कला

धरहरा

लघुकथा

बहत्तर सालको भूकम्पमा नेपाली सान धरहरा गाम्राङगुम्रुङ  लड्यो । धरहरा मात्र कहाँ हो र भिमसेन थापाको अस्तित्व लड्यो । नेपाली सबैको  वीरता लड्यो।

आजको जमानामा मान्छे निर्जीव बन्दै गर्दा । बरु निर्जीवहरू सजीव बनेर चाल देखाउन थाले । यसै क्रममा धरहरा , घण्टाघर र रानी पोखरी आधारातमा कानेखुसी गर्न थाले।

नाक फुलाउँदै धरहराले भन्यो– सबैको सामु म जुरुक्क उठ्दैछु । एक्काइस तला पुगेँ ।

घण्टाघरलाई  सुन्नेबित्तिक्कै कन्सिरी तात्यो । रिसले आगो भएर आवाज  निकाल्यो – अग्लो भएँ भनेर धेरै घमण्ड गरयौ त्यसैकारण ढल्यौ। 

वार्तालापमा रानी पोखरी भने मौन थियो । धेरै वर्षपछि आफू परिचित भएकाले चूपचाप बस्न सही ठान्यो  । काष्ठमण्डप, वसन्तपुर तथा सिंहदबार दुर्घटनापछि पूर्ण उपचारको पर्खाइमा थिए । डाक्टरले आधाआधी उपचार गरेकाले दुखाइ कम भएको थिएन।  

रत्नपार्कको आफ्नै चिन्ता थियो । उसले पिरोलिँदै  भन्यो– हे भगवान् , कृत्रिम सुन्दरताको नाममा  यी मनुष्यहरूले मेरो अस्तित्व नसकून् ।

धरहरा  हालको सरकारभन्दा माथि उठ्यो घमण्डले । मानौँ ,   आधारबिनाको उचाइ नै सर्वमान्य हो । पद नमिल्दा सडक रोज्नेजस्तै सस्तो घमण्डमा उत्साहित भयो । यी सबै अवस्थाहरू घण्टाघरले एकएक गरी  नियालिरहेको थियो।

अचाक्ली भएपछि  घण्टाघरले मुख फोर्यो – शरीर ढलेपछि  शिर उठाएर के काम ?  सबैको धरोहर भएर उठे पो देश उठ्छ ।

प्रकाशित: ८ फाल्गुन २०७७ ११:०१ शनिबार

अक्षर