कला

समय

लघुकथा

“हजारौ वर्ष बितिसक्यो ।  संसारमा अनेकौ परिवर्तन भइसके । म भने हलचल नगरी यहीं बसेको बस्यै छु । मेरो जीवन अनर्थ भयो।”  

आफ्नै आडमा बसिरहेको ठूलो ढुङ्गाको वेदनाले नदीको मन कटक्क खायो । उसले ढुङ्गालाई सान्त्वना दियो, “चिन्ता नगर मित्र । हरेक कुराको समय आउँछ । आफ्नो कर्तव्य पूरा गर्दै धैर्य गरी समय पर्खनु पनि महानता हो ।”

प्रत्युत्तरमा ढुङ्गाले भन्यो, “मलाई तिम्रो जीवन देखेर लोभ लाग्छ । तिमीजस्तै रूप फेर्दै  हिमालदेखि समुद्रसम्म विचरण गर्न मन लाग्छ । सबैका जीवनको आधार बन्न मन लाग्छ ।”

नदीले भन्योे, “सबैलाई आफ्नोभन्दा अर्काकै जीवन राम्रो लाग्छ । मेरो जीवन तिमीले सोचेजस्तो राम्रो कहाँ छ र । मान्छेले अनेक थरीका फोहोर खन्याइदिन्छन् । म हिंड्ने बाटोमा घरहरू बनाउँछन् अनि बाढीले बगायो भनी आरोप लगाउँछन् । कहिले तातोले पोलेर बाफ बनाउँछ । कहिले चिसोले खुम्च्याएर हिउँ बनाउँछ । सम्झ त, जनावरहरूको पेटमा पसेर दुर्गन्धित पसिना अनि पिसाब भई निस्कँदा मलाई कस्तो लाग्दो हो ! तथापि दुःख नमानी कर्तव्य ठानेर सहेको छु । त्यसैले खुशी छु ।”

उनीहरूकोे गफ चल्दाचल्दै एउटा ठूलो ट्रकमा मान्छेहरू त्यहीं आइपुगेर ढुङ्गाहरूको अवलोकन गर्न थाले। नदीले लम्केर ट्रकभित्र नियाल्यो र ढुङ्गातिर फर्केर हाँस्दै भन्यो, “भन्दै थिएँ नि सबैको समय आउँछ भनेर । अब तिम्रो समय आयो । बधाई छ ।”  

ढुङ्गो पनि ट्रकतिर हेरेर मुस्कुरायो किनकि ट्रकमा थियो ढुङ्गा फुटाई गिट्टी बनाउने मिसिन।

प्रकाशित: ८ फाल्गुन २०७७ ११:२८ शनिबार

अक्षर