कला

अपाङ्ग भगवान्

निबन्ध

लोकले मान्दै आएको आज शिवरात्रिको यस घडीमा म धेरै दिनदेखि मनमा गुम्सेको मनोगन्थनको गाँठो फुकाउँदै छु । अब पनि नफुकाउने हो भने धोक्रो नै ब्लास्ट होला भन्ने जगजगी छ ।  भकुन्डोमा एकोहोरो हावा भरिरहँदा भकुण्डो नफुटी छाड्दैन । म नामको मनुवाको मनको धोक्रो पनि भरिँदा–भरिँदा टाइट भइसक्यो । कुनै बेला फुट्ने भएकाले बेलैमा होसियार भएर तँलाई आरोपप्रत्यारोप लगाउन खोज्दै छु ।

लोक भन्छ– तँ भगवान्, हामी त मूर्ख मनुवा । तँ दूधको दूध, पानीको पानी छुट्याउन माहिर छस् । अन्याय गर्नेलाई सजायको कठघरामा उभ्याउँछस् । तर, स्पष्टीकरण नै नलिई कोर्रा बर्साउँछस् । तेरो अगाडि जसले जस्तोसुकै विन्तीभाउ गरे पनि तँ सजायको बहीखाता पुनरावलोकन गर्न मान्दैनस् । लोकविश्वास बढोस् कि घटोस्, तँ जड मनस्थितिमा फैसला गर्छस् । न कसैका कुरा मान्नु छ, न कसैप्रति अनुराग राख्नु छ । तँ स्वयंमा विचित्र छस् । तेरो लीलालाई छिचोल्ने सामर्थ्य लोकमा कसैसँग छैन रे।

लोकले जे भनोस् । म भने मान्नेवाला छैन । म अन्यायमा परेँ भन्न छाड्दिनँ । हेर्, म सधैँ तेरो भक्त बनेर पूजापाठमा समय काट्न सक्दिनँ । अरूले समय काटे–कटाए म विरोध गर्दिनँ । सके केही सहयोग गरूँला, नसके असहयोग भने पटक्कै गर्दिनँ । उदाहरण हेर्छस् भने हेर् । आज एकाबिहानै मेरी धर्मपत्नी लक्ष्मीजीबाट हुकुम भयो, ‘चाँडो उठ्नुस् । स्नानादि कर्म गर्नुस् । पसलबाट धुप, बाती, चन्दन, अविर, प्रसादादि ल्याइदिनुस् । धर्मकर्ममा विश्वास पनि राख्नुस् । सधैं कुँजिएर मात्र रहने नगर्नुस् । आज महाशिवरात्रि होे । आराध्यदेव पशुपतिनाथको भक्तिभावले पूजा गर्नुपर्छ । विमार चाँडो बिसेक होस् भनी वरदान माग्नुपर्छ ।’

लक्ष्मीकै सहयोगले बल्लतल्ल उठेर बस्नासाथ मनको धमिलो बाहिर देखाएँ; ‘जेजे भन्छ्यौ ल्याइदिन्छु । नुहाइधुवाइ गराइदिए गर्दिन्छु । यद्यपि मन्दिर–मन्दिर दौडने र पूजापाठको आडम्बर रच्ने काम भने गर्दिनँ । जडलाई पुजेर आफू पनि जड मानसिकताकै बन्नु छैन । बरु भन; गाईलाई पुज्; भैँसीलाई ढोग्; गोरुलाई नमस्कार गर् । म मान्न तयार छु । रूख–बिरूवाको सेवामा समय खर्च गर्न तयार छु । पृथ्वीलाई जगत्माताको स्थानमा राख्न राजी छु । सूर्यलाई जगत्पिता भन्न तयार छु । चन्द्रमालाई देवता भनी नमस्कार गर्न तयार छु । चराचर जगत्लाई परमात्माको श्रेणीमा राखेर त्यसकै भक्तिमा रमाउन उत्सुक छु । किनभने यी सबै मेरासामु छन् । मेरै सेवामा हर्दम तम्तयार छन् । म तिनीहरूको ऋणी छु । नुन खाएपछि नुनको सोझो गर्नु मेरो दायित्व हो । म त्यसले भने थिचिएको छु । यद्यपि शङ्खनाद गर्दै, घण्ट बजाउँदै र  फूल–प्रसाद–भेटी चढाउँदै धर्म कमाउने लीला रच्न किमार्थ मञ्जुर छैन ।’

मेरा कुराले कुनै प्रतिप्रश्न पाएन । उनी आफ्नो काममा म आफ्नो काममा लाग्यौँ । दुवैको मन बहलाउने बहाना आआफ्नै किसिमको परिपाटी रह्यो ।

भगवान् ! तँसँग मेरो ठूलो टाउको दुखाइ छ । तैँले मलाई ढाँटिस् । तैँले मेरो विश्वासको हत्या गरिस् । तैँले मलाई हर्दम आँसुको दहमा पौडी खेल्न बाध्य बनाइस् । कसरी भन्लास् । म एकएक कहिरन बताउँदै छु । नाति–पनाति पुस्ताले मेरा दुःखका नालीबेली पढे भने पनि मलाई निर्दोष मान्लान् र दोषी तँलाई नै ठान्लान् भन्ने कुरामा म विश्वस्त छु ।

ए भगवान् ! ल सुन् ।  म राजविराजमा पढाउने पेसा अँगालेर बसेको थिएँ । जेठी छोरी गरिमाले तेरो कामना गर्दै भनेकी रहिछ; ‘परमेश्वरी ! मेरो बाबा माध्यमिक तहको शिक्षक हुनुभयो भने म कंकाली मातालाई एक किलो लड्डु चढाउँछु ।’ लक्ष्मीले चाहिँ भाकल गरेकी रहिछन्; ‘खोतरदेवीस्थानमा एक जोर परेवा उडाउँछु ।’ नभन्दै म शिक्षक पनि भएँ । कर्जन्हा, सिरहास्थित श्री जनसेवा माविमा २०७३ माघ ११ गतेदेखि खटिएँ । अहिले भने पूर्व सर्दै गोलबजारको जनता माविमा आएको छु । जे होस्, मनोवाञ्छित कार्य भए । राजी–खुशी ती दुवै भाकल पूरा गरिए ।

भगवान् ! तेरो कृपाले हो कि मेरो लगनशीलताले हो मैले सफलता भने पाएकै हुँ । जे होस्, तैँले विश्वास कमाउने काम गरिस् । मैले पनि सानो भरोसा राख्ने ठाउँ भेट्टाएँ । लोकसमाजले पनि भगवान्को कृपाले बुढेसकालमा सरकारी जागिरमा झुन्डिने अवसर पायो भन्न पाए । सरकारको पैसो खान टाउकामै लेखेको हुनुपर्छ भन्थे; हो रहेछ भन्न समेत भ्याए । सबैले तँलाई नै जस दिए; मेरो मेहनतलाई भने पाखा लगाए । कसैको विरुद्ध बोलेर केही फाइदा छैन भन्ठानी म चुप रहेँ । 

