कला

कालीलाई चिठी

कविता

प्रिय काली,  

हार्दिक, न्यानो   शुभकामना 

भ्यालेन्टाइनको,

आयातित संस्कारको  

भ्यालेन्टाइनमय बजार  

तात्तिएको यो पलमा  

फेसन लाग्न सक्छ  

मेरो शुभकामना पनि 

 

प्रेमको परिभाषा  

संकुचिएको यो पल,

स्नेहको आकाश  

खुम्चिएको यो क्षण  

महँगा उपहारहरूसँग  

प्रेम साटिने यो बेला  

पक्कै अस्वीकार्य होला,

मेरो रातो गुलाफ ।

 

नडराऊ काली,

ओइलाएर जाने  

त्यो लाल गुलाब  

दिनु छैन मलाई,

मुटुको रातोपनअघि  

फिक्का, फिक्का लाग्छन्  

त्यस्ता सयौँ गुलाबहरू

 

भ्यालेन्टाइनको,

साँघुरो अर्थभित्र  

खल्लो लाग्न सक्ला  

मेरो फुस्रो उपस्थिति,

असहज लाग्न सक्ला  

मसितको डेटिङ

र आत्तिएर छुटाउली  

विश्वासले समातेका  

तिम्रा हात  

हजारौं,

शंकालु आँखाहरूको  

प्रश्नसूचक भीडमा  

 

तर,

तिमीलाई थाह छ काली  

प्रेमको,

उमेर, जाति, भाषा हुँदैन  

वर्ग, लिंग, राष्ट्रियता हुँदैन,

प्रेम त,

खालि प्रेम हो  

एउटा शाश्वत  

पावन अनुभूति

 

यतिखेर,

फुलाइरहिछ्यौ तिमी पनि  

छातीभरि प्रेमिल आशा,

बुनिरहिछ्यौ  

सप्तरंगी सपना  

तिम्रो सपनाको राजकुमार  

रातो गुलाब बोकेर  

आउने दिनको प्रतीक्षामा  

सबैसबै सम्बन्धहरू  

गौण बनाएर  

 

मेरो दृष्टिमा त काली,

त्यो त प्रेम हुँदै होइन  

सिवाय लेनदेन,

स्वार्थको विनिमय,

आवश्यकताको साटासाट  

प्रकृतिको अनिवार्यता,

र सृष्टिको निरन्तरता 

 

प्रेम,

न त शरीरसँग मर्छ,

न त समयसँग झर्छ  

न आशक्ति,  

न स्वार्थलिप्सा,

न प्राप्तिको चाहना,

न त कुनै तिर्सना  

हो,  

त्यही प्रेम हो  

मेरो मुटुले  

तिम्रो धड्कनसँग गरेको ।

 

प्रिय काली,

कुनै दिन,

दुर्भाग्यवश,

तिम्रो रातो गुलाफ  

अस्वीकार्य भएर  

हृदय चोइटियो भने,  

त्यो रक्ताम्य,

घाइते मन बोकेर  

निस्संकोच आउनू,

यथार्थको सुनामीले  

स्वप्नमहल ढलायो भने  

मलाई अवश्य सम्झिनू

 

बिनारक्तनाता,

बिनासाइनो, सम्बन्ध  

तर पनि,

रगतभन्दा गाढा  

दिगो र चिरस्थायी,

उपभोगरहित,

निष्काम  र निष्कलंक प्रेम

तिमीलाई म  

हिजो पनि गर्थें  

आज पनि गर्छु  

अनि  

भोलि पनि  

गरिरहनेछु ।                     

प्रकाशित: ७ फाल्गुन २०७७ १०:१८ शुक्रबार

अक्षर