कला

कालो आए नि गोरो आए नि गोरु ब्याउँदैन

गजल

कालो आए नि गोरो आए नि गोरु ब्याउँदैन,  

जस –जसले सत्ता समाए  नि गोरु ब्याउँदैन ।

 

बोल्दा मात्र लोकले पाएको लोकतन्त्र मानिन्न,

आँसु पिए नि लड्डु खाए नि गोरु ब्याउँदैन ।

 

युवा झोला बोक्दैमा दंग हुन्छ आजकाल,

बाँकी लास दूधले नुहाए नि गोरु ब्याउँदैन ।

 

जनता रैती तथा माध्यम भए सत्ता चढ्ने,

बाह्र सूर्य स्वयं उदाए नि गोरु ब्याउँदैन ।

 

यात्रीको यात्रा खुट्टी देख्दैमा पत्ता चल्दछ,

रोकिन्छौ कतै लौरो समाए नि गोरु ब्याउँदैन ।

प्रकाशित: १२ फाल्गुन २०७७ ०६:४० बुधबार

अक्षर