कला

आमा

कविता

हरेक बिहानीको झुल्के घामसँगै  

विभाजित  आस्थाहरूलाई

सन्धिविहीन सम्झौतामा राखी बिउँताउँछिन्  

छोराछोरीको सपना

पर्खिरहन्छिन् परदेसिएका छोराहरू

धिपधिपे टुकीसँगै हररात

सन्ध्या बिउँताउने बुहारीको  प्रतीक्षामा  

मनभरि असीमित आकाङ्क्षा बोकेर  

आँगनीको डिलमा बसी

उहीँ ‘को खाई, को खाई को ममताले गम्म छोप्दै

बिर्सिएर सारा दुख–पीडालाई

आशा जाग्छ अलिकति  

फर्किन्छन् कि चाडपर्वमा घर सम्झेर भनी

पर्खदापर्खदै थाक्दा

आशा गर्दागर्दै निराशा छाउँदा

शान्त रहन नसक्ने आमाको चञ्चल मन

आफू भोको बसेर  

पेटभरि पिलाउने

सुनौला प्रकृतिसँग रम्न सिकाउने

आमा सम्झिन्छिन्

मायाममताले भरिएको  

आमाको न्यानो काख आज रित्तो –रित्तो  छ

मायाममताको कुनै सीमा छैन

निश्चल आमाको मन

सदा हाँस्न सिकाउने

सदा बाँच्न सिकाउने आमा

सानो झुपडीमा आज फेरि तिनै आमा

आँखाहरूमा आँसु  निम्त्याउँदै

बाध्यतामा उभिएछिन् तिनै आमा।

प्रकाशित: १२ फाल्गुन २०७७ ०६:१९ बुधबार

अक्षर