस वेला विषयवस्तु मूल कुरा रहेन।चाँडो चाँडो प्रकाशको प्रभाव फेरिइरहने हुँदा द्रूत गतिमा तुलिका सञ्चालन गर्नैपर्ने बाध्यता, आधारभूत रङहरू प्रयोग गर्नैपर्ने (रङहरूलाई मिलाइरहन समय नहुने), हरेक चित्र तुरुन्तै सक्ने प्रक्रिया यसको मूल विशेषता बन्न गएको थियो। यसैले मोटा तुलिकाघात, आधारभूत रङको खण्ड देखिनु यसको स्वभाव बन्न आयो। मूलतः यस्ता चित्र अलि टाढाबाट हेर्दा यी रङ आफैँ मिसिएर सग्लोचित्रको निर्माण हुने गर्दथ्यो।  

यही प्रभाव र पद्धति नेपालमा पनि प्रयोग र अभ्यास हुन थाल्यो। अहिले आएर अलि अलग्ग प्रकारले यस्ता चित्र बन्न थालेको देखिएको छ। प्रकृतिमै गएर चित्र बनाउने भए पनि कलाकार आफूलाई मनपरेको दृश्यलाई मोबाइलले खिचेर यसैलाई हेरीहेरी चित्र बनाउन थालेको देखिन्छ। यसले ‘स्टुडियो आर्ट’जस्तो देखापर्ने प्रकृति पनि यस्ता कलामा देखिन्छ। नयाँ प्रविधिको उपलब्धताले गर्दा कलाकारलाई सजिलो बनाइदिएको छ। तापनि गति, पारदर्शी रङ, बहाव, वास्तविक वातावरण, गहकिला तुलिकाघातको उपस्थिति कम देखिन्छ। यसो भनेर सबैले यसरी मोबाइलको सहारा लिँदैनन्।  

आजको कलालाई हेर्दा  

हेर्दै र अध्ययन गर्दै जाँदा आज नेपाली कलाको अवस्था परम्परागत कला, समसामयिक कला र लोककलामा एउटा अलग्ग पहिचानको अभाव दृष्टिगोचर हुन्छ। आजको कला परिभाषाविहीन अवस्थामा गुज्रेको जस्तो देखिन्छ। आज कला आफ्नो परिधि र नीति–नियमभन्दा अलि माथि उफ्रेजस्तो भएर देखापरेको छ। परम्परागत कला मात्र केही हदसम्म एउटा सीमासम्म देखिए पनि विशेष गरेर वैकल्पिक कला सीमाहीन भएर देखापरेको छ। यसलाई अलि गहिरिएर अध्ययन नगरिँदा एउटा निश्चित वर्गबाहेक अन्यले यसलाई अचम्मको कलाका रूपमा हेर्ने गर्छन्। तथापि यस्तै प्रवृत्तिका केही कला वास्तविक रूपमा राम्रा र गहन बनेका पनि छन्। अनुसन्धान र विश्लेषणमा आधिकारिक निकायबाट पहल नहुँदा कतिपय कलाको परिभाषाले सही मान्यता पाएको देखिँदैन। विधागत पहिचानको आधिकारिक परिभाषित–अभिलेख तयार गर्न, यसबारे चिन्तन–मननको संस्कार बसाउन चासो लिएको देखिँदैन। फलस्वरूप यसले अन्योल खडा गरेको र प्रतिकूल असर गरेको राष्ट्रिय कला प्रदर्शनीकै वेला पनि देख्न सकिन्छ। गुणस्तरीय काम गर्ने र स्तरहीन काम गर्नेलाई भागबन्डाको नाममा एउटै डालोमा राख्ने चलन छ। यसलाई मलजल गर्न रमाउनेको जमात पनि ठूलै छ। कलाको एक विधाबाट अर्को विधालाई सम्मान गर्ने चासो हुनुपर्ने हो। तथापि अर्का विधामा संलग्न हुने प्रथाबाट विमुख हुनु नै आजको कलाको मुख्य विशेषता बन्न गएको छ। जसले जुनसुकै विधा, शैली, माध्यम वा प्रवृत्तिमा कला बनाए पनि मूलतः कला एउटै हो भन्ने सत्यतामा हामी अलमलिएजस्तो भएका छौँ। बरु यसैमा हुनैपर्ने गुणात्मताको खोजी, अब्बल रूपमा रहेको कलाको सम्मानको परिपाटी सबैभन्दा विशेष हो। यतापट्टि ध्यान दिन बिर्सिएको जस्तो भएको छ।  

