कला

सभ्यताको मूलथलो

कविता

नेपालीको उच्च सान शिरको टोपी सगरमाथा,

आँट हिम्मत जगाइदिने इतिहासको वीरगाथा ।

शत्रुसामु  कहिल्यै नि  झुक्नु हुन्न  स्वाभिमान,

रिस राग  द्वेष भाव   लिनु हुन्न  अभिमान ।

 

सुनाखरी, गोदावरी वनपाखामा फुलेका छन्,

लहलह  अन्नबाला खेतभरि झुलेका छन् ।

मयुर र डाँफे चरी पङ्ख फिँजाई नाचेका छन्,

बादलुको घुम्टो खोली अग्ला पर्वत हाँसेका छन् ।

 

परिश्रमी  किसान  जागे  माटोमा  नै सुन फल्छ,

चर्को घामले विचराको नाङ्गो ज्यान त्यसै जल्छ ।

प्रकृतिको  गर्भभित्र  अमूल्य  धन  लुकेका छन्,

खोजी गर्ने हातहरू  एकतामा जुटेका छन् ।

 

रगत र पसिनाको  स्वाद साह्रै मिठो हुन्छ,

शोषणदमन  गर्ने थिति  अप्रिय र  तितो हुन्छ ।

श्रमको पूजा गर्ने बानी विकास गरौँ हाम्रो देशमा,

गर्व गर्न सिकौँ हामी मौलिक आफ्नै प्यारो भेषमा।

 

समृद्धिका फूलहरू फुलाउनलाई  जुट्नुपर्छ,

धेरै सुत्यौ  निद्राबाट  अब हामी उठ्नुपर्छ ।

हिरामोती सुन फल्ने  नेपालको   प्रकृति यो,

सभ्यताको मूलथलो सुन्दर हाम्रो नेपाल हो ।

प्रकाशित: १४ फाल्गुन २०७७ ०९:२१ शुक्रबार

अक्षर