सानैदेखि गरिमा पूजा गर्छु भन्थी । भगवान्को फोटो, लड्डू, अबिर आदि ल्याउन अह्राउँथी । म आज्ञाकारी सेवकलेझैँ उसको सेवामा खटिएको हुन्थेँ । म छोरी कोमल मनकी धनी होस्; सृष्टिलाई स्नेहले पोल्टामा राख्न सकोस् भन्थेँ । नभन्दै ऊ आजसम्म पनि धर्मभीरु नै छे । कसैको दुःख देख्न सक्दिनँ । माछामासु भनेपछि सती जाने मजस्तो बाउकी छोरी भएर पनि सानैदेखि ती कुराहरू छुँदै छुन्न । सायद कान्छी सानिमा रन्जुको प्रभावले होला; हामीलाई खानेकुरा खानुस् तर कसैको रगत र मासु खाने मन नगर्नुस्  भन्छे ।

भगवान् ! सबै कुरा ठीकै थियो । समय एकनासको रहेन । मेरी आमालाई उच्च रक्तचापले च्याप्यो । नाथ्री फुट्यो । हत्त न पत्त विराटनगरको नोबेल अस्पताल पुरयाइयो । उहाँ चाँडै बिसेक हुनुभयो । हिँड्डुल गर्न, खानपिन गर्न जस्ता सामान्य कर्म गर्न कसैको जरुरत परेन । लगतै म सोही बिमारले कुँजो भएँ । विराटनगरमै उपचार भयो । एलोपेथिकसँगै आयुर्वेदिक–जडीबुटी उपचारलाई पनि निरन्तरता दिएँ । साथै, दशगजा छेउको खरैया गाउँको डाक्टरले दिएको ६ दर्जन सुई पनि लगाएँ र एक पाथी गोटी पनि सिध्याएँ । नगन्य रूपमा विमार बिसेक भयो । मनमा पहिलेको जस्तै तन्दुस्त हुन्छु भन्ने झिनो आशाको सञ्चार भयो ।

ए भगवान् ! त्यस बीचमै कान्छा मामा शारदा तिमिल्सिनाले भन्नुभएछ; ‘ए कंकाली देवी माता ! मेरा भान्जे ज्वाइँलाई लागेको बिमार चट्टै निको भइजाओस् । म एउटा खसीले तिम्रो सेवा गर्न यथाशिघ्र चाँडो उपस्थित हुने छु ।’

सासू बज्यैले समेत पुकारा गर्नुभएछ; ‘हे हलेसीधामका महादेव ! मेरा ज्वाइँ साहेब पूर्ववत् रूपमा ठमठम्ती हिँड्डुल गर्नसक्ने हुनुहओस् । म हजुरको दर्शनार्थ उहाँलाई पठाउँछु ।’ त्यसपछि देशका कतिपय ठाउँमा यही विमारले मान्छेहरू भकाभक ढल्न थाले । सञ्चार माध्यमहरूले रक्तचापबाट बच्ने उपायहरू प्रसारणलाई तीव्रता दिए ।

लक्ष्मीले पनि सपनामै कुलदेवलाई स्मरण गर्दै भनिछन्; ‘ए कौडन्य गोत्रका आचार्यहरूका कुलदेवता ! उहाँ बिमारमुक्त हुनुहओस्, म जुन रङको भए पनि देवालीमा बोको चढाउँछु ।’ मलाई ठीक होस् भनेर ठूल्दिदीले झारफुक, तन्त्रमन्त्र गर्नुभयो । भतिजी हिराले पनि जोखाना हेराएर ग्रहशान्ति गराइछ । 

उपचारबाट म घर फर्कंदा आठ दशक उमेर खाएका बुबा भक्कानिँँदै मेरो हालतले तड्पिएर भन्न थाल्नुभयो; ‘भगवान् पनि छ कि छैन ! म डाँडापारिको घाम भएकालाई पो कुँजो–लँगडो बनाउनुपर्ने हो । भगवान् ! माहिलो छोराको सट्टामा बरु मलाई अपाङ्ग बना । हुन्न भने आफ्नो घरै मलाई डाक् । सब कुरा मन्जुर छ तर मेरो होनाहार रहरको छोरालाई ठीक बनाई दे ।’

ए भगवान् ! तैँले कसैको पुकारा सुनिनस् । मेरा वृद्ध पिताको आँसुले तँलाई पिरोलेन । वृद्ध आमाको भक्कानिएको मनलाई साान्त्वना दिनुपर्छ भन्ने पनि ठानिनस् । भगवान्, मैले तेरो कुन करेसाबारी फाँडेको थिएँ र भएभरको शारीरिक कष्ट मेरै टाउकोमा बजारेर आफू अलप भएर रहन्छस् । आफ्नो जीवन ढुक्कले बाँच्दै आएको मलाई किन नखाएको विषले समेत पोल्ने बनाइस् । सारा लोकले समान व्यवहार गर्ने भनेर तँलाई विश्वास गर्दै आएका छन् । तँसँग मैले के निहुँ खोजेँ या तेरो मैले के बिगार गरेँ र मसँग सौताको व्यवहार गर्छस् ? ए भगवान् ! यो तैँले ठीक गरिनस् । म बबुरो तुच्छ मनुवालाई चारचार महिना नरकको वास गराएर ठूलो भुल गरिस् ।

ए भगवान् ! तँ कस्तो भगवान् ! मजस्तो साधुरामको साधुकर्मलाई अपराधकर्म मात्र देख्छस् । कसैले गलगिद्ध दारूपानी धोकेर गल्लीका भुस्याहा कुकुर बिउँझाउँदै समाज नै आतङ्कित हुने गरी फोहोरी शब्द फलाक्दै र कर्म गर्दै हिँड्दा हुने ! सरकारी ओहोदामा बसेर सात पुस्ता पुग्ने धन थुपार्दा तँ चुँसम्म नबोल्ने । गाँजा–भाङ, धतुरो, अफिम–चरेसजस्ता लागू पदार्थलाई आफ्नो जीवनकै अङ्ग बनाउनेलाई केही नहुने ! सोझा र निर्धा जनताको घाँटी निमोठिने गरी कालाबजारी गरेर रातारात सुनदरबार ठड्याउनेलाई तँ केही नभन्ने ! मजस्तो अबुझ बालबालिकाको सिँगान पुछेर कखरा पढाउने मान्छेलाई अपराधी सम्झने ! धेरथोर संसार बिउँझाउँदै सोझो राजमार्गमा होसियार साथ हिँँड्ने निर्धोले चाहिँ नरकवास गर्नुपर्ने यो कहाँको मत्स्यन्याय हो !