ग्लोबलाइजेसनको प्रभाव तीव्र गतिमा बढेपछि उत्तरआधुनिक प्रवृत्ति नेपाली कलामा प्रशस्तै देखापरेको छ। इन्स्टलेसन, पर्फर्मेन्स, भिडियो आर्ट वा कोल्याबोरेटिभ कलामा थुप्रै युवा कलाकार लागेका छन्। रेसिडेन्सीमा रमाउन र विदेशमा जान पाउने अवसरको रूपमा पनि यसलाई लिन थालिएको छ। यी कलामा नेपालीपन रहनुपर्ने हो वा होइन ? विश्व कलाको परिवेशमा सबै कलाको चरित्र एकै हुन्छ कि ? प्रविधि र शिल्प दक्षता मात्र मापनका सूचक हुन् कि ? योे चासोको विषय भएको देखिँदैन। एकथरीका आजको कला यसरी नै देखापरेको छ। अर्कोतिर, धर्मपण्डित वा धर्मशास्त्रीले व्याख्या र निर्देशन गरिदिएबमोजिम विकसित भएका पौभा र थांका चित्र र मूर्ति पनि छन्। यससँग गाँसिएर कतिपय कलाकारले आफैँ विषयवस्तुको चयन, संयोजन, संगठन गरी आफ्नै सोच र दर्शनमा समसामयिक प्रवृत्तिका कला सिर्जना गरेको पाइन्छ, तर त्यसको लेखाजोखा भएको देखिँदैन। त्यस्तै, गाउँघरतिर परम्परादेखि चल्दै आएको रीतिरिवाज, जात्रा र संस्कारका अवयवसँग गाँसिएर गृहिणीले भित्ता र भुइँमा बनाउँदै आएका लोककला पनि छ। अहिले यस्ता लोककलालाई लिएर आजको समसामयिक सवाललाई मुख्य विषय बनाई कागज वा क्यानभासमा उतारिएको पनि देखिन्छ।  

अर्कोतिर, कलाको शैलीमा उहिलेदेखि प्रचलनमा भइरहेको आधुनिककलाको एक अंशको रूपमा देखापरेको अभिव्यञ्जनावाद वा अमूर्तकला बनाउन ठूलो वर्ग रमाइरहेको देखिन्छ। त्यस्तै, अर्को ठूलो जमात १९औँ शताब्दीमा विकसित दृश्यचित्रलाई थोरै नौलो ढंगबाट प्रस्तुत गर्न लागिपरेका छन्। यस्ता कला तयार गर्न कलाकार गाउँघर डुलेर जनसमुदायसँग नजिक भई उनीहरूलाई कलामा समावेश गरेको पनि देखिन्छ। आज यी विधि शैली र प्रवृत्तिमा कलाको निर्माण हुनु राम्रो हो। तर, यसलाई राम्ररी कसैले समन्वय गर्न नसक्नु खड्केको अवस्था देखिन्छ। वर्षमा एकचोटि राष्ट्रिय कलाको प्रदर्शनी भएका वेला प्रदर्शनको सन्दर्भमा यस्ता विभिन्न कला एक ठाउँमा देखिन्छन्। तर, यसबारे समीक्षा र विश्लेषण हुने गरेकोे देखिँदैन। यो अवस्थाले आजको कला र समग्र नेपाली कलालाई व्याख्या गर्न अलिकता अलमल पर्छ नै।  

(लेखक कलाकार र कला समीक्षक हुन्।) 

प्रकाशित: १५ फाल्गुन २०७७ ०६:४८ शनिबार

आफ्नै ठाउँको आफ्नै कला