कला

पर्खाल

कविता

पर्खाल छ यहाँ तिमी र म बिच  

पुरानो र नयाँ  

उज्यालो र अँध्यारो  

गाउँ र शहर  

आकाश र भुईं बिच   ।

 

घाम क्षितिज छोडेर ओर्लंदै गर्दा

उतातिर खुल्छ तहतह आकाश

र यतातिर पोखिन्छ निस्पट्ट अध्याँरो

मेरो आकाशमा उदाउँछ खुर्पे चन्द्रमा

र तिम्रो आकाशमा देखिन्छ तेजस्वी सूर्य

एउटै भुईंमा उहीँ समय पोखिन सक्छ अँध्यारो– उज्यालो

एउटै आकाशमा उहीँ समय उदाउन सक्छ घाम– जून  

तर एकैसाथ भेटिन्न यी दुई

पर्खाल छ अँध्यारो र उज्यालो बिच  

पर्खाल छ घाम र जून बिच

पर्खाल छ तिमी र म बिच ।

 

उता गाउँमा डोजर पसेको छ

बेपर्वाह भत्काइरहेछ कुइनेटो, देउराली, चौतारी

भत्काइरहेछ गाउँको दिल, अस्तित्व र सिङ्गो इतिहास

यति नै बेला  

यता शहरमा एउटा पागल छिरेको छ

ऊ यो देशको उच्च आसनमा बसेर  

निसङ्कोच च्यातिरहेछ विश्वासपत्रहरू

टेकिरहेछ निर्दोष मुटुहरू

एउटै समयमा एउटै भूगोलभित्र  

भ्रमसँग साटिरहेछ अस्तित्व

अवरुद्ध छ शहरदेखि गाउँसम्मको बाटो

म गाउँसम्म पुग्न सक्दिन

र गाउँ मसम्म आउन सक्दैन

हेर न एउटै भूगोलभित्र

पर्खाल छ गाउँ र शहर बिच

पर्खाल छ तिमी र म बिच ।

 

आकाशमा बादलहरू फाट्छ र झरी पर्छ

भुईंमा ज्वालामुखी फुट्छ र पहाड उठ्छ

आकाश भुईंसम्म झरेर अँगाल्न सक्दैन भुईंलाई

भुईं आकाशसम्म उठेर  सुम्सुम्याउन सक्दैन आकाशलाई

हेर न एउटै ब्रह्माण्डभित्र  

पर्खाल छ आकाश र भुईं बिच

पर्खाल छ तिमी र म बिच ।

 

पर्खालभित्र र बाहिर

पर्खालभन्दा वर र पर

पर्खालभन्दा तल र माथि

केही त पक्कै छ  

एउटा रहस्यको अग्लो  

पर्खाल छ तिमी र म बिच ।

पर्खालभित्र बाहिर हामी अल्मलिरहेछौँ

पर्खाल वारिपारि  हामी अल्झिरहेछौँ  

पर्खालको रहस्यमा हामी अड्किरहेछौँ ।

हेर न पर्खाल छ यहाँ तिमी र म बिच  

पुरानो र नयाँ  

उज्यालो र अँध्यारो  

गाउँ र शहर  

आकाश र भुईं बिच  

पर्खाल छ तिमी र म बिच ।

प्रकाशित: १४ फाल्गुन २०७७ ०५:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App