कला

कविताको जीवन

कविता

आठौं वर्षमा म स्नेहको जून खोज्थेँ

भित्ताबाट चिहाएर

तर न त जूनका किरणहरू हात बनेर आइन्  सुम्सुम्याउन

न त दिउँसाको  घाम नै सुम्सुम्याउन आइन्

म खोज्थेँ एउटा मीठो स्नेह र मायालु प्रेम ऊ बेला

अरूहरू रमाउँदा

रहरहरू मेरा पनि थिए

तर,  न थिइन् जून

न थिइन् घाम

म नियाँस्रो पालेर समय कटाउँदै गएँ

मलाई छुने स्नेही मुस्कानका हातहरूले

वर्ष बारमा  अरूलाई नै सुम्सुम्याएको

चुमेको र पाठशाला डोरयाएको देखेँ

म चूपचाप वर्षहरू उक्लँदै

एक्लैएक्लै र फगत मेरो एक्लो भावना

र अनजान  सोचका साथ  भरयाङ चढिरहें।

चढिरहें नजानेरै चढिरहें

कहिले भोकै

कहिले तिर्खै

र कहिले आँसुका मोती दानाहरू खेलाँउदै

के थाहा बैगुनी बाँसको आँख्ला लछारिएको भए

म कुनै सायद भँड्खालो  भरिसक्थें होला

जसरी ऐले भर्छन्

ससाना नानीहरू ,

ती जून कहिल्यै मेरो नजिक परिनन्

ती घाम कहिल्यै मेरो नजिक भइनन्

आफ्नो भएर पनि आफ्नो किमार्थ बन्न सकिनन्

सबैले भाग्य भने, मैले पनि त्यही ठाने

मैले पनि त्यही माने।

सायद पछि त्यो संस्कार बन्यो  

 

समय धेरै बित्यो अब त,

डाँडाको छेउमा छिन् जून

म कसरी पक्रन सक्थे र उनीलाई

फगत टाढाबाट हेर्छु

उनकाहरू हुनुपर्ने नि छेउमा

छैनन् त्यो पनि सुदूरबाटै हेर्छु।

 

सम्झिन्छु अरूहरू पाठशाला गएका दिन

र मसँग पठशाला  नजाने ती जूनका कोमल स्पर्शहरू

कोमल किरणहरू

अनि ऐले हेर्छु

अरूहरू जो डोरयाइरहन्थें ती स्नेही हातहरूले

तिनीहरू कति टाढा भएका

ऐले जूनलाई  डोरयाउनेहरूको खाँचो छ

तर, ती टाढिएका छन्

बरु म ठिकै छु

डोरयाउने थिएन कोही  मसँग

कुनै ऋण छैन मलाई म ठान्छु

तर पनि विगत हेरेपछि

मन पटकै रमाउन्न

जसका छन्

तिनीहरू निष्ठुर छन्

जसका छैनन्

दयालु भएर के नै हुने हो र

आखिर मानिस सदैव

एक्लै हो, हुने भनेर  

चित्त बुझाएको देख्छु।

 

आखिर म पनि मानिस हुँ

त्यही किनारामा उभिन्छु

माथिबाट जून मलाई हेर्छिन्

म तलबाट उनलाई नियाल्छु।

 

बडो दुख ऐठन पारेर म उनलाई नियाल्छु

तर सकिन कहिल्यै समाउन

सम्झन्छु नियति

सम्झन्छु अलिकति नियत

र सँझन्छु थोरै परिवेश

थोरै माहोल

र बस्छु तम्तम्याइलो घाम पिएर।

प्रकाशित: ८ फाल्गुन २०७७ ०६:१९ शनिबार

अक्षर