भगवान् ! कसैका लागि तँ भगवान्–देवीदेउता–ईश्वर–परमेश्वर आदित्यादि होस् रे । कसैका लागि अल्लाह, कसैका लागि क्राइष्ट, कसैका लागि बुद्ध बनेको छस् रे । आजसम्म तँलाई देखेभेटेर फर्कने धर्तीमा कुनै प्राणी छैनन् रे । तँ जेजस्तो रूप र शैलीमा कार्य गर्ने भए पनि अन्तिम बखत तेरो स्मरण नगरी मन सन्तोष नहुने रहेछ । मैले पनि जम्माजम्मी दुई पटक भने तेरो नाम बेचेर हिम्मत जुटाएको छु । प्राण बचाउन सफल भएको छु । त्यो तेरो कृपा हो कि परिस्थितिको खेल हो दैव जानून् ।  ती दुई घटनाका सार संक्षेप यस्तो छ–

घटना–१

२०५२ साल माघ महिनाको सुरूआतको समय हो । अंग्रेजी विषयबाट डराएर राजविराजबाट भूमिगत रूपमा पोखरा हुँदै काठमाडौँ पुगेर थन्किएको थिएँ । लङ्गौटिया साथीहरू जीवन धान्न रेडिमेट कपडाको व्यापार गर्थे । घरघर पुग्थे । कसैलाई कपडा सस्तै दिन्थे । कसैसँग मुरयाएर दाम लिन्थे । म पनि दुई दिनपछि उनीहरूकै साथमा लागेँ । व्यापार भनेको मान्छे ठग्ने काम हो भन्ने निष्कर्षमा पुगेँ । ठग्ने काम ठीक लागेन । अर्को मनले भन्न थाल्यो; नाफा नलिई व्यापार गरे मुखमा माड लाग्दैन ।

बाँच्न व्यापार गर्नु नै पथ्र्यो । राजधानी र वरपरका ठाउँको भ्रमण–अवलोकन गर्ने सौभाग्य जुरयो भन्ने ठानेँ । एक दिन दक्षिणकाली जाने बसमा चढेँ । भुलले मन्दिरभन्दा पाँच किलोमिटर वरै ओर्लिएँछु । पश्चिमतिर भीर थियो । त्यहाँ सिरसिरे हावामा सल्लाका बिरुवा सुसाइरहेका थिए । पूर्वमा गहिरो खालको निकै लामो ओरालो थियो । त्यहाँ डरलाग्दा सिस्नोका ठूल्ठूला झाडीहरू मुख बाएर दाह्रा देखाइरहेझैं प्रतीत हुन्थे । उत्तर–दक्षिण सडक लमतन्न सुतेको थियो । माथिबाट तुसारो झरिरहेको थियो । चारैतिरको वातावरण बिहान नौ बजेको कुहिराले ढाकिएको थियो । नजिकैको चिज पनि ठम्याउन आँखा गाडेर हेर्नुपथ्र्यो । 

म पैदलयात्रामै तल्लीन थिएँ । दक्षिणकाली मन्दिर पुगी दर्शन गरेर व्यापारमा लाग्ने निधोले पाइला अघि बढाउँदै थिएँ । एक्कासि एउटा धमरधुस ठिटो मेरो नजिक देखा परयो । ऊ खोच्याइरहेको थियो । अपरिचितसँग हत्तपत्त भलाकुसारी नगर्ने मेरो स्वभावअनुरूप म ठिटोलाई नदेखेझैँ गरी अघि बढेँ । 

एक क्षणमै उसले सहयोगका लागि याचना गरयो । उसकै कुरामा लागेर पर्र्खिएँ । उसले आफ्नो दर्दनाक कहानी बताएर मेरो मन जित्ने कोसिस गरयो । गफैगफमा मैले पनि आफ्नो इतिवृति बताउँदै व्यापार गर्नु आफ्नो मन बहलाउने बहाना भएको बताएँ । उसले मसँग भएका धनसम्पतिका बारेमा पूरा विवरण लिन समेत भ्याएछ ।

ऊ एक कदम पछि सरयो । म पनि ऊतिर फर्किएँ । उसले जोरले तीन पटक सुइय सुसेल्यो । र, चम्किलो चुप्पी फुत्त बाहिर निकाल्यो । अघिसम्म ‘हजुर ! हजुर ! ज्यूज्यू’ गरेको मान्छे एकाएक मलाई नै हान्ने पोजिसनमा बस्यो । म निहत्था थिएँ । हतियार अघि भयभित भएँ । कुलेलम ठोक्नुपरयो भनी अघि फर्केको मात्र थिएँ सामुन्नेमै दुई ठिटाहरू हातमा हतियार सहित पोजिसन मिलाएर खडा थिए । मेरो सातोपुत्लो उड्यो । किंकर्तव्यविमूढ भएर खडा भइरहेँ । खोच्याउने ठिटाले नै समानको व्याग र पकेटको पैसा सामुन्ने राखिदिन उर्दी जारी गरयो । भनेजसो नगरे मेरो शरीर छियाछिया पार्ने र सिस्नो घारीमा मिल्काइदिने कुरा सुनायो । मृत्युको भयले म होस् गुमाउन लागँेछु । 

अगाडिको ठिटो बेस्सरी चिच्यायो; ‘ढिलो किन गर्छस् । हामीलाई तेरो ज्यान हैन धन प्यारो छ । सम्पत्ति दे; सुरक्षित बनेर बुद्धिमानी कहलिस् भने हामीलाई खुशी नै लाग्छ । अर्कोले थप्यो; ‘मार्न सजिलो छ; लास टुंगो लाउन गाह्रो छ । हामी गाह्रो काममा हात हाल्न चाहँदैनौँ । सरक्क सबै कुरा यही फ्ँयाकेर घर जाने ! नत्र हाडखुर पनि गायव होला ।’

म के गर्ने के नगर्ने भएँ । संयोगले एउटा कार आयो । ठिटाहरू कता लुके पत्तो भएन । मैले बचाऊ ! बचाऊ !! भनेर चिच्याउँदा पनि कार रुकेन । उल्टै झन् गति बढाएर हुइक्यो । लगतै केटाहरूले घेरिहाले । म एक्लो पिलन्धरे; उनीहरू हतियारसहितका तीनतीन जना मैले हिम्मत हारेँ । 

भारी राखिदिएँ र पकेटको मनी व्यागमा हात के लगाएको थिएँ, एउटा विचार आयो; सबै कुरो जिम्मा लगाए, साहूले जेल हाल्छ । घरबाट तिरेर उक्सने हो भने आफ्नो अंश सिद्धिन्छ । विहे नै नगरी सडकको बासिन्दा बनिन्छ । नदिए यिनीहरूले प्राण लिन्छन् । जेलमा बस्नु वा सडकछाप बन्नु मरेसरह हो । तसर्थ सामथ्र्य छउञ्जेल बच्ने कोसिस गर्नुपर्छ । कोसिस नै नगरी चरण पर्नु दासता स्विकार गर्नु हो । अन्ततः भाग्ने निष्कर्ष निकालेँ ।

