कला

दलाल

कविता

पसीना छुटाएर

हरेक दिनको 

गाँसबास कपास जोडजाम गर्नु छ  

गौथली र माहुरीजस्तै

दौडधूपमा मान्छे

हरेक साँझ  

चक्रपथमा उभिएर स्वर सम्राट  

नारायण गोपाल बनेको शालिक  

हेर्ने फुर्सद किन जुर्दैन अचेल  

 

शिक्षा, स्वास्थ्य, रोजगार

आम मानिसको पोल्टा नजिक हुनुपर्ने

किन खरिद बिक्रीको साधन बनाएर

विज्ञापनमा भिडाइँदै– भिडाइँदै  

मूल्यहरूको बजार टाँसिदै छ  

 

नबुझेको आम नागरिकले वा

नागरिकले बुझेर यो सिस्टम आको हो  

हेर्न, सुन्न र बुझ्न नपाउने  

राज्य अनि सरकार नालायक बनेको हो  

 

यसकारण हाम्रो देश दलालै दलाल

भरौटे नै भरौटेहरूको देश बनेर

पखालिएको अवसरवादको पुच्छर  

सावित भइरहेछ

 

सुत्दा दलालसित ओछयान निदाउँछ

खाँदा अघिअघि रासनसित  

भाँडाहरूमा पस्छ

शिरदेखि पैताला हिँडाउन पा छैन

सबै भरिभराउ गहना भएर दलालकै

पक्षमा नबोली नहुने परिवेश छ

 

कसरी चित्रण गरौ  

यो दलालीकरणको परिभाषा

हरेक घुम्ती – मोडहरू जोड्न

हैन बटार्न देखापर्छ

यही दलालहरूकै कारण  

असमान सन्धि भएको रहेछ

दलालहरूकै कारण

जहिल्यै अस्तव्यस्त परिस्थिति  

बनेको रहेछ

हाम्रो कुवापँधेरा

खोलानदी बन्दरगाह हरेक चिज  

पच्नै नसक्ने गरीको  व्यस्त देखिन्छ  

 

खै राजनेताहरूले देखेको  

पद्धति बिहानबेलुकीको झोलसित पिएर  

कुन टवाइलेटमा पिसाबसँग  

तुरुरुरु गरेर निकाली फाल्छन्

अनि निगाह बक्सिसमा

हाम्रो जमिन जल जडीबुटी जङ्गल

दलालहरूमार्फत् कुन मुलुक रम्छ

थाहा छ  

यसरी दलाल चौतर्फी छन्

 

अब त हुँदाहुँदा खुवाइ, रुवाइ, हँसाइ

बसाइ, उठाइ, हिँडाइ, सुताइ  

सब दलालसित

अनि देशको विकास हुन्छ कठै ,

कठै विचरा अनि के गर्न भियाओस्  

दलालकै चाकरमा व्यस्त रहन्छन्  

जोसुकै  

आफ्नो र देश त छँदै छ बिग्रेको हालत

राक्षसहरूको हातमा पारेपछि  

के सुधार के विकास  

आकाशको फल आँखा तरी मर

मात्र रहेछ सच्चा चिन्तन फगत।

प्रकाशित: ७ फाल्गुन २०७७ ०९:५४ शुक्रबार

अक्षर