मनमनले दक्षिणकाली र पशुपतिनाथलाई सम्झिएँ । अन्तमा आफ्ना कुलदेवतालाई पुकारेँ; ‘शरणमा परेको छु प्रभु । यस दासलाई मार कि राख सबै तिम्रै हातमा छ ।’ यत्ति भनेर हत्तपत्त समानको झोला भिरेँ र अन्धकार भिरमा आँखा चिम्लेर हाम फालेँ । केही बेर त मसँगै अघिपछि ढुङ्गा पनि झरेको चाल पाएँ । त्यसपछि के भयो; केही थाहा पाइन । बिउँझिँदा खोला बगरमा पल्टेको थिएँ ।  

घटना सम्झिएँ । माथितिर ठाडो भीर उभिएको थियो । कुनै प्राणीको अस्तित्व थिएन । पकेट  छामे मनी व्याग जस्ताको त्यस्तै थियो । झोला बोकेको बोकेकै अवस्थामा थियो । उठ्न खोज्दा शरीर थिगिरिएन । सिस्नोको पोलाइको पीडाले निक्कै बेर रन्थनिई रहेँ । केही घण्टा पछि एक दाउरेको भरथेगले कोठा मीनभवन फर्किन सकेँ ।

घटना–२ 

यो चाहिँ २०५९ फाल्गुन ९ गतेको कुरा हो । भयावह समय तेर्सिएको हुन्छ । जताततै मुखौले कानूनले जरा गाडेको हुन्छ । बोल्न र भन्न पाइन्न । सुन्नु मात्र पर्छ । सुन्दासुन्दा कान पाक्छन् । जुन प्रश्न सोधिन्छ, त्यसकै मात्र सटिक जवाफ पस्कनुपर्छ । राणाकालीन शैली, निरंकुशताको पराकाष्ठा जताततै व्याप्त हुन्छ । मनभरि कुराहरू गुम्स्याएर र भित्रभित्रै कुड्याएर धर्तीमा पाइला टेक्नुको विकल्प हुन्न । मानौंं जनताहरू धर्तीमा उत्पन्न भएका गुहेकीरा हुन् र मुखौले कानुनका निर्माता एवं संरक्षकहरूचाहिँ कथित स्वर्गबाट इन्द्रका आदेशले खटिएका देवदूत हुन् । 

राजविराजको ठाउँ । फागुन महिनाको न्यानो घाम तापेर म किताबका पानाहरू उल्टाइरहेको छु । सडक सुनसान छ । एकाध मान्छेहरू साइकल गुडाइरहेका छन् । पैदल यात्रुहरू यात्रारत् छन् । यातायातका अन्य साधनहरू रत्तिभर सडकमा देखिँदैनन् । चारैतिर बन्दको हल्ला छ ।

मैले पनि सुनेको छु; सरकारको अप्रजातान्त्रिक कार्यको विरोधस्वरूप जनयुद्धरत् शक्तिले बन्दको आयोजना गरेको हो । बन्दले सरकारको ध्यान खिचिँदैन । उल्टै मुलुकमा संकटकाल थोपरिएको छ । जनताको मौलिक हक शासकको पोल्टामा परेको छ । जोसुकै जुनसुकै बखतमा पनि गिरफ्तार हुन सक्छ । कारणले वा अकारणले जोसुकै जुनसुकै बेला मृत्युको मुखमा पस्न सक्छ । मन आतंक र त्रासदीले नराम्ररी गाँजेको अवस्था छ ।

म किताबका पानातर्फ ध्यान खिच्न खोज्छु तर सक्दिनँ । मैले टेकेको धर्ती जलिरहेको छ । त्यही धर्तीमा जल्नेहरू पौने तीन करोड छन् । धर्ती जलेको तापले तात्तिएका, मात्तिएका र पात्तिएकाहरू भने मुठ्ठीभर छन् । 

एकाएक मेरो मनमा स्कूल जाने कुरा आउँछ । साढे नौ बजे स्कूल पुग्नुपर्ने नियम छ तर साँढे एघार बजिसकेको हुन्छ । बन्दको कारणले स्कुल पनि बन्द छ भन्ने सोच्न मैले भुलेको छैन । जताततै बन्द छ; राष्ट्रकै स्पन्दन बन्द छ । उसो त स्कुलका झ्याल, ढोका बन्द नहुने कुरै भएन । मैले यही कुरा सोचेर ढिलाइ गरेको थिएँ । अर्कातिर खाना पकाउने कान्छो भाइ धनराजले पनि ढिलो खाना पकाएकाले समयमा निस्कन सकिनँ ।

एक मनले भनिरहेको थियो , शासकहरू चेत्दैनन् । शासितहरू कत्ति जल्नु र पलपल ढलपल भइरहनू । जनताका हकअधिकार र स्वाधीनताका लागि सफल नेतृत्व दिन सकिन्न भने नेतृत्व दिन सक्षमको छहारीमा बस्न कन्जुस्याइँ गर्न हुन्न । सधैँ राज्यलाई अनिर्णयको बन्दी बनाउनु किमार्थ उचित हैन । ठूलाबडाको बलमिचाइमा साना जनता किचिनु र पिसिनु दुर्भाग्य हो ।

मनभरि कुराहरू खेलाउँदै मेरा पाइलाहरू स्कुलतर्फ मोडिन्छन् । बीच बाटोमा नै एक सहकर्मी शिक्षकको मलिन स्वर मेरो कानमा ठोक्किन पुग्छ– ‘सर , चैलजाऊ । ई सहरेसँ चैलजाऊ । सेना स्कूलके घेर्ने अइछ । अहाँके ताइकरहल अइछ । हमरा अहाँके बजबैल पठाने अइछ । अहाँ भाइग जायव त हम सरके नई भेटलै कैही देब । अहाँ बैच जायब । कृपया भाइग जाऊ ।’

सहकर्मी शिक्षकले सेनाले स्कूल घेरेर मलाई खोजिरहेको र मैले भागेमा मात्रै बच्न सक्ने उपाय बताउँछन् । उनका कुराले मेरो मनमा आँधी आउँछ । उसलाई ठूलो अनिष्टको पहाड थाप्लामा नै बज्रेजस्तो हुन्छ । परिस्थितिलाई अँगाल्नु नै पर्छ भन्ने ठान्न बाध्य हुन्छु । म भाग्ने कुरालाई रत्तिभर पचाउन सक्दिनँ । मेरा पाइला अझ छिटोछिटो स्कूलतर्फ लम्किन्छन् ।

क्षणभरमै म स्कूल पुग्छु । सैनिक मेजर विद्यालयका निर्देशक सरलाई केरकार गर्दै हुन्छन्।

–आज स्कूल किन बन्द ?

–स्कूल बन्द छैन, सरहरू–मिसहरू हुनुहुन्छ । विद्यार्थीहरूचाहिँ आएकै छैनन् ।

–उसो भए तपाईँको उदयपुरे सर खोई ? किन भगाउनुभयो ?

–भगाएको छैन, भगाउनुपर्ने कारण पनि छैन । सायद आउँदै हुनुहुन्छ होला ।

–त्यस उदयपुरे सरको आनीबानीको एकएक रिपोर्ट दिनुस् ।

‘उहाँ नियमित स्कुल आउनुहुन्छ । लगातार पाँचछ वर्ष यस विद्यालयमा सेवा दिइसक्नुभयो । श्रेष्ठ शिक्षकको रूपमा गनिनुहुन्छ । मर्यादित कुरा गर्नुहुन्छ । यसबाहेक कुनै कुरा उहाँको बारेमा अरू छैन ।’ निर्देशक सरको कुरा सकिनासाथ मेजरको नजर ममाथि पर्र्छ ।

उनी भन्न थाल्छन्, ‘उसो भए तपाईँको शिक्षकलाई सोधपुछ गर्नुछ । अहिले म उहाँलाई लग्छु । तपाईँको अनुमतिले अर्थोक केही गर्छु । बुझ्नुभो ?’

निर्देशक सर अक्कनबक्क पर्छन् । हेडम्याडम सान्डली देव घृर्णित नजर मेजरतर्फ फ्याँक्दै मुख खोल्छिन्;‘उदयपुरे सर त आइब गेलै । जे किछु पुछबाक अइछ, एतै पुइछक भ जेतै न । हुनका बाहर ल जायके बात नई करु ।’

उदयपुरे सर पनि आइपुग्नुभएको र जे सोध्नुछ यहीँ सोध्दा हुने तर बाहिर लग्न नदिने उनको कुराले मेजरको मन चिमोट्छ ।

‘कुन कुरा मिल्छ, कुन कुरा मिल्दैन  । त्यो शिक्षा मैले माथिबाटै प्राप्त गरेको छु । मलाई नपढाउनुस् । मेरो अनुसन्धानमा भाँजो हाल्ने काम गर्नुभयो भने बुझ्नुस् । तपाईँहरूले पनि मतियारको रूपमा दर्ता हुनुपर्छ । यो संकटकाल हो । यसबेला हकअधिकारको वकालत नगर्नुस् । यो संकटकाल निम्त्याउने तपाईँकै उदयपुरे सर जस्ता बझ्झक्कडहरू हुनुहुन्छ, बुझ्नुभो ?’ मेजर कुरो टुङ्गयाउँछन् ।

मलाई अघि लगाएर मेजर बाहिरिन्छन् । पछिपछि पाँचछ जना शस्त्रअस्त्रसहितका सैनिक जवानहरू छन् । सैनिक गाडीमा मलाई अगाडि बसाइन्छ । अरू सबै सैनिक जवानहरू गाडीको पछिल्लो भागतर्फ बस्छन् । मेजर आफैँ ड्राइभरको रूपमा गाडी हाँक्छन् । गाडी विस्तारै गुड्छ । मेजर पनि विस्तारै कुरा कोट्याउँदै अघि बढ्छन् । सडकका पेटीमा, घरका छतमा विद्यार्थी, अभिभावक र अन्य शुभेच्छुकहरू कालोनीलो मुख लगाएर यो दृश्य हेरिरहन्छन् । गाडी गुडिरहन्छ । हरेकका मनमा हरेक थरीका प्रश्नहरू, आशंकाहरू जन्मिरहन्छन् ।

म अबुझ व्यक्तिजस्तो भएर मेजरको मुहार नियाल्छु । वरपरको दृश्यको अवलोकन गर्दछु । करिब १० मिनेटको यात्रापछि मेजर यात्रा मन्द पार्छन् । प्रश्नको थुप्रो ठड्याउन थाल्छन् । करिव २० मिनेटसम्म प्रश्नको झटारो आइरहन्छ । उत्तर पनि गइरहन्छ । मन्दगतिमै यात्रा पनि अघि बढिरहन्छ ।

त्यसै बीच मेजरले मनको मैलो देखाउँदै भन्छन्;‘हेर्नुस् उदयपुरे सर ! तपाईँहरू जस्तो विद्वान् मान्छेको कलिलो ज्यान निमोठ्ने मन मलाई छैन । म कर्तव्यले बाँधिएको मान्छे हुँ । राष्ट्रको सिन्दूर पहिरेको छु । माथिकाको मनोकांक्षालाई बुझेर मैले काम फत्ते गर्नुपर्छ । मलाई सहयोग गर्नुस् । मेरो मन मानव–मन हो । बाध्यतावश यो मनलाई पत्थर–मनमा परिणत गर्न नलगाउनुस् । चाँडै सत्य बक्नुस् ।’

मेरो अजोध हेराइलाई सन्त्रस्त पार्न थप्छन् ‘तपार्इँ कुन पदमा बसेर आतङ्वादी काम गर्नुहुन्छ ? तपाईँका हेड कमाण्डरहरू र सहयोगीहरू कुन ठाउँमा बसेर काम गर्छन् ? सबै नालीबेली बताउनुस् । नत्र पत्थर–मनले नामोनिसान मेट्न सक्छ ।’

मेजरका कुराले मेरो मथिङ्गल रन्थनिन्छ । आँखाका सपनाहरू एकाएक च्यातिन थाल्छन् । ओठतालु जम्मै सुक्न थाल्छन् । गरुडपुराणमा वर्णित रौरव नरकको नालीवेली सम्झन्छु । पढेको कुरा यथार्थमा परिणत भएको आभाष हुन्छ । त्यही बिभत्सकारी दृश्यहरू दोहोरिँदै गएर आफूकहाँ आइपुगेको आभाष हुन पुग्छ । म मृत्युको भयले असाध्यै विचलित हुन पुग्छु । आफ्नो भूत, वर्तमान सम्झन थाल्छु । भविष्यविहीन रूपमा आफू दुई दिने पाहुनाको रूपमा मेजरको सामु उपस्थित भएको ठान्छु । 

मनमा कुरा खेलाएको तर ओठ नखोलेको देखेर मेजरका मुखरावृन्दबाट पुनः बोली फुट्छ; ‘उदयपुरे सर, हतास नबन्नुस् । सास रहेसम्म आस गर्नुस् । तपाईँका निम्ति म कसाई मात्र होइन हैन; सहयोगी पनि हुँ । राष्ट्रका कलंकका निम्ति म कसाई हुँ । राष्ट्रका भविष्यका ताराका निम्ति म सेवक हुँ । तपाईँलाई कलंक र तारामध्ये कुन दर्जामा राखूँ भन्ने सवालमा तपाईँकै मुखबाट खुल्ने गोप्य रहस्यबाट ज्ञात हुन्छ । राष्ट्रलाई बचाउन सहयोगी भूमिका खेल्नुभएमा म पनि सहयोगी पात्रकै रूपमा उपस्थित हुने छु ।’

मेजर मलाई सकेजति नचाउन खोज्छन्; तड्पाउन खोज्छन् । म भने चुप नै रहन्छु । तेजविहीन, उत्साहविहीन मात्रै हैन ज्यानविहीन नै देखिन्छु । मेरो मौनतालाई चिर्दै मेजर नै अघि सर्छन्; ‘सर, निरास बन्दै नहुनुस् । यत्रो उमेर हुँदासम्म पनि विवाह भएको रहेनछ । विहे भएको भए घरभरि लालाबालाहरू हुन्थे । यत्रो उमेर कसरी एकल रूपमा बिताउन सक्नुभएको हो ? सडकमा हिँड्ने राम्रा तरुनी देख्नासाथ तरुन मनले माया खन्याइहाल्छ रे । तपाईँको मन पनि त्यस्तै भयो होला । कि तपाईँ कुनै तरुनीबाट धोका खाएको बबुरो हुनुहुन्छ ?’

यस्तो अनावश्यक प्रश्नले म अचम्ममा परे । मेजर कुन बाटोबाट आफ्नो मनका कुराहरू बुझ्न खोजिरहेछन् भन्ने कुरा नै बुझ्न सकिनँ । म अझै मौन हुन्छु ।

मेजर एकोहोरो बोल्दै जान्छन्; ‘म मात्र बोल्ने, तपाईँ श्रोता मात्र हुने हो भने तपाईँको पक्षमा निर्णय कदापि हुन्न । तपाईँ आरोपित व्यक्ति हुनुहुन्छ । आफ्नो सफाइ पेस गर्न कन्जुस्याईँ गर्ने हो भने जरुर तपाईँ दोषी हुनबाट  चोखिनुहुन्न । जो दोषी छ, जो कलंकित छ, उसले अस्तित्व सुरक्षित बनाउन हम्मे पर्छ । आफूलाई जोखिममा नपार्नुस् । म पुनः भन्छुु सत्य बक्नुस् । यो सङ्कटकाल छोट्याउन मद्दत गर्नुस् ।’

मलार्ई खपिनसक्नु हुन्छ । अब मुख नखोलीकन थेगिने अवस्थामा रहन्न । सम्पूर्ण इष्टदेव सम्झन्छु । मृत्युको अन्तिम क्षण आएको ठान्दछु ।

मेरा मुखबाट पनि आक्रोशयुक्त झिल्का देखिन थाल्छन्; ‘मलाई तपाईँ जे भन्नुस्, जे देख्नुस् । मैले कुनै गलत काम गरेको छैन । मैले राष्ट्रका निम्ति कलंकित सावित हुने कुनै काम गरेको छैन । म युद्ध मैदानमा बम, बन्दुक बोकेर खटिएको योद्धा पनि होइन । म कलमजीवी हुँ । वाणी र कलमकै पौरखले बाँचेको छु । मेरो कलमले समयको तीतो क्षणप्रति आक्रोश पोख्यो होला । सत्यमा चल्ने, न्यायमा विश्वास राख्ने प्रयत्नस्वरूप प्रगतिशील समाजको निर्माणका लागि मेरो कलमले थोरै मसी चढाउने कोसिस गरयो होला । त्यो तपाईँहरूले नै ठम्याउनुभएको होला । अर्थोक मैले केही गरेको छैन । मैले कतै कसैलाई मेरो नैतिक समर्थन दिएँ होला । त्यो मेरो नैसर्गिक हक पनि हो । तपाईँ राम्रो काम गर्नुस्; मेरो मन जित्ने काम गर्नुस् । मेरो पूर्ण समर्थन त्यस कामका लागि हुनेछ । मैले (वा अरूले) नै समाजका निम्ति पच्य काम गर्दा भने तपाईँ पनि समर्थन गर्नुहोला । यस्ता कुराबाहेक मबाट केही काम भएकै छैन । कसैको गलत कामलाई आँखा चिम्लेर समर्थन गर्दै, प्रचारप्रसार गर्दै हिँड्ने काम मबाट भएको छैन । मेरा यी हातले अक्षर कोर्नुबाहेक अर्थोक जानेका छैनन् । मेरा यी ओठहरूले स्वच्छ, हराभरा, सुखी, शान्ति र प्रगतिन्नोमुख समाजको निर्माणबाहेक अर्थोकको चाहना राखेका छैनन् ।

 समाजमा व्याप्त विकृति, विसंगति र पुरातनवादी संस्कृतिलाई संसोधन गर्नु आवश्यक छ भन्न पनि म नपाउने । हेर्नुस्, मेजर साहेव, म मात्र भुसुनो हुँ । म मान्छे बन्न लालायित भुसुनो मात्र हुँ । मबाट यस राष्ट्रका लागि केही हुनसकेको छैन । म कलमले बाँचेको र राष्ट्रको समुन्नतिमा थोरै भए पनि देन होस् भन्ने चाहना अँगाल्ने व्यक्तिलाई राष्ट्रकै कलंकित व्यक्तिको रूपमा चित्रण गर्नुहुन्छ भने सुन्नुस् । मेरो कुरा पनि सुन्नुस् । मेरो मनको कुरा सुनेर, बुझेर र गुनेर मात्र अर्थोक कुनै निर्णय गर्नुस् । हेर्नुस्, मैले २८ बर्से जीवन बिताइसकेँ । संसारलाई धेरै नजिकबाट चिनिसकेँ । यतिञ्जेलसम्म म न घर भित्रकाको भएको छु न वनभित्रकाको भएको छु । म मात्र भुसुनो हुँ । म भुसुनाले राष्ट्रलाई संकटको दलदलमा भसाएको हुँ भन्ने प्रमाण पेश गर्नुस् । मेरो हृदय सानो छैनस म असाध्य डरपोक पनि छैन । मलाई मृत्युदेखि पनि डर लाग्न छाडेको छ । मेरो चित्त बुझाउनुस् । मलाई राष्ट्रको कलंकको टीकाको रूपमा सावित गर्नुस् । अनि तपाईँलाई नियम कानूनले जे गर्न अधिकार दिएको छ त्यही गर्नुस् । नत्र भने यसरी तड्पाईतड्पाई पटक–पटक नमार्नुस् । पलपल मर्नु साह्रै दुःखदायी हुँदो रहेछ, एकै पटक मर्नु बरु सुखदायक हुँदो हो ।’

मेरो लामो कथनपछि मेजर तीन छक्क पर्छन् । चूपचाप रहन्छन् । म पनि आफ्ना कुरामाथि परेको अनुभव गर्छु र पुनः मुख खोल्छु;‘तपाईँ भ्रममा हुनुहुन्छ । तपाईँ सरकारी धन बेक्कारमा नष्ट गर्दै हुनुहुन्छ । मलाई यो सरकारी गाडीमा बसाएर यात्रा गराइरहनुको कुनै औचित्य छैन । मेरो बारेमा भएको भ्रम पनि हटाउनुस् र मलाई आफ्नै सार्वजनिक जीवन बिताउन दिनुस् । म अर्थोक....।’

मेरा कुरा टुङ्गिन नपाउँदै मेजरले गाडी किनारामा अड्याएर कुर्लन थाल्छन्; ‘ए तपाईँ मात्र विद्वान् । मलाई मूर्ख नै सम्झनुभएको ? याद गर्नुस्; म मूर्ख हैन । मूर्ख त तपाईँहरू जस्तै व्यक्ति हुनुहुन्छ । २०, २२ जना विद्वान् शिक्षक, शिक्षिकाहरूमध्ये तपाईँलाई चुनेर ल्याउनु मेरो रहर हो ? तपाईँलाई यो १६ लाखको सरकारी गाडीमा सहरको सैर गराउँदा मलाई व्यक्तिगत के लाभ हुन्छ ? म मेरो ड्युटी गरिरहेछु । मेरो ड्युटीमा अवरोध पुरयाउने व्यक्तिका लागि एक गोली नै काफी छ । यस्ता एक गोलीका शिकार हुनेहरू धेरै छन् । तपाईँलाई पनि तिनकै पंक्तिमा उभिने मन छ भने त ठीकै छ । नत्र झूटको खेती गरेर मलाई अन्धकारमा नराख्नुस् । हैन, उज्यालोको खेती गर्ने व्यक्ति हुनुहुन्छ भने सत्य बक्नबाट टाढा नरहनुस् । सम्झनुस्, सुकरातले सत्य बकेर र सत्यकै लागि विष पिएर मृत्युवरण गरेका थिए । त्यसैले पो उनको नाम संंसारले लिइराखेको छ । विद्वान् भएर पनि मूर्खता प्रर्दशन गर्दै सबै नेपालीलाई भ्रममा नपार्नुस् ।’

मेजर आफ्ना तर्कहरू राख्दछन् । म आफ्ना मतले आफू निष्कलंकित भएको पुष्टि गर्न खोज्छ्ु । करिब ४ घण्टे प्रश्नोत्तरपछि मेजर गाडी लिएर मेरो डेरामा पुग्छन् ।

बाकस खोलिन्छ; ट्रङ्क उघारिन्छ । एकएक किताब, कापी, पत्रिकाहरू उल्टाइन्छ । ओछ्यानमुनि भएका कागजपत्रहरू खोतलखातल पारिन्छ र पाँच धोक्राहरू ठड्याइन्छ । ती धोक्राहरूमा खाली किताब, कापी र पत्रिकाहरू मात्र हुन्छन् । तिनमा पनि कुनै मैले लेखिसकेका कापीहरू हुन्छन्; कुनै प्रकाशोन्मुख कृतिका पाण्डुलिपिहरू हुन्छन्; कुनै आफ्ना रचनाहरू प्रकाशित भएका पत्रिकाहरू हुन्छन् तर धेरै जसो आइए, विए, एमए र शाखा अधिकृत परीक्षाका निम्ति सङ्कलित पुस्तकहरू हुन्छन् ।

एकाध पुस्तकहरू मात्र कम्युनिष्ट पार्टी, राजनीति, राजदरबार हत्याकाण्डसम्बन्धी हिन्दी, अंग्रेजी भाषामा लेखिएका पत्रिकाका कटिङ र नेताहरूका बारेमा हुन्छन् । ती पुस्तकहरूमा पनि धेरै जसो  साझा प्रकाशन र प्रज्ञाप्रतिष्ठानबाट प्रकाशित पुस्तकहरू हुन्छन् । सैनिक जवानहरू यी सबै आतङ्ककारी दस्तावेज हुन् भन्दै धोक्रामा हाल्ने गर्छन् । आखिरमा म पुरयाइन्छु जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्षमा । राजविराज–९ स्थित डेरा लिई बस्ने आतङ्कारीको कोठाबाट पाँच बोरा आतङ्ककारी दस्तावेज र तीन थान नयाँपुराना हतियार बरामद भएको झ्याली पिटाइन्छ ।

भगवान् ! म के लेखूँ । तँ स्वयं महसुस गर्न सक्छस् । सानो कोठा । पन्ध्र जना मुस्किलले सुत्न हुने कोठा । पिउने पानीको कल त्यहीँ, ट्वाइलेट त्यहीँ । जताततै हिलै हिलो । मच्छडको ठूलो हुलले आतङ्क मच्चाएको हुन्छ त्यहाँ । कालकोठरी नामाकरण गरेको ठीकै रहेछ भन्ने हुन्छ मलाई ।

पड्का पड्काएको आरोपमा पक्राउ परेका १२ वर्षका केटाहरूदेखि लिएर नाति भगाएको आरोपमा गिरफ्तार गरिएका ७७ वर्षिय बूढासम्मका त्यहाँ हुन्छन् । सप्तरीकै आशाराम चौधरीजस्ता हतियार सहित पक्राउ परेका पनि हुन्छन् । भोजपुर–धनकुटा जिल्लाबाट आतङ्ककारीको आरोपमा जेल चलान गर्दै ल्याइएकाहरू फलाम पिट्ने र कपडा सिउनेहरू पनि निकै जना हुन्छन् त्यहाँ । पक्राउ गर्नुपरेपछि खान, बस्न र सुत्न दिनुपर्छ तर, ती कुनै कुराहरू पनि त्यहाँ उपलब्ध हुँदैनन् । मानव अधिकारकर्मीहरू त्यहाँको बिजोग हेर्न कहिल्यै पुग्दैनन्् । म पनि मान्छेको दशा नजिकैबाट हेर्न पाउँछु । प्रायः जसो सबै कैदीका शरीरभरि नीलडाम हुन्छन् । अर्को कोठामा महिलाहरू थुनिएका हुन्छन् । तीमध्ये अधिकांश थारू समुदायका हुन्छन् । उनीहरूका औंलाका नङहरू उक्काइएका हुन्छन् । हाम्रो हविगत यस्तो बनाए, हेर्नुस् न भन्दै उनीहरू रोइरहेका हुन्छन् । पुरूषहरूमा पनि धेरैजसो थारू समुदायका हुन्छन् ।

जताततै विजोग वाहेक अर्थोक हेर्न, बुभm्न र सुन्न पाइने अवस्था नै हुन्न । अरूहरूजस्तै प्रत्येक रात आधा पाउण्ड जति खुन मच्छडलाई चढाएर रात कटाउँछु म पनि । दिनहरू पनि उस्तै नमीठो तवरले वित्छन् । कैदी कोठा बाहिरका कसैले बोलाई हाल्यो भने पनि भन्ने गरिन्छ; ‘रै आतङ्ककारी ! खुब पुलिस, सेना मारलिही न, बाहर ? आब भित्रेभित्रे मरैके बारी तोहर ।’ ए आतङ्ककारी ! खुब पुलिस, सेना मारिस् हैन, बाहिर? अब भित्रभित्रै मर्ने पालो तेरो भनेको सुनेर छक्क पर्छु ।

एक रातको १ बजे म डाकिन्छु । सोधपुछ, केरकार गरिन्छु । आतङ्ककारी हुँ, आतङ्क मच्चाउँदै हिँडेँ भन्न कर गरिन्छ । मेरो मनले मान्दैन । ठाडै भन्दिछु;‘म मेरो मनले नस्वीकारेको कुरा भन्न सक्तिनँ ।’

मेरो शब्दकोशमा आतङ्ककारीले देश र जनताको कुभलो मात्रै गर्दै हिँड्छन्; उनीहरू राजनैतिक शक्ति हु्ँदै होइनन् भन्ने हुन्छ । म आफूलाई सचेत नागरिक भन्न मन पराउँथेँ; मुलुकको कुभलो चिताउने नागरिक कदापि हैन । दिनरात सोधपुछको कार्यक्रम भई नै रहन्छ । प्रश्नहरू नाना थरीका हुन्छन् तर मेरो जवाफ एकै थरीको हुन्छ । 

‘आस्था मर्दैन; विश्वास हराउँदैन । आस्था जता पनि ढल्कन सक्ला । बुझ्नेहरू असल कर्मतर्फ आस्था ढल्काउँछन् । अबुझहरू आँखा चिम्लेर जता पायो त्यतैतिर आस्था र विश्वास खन्याउँछन् ।’ म बेलाबखत यिनै कुराहरू दोहो¥याउँछु ।

हप्ता दिनपछि सैनिक पञ्जाबाट मुक्त हुन्छु तर मेरा प्रमाणपत्रहरू मुक्त हुँदैनन् । हप्ता दिन नबित्दै  मेजरले सैनिक क्याम्पमा नै बोलाएर भन्छन्; ‘विद्वान् मान्छे भएर पनि विश्वले नै आतंककारीको सूचीमा सूचीकृत गरेकोे सङ्गठनको छहारीमा किन बस्नुहुन्छ ? त्यस्ता विनाशकलाई मलजल किन पुरयाउनुहुन्छ ? तपाईँ र तपाईँको संगठनले दिवास्पना मात्र  देखिरहेछ ।

 यो साँढेको राजखानी लिने दाउ तपाईँहरूको हो । यसका लागि पाँच वटा घेरा तोड्नुपर्छ । एउटा, दुइटा तोड्दैमा साँढे नजिक पुग्यौँ भन्ने भ्रममा नबस्नुस् । जनपद पछि पर्ला; सके सशस्त्रलाई पनि पछि नै पार्ने योजना होला तर कदापि हामीलाई हराउन सक्नुहुन्न । जबसम्म हामी छौँ तबसम्म साँढेको कसैले केही बिगार्न सक्दैन । विश्व इतिहासमा कतै आतङ्ककारीहरूले सैनिकलाई हराएर राज्य कब्जा गरेका छैनन् ? त्यही पनि मान्नुस् कि हाम्रो घेरा पनि तोडिहाल्नु भएछ भने पनि त्यस साँढेलाई केही गर्न सक्नुहुन्न । साँढे जिउँदो छ । आफ्ना तीखा सिङले सबलाई चटनी पारिदिन्छ किनकि जिउँदो साँढेको स्वभाव नै यस्तै हुन्छ । तसर्थ आउनुस् हामी सबै मिलेर उसकै छहारीमा बसौँ अनि आतङ्ककारीहरूका हरेक आतङ्ककारी गतिविधिहरू निर्मूल गरौँ । शक्तिको उपासक बनौँ ।’

मेजर बोल्दाबोल्दा थाक्छन् । मलाई बोल्न कर गर्छन् । मलाई ती कुरामा दिलचस्पी हुन्न । दुई घण्टे बसाइलाई म टुङ्गयाउन चाहन्छु । मेजरको पनि मुन्टो हल्लिन्छ । नागरिकता र केही शैक्षिक  प्रमाणपत्रहरू मात्र फिर्ता पाउँछु । केहीे वर्ष बित्न नपाउँदैमा परिणाम देखिन्छ; जनमतका अघि सारा शक्ति र अहंताहरू निर्मूल हुने रहेछन् । शताब्दियौंदेखि जरो गाडेका हरेक जिउँदा साँढेहरू, उसका हरेक मतियारहरू र उसका गार्डहरू पनि मुर्छित हुँदै जाँदा रहेछन्; ढल्दै जाँदा रहेछन् ।

भगवान् ! यसरी दुई घटनामा तेरो नाम जपेर मैले साहस बटुलेँ । आफ्नो प्राण सुरक्षित राख्न सफल भएँ । झिनामसिना झमेला पनि बेलाबेलामा तँलाईं स्मरण गरिरहेकै हुन्थेँ । यत्तिखेर मेरो परिवारजन नै लागेर तेरो पुकारा गरिरहँदा तँ किन सुन्दैनस् ?

मेरो विजोगको कहानी लरतरो छैन । साँच्चै म २०७४ कार्तिक १० गते शुक्रबार बेलुका ४ः३० बजेदेखि दाहिने पाटो नचल्ने विमारले थलिएको छु । ४ महिना बित्दा पनि दाहिने हातखुट्टा चल्न मान्दैनन् । अन्य काममा पनि अनिष्टबाहेक अर्थोक देखिएको छैन । 

म जिउँदो लास बनी लडिरहेछु । कसैले उठाइदिए उठ्छु । बसाइदिए बस्छु । खुवाइदिए खान्छु । बिलकुलै अर्काको भरले बाँच्ने भएको छु । बिमार भनेजस्तो सुधार हुने नामै लिँदैन । भगवान् ! तँ भने देखेर पनि नदेखेझैं, सुनेर पनि नसुनेझैं गर्न थालिस् । न मर्न दिइस्, न स्वाभिमानका साथका साथ बाँच्न नै दिइस् । भगवान् ! कि तँ पनि एक साथ बहिरो–अन्धो भइस् ? कि तँैले पनि नश्वर संसार छाडी सकिस् ? पक्कै पनि मझैँ अरूको दुर्दशा हेरेर र देखेर पनि केही गर्न नसक्ने तँ अपाङ्ग नै बनिस् कि क्या हो !

प्रकाशित: ७ फाल्गुन २०७७ ०८:२६ शुक्रबार

अक्षर